‘इन्जिनियरको भन्दा मिस्त्रीको कमाइ धेरै छ, तर सीप प्रतिको हाम्रो सोच साँघुरो छ’

एउटा बच्चाले गर्व गरेर आफू डकर्मीको सन्तान भन्नसक्ने अवस्था हुनुपर्छ ।

धर्मराज रिमाल २०८० भदौ ६ गते २०:४२

श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार नेपालबाट दैनिक वैदेशिक रोजगारीका लागि भनेर १५ सय भन्दा बढी विदेशिने गरेका छन् । खुला बोर्डरबाट भारत जाने श्रमिकहरूको सङ्ख्याको भने कुनै हिसाब छैन । यसरी दैनिक १५ सय बढी श्रमिक वैदेशिक रोजगारीका लागि जाने गरेता पनि ७० प्रतिशतभन्दा बढी श्रमिक बिना कुनै सीप विदेशिने गरेका छन् । यही सन्दर्भमा सीप सिकेर विदेशिने श्रमिकहरूको संख्या नबढ्नुको कारण के के हुन्? युवाहरूलाई सीपको महत्व बुझाउन के कस्ता कदम चाल्नुपर्छ ? लगायतका विषयमा ट्रेनिङ सेन्टर नेपालका निर्देशक अर्नराज सिलवालसँग धर्मराज रिमालले गरेको संवाद गरेको छ :

ट्रेनिङ सेन्टर नेपाल कस्तो सँस्था हो ?

नेपाल भित्र निर्माण सम्बन्धी परियोजनामा सीप युक्त जनशक्ति पठाउनका लागि  ट्रेनिङ दुई दशक अगाडि सन् २००० मा सेन्टर नेपाल स्थापना गरिएको हो । नेपालबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले सीप नसिक्ने र सिके पनि एकदमै न्यून सहभागिता हुने परिस्थिति देखेका कारण यस संस्थाको सुरुवात गरिएको हो । सुरुवातमा निर्माण व्यवसायलाई चाहिने दक्ष श्रमिक उत्पादन गर्ने गरेता पनि पछि यस संस्थाले समय अनुरूप र बजारमा माग भएका जनशक्ति उत्पादन गर्न थालेको छ । अहिले हामीले ३० वटा विभिन्न शीर्षकमा सीपमुलक तालीम दिँदै आएका छौँ । यहाँबाट सीप सिकेर नेपालसँगै विदेशमा गएर पनि काम गरिरहनुभएको छ ।

ट्रेनिङ सेन्टर नेपालका निर्देशक अर्नराज सिलवाल, फोटो: पुष्कल श्रेष्ठ/जीविको

वर्तमान समयमा प्राविधिक तथा व्यवसायीक सीपप्रतिको आम मानिसको धारणा कस्तो छ ?

नेपालमा एक दशक अगाडिसम्म त सीप सिक्ने जनशक्तिको संख्या नगन्य नै थियो तर सीप सिक्ने र दक्ष हुने कुरामा नेपालीहरूको मानसिकतामा अझै पनि खासै परिवर्तन आउन सकेको छैन । पछिल्लो केही वर्षमा सीप सिक्ने नेपालीको संख्या केही हदसम्म बढेको छ तर दु:खद् कुरा भने अझै पनि हाम्रोमा सीप सिक्नु पर्छ भन्ने कुराको चेतना नै विकास हुन सकेको छैन । यसकारण नेपालमा होस् वा वैदेशिक रोजगारीको क्षेत्रमा दक्ष नेपाली जनशक्ति श्रम बजारमा छैनन् । यस्तो हुनुमा सरोकारवाला निकायले जिम्मेवार भएर काम नगरेको भन्ने बुझिन्छ । इन्जिनियरको भन्दा मिस्त्रीको कमाइ धेरै छ, तर सीप प्रतिको हाम्रो सोच अत्यन्तै साँघुरो छ । कोही गर्व गरेर ‘म मिस्त्री हो’ भन्ने वातावरण बनेको छैन ।

युवाहरूले नै सीप सिक्न नचाहनुको कारण के हो ?

युवाहरूलाई सीपको महत्व बुझाएर धेरै भन्दा धेरै युवालाई सहज तवरले सीप सिक्ने वातावरण बनाउने मुख्य जिम्मेवार सरकार हो तर सरकारी सूचना प्रणाली नै कमजोर भयो । सरकारले युवाहरूलाई सीपको जानकारी गराउन यसको महत्व बुझाउन सकेन जसको कारण सीप सिक्ने नेपाली युवाहरूको संख्या उल्लेख्य बनाउन सकिएन । आम सञ्चार जगतदेखि लिएर राजनीतिक दल, सामाजिक संघसंस्थाले पनि सीपका विषय युवालाई त्यति धेरै प्रेरित गर्न सकेन ।

यसमा अर्को पक्ष भनेको ‘ब्लु कलर जब’ अर्थात् श्रममा आधारित काममा गर्व गर्न हामीले सकेनौँ ।  मेरो बुवा आमा डकर्मी हो भनेर एउटा बच्चाले जबसम्म गर्व गरेर भन्ने वातावरण हुँदैन तबसम्म सीपप्रतिको धारणामा परिवर्तन आउन कठिन छ । मेरो भविष्यको लक्ष्य डकर्मी बन्ने हो भनेर बालबालिकाले भन्न सक्ने अवस्था छैन अहिले ।  नेपाली समाजले डकर्मी, सिकर्मी, प्लम्बर लगायत कन्स्ट्रक्सनका कामहरूलाई सम्मानजनक पेसाको रुपमा नलिइदिएको कारण युवाहरू सीप सिक्न चाहँदैनन् । अर्को तर्फ सीप सिक्न झन्झट मान्ने प्रवृत्ति ठूलो खर्च लाग्छ भन्ने भ्रमका कारणले पनि युवाहरू सीप सिक्न नआउने गरेको भेटिएको छ ।

के नेपालमा सीप सिक्नलाई ठूलो खर्च लाग्छ

भोकेसनल ट्रेनिङमा लाग्ने खर्च भनेको ‘रिटर्न अन इनभेस्टमेन्ट’ हो । अर्थात्, सीप सिकेर हुने कमाइको तुलना भन्दा सीप सिक्न लाग्ने लगानी निकै नै कम पर्छ। अन्य प्राविधिक शिक्षामा लाखौँ खर्च हुन्छ तर यसमा लाग्ने हजारको खर्चलाई धेरै भन्न मिल्दैन । अहिलेको समयमा त जुन ठाउँमा माग धेरै छ त्यस विषयमा सरकारले नै निःशुल्क तालिम दिइरहेको छ । आफ्नो स्थानीय स्तरबाट नै सीप लिनका लागि सहयोग पाइन्छ । व्यवहारिक भन्दा पनि ‘फेन्सी’ किसिमको नाम दिएर खासै प्रभावकारी नहुने तालिम लिने दिने अभ्यास पनि पछिल्लो समयमा बढ्दै गएको छ । ठूलो पैसा खर्च हुने तर आम्दानीका हिसाबले अवसर नै नपाउने तालिमहरू बारेमा हामी सचेत हुनै पर्छ । पैसा नै खर्च नगरी पाउने तालिमलाई हामीले कम महत्व दिनु भएन । सरकारले एउटा मापदण्ड बनाएर यस्ता तालिमहरू दिइरहेको छ जसको माग बजारमा उच्च पनि छ । धेरै खर्च लाग्ने तालिम सिक्दैमा धेरै नै पैसा कमाइन्छ भन्ने हुँदैन ।

युवाहरू सीप सिक्नका लागि कहाँ जान सक्छन् ?

सीप सिकाउनका लागि एकद्वार प्रणाली नहुँदा सीप सिक्न कहाँ जाने भन्ने कुराको दुबिधा कायम नै छ । हामीले सरकारलाई यस विषयमा काम गर्नका लागि नियमितरुपमा सचेत गराइरहेका छौं तर पनि अझैसम्म एकद्वार प्रणालीको विकास हुन सकेको छैन ।  अहिले मुख्य गरी शिक्षा मन्त्रालय अन्तर्गत सिटिइभिटीले तालिम सञ्चालन गरिरहेको छ  । उद्योग मन्त्रालयले  कार्यक्रम पनि सीपमूलक तालिमका कार्यक्रमहरु सन्चालनमा ल्याएको छ । हाल आठ संघ अन्तर्गतका वटा मन्त्रालयले सीप सिकाउँछन् । त्यसबाहेक प्रदेश सरकार, स्थानीय तह र राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थाले पनि तालिम दिइरहेको छ । आफ्नै वडा कार्यालयमा गएर नै यसबारेमा धेरै कुरा बुझ्न सकिन्छ ।

ट्रेनिङ सेन्टर नेपालमा तालिमको अवलोकन गर्दै निर्देशक अर्नराज सिलवाल, फोटो: पुष्कल श्रेष्ठ/जीविको

सीप सिकाउनका लागि भनेर सरकारले कति लगानी गरेको छ ?

सीपको सिकाउनका लागि सरकारले कति लगानी गरेको छ भनेर यकिन भन्न सक्ने अवस्था छैन  । संघीय सरकारले मात्र सीप सिकाउनका लागि भनेर रकम बिनियोजन गरेको छैन । प्रदेश स्थानीय तहहरूले पनि सीप विकास कार्यक्रमहरू सञ्चालन गरेका छन् ।  जसमा सामाजिक विकास मन्त्रालयले स्थानीय तहमा सीप सिकाउने कार्यक्रम चलाउँछ । अन्य संघसंस्थाहरूले पनि सरकारसँग समन्वय गरेर सीप विकासमा लगानी गरेका छन् । उनीहरूले आफ्नै तवरले पनि तालिम सञ्चालन गर्ने गरेका छन् । यसकारण सरकारले सीपको लागि भनेर कति रकम छुट्याउछ भनेर यकिन भन्ने अवस्था छैन ।

सीप सिकाउने अभ्यासमा परिमार्जन गर्न सरकारले के कस्ता कदम चाल्नुपर्ने देखिन्छ ?

सरकारले विदेश तथा स्वदेशकै रोजगार बजारमा बिक्ने किसिमको सीप के के हुन् भनेर छुट्याउनु पर्‍यो । सीप सिकाउँदा व्यवहारिक पक्ष अर्थात् अभ्यासलाई जोड दिने तालिम दिनुपर्ने हुन्छ । हेरेर सीप सिक्न गाह्रो हुन्छ । त्यसैले सीप सिक्न चाहने व्यक्तिलाई उसको आफ्नै हातले सीप सम्बन्धी तालिमहरु गर्ने वातावरण मिलाउने जिम्मा पनि सरकारको हो । सरकारले सीप सिक्नका लागि भनेर पर्याप्त रकम निकासा गर्नुपर्ने देखिन्छ । सीप सिकाउन गरेको लगानी भने दीर्घकालीन रुपमा सरकारलाई नै पुग्ने फाइदा हो भनेर बुझ्न पर्ने देखिन्छ ।

सरकारले  केन्द्रदेखि स्थानीयतहसम्म सीपमुलक तालिममा जोड गर्दापनि ७० प्रतिशत भन्दाबढी अदक्ष कामदार किन बाहिरिए ?

सबै काम गर्ने व्यक्ति दक्ष नै हो । त्यसैले हामीले अदक्ष कामदार पठायौँ भन्दा पनि हाई पेड(राम्रो तलब) भएका कामहरूमा कामदार पठाउन सकेका छैनौँ । बजारमा के को माग छ ? बाहिरि बजारको माग के हो? के कस्ता सीप सिक्नुपर्छ ? भनेर जानकारी नदिई मेनपावरले पठाएका छन् । उनीहरूलाई कम पैसा आउने काम आएपनि आफ्नो फाइदा हेरेर पठाउने गरिन्छ । सीप सिक्नु पर्छ भनेर हामी बताउन नै खोज्दैनौ । कामको सीप र ज्ञान लिएर वैदेशिक रोजगारीमा गयो भने फर्केर आउँदा यहाँ पनि काम पाइन्छ भनेर बुझाउन नसक्नु र सीप सिक्न सरकार लगायत अन्य सरोकारवाला निकायले नै प्रोत्साहन नगर्नुको कारण अहिले नेपालका ८०% भन्दाबढी मानिस सीप नै नसिकी सामान्य तलबमा नै विदेशिने गरेका छन् ।

सीप सिकेर वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संख्या कति छ ?

 बढीमा ३० देखि ३५ हजार मात्र काम सिकेर बाहिर गएका छन् । त्यसमा पनि पहिलोपटक विदेश जान लागेका कामदारहरू सीप लिएर गएको पाइदैन । रि-इनरोलमेन्ट ( पुनः विदेशिएका) केही श्रमिकहरू सीप सिकेर जाने गरेका छन् । यसरी हेर्दा कुल विदेशिएका श्रमिकको १० देखि १५ प्रतिशत श्रमिकहरू मात्र सीप सिकेर विदेशिएका छन् ।

सीप सिकेर विदेशिएका श्रमिकहरू नेपाल फर्किएर काम गर्ने वातावरण छ ?

सबैभन्दा धेरै निर्माण व्यवसाय क्षेत्रको सीप लिएको छ भने नेपालमा आउँदा पनि काम गर्न पाइन्छ  । तर यसमा युवाको इच्छा भने खासै देखिँदैन । नेपालका उद्योगले आफ्नो कार्यपद्दति परिवर्तन नगर्दा उनीहरु निर्माण व्यवसायको क्षेत्रमा काम गर्ने मन बनाउदैनन् । यो क्षेत्रमा एकरूपता र दिगोपना छैन । अवसर भने प्रशस्त छ । अहिले पनि नेपालमा निर्माण व्यवसायका क्षेत्रमा भारतीय कामदार आउने गरेका छन्। यसको मतलब भारतमा भन्दा नेपालमा बढी अवसर देखेर यहाँ आएका हुन् । हामीले हाम्रा कामदारलाई भने स्वदेशी काममा आकर्षित गर्न सकिएको छैन ।

नेपालमा भएका निर्माण परियोजना सुस्त गतिमा चल्नु भनेको दक्ष जनशक्तिको अभाव भएर हो । अर्कोतर्फ लाखौंको रोजगारी सिर्जना गर्नसक्ने कृषि क्षेत्र व्यवसयीक हुन नसक्दा सम्भावना हुँदा पनि काम हुन सकेको छैन । अवसर छ तर गर्न तर काम गर्ने उचित वातावरण बनाउन राज्य लगायत सबैले काम गर्नै पर्छ ।

यो पद्धतिको परिवर्तन कसरी सम्भव छ ?

सम्बन्धित निकाय शिक्षा मन्त्रालय हो जसको चासो कम भयो । राज्यले यसलाई विशेष प्राथमिकतामा राखेर गतिशील पाठ्यक्रम बनाउन सकेको खण्डमा यस किसिमको समस्या हटाउन सकिन्छ । माग अनुसारको तालिम मात्र दिने प्रणाली सुरुवात गरियो भने सीपको क्षेत्रमा फड्को मार्न सकिन्छ । नेपालमा भने भोकेसनल ट्रेनिङ गतिशील छैन, समय अनुसार माग फरक हुन्छ तर माग अनुसारका दक्ष श्रमिक हामीले निकाल्न सकेका छैनौँ  । बजार अनुसार तालिम  चल्न सक्नुपर्छ, जस्तै अटोमोबाइलका नयाँ नयाँ टेक्नोलोजी आउने गर्छ तर हामीले पुरानो किसिमले वर्कसपको ट्रेनिङ लिएर पुग्दैन । नेपालमा भने उही पुरानो परम्परा अनुसारको तालिम दिने प्रवृत्ति अझैसम्म पनि छ । तालिमका पाठ्यक्रम परिमार्जन गर्दै तालिम प्रदायक गर्ने र सीप परीक्षण गर्ने निकायलाई एकद्वार प्रणालीमा ल्याउने, गतिशील किसिमको सीप अभ्यासमा पहल गर्ने काम गर्न सकेमा परम्परागत पद्धतिमा फड्को मार्न सकिन्छ ।

नेपालमै विदेश जाने युवालाई खपत गराउन सकिएला ?

यो भनेको सानो प्रयासले हुन्न । आर्थिक क्रियाकलाप हुने काममा राज्यले जोड दियो भने मात्र नेपाली जनशक्ति बाहिरिनु नपर्ला । आफ्ना नागरिकलाई दक्ष बनाउने भनेको सरकारको जिम्मेवारी हो त्यसपछि उसले नेपालमै आफै रोजगारीको सम्भावना खोज्न सक्छ वा वैदेशिक रोजगारीमा जान सक्छ । विशेषगरी कृषि, निर्माण व्यवसाय, र उद्योग व्यवसायमा नेपाली जनशक्ति स्वदेशमै परिचालन गर्न सकिन्छ । कृषिलाई व्यवसायीक बनाउनु पर्ने हुन्छ । निर्माण व्यवसायको क्षेत्रलाई सभ्य वातावरण भएको व्यवस्थित क्षेत्र बनाउनु पर्छ ।

आम युवाहरूलाई तपाईंको र तपाईंको संस्थाको तर्फबाट के भन्न चाहनुहुन्छ ?

हामीले सबै युवाहरूलाई गर्ने अनुरोध भनेको युवाहरूले प्रत्येक दिनलाई नयाँ सम्भावनाको रुपमा लिनुपर्छ भन्ने नै हो । लगनशील भएर लाग्यो भने आफूले सहजै काम गर्न सकिन्छ । सीप सिक्दा आफ्नो रुचि मात्र होइन त्यसको आयआर्जनको सम्भावना पनि हेर्नुपर्छ । समय अनुरूपको र राष्ट्रिय अन्तराष्ट्रिय बजारमा माग भएका तालिम सिक्नुहोस् । धेरै तालिम सरकारले नै निःशुल्क दिइरहेको छ तसर्थ आफ्नै वडाबाट जानकारी लिनुहोस् । भावनामा बगेर भन्दा पनि माग अनुरूपको सीप सिक्नुपर्छ ।  मिस्त्री र इन्जिनियरको कमाइ एउटै हो, यो कुरा प्रष्ट हुनु पर्छ । राज्यसँगै सञ्चार माध्यम सबैभन्दा धेरै जिम्मेवार भएर सीप सिक्नलाई प्रेरित गर्नु पर्‍यो । सीप सिक्ने कुरामा युवाहरू आफै अगाडि बढ्नु पर्छ त्यससँगै यहाँ भएका सबै निकायले सीप सिक्ने कुरामा प्रेरित गर्न र सो अनुसारको वातावरण बनाउन आ–आफ्नो क्षेत्रबाट पहल गर्नु पर्‍यो ।

हेर्नुहोस्, ट्रेनिङ सेन्टर नेपालका निर्देशक अर्नराज सिलवालसँगको जीविको संवाद :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *