अवैधानिक गाँजामा उद्यमी मदनले देखेका वैधानिक सम्भावना (भिडियो)
“गाँजा खाए गँजेडी, व्यवसाय गरे तस्करी भनेर नाम दिने गरिन्छ । गाँजाले बनाएको पहिचान यही नै त हुन् ।” बिराटनगरका मदन कोइरालाले सुनाए ।
परापूर्वक कालदेखि नेपालमा गाँजा उत्पादन हुने र यसलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिएता पनि यसको पहिचान भने नशालु पदार्थको रूपमा मात्र विकसीत छ । तर गाँजा नशालु पदार्थको रुपमा मात्र प्रयोग नगरी यसलाई विभिन्न तरिकाले बहुउपयोगी बनाउन सकिन्छ भनेर मदनले गाँजाको सामाग्री बनाउने एभरेष्ट क्यानबिस एण्ड हेम्प कम्पनी खोलेका छन् ।
उनको उद्देश्य भनेको गाँजाबाट तेल, अचार लगायतका विभिन्न उपयोगी कुराहरू उत्पादन गर्दै उद्यमको सम्भावना पहिल्याउनु हो ।
कम्पनीमा गाँजाको दानाबाट बन्ने अचार, तेल, दुखाइ कम गर्ने औषधि जस्ता बिभिन्न सामानहरु बन्छ, जुन स्वास्थ्यको लागि पनि उपयोगी हुने मदन बताउँछन् । हुन त आजभन्दा ५ दशक अगाडि लागू औषध ऐन बनेपछि गाँजालाई कानूनी रुपमा बन्देज गरिएको छ । त्यस यता गाँजा रोप्न, यसको बिक्री बितरण गर्न नेपालमा गैर कानुनी मानिन्छ ।
यस्तो अवस्थामा गाँजा कै व्यवसाय गर्न कसरी सम्भव भयो ? भन्दा मदन भन्छन्, “सरकारले लगाएको बन्देज भनेको गाँजाको फूललाई हो । जसमा THC नाम गरेको पदार्थ हुन्छ, त्यसले नशा लगाउँछ । त्यसलाई मात्र सरकारले अवैध भनेको छ । बाँकी गाँजाको दाना, डाँठ, जरा आदिमा कुनै बन्देज छैन, यसबाट बन्ने सबै सामान कानूनी रुपमा मान्य हुने भएकोले यसको व्यवसाय मजाले गर्न सकिन्छ, हामीले दर्ता गरेर नै कम्पनी खोलेका हौँ”
सरकारले गाँजाबाट बन्ने सामानमा रोक लगाएको छैन । मात्र गाँजाको बोट उमार्नमा रोक लगाएको छ ।
अहिले पनि हाम्रो समाजमा गाँजाको सामाग्री भन्ने बित्तिकै यो त ‘कानुनले मान्यता दिएको छैन, कसरी यसमा हात हाल्न सकिन्छ, समाजले गाँजाको काम गर्ने भनेर बहिष्कार पो गर्ने होकी’ भन्ने गलत धारणाले गर्दा नै यो व्यवसायमा धेरै ब्यक्तिहरू नलागेको मदनको अनुभव छ ।
दशक अगाडिबाट गाँजा खेतीलाई वैधानिकता दिइनुपर्ने माग राख्दै गाँजाको बहुउपयोगीताको वकालत गर्दै आएका मदन आफैँलाई गाँजाको व्यवसाय गर्न धेरै अफ्ट्यारो पर्यो । गाँजाबाट सामाग्री बनाउँदा उनले पनि उपनाम पाए ‘गँजेडी’ ।
“व्यवसाय सुरू गरेपछि मलाई त सामान बेच्न भन्दा पनि समाजमा उद्यमको पहिचान बनाउन धौ धौ छ,” मदन कोइरालाले आफूले गरेको उद्यमको पीडा सुनाउँदै भने ।
गाँजाको व्यवसाय गर्ने भन्ने बित्तिकै घर परिवारले नै सबैभन्दा पहिले साथ छोड्छन् । झन् समाजले यसलाई स्वीकार्ने त कुरै भएन । त्यही भएर पनि यो व्यवसाय गर्न कुनै युवाहरू अघि सर्दैनन् भन्ने अनुभव मदनको छ ।
मदन भन्छन्, “हामीले वास्तविकता बुझ्नु पर्छ, तथ्य नै थाहा नपाई भ्रममा विश्वास गर्नु हुँदैन । गाँजाको सम्भावना एकदमै धेरै छ, गाँजाबाट बिभिन्न सामाग्रीहरू उत्पादन गर्न सकिन्छ । गाँजा मात्र एउटा यस्तो वनस्पति हो जसको कुनै पनि भाग खेर जाँदैन । गाँजाको डाँठ, जरा, बोक्रा र दाना सबैबाट बेग्लाबेग्लै उपयोगी कुराहरू बन्छ । गाँजाको डाँठको बोक्राबाट कम्पोस्ट मल बनाउन सकिन्छ । त्यस्तै गाँजाको डाँठ भित्रको रेशा कपडा बन्छ, गाँजाको दानालाई अचार बनाएर खान सकिन्छ”
यस्ता समानहरु उत्पादन गर्नसके नेपालमा मात्र नभएर यसको बजार विश्वभर फैलाउन सकिने मदन बताउँछन् ।
एभरेष्ट क्यानबिस एण्ड हेम्प कम्पनीमा गाँजाबाट उत्पादन भएका तेल, अचारका लागि भाँगो
“हाम्रो देशको जुनसुकै ठाउँमा गाँजा पाइन्छ । जहाँ पनि यसको खेती गर्न सकिन्छ । अनि यसबाट बन्ने सामानहरू नेपालमा मात्र नभएर बाहिर पनि माग अनुसार पठाउन सके राम्रै आम्दानी गर्न सकिन्छ । ”
मदन भन्छन्, गाँजाबाट बनेका सामानलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । क्यान्सर लागेका मानिसलाई केमोथेरापीमा दिँदा त्यसको पीडा सहन असाध्यै गाह्रो हुन्छ। त्यो अवस्थामा गाँजायुक्त औषधिले सहज गर्छ। अहिले आएर डिमेन्सिया र अल्जाइमरजस्ता रोगमा पनि गाँजायुक्त औषधिको प्रयोगले यस्ता रोगहरूको निदान गर्न पनि मदत गर्ने विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको उनको तर्क छ । यसको रोचक कुरा त यसलाई मांसहारी अनि सहकारीले मज्जाले सेवान गर्न सक्छन् ।
यती धेरै बहु उपयोगिताको प्रमाण दिईसकेको गाँजालाई सरकारले भने अझै कानुनी वैधानिकता नदिएकोमा मदन निराश छन् ।गाँजालाई उपयोग गर्नुभन्दा सरकार गाँजा फाड्नमा अगाडि बढेको देखिन्छ । तर गाँजालाई कानूनी वैधानिकता दिए यसबाट देशको आर्थिक उन्नति हुनुको साथै देशमा रोजगारीको बाटो खुल्नेमा विश्वस्त छन् उनी ।
मदन भन्छन् “गाँजालाई वैधानिकता दिए यसबाट धेरै उद्योग खोल्न सकिन्छ, तर हामीले वैधानिकता दिएको गाँजाका अरु भागहरु डाँठ, दाना, रेसा, पातबाट व्यवसाय गर्दा राम्रो आम्दानिको साथै देशमै रोजगारीको बाटो खोल्न सक्छौँ । हामीले आफ्नै देशमा प्रशस्त पाइने समृद्धिको स्रोतलाई पहिचान गर्न ढिलो गर्नु हुँदैन”
हेर्नुहोस्, गाँजाबाट उद्यमको सम्भावना खोज्दै गरेका मदनसँगको भिडियो कुराकानी: