किन जल्छन् प्रेम आचार्यहरु ?
माघ १० गते मंगलबार दिउसो संघीय संसद् नयाँ बानेश्वर अगाडि इलामका एक युवा उद्यमीले शरीरमा आगो लगाए । उद्यमी जीवनको ३६ वर्षीय वृत्तान्त सामाजिक सञ्जालमा लेखेपछि उनले आत्मदाह गरेका थिए ।
व्यवसायमा सफल नहुँदा आफ्नै जीवन लिएका घटना यो पहिलो भने होइन । दुई वर्ष अगाडि झापा विर्तामोडका फर्निचर व्यवसायी दिपक ढकालले आफूले लगानी गरेको फर्निचरको व्यवसायमा उधारो बढी हुने र पैसा नतिर्ने कारणले आत्महत्या गरेको भनेर लेखेका थिए ।
विश्वका इतिहास हेर्ने हो भने टाटा मोटर्स कम्पनीका प्रबन्ध निर्देशक कार्ल स्लिम,अन्तर्राष्टिय कम्पनी इन्साइक्लोपेडिया ब्रिटानिकाका प्रमुख सञ्चालन अधिकृत सीओओ विनित विग लगायत उद्यमी व्यवसायीले व्यवसायबाट असफलता पाएपछि आत्महत्या गर्ने गरेका उदाहरणहरू पाइन्छन् ।
इलामका उद्यमी प्रेम आचार्यले गरेको आत्महत्या माथिका उदाहरणभन्दा अलि फरक हुन सक्छ । उनको उद्यमी यात्रा र लेखेको अन्तिम पोस्ट हेर्ने हो भने सरकार, ठूला व्यवसायी हुँदै बिचौलियासम्म उनको मृत्युका मतियार भएको प्रेमले लेखेका छन् ।
एउटा सानो तत्थ्य हेरौँ : कम्पनी रजिष्ट्रारको कार्यालय वि.स. २०४९ मा स्थापना भएपछि करिव २ लाख ८० हजार कम्पनी यहाँ दर्ता भएको तथ्याङ्क छ । कम्पनी रजिष्ट्रार कार्यालयको प्रतिवेदन हेर्दा १८ हजार ५ सय ९५ वटा कम्पनी आ.व. ७६/७७ मा दर्ता भएकोमा त्यसको संख्या बढेर ७७/७८ मा मात्र २६ हजार ४ सय ९८ कम्पनी दर्ता भएको देखिन्छ । कम्पनी रजिष्ट्रार कार्यालयमा मासिक २ हजार वटासम्म कम्पनी दर्ता हुने गरेका छन् । जसमध्ये करिब ४० प्रतिशत मात्र अद्यावधिक अवस्थामा रहेको कम्पनी रजिष्ट्रार कार्यालय बताउँछ ।
पढ्नुहोस् फक्रन नपाउँदै ओलाइउँछन् स्टार्टअप शीर्षकमा एक रिपोर्ट निकालिसकेको छ । यसबाहेक पनि उद्यमशीलताको नारा मात्रै, व्यवसाय दर्ता गर्नै पनि घुस ! भन्ने शीर्षकमा पनि जीविकोमा रिपोर्ट बनेको छ ।
प्रेमले नेपालमा नै जीविको धान्न अनि मेड इन नेपाललाई प्रवर्द्वन गर्नका लागि आफ्नो व्यवसायिक जीवनको सुरुवात देखि नै भरमग्दुर प्रयास गरे । ठमेलमा ट्राभल एजेन्सी खोले र इलामको हरियाली देखाउन खोजे उनले कलेज र क्याम्पसका शैक्षिक भ्रमण लैजान्थे तर थुप्रै कलेजले पैसा दिएनन् । उनी ऋणमा परे अनि कलिलैमा आफ्नो स्टार्टअपलाई बिट मार्नुपर्ने अवस्थामा पुगे । उनको ट्राभल एजेन्सी नेपाली अनि चिनियाँ पर्यटकको थिचाइबाट पेलियो र व्यवसाय बन्द भयो । प्रेम घरजग्गा बिहिन बने र विदेशिए । वैदेशिक रोजगारीका क्रममा कतार पुगेका प्रेमको कमाई राम्रो भयो आफ्नो ऋण तिरे र फेरी व्यवसाय गर्ने मनसाय र आँट बोकेर स्वदेश फर्किए ।
नेपाल आएपछि उनले श्रीमती र आफन्तको सल्लाह र आफ्नै इच्छा बमोजिम जन्म थलो इलाम घर गएर Suryodaya Agro Industries & Farm House Pvt. Ltd. – ilam agro mart खोले उनले त्यहाँबाट इलाममा उत्पादित घ्यू, छुर्पी, गुन्द्रुक अकबरे खुर्सानी, तामाको अचार देश अनि विदेश पुर्याए । बिगमार्ट, भाटभटेनी, विदेशी बजारसम्म नेपाली उत्पादन पुग्यो तर उनको गोजीसम्म पैसा पुगेन ठूला व्यवसायी उनीजस्ता स्टार्टअपमाथि हाबी हुँदा उनले फेरी व्यवसायीका घाटा बेहोर्नुपर्यो ।
उनले इलामबाट तरकारी काठमाडौंसम्म पुर्याए तर विदेशी तरकारीमा कर छुट अनि स्वदेशीमा १५% सम्म भ्याट लगाउँदा उनको यो प्रयास पनि सफल हुन सकेन ।
उनले समाजिक सञ्जालमा लेखेको वृत्तान्त धेरैलाई नौलो छैन यदि पढ्नुभएको छैन भने यहाँ पढ्न पनि सक्नुहुनेछ । CLICK
किन प्रेम जस्ता नव उद्यमीहरू केही नयाँ व्यवसाय गर्न खोज्दा खोज्दै पनि सफल हुन सकेका छैनन् ? यहाँ दोष कसको छ ? के कारणले गर्दा विदेशी सामान बजार पाइरहेको छ अनि स्वदेशी उत्पादनले बजार नपाएर खाल्डोमा कुहिनु परेको छ ।
सरकारको लोकप्रिय कर्जा कार्यक्रम, सीमान्तले पाउँदैनन् पहुँचवालाको रजाईँ
इलाम मङ्गलबारेकी निर्मला थापा सरकारले बिना धितो सहुलियतपूर्ण महिला उद्यमशील कर्जा दिन्छ भन्ने सुनेर बैंकसम्म पुगिन् । आफूले झापा बिर्तामोडमा सञ्चालन गर्दै आएको जुत्ता चप्पलको पसललाई बिस्तार गर्ने सोचले कर्जा सुविधा पाइन्छ भन्ने आशमा उनी झण्डै १० वटा बैंकको ढोका चहारिन् । सबै बैंकहरूको एउटै सर्त थियो; धितो अनुसारको मात्र ऋण निकासा हुने ।
महिला उद्यमशील कर्जा लिनका लागि निर्मलासँग बैंकले मागेजति धितो छैन । उनीसँग भएको पसललाई धितो राख्दा पनि महिला उद्यमशील कर्जा लिनका लागि पर्याप्त भएन । उनी भन्छिन् “बिना धितो ऋण पाइन्छ भनेर सरकारले भ्रममात्र फैलाएको रहेछ । धितो राख्ने केही पनि सम्पत्ति छैन भने महिला उद्यमशील कर्जा माग गर्न बैंक नजानुहोस् ।”
अब भने सहुलियतपूर्ण कर्जा माग गर्न बैंक नजाने निर्मला बताउँछिन् । उनले बैंकसँग १५ लाख कर्जा माग गरेकी थिइन् । जसको लागि बैंकहरूले १८ लाखदेखि २५ लाख रुपैयाँ बराबरको धितो माग गर्यो जुन उनीसँग थिएन ।
“यो त कर्जा दिने भन्दा पनि नदिनलाई बनाइएको प्रक्रिया जस्तो लाग्छ । कर्जा लिन त सहज पो बनाउनु पर्यो । बेकारको उल्झन, दशथरि कागज मात्र माग्ने, अनि गाउँ ठाउँका थोरै पूँजी हुने अनि कम सम्पर्क भएका नव उद्यमी तथा साना उद्यमीले चाँहि कसरी पाउँछ कर्जा?,” उनी प्रश्न गर्छिन् ।
थप पढ्नुहोस् https://www.jibiko.com/2022/01/754/
कृषिमा बिचौलिया : स्वदेशि उत्पादन बिक्दैन बिदेशिको भर
“टाउकोमा १५ लाखको ऋण बोकेको छु, फेरी ऋण काडेर अब कृषि गर्न सक्दिनँ म । कृषिमा धेरै सम्भावना छ भनिन्छ तर गर्ने र भोग्नेलाई मात्र यहाँका दुःख थाहा छ,” निराश हुँदै पश्चिम नवलपरासी सुनवलका विष्णु घिमिरे सुनाउँछन्, “अब विदेश नगई मलाई उपाय छैन ।”
१८ वर्षकै उमेरमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका विष्णु नेपालमै कृषि गर्ने भनेर त्यहाँको चार वर्षे बसाइ टुङ्ग्याउँदै स्वदेश फर्किएका थिए । कृषिमा धेरै सम्भावना र अवसर छ भनेर विदेशमा बचाएको केही रकम र केही ऋण खोजेर गाईबस्तु पाल्न थाले । तर गतवर्ष आएको बाढीका कारण उनका ९ वटा गाई, ६० भन्दा बढी कुखुरा र हाँस अनि घरसमेत बाढीले बगायो । एकरातमै उनको सर्वस्व सकियो । नेपालमै बस्ने र उद्यम गर्ने सपना पनि बाढीसँगै बग्यो उनको ।
विष्णु भन्छन्, “२० लाखभन्दा बढीको सम्पत्ति आँखै अगाडि स्वाहा भयो । गाईबस्तु अनि घर गोठ सबै बाढीले बगायो अनि म घरबार बिहिन भएँ ।”
विष्णु फेरी विदेशिने सोचमा छन् । यसरी विष्णुको भबितब्य ठूलो नोक्सानी हुँदा पनि सरकार कानमा तेल हालेर बस्यो क्षतिपुर्तीका नाममा उनले वडाबाट जम्मा २० हजार रुपैयाँ मात्र पाए । आर्थिक वर्ष २०७०/७१ मा भन्सार विभागले निकालेको तथ्यांक अनुसार नेपालले कुल १ खर्ब ३० अर्ब रुपैयाँको कृषिजन्य वस्तु आयात गरेको थियो । त्यसपछिको ७ वर्षमा कृषिजन्य पदार्थको आयात बढेर आर्थिक वर्ष २०७७/७८ सम्म ३ खर्ब २३ अर्ब पुगेको छ । अर्थात्, प्रत्यक वर्ष आयात बढ्दो छ । सरकारले छुट्याएको बजेट अनुसार प्रतिफल शून्य रहेको देखिन्छ ।
नेपालले मुख्यगरी भारत र चीनबाट कृषि उपज आयात गर्ने गरिरहेता पनि पश्चिमा मुलुकहरुबाट पनि ठूलो परिणाममा कृषि उपज आयात गर्ने गरेको छ ।
नेपाल भारत र चीनसँग मात्र परनिर्भर नभई एसियाली राष्ट्रहरू बंगलादेश, म्यानमारसँग पश्चिमा मुलुकहरू अष्ट्रेलियादेखि अमेरिकन राष्ट्र ग्वाटेमालासम्मबाट नेपालमा कृषि उपज आयात हुने गरेको तर नेपाली कृषकले केही उत्पादन गर्न खोज्दा भने सरकारी संयन्त्र मौन नै हुन्छ । त्यसैले त विष्णु प्रश्न गर्छन् कोही किन किसान बनोस् ?
उद्यम सुरू गर्न खोज्यो पहिलो गाँसमा नै ढुंगा
आफ्नो उद्यम व्यवसाय दर्ता गर्नका लागि कम्पनी रजिष्टारको कार्यलय छिर्न सुरू गरेदेखि नै उद्यमीले शास्ती व्यहोर्नुपर्छ । ‘पैसा देऊ काम बन्छ नदेऊ व्यवसाय सुरू नै हुँदैन’
‘यस कार्यालय सम्बन्धी काममा अनावश्यक ढिलाई हुन गएको लागेमा वा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकारीसँग सम्पर्क राख्न सक्नु हुनेछ’ भनेर लेखिएको छ । तपाईं पहिलोपल्ट यस कार्यालयमा छिर्दै हुनुहुन्छ भने शायद तपाईंलाई लाग्न सक्छ, “सेवाग्राहीमैत्री कार्यालय भनेको यस्तो पो हुनुपर्छ !”
तर कम्पनी रजिष्ट्रार कार्यालयमा अनावश्यक दुःख पाएर घुस खुवाउन वाध्य भुक्तभोगीको अनुभव भने बिल्कुल विपरित छ । उनीहरूको अनुभवका आधारमा यहाँ कम्पनीको नाम जुराउनेदेखि प्रक्रिया र कागजात मिलाएकाले पनि अतिरिक्त खर्च नगर्ने हो भने काम बन्दैन ।
सफ्टवेयर विकास र आईटी सेवाहरू प्रदान गर्दै आएको डियरहोल्ड कम्पनीका संस्थापक रुद्रराज पाण्डेले केही दिन अगाडि मात्र कम्पनी रजिष्ट्रार कार्यालयले घुस मागेको भनेर सामाजिक सञ्जालमा लेखे, “अफिस अफ कम्पनी रजिष्ट्रार OCR भनौं या घुCR (घुसियार) भनौं? उद्यमीलाई सहयोग गर्नुको सट्टा यसले अनावश्यक झमेला दिएर घुस दिन बाध्य पार्छ । भनौँ त कसलाई भनौँ। जाउँ त कहाँ जाउँ। अदालतदेखि मन्त्रालयसम्म सबै मुख बाएर बसेका छन्।”
कति अत्याचार सहने भनेर सामाजिक सञ्जालमा आफ्नो भोगाइ व्यक्त गरेको उनको भनाइ छ ।
पढ्नुहोस् : https://www.jibiko.com/2022/02/927/
प्रेमको आत्मदहले अघिसारेका चुनौतीहरू
एक उद्यमीको आत्मदाहले सामाजिक सञ्जाललाई मात्र हैन उद्यम गर्न खोज्ने हजारौँको मनलाई पनि विचलित बनाएको हुनसक्छ । नेपालमा केही गर्न सकिँदैन, सरकारले उद्यमहरूलाई प्रवर्द्धन गर्ने मनसाय बोकेको छैन, नेपालमा बस्नुभन्दा विदेशिएर गर्जो टार्नु बरु उपयोगी होला, यी र यस्तै सोचहरू आम युवा जमातमा आउनु स्वभाविक विषय पनि हुन् ।
देशमा सम्भावनाको जरो खन्न नसकेर अहिले पनि दैनिक सरदर १७ सय २६ नेपाली विदेशिइरहेको तत्थ्य हामीमाझ छ । स्वदेशी उद्यमको असफलता, सरकारी गैरजिम्मेवारीपन बढ्दै गए यो सङ्ख्या अझै बढ्ने छ भन्नेमा आशंका नहोला ।
“कहिले ५० करोड कहिले २ अर्ब त कहिले सर्टिफिकेट धितो राखेर अनुदान वा सहुलियतपूर्ण कर्जा सुविधा दिने भनिएको छ तर पछिल्लो ७ वर्षमा तीमध्ये कुनै पनि कार्यक्रम कार्यन्वयनमा भने आएका छैनन् ।” शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल जीविकोसँग भन्छन्, “बजेटमा सुन्दा चाहिँ करोडौँका कर्जा सुविधाका कुरा गरिएको छ शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा सुविधा दिने भनिएको छ तर त्यो विषय कार्यन्वयनमा भने आएको छैन । त्यसैले गर्दा १७ सय भन्दा बढी युवाहरू दैनिक देश छाडेर जान वाध्य छन् । हामीसँग ति युवाहरूलाई नेपालमा राख्ने किसिमको कुनै पनि योजना नै बनेका छैनन् ।”
सरकारको नीति तथा कार्यक्रममा व्यापक सुधार नल्याएसम्म उद्यमीहरू आफ्नो व्यवसाय छाडेर विदेशिनुपर्ने बाध्यता यथावत् रहन्छ मन्त्री खनाल गर्छन् ।
टाङ्गेन्ट वेव्स, संस्थापक सुमन शाक्य पनि नेपाली नव उद्यमीहरूको उद्यम सफल नहुनुमा सरकार नै पहिलो दोषी हो भन्छन् ।
“हालसम्म देशमा उद्यम नीति नहुनु भनेको आफैँमा हाँस्यास्पद कुरा हो, नेपाली उद्यमलाई प्रवर्द्धन गर्नु छ, भने सुरुवातमा नीति चाहिन्छ,” सुमन बताउँछन् ।
त्यसो त उद्यमीहरू आफैँ पनि चनाखो हुने बजार र आफ्ना क्रेता बारे जानकारी राख्ने र अनुसन्धान पछि मात्र व्यवसाय सञ्चालन गर्नसके स्टार्टअप डुब्ने सम्भावना कम हुने उनको तर्क छ ।
उनी भन्छन्, “नेपालमा लहै लहैमा उद्यम गर्ने चलन पनि छ, बजार नबुझि व्यवसाय गर्दा प्रतिफल कम पाइन्छ अथवा घाटा नै हुन पनि सक्छ ।”
नेपालमा उद्यमशीलता विकास र युवा उद्यमी उत्पादनमा मद्दत पुर्याउने उद्देश्यका साथ काम गरिरहेको अन्तरप्रेरणा संस्थाका प्रमुख कार्यकारी अधिकृत निरज खनाल भन्छन्, सरकारले स्टार्ट अप सम्बन्धी नयाँ निती तथा कार्यक्रमहरू ल्याउनु जरुरी छ । वर्षौ पहिले बनाइएको नियमकानुन अहिलेसम्म प्रचलनमा भएको र त्यसलाई परिमार्जित नगरेकोले उद्यमशीलतामा प्रवर्द्धनका लागि सरकारले अपेक्षाकृत रुपमा काम नगरेको उद्यमीहरूको गुनासो गर्छन् ।
“जति उद्यमशीलता अगाडि बढिरहेको अवस्था छ त्यो गतिमा हाम्रो कानुन भने गएको छैन । यसको लागि उद्यमी मैत्री नीतिनियम र उद्यम विकास सँगसँगै गयो भने राम्रो हुने हो तर त्यस्तो वातावरण बनिसकेको अवस्था छैन । यसले गर्दा नेपालमा उद्यमशीलता फस्टआउन सकेको छैन,” निरज बताउँछन् ।