गीताको कृषि उद्यम हेरेपछि लाग्छ – खाडी पस्नु भन्दा बारी खन्नु नै ठीक !
दशक अगाडिसम्म ललितपुर लेलेमा बस्दै आएकी गीता खत्रीले तरकारी ‘नगद’ हो भन्ने पत्तै पाएकी थिइनन् । तरकारीका तीन उपयोग; वल्लो घर पल्लो घर तरकारी साटेर पकाउने, भान्सा चलाउने त्यति गर्दा नि बाँकी रहे गाईबस्तुलाई कुँडो पकाउने यत्तिनै थाह थियो उनलाई ।
२०६९-७० ताकादेखि लेले क्षेत्रमा सहकारी खुल्न थाले । गुड नेवर्स इन्टरनेशनल नेपाल र सरस्वती कुण्ड सहकारी संस्थाले लेलेका महिलाहरूलाई बचत गर्ने बानी मात्र सिकाएनन् उनीहरूले गर्दै आएको तरकारी खेतीलाई व्यवसायिक बनाउँदै उद्यमी बन्न पनि सिकायो । व्यवसायिक कृषि गर्नका लागि समय सापेक्ष तालिम दिने, प्राकृतिक खेतीका लागि किसानलाई प्रोत्साहित गर्ने जस्ता कुरामा गुड नेवर्स इन्टरनेशनल नेपालले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ । यही सहयोग पाएर कृषिमा सम्भावना देख्न सक्षम भइन् गीता । गीता मात्र होइन, सयौंले यस प्रकारको सहयोग लिएर आफ्नो जीविको कृषि कर्मबाट धान्न सक्ने भएका छन् । यो अभियानले लेलेमा थोरबहुत परिवर्तन लाएको छ, पहिले २०-२२ जना जुट्न पनि गाह्रो हुने अवस्था थियो अहिले यो सहकारीमा ९ सय भन्दा बढी सदस्य छन् ।
गीता पनि सोही सहकारी अनि संस्थासँग जोडिइन् र कहिले कृषि तालिम त कहिले सहुलियत कर्जाबारे बुझ्दा बुझ्दै उनले ‘जानेर गर्ने हो भने तरकारी त गज्जबको आम्दानीको स्रोत रहेछ’ भन्ने बुझिन् ।
कृषि सहकारीले उद्यमशीलताको अभियान नै चलाउन थालेपछि उनी पनि कार्यक्रमहरूमा भाग लिन थालिन् ।
यही बीच प्रविधि सिकिन्, प्लास्टिकको घरबारे बुझिन्, मल्चिङ्ग बारे जानिन् । गाई बस्तु पाल्दै निम्न आर्थिक अवस्थामा घरायसी जीवन चलाउँदै आएकी उनलाई व्यवसायिक तरकारी खेती गर्ने हुटहुटी बढ्दै गयो । उनी भित्र जोस थियो सहकारीले बाटो देखाइदियो ।
तरकारीबाली बारे धेरै बुझिसकेकी गीताले पहिलो वर्ष ४ वटा टनेल जग्गा भाडामा लिएर बनाउन लगाइन् । टनेल बनाउन सहकारीले पनि सघायो । गज्जबै भयो एउटा बोटमा १-२ केजी फल्ने गोलभेँडाले टनेल भित्र १० केजीसम्म फल दियो । भान्सामा मात्र सीमित तरकारीले बजार देख्यो । हत्तपत्त पैसा हातमा नपर्ने गीताको गोजी भरिन थाल्यो ।
“पैसा देख्नै सकस हुन्थ्यो तरकारी उमार्न थालेदेखि त गज्जबकै आम्दानी भयो, यही तरकारीले २ छोरा पढाएँ एउटाको बिहे गरेँ, घर व्यवहार राम्रोसँग चलेकै छ । अझै ३ जना त काम गर्ने सहयोगी पनि राखेकी छु,” गीताले भनिन् ।
तरकारी खेतीमा जति जति गीताले मेहनत र पसिना बगाइन् उति उति उनको संघर्षले रङ्ग देखाउन थाल्यो। दश वर्षअघि ४ वटा टनेलबाट सुरुभएको तरकारी खेती अहिले ४० वटा टनेलमा फैलिएको छ ।
गीता भन्छिन्, “कृषि दुःख होइन मेहनत हो, मेहनत गरे फल राम्रै लाग्ने रहेछ”
व्यवसायिक तरकारी खेती सुरुवात गर्नुअघि कृषि प्रविधि बारे केही पनि थाह नभएकी गीता अहिले आफै आधुनिक खेती जान्दछिन् । उनलाई टनेल खेती थाह छ, मल्चिङ्ग थाह छ, उनले बजार बुझेकी छिन् र एक सफल उद्यमीको परिचय बनाएकी छिन् ।
हेर्नुहोस् लेलेमा व्यवसायिक तरकारी खेती गरिरहेकी कृषि उद्यमी गीता खत्रीको जीविको कथा :