मजाकको पात्र बनेकी नीलमको सम्मानजनक यात्रा
यी तीन प्रश्नबाट यो कथा सुरु गरौँ:
अपमान र दुर्व्यवहारमा नीलमले हरेस खाएको भए के हुन्थ्यो होला ?
नीलमले आफैंलाई बिचरा सम्झिएको भए के हुन्थ्यो होला ?
सीप सिकेर केही गर्छु भन्ने अठोट नगरेको भए नीलमको जीवन कस्तो हुन्थ्यो होला ?
हरैँचा मोरङको एउटा विपन्न परिवारमा ८ सन्तान मध्ये साइँलो छोरोको रुपमा जन्मिएकी निलम पौडेलको जीवन यात्रा उतारचढावले भरिपूर्ण छ । पाँच वर्षको उमेरदेखि नै धरानमा बाल श्रमिकका रुपमा अरूको घरमा काम गर्दै पढेकी निलमले एसएलसी पछि पढ्ने रहरलाई नचाहेर पनि मार्नु पर्यो ।
६ कक्षामा पढ्दै गर्दा आफू पुरुष भएर जन्मिए पनि आफ्नो पहिचान महिला हो भन्ने बुझिन् उनले । उनलाई “छक्का हिजडा” जस्ता शब्दको प्रयोग गरेर सधैँ मजाकको पात्र बनाइयो । अहिले त सहज रुपमा यस्तो पहिचान नस्विकार्ने हाम्रो समाजले दुई दशक अगाडि कसरी हेर्थ्यो होला यौनिक तथा लैंगिक अल्पसंख्यकलाई? सम्झेर लामो सास फेर्छिन् उनी ।
स्कुलमा बिनाकारण उनले शिक्षकहरूको कयौँपटक यातना र सजाय पाइन् । वर्षौंसम्म परिवार अनि समाजको डरमा आफ्नो पहिचान लुकाउन बाध्य भएकी निलमले एफएमको एउटा कार्यक्रममा गर्वसाथ आफू ट्रान्सजेन्डर भएको खुलाइन् । त्यसको एक हप्तापछि शृंगार पटार गरेर महिलाको पोशाकमा सजिएर उनी घर गइन् । मनभरि डर र त्रास थियो, विशेषतः बुवाको । आफ्नो छोरोलाई छोरीको रुपमा देख्दा निलमका बुवा अवाक् भए । केही भनेनन् !
सानैदेखि कमाएर घरमा खर्च पठाउने निलम वैदेशिक रोजगारीमा कतार जान बाध्य भइन् । “लिङ्ग: पुरुष” लेखिएको पासपोर्ट बोकेर कतार पुगेकी निलमको शारीरिक परिवर्तन देखेर एक महिनामा नै कम्पनीले स्वदेश फर्काइदियो । ऋण लिएर विदेश पुगेकी निलम एक महिनामा नै स्वदेश फर्किनु पर्दा गाउँ जाने आँट गर्न सकिनन् । काठमाडौंका बारहरूमा वेटरको काम गरिन् ।
काठमाडौंको बसाइँ सहज थिएन । ट्रान्सजेन्डरले कोठा पाउनै गाह्रो । कतै केही घटना घटी हाले बिनाकारण प्रहरी कोठामै दुर्व्यवहार गर्न आइपुग्थ्यो । निलम जस्ता यौनिक तथा लैंगिक अल्पसंख्यकको निधारमा ‘अपराधी’ नै लेखेजस्तो व्यवहार गरिन्थ्यो । समाजको यस्तै व्यवहारले गर्दा देहव्यापारमा लाग्न बाध्य छन् उनीहरु मध्ये कयौं अझैपनि ।
यसबीचमा उनी फेरि घरेलु कामदारका रूपमा दुबई पुगिन् । पाँच वर्षसम्म दुबई बसेकी नीलम लैङ्गिक पहिचान कै कारण आफू काम गर्ने घरको पर्खाल बाहिर पनि निस्किने आँट गरिनन् । २०७२ मा उनी नेपाल फर्किइन् । अब भने सानैदेखिको रुचि ‘श्रृंगार’ लाई पेशाको रुपमा अगाडि बढाउने निधो गरिन् । नेपालमा मात्र नभई थाइल्यान्डको बैङ्कक गएर पनि व्यवसायिक मेकअप तालिम लिइन् । उनलाई पूर्णरूपमा मेकअप आर्टिस्ट हुने आत्मविश्वास पैदा भयो ।
उनले मेकअप आर्टिस्टका रुपमा काम सुरु गरिन् । सँगसँगै ट्रान्सजेन्डर मोडलका रुपमा पनि काम गरिन् । नीलमले आवर गर्ल (Our girl) र ब्ल्याक नर्सेस (Black nurses) जस्ता हलिउड फिल्ममा समेत मेकअप आर्टिस्टका रुपमा काम गर्ने अवसर पाइन् । आफ्नै नेतृत्वमा धेरै फेसन शो इभेन्टहरू पनि सञ्चालन गरिसकेकी छन् निलमले ।
नीलम एक स्थापित मेकअप आर्टिस्ट एवं मोडल हुन् । उनको हातले नेपालका चर्चित पब्लिक फिगर, कलाकारहरूको शारीरिक सुन्दरता चम्काइसकेका छन् । समय समयमा राजधानी र देशका विभिन्न शहरमा हुने ‘फेसन शो’ को कार्यक्रम संयोजन गर्छिन् नीलम ।
समाजमा नीलम जस्ता यौनिक तथा लैंगिक अल्पसङ्ख्यकलाई गर्ने व्यवहारमा केही परिवर्तन त आएको छ तर पनि यो पर्याप्त छैन । अझैपनि नीलममाथि आफ्नै सहकर्मीहरुबाट, एयरपोर्टका कर्मचारीहरूबाट, विभिन्न आयोजकबाट, मिडियाबाट कँही न कतै दुर्व्यवहार हुँदै आएका छन् । तर उनी त्यस्ता दुर्व्यवहारको डटेर प्रतिवाद गर्छिन् । त्यसका विरुद्ध आवाज उठाउँछिन् । आफ्नो लैंगिक पहिचानमा नीलम गर्व गर्छिन् । धेरै सहयोगी शुभचिन्तकहरूको साथ पाएकी छन् निलमले । अन्य यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई पनि मेकअपको तालिम दिएर स्वावलम्बी बनाएकी छन् उनले ।
आफूले टेक्ने धरातल आफै बनाएकी नीलम भन्छिन्, “भाग्य सबैको बराबर हुन्छ, चम्काउने आफैले हो”
अब माथिको प्रश्नको उत्तर खोज्ने जिम्मा तपाईं पाठकहरूको ।