वैदेशिक रोजगारीका क्रममा समस्यामा परे यसरी लिनुहोस् निःशुल्क कानूनी साहयता (भिडियो)
नेपालबाट रोजगारीको अवसरको खोजीमा दिनहुँ हजारौं नेपाली युवाहरू विदेशिन्छन् । विशेषत खाडी राष्ट्रहरू, मलेशिया तथा युरोप रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या ठूलो छ । वैदेशिक रोजगार विभागको तत्थ्याङ्क अनुसार २०८० साल असार १७ सम्ममा ७ लाख ४० हजार ८३९ जनाले वैदेशिक रोजगारीलाई गन्तव्य बनाएका छन् ।
वैदेशिक रोजगारीमा जाने शृङ्खला दिनहुँ बढीरहँदा वैदेशिक रोजगारीका नाममा हुने ठगी घटनाका ग्राफ पनि बढेर गएको देखिन्छ । पछिल्लो २२ महिनामा वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारीका नाममा ठगिएको भनेर एक हजार पाँच सय १६ उजुरी परेका छन् ।
यसै सन्दर्भमा वैदेशिक रोजगारीका क्रममा ठगिए के गर्ने ? कानुनी उपचार कसरी खोज्ने ? सरकार तथा गैरसरकारी संस्थाले कस्ता सेवा सुविधाहरू प्रदान गर्दै आएका छन् जस्ता विषयमा आप्रवासन विद् सोम लुइँटेलसँग जीविकोले भिडियो संवाद गरेको छ ।
प्रस्तुत छ आप्रवासन विद् सोम लुइँटेलसँगको जीविको संवाद
म चाहिँ विदेशिनु भएका कसैलाई पनि कानुनी प्रक्रियामा जानु नपरोस् कसैले पनि मुद्दा मामिला खेप्नु नपरोस् भन्न चाहन्छु । वैदेशिक रोजगारीका बारेमा सोध खोज गरेर र सम्पूर्ण प्रक्रिया बुझेर मात्र विदेशिनु होला भन्न चाहन्छु ।
तर, गर्दागर्दै पनि कति साथीहरूलाई विभिन्न समस्याहरू पर्दै आएको छ । यदि तपाईंहरू कुनै कानुनी समस्यामा पर्नुभयो । रोजगारदाता कम्पनीले तलब दिएन, तपाईं ठगिनुभयो वा अन्य कुनैपनि किसिमको समस्यामा पर्नुभयो भने चाहिँ तपाईंले वैदेशिक रोजगार विभाग सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुपर्ने हुन्छ । अहिले जिल्ला प्रशासन कार्यलयहरूमा आप्रवासन स्रोत केन्द्रहरू खोलिएका छन् । ती स्रोत केन्द्रहरूलाई हाम्रो संस्था पिपुल्स फोरमले कानुनी तालिमहरू दिएको छ ।
स्रोत केन्द्रमा रहेका कर्मचारीहरूले तपाईँहरूलाई प्रारम्भिक उजुरी लेख्न, उजुरी गर्न सहयोग गर्नुहुन्छ ।यदि यो प्रक्रियामा कुनै किसिमका समस्याहरू आएमा उहाँहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ । यदि तपाईं वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्नुभएको छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुहोस् । यदि तपाईं काम विशेषले काठमाडौँतिर हुनुहुन्छ भने वैदेशिक रोजगार विभागमा पनि सम्पर्क र उजुरी गर्न सक्नुहुन्छ ।
वैदेशिक रोजगार विभागमा पनि हाम्रो पिपुल्स फोरमबाट वकिल साथीहरू त्यहाँ बस्नुहुन्छ उहाँहरूले पनि तपाईँहरूको लागि राय सुझाव र सल्लाह दिनुहुन्छ र प्रारम्भिक रिपोर्ट तयार गर्न साहयता गर्नुहुन्छ ।
तपाईंको उजुरी यी निकायहरूमा परेपछि मात्र तपाईं सिस्टममा आउनुहुनेछ । यसरी आएका मुद्दाहरूलाई फलोअप गर्ने काम पनि हामीले गरिरहेका हुन्छौँ ।
विशेषगरी वैदेशिक रोजगारीका क्रममा आउने मुद्दाहरू दुई प्रकृतिका हुन्छ । एक प्रकारको सामान्य ठगीका मुद्दाहरूलाई वैदेशिक रोजगार विभाग आफैँले टुंगो लगाउँछ । जहाँ विभागले नै धरौटी रकमहरूबाट रकम निकालेर ठगिएका नागरिकहरूलाई क्षतिपुर्ती पनि दिन सक्छ ।
विभागबाटै समाधान हुने किसिमका मुद्दाहरूलाई हामी त्यहीँबाट मिलाउँछौँ । तर कैद जरिवाना हुने किसिमका अलि संवेदनशील मुद्दाहरू चाहिँ वैदेशिक रोजगार न्यायधिकरणमा जान्छ ।
न्यायधिकरणमा पनि हाम्रा वकिल साथीहरू हुनुहुन्छ । उहाँहरू मार्फत हामीले त्यहाँ मुद्दाहरूको फलोअप गर्ने साक्षीहरूको बकपत्र गर्न प्रमाण जुटाउनका लागि पहल गर्छौँ । न्याधीकरणको माध्यमबाट तपाईँहरूको मुद्दाको सुनुवाइ हुने गर्छ । यदि न्यायधिकरणबाट फैसाला आए वा प्रतिवादी सर्वोच्च नगए मुद्दाको टुंगो न्यायधिकरणबाट नै सकिन्छ ।
अरू प्रक्रियाहरूबारे धेरै जानकारी नराखे पनि खासै फरक नपर्ला तर तपाईंले दुई चार वटा कुराहरू चाहिँ ध्यान दिनुपर्छ । जसमा सुरुवातमा चाहिँ तपाईँहरूले तपाईंहरू आर्थिक कारोबार सँधै पारदर्शी राख्नुपर्छ ।
आर्थिक कारोबार चुस्त राख्ने भन्नाले तपाईंले वैदेशिक रोजगारीमा कमाएको पैसा कहाँ कुन माध्यमबाट कसलाई पठाउनुहुन्छ जस्ता कुराहरू अभिलेख राख्दा धेरै सजिलो हुन्छ ।
त्यस्तै तपाईं वैदेशिक रोजगारीमा गइसक्नुभएको छ भने विदेशमा रहँदा बसेको होटलको वा कारोबारहरूको भर्पाई वा रसिदलाई सुरक्षित राख्ने गर्नुहोस् । यसरी सबै प्रमाणहरू राखेपछि तपाईंले उजुरी गर्न सक्नुहुन्छ र हामी सहयोग पुर्याउँछौँ ।
अर्को महत्वपूर्ण कुरा चाहिँ तपाईं ठगिएर उजुरी गरेपछि सुरुवातमै उसको सम्पत्ति रोक्का लागि काम थाल्नुहोस् ।
सम्पत्ति रोक्का गरेको खण्डमा अहिलेको कानुनले वैदेशिक रोजगारी सम्बन्धी कसुर गर्ने कसुरदारलाई ५ वर्ष देखि ७ वर्षसम्म कैद गर्ने र ३ लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था हुन्छ ।
सोही अनुरूप तपाईंलाई ठगी गरेर लगेको रकम तपाईंलाई फिर्ता गराइन्छ सो फिर्ता गरिएको रकममा ५०% ब्याज समेत थपेर तपाईंको खातामा रकम आउँछ ।
उदाहरणको रूपमा यदि तपाईंले ४ लाख रुपैयाँ बुझाउनुभएको छ भने तपाईंले ६ लाख रुपैयाँ पाउनुहुनेछ । यदि तपाईं विदेशिसक्नुभएको छ भने तपाईं जाँदा लागेको रकम पनि विपक्षीले भुक्तानी दिनुपर्ने व्यवस्था छ ।
वैदेशिक रोजगारीका क्रममा लगाएका मुद्दाहरू सरकारवादी फौजदारी मुद्दाहरू हुने गर्छन् त्यसैले अदालतमा यसको कुनै पनि शुल्क तिर्नुपर्दैन ।
तपाईंलाई काठमाडौंसम्म आएको खर्च पनि लाग्दैन । पहिलो चोटी मुद्दा दायर गर्न आउँदा तपाईंको खर्च लागेपनि दोस्रोपटक देखि वैदेशिक रोजगार न्यायधिकरणमा बकपत्र गरेर आउँदा तपाईंले भत्ता समेत पाउनुहुन्छ सो भत्ता लिन पनि नबिर्सिनुहोस् ।
टिकट, फोटोकपी, सरकारको निःशुल्क साहयताका वकिलहरूको पनि कुनै खर्च लाग्दैन । तपाईंको काठमाडौंसम्म आउँदाको खर्च बाहेक अरू कुनैपनि खर्च लाग्दैन ।