के अब कामदार भिसामा जर्मनी जान पाईन्छ ?

जीविको २०८० असार ६ गते १६:२६

‘जर्मनीबाट नेपाली कामदारको माग’ भन्ने समाचार तपाईंले पनि पक्कै थाहा पाउनु भयो होला । हो, विशेषगरी खाडी, मलेशिया, कोरिया जस्ता राष्ट्रहरूमा नेपालीहरू काम गर्नका लागि गइरहेको अवस्थामा युरोपको एउटा समृद्ध मुलुक जर्मनीले नेपालबाट कामदार लैजाने भनेर नेपाल सरकारलाई औपचारिक प्रस्ताव नै गरेको छ ।

नेपालीहरूका लागि आकर्षक गत्नब्य हो युरोप । नेपालबाट धेरै युवाहरू १० देखि १५ लाखसम्म खर्चिएर बिचौलियाको सहारामा युरोपका विभिन्न देशमा पुग्ने गरेका छन् । यसबारेमा जीविकोमा ‘के साँच्चै युरोपमा सुन फल्छ ?’ भन्ने लेख मार्फत युरोपमा नेपालीहरूको अवस्था कस्तोसम्म हुन्छ भनेर प्रस्ट्याएका छौं ।

हालै ‘नेपालले जर्मनीसँग पनि श्रम सम्झौता गर्ने’ भनेर समाचारहरू आइरहँदा आम सर्वसाधारणमा एउटा प्रश्न उब्जिएको छ- के उसो भए अब नेपालीहरू जर्मनीमा कामदार भिसामा जान पाउँछन् त ? कतिसम्म भने “जर्मनीले नेपाली कामदार मागेको छ, हामी पठाउछौँ” भन्दै केही बिचौलियाले ठगीको खेती सुरु गरिसकेका छन् । तर सम्पूर्ण तथ्य थाहा नपाई ‘जर्मनीमा काम गर्न जाने’ भनेर प्रकृया सुरु गर्नु भयो भने तपाईं ठगिन सक्नुहुन्छ ।

वैदेशिक रोजगार बोर्डमा रहेको ‘कल सेन्टर’मा दैनिक ठगीका उजुरीहरू आइरहेका हुन्छन् । वैदेशिक रोजगारीका बारेमा पूर्ण जानकारी नराखी विचौलियाको कुरालाई पत्याउँदा हरेक वर्ष ठगिने र उजुरी दिनेको सँख्या बढ्दो छ ।

जर्मनीमा रोजगारीका बारेमा पनि पूर्ण जानकारी होस् भनेर जीविकोले यो सामाग्री तयार गरेको छ ।

श्रम मन्त्रालयका अधिकारी भन्छन् ‘नेपालबाट कामदार लैजाने भनेर जर्मनीले प्रस्ताव गरेको’ भन्ने जानकारी सही हो तर कामदार पठाउने प्रकृया सुरु गर्न केही समय अझै लाग्ने छ । नेपाल सरकारले अहिले जर्मनीसँगै रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ ।  नेपाली कामदारलाई जर्मनीमा पारिश्रमिक र सेवासुविधा के कस्तो हुने भन्ने विषय समावेश गरेर समझदारीपत्रको ड्राफ्ट पठाइसकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ  ।

प्रष्टसँग बुझ्नु पर्ने कुरा के हो भन्दा, जर्मनीबाट नेपाली कामदारको माग भएपनि यो विषयमा अहिले सरकारले तयारी गरिरहेको छ, कामदार नै पठाउने चरणमा पुग्न भने केही समय लाग्ने छ । समय कति लाग्छ भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यकिनका साथ भनेको छैन । मन्त्रालयका अनुसार अब थप तयारी र छलफलका लागि मन्त्रालयको टोली जर्मनी जाने छ ।

यसै सन्दर्भमा ‘नेपालीलाई जर्मनीमा रोजगारीका लागि पठाउने विषयमा मन्त्रालयबाट के-कस्ता काम हुँदैछ?’ भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीसँग कुराकानी गरेका छौं । उनी यसो भन्छन् :

…………….

युरोपका धेरै देशहरूबाट रोजगारीका लागि विशेषगरी कृषि अनि निर्माण व्यवसायको क्षेत्रमा नेपाली श्रमिकहरूको माग भएको छ । सोही अनुरूप हामीले अहिले माग प्रमाणिकरणको काम गरिरहेको अवस्था छ भने त्योसँगै अहिले खाडी मुलुक केन्द्रित हाम्रो श्रमबजारलाई युरोपियन देशहरूमा पनि परिणत गर्ने हिसाबले मध्यस्थतताको काम गरिरहेका छौँ । त्यसै सन्दर्भमा हामीले अहिले जर्मनी सरकार र रोमानिया सरकारसँग दुईपक्षीय सम्झौता गर्न  प्रस्तावित सम्झौताको लागि ड्राफ्ट तयार गरेका छौँ ।

यसरी गरिने सम्झौता श्रमिकहरूको हकमा होस् भन्ने हिसाबले पनि छलफल गर्नुपर्छ भन्ने हिसाबले हामीले वृहत छलफलको तयारी गरिरहेको अवस्था हो ।

 समग्रमा पछिल्लो समय युरोपबाट नेपाली श्रमिकहरूको माग बढ्दै आएको अवस्था चाहिँ हो ।

जर्मनी सरकारले अहिले दक्ष कामदारको माग गरिएको छ । तर, वैदेशिक रोजगारीमा जान चाहने हाम्रो ठूलो जमात दक्ष र तालिमप्राप्त नभएको अवस्थामा उनीहरूको मागलाई हामीले अहिले नै न्याय गर्न सकिहाल्ने अवस्था भने छैन । यसो भनिरहँदा हाम्रो पनि प्राथमिकता दक्ष जनशक्तिलाई नै विदेश पठाउने भन्ने हुन्छ सोही अनुरूप हामीले हाम्रा श्रमिकहरूलाई दक्ष बनाउने तर्फ लाग्नुपर्छ र त्यही अनुरूपको प्रयास भइरहेको छ ।

म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेती

हामीले यसै सवालमा अहिले निरन्तर जर्मनीस्थित नेपाली दूतावाससँग पनि कुराकानी गरिरहेका छौँ ।  

अहिले श्रम मन्त्रालयले विशेषरूपमा दुईपक्षीय सम्झौताको लागि अनि अन्य विषयहरूका लागि भनेर छलफल गरिरहेका छौँ । 

व्यक्तिगत रूपमा अहिले पनि श्रमिकहरू जर्मनी गइरहनुभएको छ तर जर्मनी लगायतका युरोपियन देशहरूमा श्रमिकहरूलाई पठाउँदा दुई पक्षीय सम्झौता गरेर नै कामदारहरू पठाउन पाए थप सहज हुने भन्दै हामी प्रयत्नरत छौँ ।

अहिले झट्टै कोरिया वा इजरायलमा कामदार माग भयो हामीले पठाइहाल्नुपर्छ भन्ने हिसाबले हैन तर चरणगत छलफलमा नै जर्मनी रोजगारीको काम चलिरहेको छ अब हामीले हाम्रो छनोटको मोडालिटी के हुने जि टु जी गरेरै युरोप पठाउने कि संस्थागत तवरबाट पठाउने भन्ने जस्ता विषयहरूमा गृहकार्य भइरहेको छ । अब केही महिना यी यावत प्रक्रियाहरूमा लाग्न सक्छ । हामीले कूटनीतिक तवरबाट दुई पक्षीय श्रम सम्झौताकै लागि भनेर कुरा गरेका छौँ यसको नतिजा आएपछि चाहिँ हामी कुन मोडालिटीमा युरोप कामदार पठाउँछौँ भन्ने जस्ता विषयहरूमा यकिनका साथ भन्न सक्छौँ ।

अहिले नै जि टु जी, संस्थागत वा व्यक्तिगत कुन प्रक्रियाबाट कामदारलाई युरोप पठाउने हो भन्ने विषयमा टुंगो लागेको छैन त्यसको लागि सम्झौताको प्रारम्भिक कामहरू भइरहेको छ ।

जर्मनी सरकार र नेपाल सरकार बीचको समझदारीले निकास पाएपछि हामी कामदार पठाउँछौँ युरोपमा नेपाली कामदारको बाटो खुलाउनका लागि हामी सकारात्मक छौँ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीसँगको अडियो कुराकानी सुन्नुहोस्:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *