सावधान: रोजगारीको प्रलोभन मानव बेचबिखनको पासो हुनसक्छ ! (भिडियो)
मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले यस वर्ष २०७९ को बैशाखदेखि फाल्गुण मसान्तसम्म १ हजार ७ सय जनालाई वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिम रहेको भन्दै उद्धार गरेको बताएका छन् । वैदेशिक रोजगारीमा विभिन्न प्रलोभन देखाएर मानव बेचबिखन गर्न स्वदेश र विदेशमा गिरोह नै सकृय रहेकाले नेपाल सरकारले तोकेको सम्पूर्ण प्रकृया पूरा गरेर सुझबुझका साथ वैधानिक बाटोबाट मात्र विदेश जान व्यूरो प्रमुख एसएसपी जीवनकुमारले सम्पूर्णमा सचेत गराएका छन् ।
हेर्नुहोस्, मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसँगको भिडियो कुराकानी
गाउँबाट काठमाडौं आउँदा लाग्ने खर्च, काठमाडौंमा बस्दा लाग्ने खर्च, राहदानी लगायत अन्य कागजपत्र बनाउँदा लाग्ने खर्च र विदेश पुग्दासम्मको खर्च एजेन्टले नै व्यवस्था गर्ने र त्यहाँ पुगेपछि बेचबिखन गर्ने अपराधमा त्यस्ता गिरोह लागिरहेकाले वैदेशिक रोजगारीमा जानेहरू स्वयम् सचेत हुन र शंका लागेको समयमा कुनै पनि अवस्थामा प्रहरीको सहयोग लिन उनले आव्हान गरेका छन् । विशेषगरी भिजिट भिसा, सिजनल रोजगारी भन्दै तलब र सुविधाको प्रलोभन देखाएर आउने अवसरहरू मानव बेचबिखनको पासो हुनसक्ने व्यूरो प्रमुख जीवनकुमार बताउँछन् ।
जीविको डटकमसँगको कुराकानीमा वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन तथा ओसारपसारबाट कसरी सचेत हुने र कसरी प्रहरीको सहयोग लिने भन्ने विषयमा मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले व्यक्त गरेको धारणा:
……
हामीकहाँ आएको उजुरी र हामीले उद्धार गरेर ल्याएका पीडितको बयान लिँदा यतिसम्म भेटिएको छ कि, एजेन्टहरूले पासपोर्ट आफैँले बनाइदिने, गाउँबाट यहाँसम्म आउने पैसा हालिदिने, भिसा खर्च आफैँ तिरिदिने, काठमाडौंमा बस्दा लाग्ने होटल खर्च लाग्ने आफैँ व्यहोर्ने साथै काठमाडौंदेखि गन्तव्य देशसम्म जान लाग्ने प्लेन टिकट पनि आफैँ हालिदिने गरेको पाइन्छ ।
खासमा भिजिट भिसामा जाने सम्पूर्ण कामदारहरू आफैँमा बेचिएका वा तस्करीमा परेका भने होइनन्, तर प्रक्रिया नपुर्याई भिजिट भिसामा विदेशिँदा भने तस्करीमा पर्ने भेटिएको छ । मानव बेचविखन तथा ओसारपसारमा अहिले देखिएको ट्रेन्डमा चाहिँ नेपालभित्रै, नेपालसँग खुला बोर्डर जोडिएको भारत, खाडी राष्ट्र र युरोप अमेरिकासम्म पढ्ने बहानामा, रोजगारीको बहानामा वा अन्य कुनै बहानामा मानव बेचबिखन भइरहेको छ ।
खासगरि खाडि राष्ट्रमा नेपाल सरकारले नेपाली महिला दिदी बहिनीहरूलाई घरेलु कामदारको रूपमा विदेशिन बन्देज गरिदिएको छ । तर अलिकति कमाउने आशमा भिजिट भिसाको सहारामा त्यसरी बन्देज लगाएका कामहरूमा विदेशिँदा वहाँहरू बेचविखनमा पर्ने गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा विदेशिँदा ध्यान पुर्याऔँ भन्दै सचेतनाका लागि हामीले डिजिटल बोर्डहरू राख्ने, पर्चा प्याम्प्लेट राख्ने, विभिन्न गैरसरकारी निकायहरूसँग समन्वय गर्ने साथै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्रै पनि हामीले सोधपुछ गर्ने डेस्कहरू स्थापना गरेका छौँ ।
साथै भिजिट भिसामा विदेशिँदा नेपाल सरकारले तोकिएका १७ वटा मापदण्ड पूरा गरेको छ कि छैन भनेर विमानस्थलमा चेक जाँच गर्ने, शंका लागेमा सोधपुछ गर्ने र एयरपोर्ट भित्रै पनि परामर्श दिने व्यवस्था हामीले गरेका छौँ ।
नेपाल प्रहरी मानव बेचबिखन विरुद्धमा प्रतिबद्ध भएर काम गरिरहेको छ । १०० नम्बरमा कल गरेर, नेपाल प्रहरीको एप्, मानव बेचबिखन अनुसन्धान व्यूरोको हटलाइन नम्बर ११७७ मा समेत सम्पर्क गरेर तपाईँहरूलाई कतै मानव बेचबिखन भइरहेको वा आफै परिरहेको लागेमा कुनैपनि बेला सहयोग र सूचनाका लागि सम्पर्क गर्न सक्नुहुन्छ ।
विदेशमा पुगिसकेपछि आफू बेचिएको शंका लागेमा कुन देशमा हुनुहुन्छ त्यहाँको दूतावासमा रहेका पदाधिकारीसँग सम्पर्कमा बस्ने प्रयास गर्नुपर्छ वा हाम्रो इमेल ठेगाना [email protected] मा गएर पनि उजुरी गर्न सक्नुहुन्छ । हामी यस विषयमा संवेदनशील छौँ, मानव बेचबिखन विरुद्ध काम गर्ने सम्पूर्ण सङ्घसंस्थाहरूसँग हामी एकीकृत रूपमा सहकार्य गरेर मानव बेचबिखन हुन नदिन प्रयासरत छौं ।
पहिलो कुरा त हामी बेचबिखन हुनै दिँदैनौँ यदि भइहालेको खण्डमा विदेशबाट उद्धार गर्न त्यहाँ रहेका सम्बन्धित दूतावाससँग सहकार्य गरेर काम गर्छौँ । हामी पीडितलाई उद्धार गर्ने र पीडकलाई सजाय दिने काम पनि निरन्तर गरिरहेका छौँ ।
हामीले विभिन्न नाकाहरूमा विवाह गरेर, सिजनल खेतीका लागि भनेर लगिरहेका धेरैलाई उद्दार गरिरहेका छौँ । पछि बुझ्दै जाँदा जाने र लैजाने बीच कुनै सम्बन्ध नै नभएको पाएका छौँ ।
हामीले प्रवासमा बेचिएका धेरै घटनाहरू पनि सुन्यौँ जहाँ यहाँबाट लगिएका कामदारहरूलाई मोल भाउ गरेर भेडा बाख्राझैँ किनबेच गर्ने काम भइरहने गरेकोसम्म थाहा पायौँ । यस्ता घटनाहरूबारे थाहा पाएपछि हामी अझै चनाखो भएर एयरपोर्टमै परामर्श दिएर यसवर्षको बैशाखदेखि फागुनसम्म १७ सय जतिलाई फर्काइसकेका छौँ ।
मुख्य कुरा जाने मान्छेले नै कसैको प्रलोभनमा परेर, झुटा आश्वासनमा परेर विदेशिन हुँदैन । वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेका मापदण्ड पूरा गरेर, वैधानिक रुपमा काम गर्ने मेनपावरहरूलाई प्रयोग गरेर, श्रम स्वीकृति लिएपछि विदेशिन पाइन्छ । तर, भिजिट भिसामा कुरा नबुझी जाँदा बेचबिखनमा पर्ने सम्भावना बढी हुन्छ ।
हामीले वैदेशिक रोजगार विभागसँग समन्वय गरेर त्रिभुवन विमानस्थलमा टोली खटाएका छौँ । नयाँ बनेको अन्तराष्ट्रिय विमानस्थल; गौतम बुद्ध र पोखरामा पनि हामी टोली खटाउने छौँ । हामी जनचेतनाका कामहरू पनि अगाडि बढाउने योजना बनाएका छौँ । नेपाल प्रहरीलाई मानव बेचबिखन के हो ?, यसमा कसरी अनुसन्धान गर्ने ? यसका कानुन र सजायहरूका बारेमा पनि अनुशिक्षण तालिमहरू सञ्चालन गर्ने काम थालेका छौँ ।
यसमा सबैको सहयोग हातेमालो जरुरी छ । जनताले पनि हामीसँग हातेमालो गर्नुपर्ने हुन्छ । स्थानीय निकायहरूका प्रतिनिधिहरूले पनि आफ्नो गाउँठाउँमा कस्ता गतिविधि हुँदैछ ? कस्तो किसिमको रोजगारीमा आफ्नो क्षेत्रका युवा युवतीहरू जाँदै हुनुहुन्छ ? रोजगारी दिने नाममा कस्ता किसिमका मानिसहरू आफ्नो गाउँठाउँमा पुग्दै हुनुहुन्छ भन्ने जस्ता कुराहरूको जानकारी स्थानीय तहहरूले राख्नुपर्ने हुन्छ र जनचेतना जगाई नियमसङ्गत जान पनि अनुरोध गर्नुपर्छ । हामी सबैसँग हातेमालो गरेर समन्वय गरेर अगाडि बढ्न चाहन्छौँ ।
हेर्नुहोस्, मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसँगको भिडियो कुराकानी: