उद्यम त उद्यम हो: चाहे रोडमा होस् या करोडमा होस् ! (भिडियो)
फिल्म निर्मातादेखि कलाकारसम्मले चिया पसल खोले । काठमाडौं लगायत देशका प्रमुख सहरमा चिया पसल खोल्ने ‘ट्रेन्ड’ नै बस्यो । कति किशोर किशोरीले त बिहान बेलुकी चिया बेचेरै कमाइसँगै आम्दानी गरेका समाचार पनि आइरहेका हुन्छन् । यिनै मध्ये एक हुन्, जनकपुरका ‘बीबीएस् चायवाला’ अर्थात् उत्सव गुप्ता ।
उद्यम गर्नका लागि ठूलो लगानी अनि वर्षौंको अनुभव नै हुनुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै बीबीएस् पढ्दै गरेका उत्सवले थोरै लगानी गरेर चिया उद्यम सुरु गरेका छन् । उनी प्रष्ट छन् – उद्यम गर्ने बलियो चाहना छ भने कुनै बाहनाले रोक्दैन ।
चिया बेचेर पढ्दै कमाउदै गर्ने उत्सवको योजनामा हौसला दिने भन्दा हतोत्साहित गर्ने धेरै थिए । ‘चिया नै बेच्ने हो भने पढ्नु किन पर्यो ?’ भन्ने प्रश्नको सामना धेरै नै गर्नुपर्यो उनले । तर जे-जस्तो भएपनि आफ्नै व्यवसाय गर्ने अठोट गरेका उत्सवले यी प्रश्नको उत्तर दिनलाई समय बर्बाद गरेनन् ।
बीबीएस् पढेपछि लोकसेवा लडेर सरकारी जागिरे हुने वा ठुल्ठुला कम्पनीमा काम गर्ने वा अष्ट्रेलिया, अमेरिका युरोपतिर सेटल हुने सुझाव धेरै नै आए उनलाई तर उत्सवले आफ्नै सुर कसे । केही साथीसँग पैसा सरसापट गरे अनि जनकपुरमा एउटा रोडको सानो कुनामा चिया पसल खोले ।
“देशमा रोजगारी छैन, भएको रोजगारीले गरिखान पुग्दैन, सरकारी जागिरमा थोरै मान्छे मात्र अटाउँछन्, त्यसैले आफ्नै व्यवसाय सुरु गरेँ,” उत्सव सुनाउँछन् ।
‘बीबीएस के पढाई करेवाला भी चाय के दोकान खोलेला, पढ़ीं आ बैंक में नोकरी कर लीं (बीबीएस् पढेर कोही चिया बेच्छ ? बैङ्कमा जागिर खानु नि ! ) राजश्री क्याम्पसमा स्नातक दोस्रो वर्ष पढिरहेका उत्सवले जब चिया बेच्न थाले अनि उनकै नजिकका साथीभाइ र आफन्तले आलोचना गर्न छोडेनन् । तर केही साथीहरूले अगाडि बढ्न दिएको हौसला र सम्भावनाले उत्सव रोकिएनन् ।
सुरुमा उत्सव र उनका साथी मिलेर चिया पसल खोल्ने योजना बनेको तर उनका साथीलाई आफ्नो पढाई अनुरूपको पेसा – चिया पसल नलागेकाले आफूसँग पार्टनर नबनेको उनी बताउँछन् ।
“चिया पसल खोल्दा मेरो पढाइको बेइज्जत हुने हो कि मैले अपनाएको पेसाको ? कस्ता विषय पढेका मान्छेले व्यवसाय गर्ने अनि के पढ्नेले नगर्ने ? के चिया पसललाई उद्यम व्यवसाय मानिँदैन ?,” सुरुवाती केही समयसम्म आफू यिनै विषयमा घोत्लिने गरेको उत्सव सुनाउँछन्।
भन्नेले त जे पनि भन्लान् तर बीबीएस् पढ्नेले आफ्नो व्यवसाय गर्नु गर्वको कुरा हो भनेर उनले आफूलाई हौसला दिए अनि पसलको नाम नै राखे ‘बीबीएस् चायवाला’ ।
व्यवसाय सुरु गर्न उत्सवसँग पैसा थिएन । चिया पसलको लागि सटर भाडामा लिएर, रङ्ग रोगन गरेर, टेबल कुर्सीको जोडजाड गर्नलाई राम्रै खर्च लाग्थ्यो । त्यसैले उनले आफ्नो व्यवसायको पहिलो पाइला सडक पेटीमा राखे । अहिले उनी खुला आकासमा नै ग्राहकलाई राखेर चिया खुवाउँछन् ।
साथीभाइसँग सापट र आफूसँग भएको पैसा जम्मा गरी १ हजार रुपैयाँ लगानीमा सुरुवात भएको उत्सवको चिया पसल खोलेको भर्खर २ हप्ता नाघेको छ । अहिले बीबीएस गरेकोले यसरी सडकपेटीमा चिया बनाएर बेचेको राम्रो कामको सुरुवात हो भन्ने हज्जारौँ राम्रा प्रतिक्रिया उत्सवले पाउन थालेका छन् ।
चिया बेच्न सुरु गरेको छोटो समयमै उत्सवले आम्दानी भन्दा बढि आत्मविश्वास कमाएका छन् । उनी भन्छन्, “मैले आफ्नो उद्यम व्यवसायलाई ‘लाज’ वा ‘थोरै लगानी’ गरेको भनेर कहिल्यै पनि वर्गिकरण गरिनँ । मलाई लाग्छ, उद्यम त उद्यम हो: चाहे रोडमा होस् या करोडमा होस् !”
चियाको कप अनि दिउरेमा भविष्य देख्दै गरेका उत्सव अब उद्यमको रेसमा ब्रेक नलगाउने सोचमा छन् । यसलाई अझै विस्तार गर्ने अनि फैलाउँदै लाने उनको योजनाले सर्थकता पाउँदै गर्दा हिजोको दिनमा उनलाई ‘बीबीएस के पढाई करेवाला भी चाय के दोकान खोलेला ?’ भनेर प्रश्न गर्नेले के भन्लान् ?
हेर्नुहोस्, बीबीएस् पढ्दै गर्दा चिया पसल सञ्चालन गरेका नव उद्यमी उत्सव गुप्ताको कथा उनकै स्वरमा: