विदेशमा कमाएको पैसा सबै खर्च हुन्छ, कसरी गर्ने बचत ?
रोजगारी सिर्जना गर्नकै लागि भनेर सरकारले बजेटमा कम्तीमा ५ लाख विपन्न बेरोजगारहरूलाई स्थानीय तहमा श्रम सहकारी दर्ता गराई त्यहाँ आवद्द गराउने, एक घरपरिवार एक रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । सरकारले योजना त ल्यायो तर वैदेशिक रोजगार विभागको तत्थ्याङ्क हेर्दा गत पाँच महिनामा ३ लाख ६ हजार ३०० नेपालीले श्रम स्वीकृति लिए । यस अघि आर्थिक वर्ष २०७८-७९ को पहिलो पाँच महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या मात्र १ लाख ७६ हजार ७ सय १५ थियो ।
तत्थ्याङ्कलाई हेर्दा अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर युवाहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ।
त्यसो त अघिल्लो वर्ष श्रम स्वीकृति लिएर विदेशिने युवाको सङ्ख्या त्यसअगाडि सम्मकै उच्च थियो । यसपटकको सुरुवाती तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा यसवर्ष बढी विदेशिने नेपालीहरूको सङ्ख्या बढ्ने स्वभाविक देखिन्छ ।
यसरी प्रत्येक वर्ष विदेशिने नेपालीबाट खरबौँमा रेमिट्यान्स भित्रने गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा नेपाल राष्ट्र बैङ्कका अनुसार १० खर्ब ७ अर्ब रकम रेमिट्यान्स मार्फत नेपाल भित्रिएको छ । यसरी ठूलो रकम नेपाल पठाइरहे पनि विदेशिने सीमान्त नेपालीहरू तथा उनीहरूका परिवारको जीवन खासै उक्सन भने सकेको छैन ।
वैदेशिक रोजगार बोर्डले पनि विदेशमा काम गर्ने नेपालीहरूले पठाएको रेमिट्यान्स के मा खर्च हुन्छ भनेर २०७७ मा एक प्रतिवेदन सार्वजनिक गरेको थियो । जसअनुसार उनीहरूले कमाएको पैसा सबैभन्दा धेरै घर खर्च र ऋण चुक्ता गर्नमा नै प्रयोग हुने देखिन्छ ।
अध्ययनअनुसार करिब ९२ प्रतिशत रकम पारिवारिक आवश्यकता पूरा गर्न तथा ऋण चुक्तामा र ८ प्रतिशत बचत तथा व्यवसायमा लगानी हुने गरेको पाइएको छ । रेमिट्यान्सको करिब १२ प्रतिशत रकम घरजग्गा जोड्न खर्च हुने उक्त प्रतिवेदनमा देखिएको छ । बाँकी ८० प्रतिशत हिस्सा गैर उत्पादनमूलक क्षेत्रमा खर्च हुने गरेको छ ।
यसरी विदेशमा हुने कमाइको १६.१ प्रतिशत रकम नुन, तेल लुगाफाटामा जस्ता दैनिक उपभोग्य सर-सामानको खरिदमा खर्च हुने गरेको देखिन्छ ।
योसँगै १५.५ प्रतिशत रकम औषधि उपचारका लागि, १४.६ प्रतिशत विदेश जाँदाको ऋण तिर्न खर्च र १३.६ प्रतिशत रकम छोराछोरी र परिवारको पढाइमा खर्च गर्ने गरेको देखिएको छ ।
यसबाहेक पनि चाडपर्व, विवाह व्रतबन्ध जस्ता कुरामा विदेशमा कमाएको रकमको ठूलो हिस्सा सकिने गरेको छ ।
तर विदेशमा यसरी दुःख गरेको कमाएको २ प्रतिशत रकम मात्र आम्दानीमूलक क्षेत्र, व्यापार व्यवसायमा खर्च हुँदा विदेशबाट फर्किएपछि अधिकांश नेपालीहरू पुनः विदेशिनुपर्ने तितो यथार्थ छ ।
ब्लिट्ज मिडियाले ह्युम्यानिटि युनाइटेडसँगको साझेदारीमा सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीले जति कमाइ गर्छन् सोही औषतमा घरखर्च टार्नका लागि नै पैसा सक्काउँछन् । प्रतिवेदन अनुसार ८९.७ प्रतिशत खर्च दैनिक घरायसी उपभोग्य बस्तुमा खर्च हुने गरेको छ ।
यसबाहेक वैदेशिक रोजगारीमा गएकाहरूले कमाएको ८१.२ प्रतिशत पैसा रोजगारीमा जाँदा लागेको ऋण चुक्ता गर्नमा नै खर्च हुने गरेको छ । ४१.७ प्रतिशत स्वास्थ्य उपचारमा, ३७.८ प्रतिशत छोराछोरी पढाउनमा, घरयासी व्यवस्थापन गर्न १७.१ प्रतिशत, कमाएको १२ प्रतिशत घरजग्गा खरिद, ११.४ प्रतिशत चाड पर्व विवाह व्रतबन्ध, ३.२ प्रतिशत उद्योग व्यापार गर्न, ०.७ प्रतिशत कृषिमा खर्च गरेका छन् भने १५.३ प्रतिशतले मात्र आफूले कमाएको पैसा बचत गरेको प्रतिवेदनमा उल्लेख छ ।
‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ प्रतिवेदनलाई हेर्दा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीहरूमा कमाएको पैसालाई खर्च, बचत र लगानीमा सन्तुलन मिलाउने चेतना नभएको देखिन्छ ।
विदेशबाट पठाएको रेमिट्यान्स उत्पादनशील क्षेत्रमा खर्च नहुनुको प्रमुख कारण आफूले कमाएको पैसा र खर्चको योजना नभएर हो भन्छन्, श्रम आप्रवासन अनुसन्धाता डा. अनुज तिवारी ।
उनी भन्छन्, “देश चलाउनका लागि बजेट छुट्याएझैँ घर चलाउन पनि आम्दानी र खर्चको लेखाजोखा गर्नुपर्छ र केही रकम बचाएर बचत गर्नुपर्छ तर वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले दशकौँसम्म विदेशमा बसेर दुःख गरेको कमाइलाई भविष्यका लागि सोच्ने र बचत गर्ने बानी बसाउन अझै पनि सकेका छैनन् ।”
वैदेशिक रोजगारीमा परिवारको सदस्य विदेशिएपछि घर परिवारले पनि वैकल्पिक आम्दानीको बाटो पहिल्याउन छाड्छन् र विलासी सामाग्रीको माग बढी गर्छन् जसले पछि परिवार चलाउन नै मुस्किल हुन्छ भन्ने अनुजको तर्क छ ।
“नेपाल फर्किएपछि श्रमिकको आम्दानी हुँदैन, दैनिक खर्च मात्र हुन्छ र ल्याएको सीमित रकम पनि दिन प्रतिदिन घट्न थाल्छ ।केही दिनको अनतरालमै ऊ फेरी विदेशिने परिस्थिति बनिसक्छ, खर्चमा सचेत नहुने हो भने १२-१५ घण्टासम्म विदेशमा खटेर कमाएको पैसा खान र लाउनमा मात्रै सीमित हुन्छ,” अनुज बताउँछन् ।
अर्थशास्त्री डा. सोहन कर्ण भने रेमिट्यान्सको सही उपयोग हुन नसक्नुमा सरकारी निकायको गैर जिम्मेवारीपन हो भन्छन् ।
“सरकारले वैदेशिक रोजगारी बचतपत्र पनि सुरुवात गर्यो, वैदेशिक रोजगारीमा जानेहरूका लागि भनेर आइपिओमा आरक्षण समेत दियो तर यसमा नीतिगत अस्पष्टता छ,” सोहन भन्छन्, “रेमिट्यान्स १० खर्ब बढी भित्रन्छ तर सरकारी लगानी चाहिँ करोडमा पनि हुँदैन ।विदेशमा काम गर्ने नेपालीहरूको विषयमा नेपाल सरकार गैरजिम्मेवार हुँदा रेमिट्यान्सको सदुपयोग हुन सकेको छैन।”
यसै सन्दर्भमा जीविकोले विदेशमा दुःख गरि कमाएको पैसालाई कसरी अनावश्यक खर्च हुन नदिने, बचत कसरी गर्ने र बचत गरेको रकमलाई पुनः उत्पादनमूलक व्यापार, व्यवसाय, उद्यममा लगाउँदै कसरी आर्थिक लाभ लिन सकिन्छ भन्ने विषयमा यस क्षेत्रका जानकार, श्रम आप्रवासन अनुसन्धाता डा. अनुज तिवारीसँग भिडियो संवाद गरेको छ । यस विषयमा उनले निम्न कुराहरूमा जोड दिएका छन् :
डा. अनुजले वैदेशिक रोजगारीमा जाँदा कमाएको पैसालाई बचत गर्ने ९ वटा टिप्स दिएका छन् ।
- आफू किन विदेश जाने भन्ने प्रयोजनबारे पहिला नै स्पष्ट हुनुहोस् । तपाईं घर बनाउने प्रयोजनका लागि विदेश जाने हो वा बालबच्चा पढाउन जाने हो या घरखर्च टार्नका लागि वैदेशिक रोजगारीमा जाने हो त्यसबारे पक्का हुनुहोस्। यसो हुँदा तपाईले आफ्नो आवश्यकताअनुसार खर्चको योजना बनाउन सक्नुहुन्छ ।
- नेपाल पैसा पठाउँदा पठाएको पैसालाई शीर्षक छुट्याएर पठाउनुहोस् । जस्तो कि पैसा पठाउँदा घरखर्चका लागि यति रकम, बालबच्चाको पठन पाठनमा यति खर्च भन्ने जस्ता शीर्षक छुट्याउनुहोस् र त्यहि अनुरूप नेपालमा पैसा पठाउनुहोस् ।
- देश चलाउनका लागि बजेट छुट्याएझैँ घर चलाउन पनि आम्दानी र खर्चको लेखाजोखा गर्नुहोस् र केही रकम बचाएर बचत गर्नुहोस् । सानो रकम पनि बचत गर्न सुरु गर्ने हो पछि ठूलो परिणाममा बचत हुन्छ ।
- वैदेशिक रोजगारीबाट आएको पैसालाई फजुल खर्च नगर्ने परिवारको दायित्वको हो । कुनै महिना बढी खर्च गर्दा अर्को महिना खर्च टार्न गार्हो पर्न सक्छ भनेर परिवारका सदस्यले पनि बुझ्नुपर्दछ । बचत भएको पैसालाई सानै उद्यममा भएपनि परिवारले लगानी गर्नुपर्दछ ।
एउटा सामान्य उदाहरण:
पाल्पा र गुल्मीको सीमानामा रहेको रिडीमा एक परिवारका श्रीमान् कोरिया रोजगारीमा हुनुहुन्थ्यो । उहाँको आम्दानी पनि राम्रो थियो, उहाँकी श्रीमती नेपालमै बसेर छोराछोरी पढाउने काम गर्नुहुन्थ्यो तर उहाँले श्रीमानको तलबलाई घरखर्च टार्ने आधार मात्र बनाउनुभएन । पठाएको रकमबाट केही बचाएर एउटा तरकारी पसलमा लगानी गर्नुभयो । पछि श्रीमान् विदेशबाट फर्कँदा श्रीमानले कोरियामा कमाएको पैसा र तरकारी व्यवसायबाट कमाएको पैसा जोड्दा राम्रै पूँजी जम्मा भयो । । त्यसपछि उहाँ विदेश जानुपर्ने भएन, विदेश फिर्ता जानुको साटो उहाँले यतैको व्यवसायलाई बढाउनुभयो । त्यसैले नेपाल बस्ने परिवारका सदस्यले पनि केही सानो भएपनि उद्यम सुरू गर्नुभयो भने परिवार चलाउन सहज हुन्छ । व्यवसाय गर्नका लागि करोडौँ पूँजी नै चाहिन्छ भन्ने हुँदैन । सानो १ लाख – २ लाखको पूँजीले पनि व्यवसाय सुरुवात गर्न सक्नुहुन्छ । जसका लागि विभिन्न शैक्षिक संस्थाहरूले व्यवसायिक आइडिया दिने, त्यस आइडियालाई कसरी व्यवहारिक र उत्पादनमूखी बनाउने भन्ने सिकाउँछन् । जसमा वित्तिय व्यवस्थापन कसरी गर्ने, त्यसका लागि के के सामान चाहिन्छन्, त्यसको बजार के कस्तो छ भन्ने बारे जानकारी दिइन्छ । त्यसैले ती संस्थाहरूको बारेमा पनि आफू जानकार हुनुहोस् ।
- नेपालको सामाजिक संरचना केही हदसम्म देखासिखीमा चलेको छ । छिमेकीले केही किन्यो भने आफूले पनि त्यहि किसिमका सामाग्री किन्नुपर्ने सोच हुन्छ त्यसलाई परिवर्तन गर्नुपर्छ । समाजमा हुने देखासिकीको लहडमा लागेर आफ्नो क्षमताभन्दा धेरै खर्च नगर्नुहोस् ।
- वैदेशिक रोजगारीमा हुनेहरूका लागि बैंकले उच्च ब्याजदरमा रेमिट्यान्स खाता खोल्ने सुविधा दिएको छ, त्यस्ता बैंकिङ सुविधाको उपयोग गर्नुहोस् । विदेशबाट आएको पैसा त्यहि खातामा जम्मा गर्नुहोस् । त्यसो गरे चाहिएको पैसा त्यहाँबाट झिकेर खर्च गर्न पनि सकिन्छ र बाँकी रहेको पैसाको बढी व्याज खान पनि पाइन्छ ।
- नेपाल सरकारले सेयर (आइपिओ) मा वैदेशिक रोजगारीमा हुनेहरूका लागि कोटा छुट्याएको छ, सेयर भर्ने प्रक्रियाका बारेमा राम्रोसँग बुझ्नुहोस् । कम्तीमा सेयर बजारको आइपिओमा लगानी गर्नुहोस् जसका लागि आइपिओ के हो, यसमा कसरी लगानी गर्ने भन्ने जस्ता भिडियोहरू सामाजिक सञ्जालमा हेर्नुहोस् । यसरी आइपिओमा लगानी गर्दा तपाईंले कमाएको पैसा बचत हुन्छ ।
- विदेशका धेरै देशमा क्रिप्टो मुद्रामा लगानी गर्ने प्रचलन छ तर क्रिप्टो-करेन्सीमा लगानीका लागि नेपालले बन्देज गरेको छ, यसबाट सावधान हुनुहोस् ।
- विदेशमा हुँदा सकेसम्म ऋण नलिनुहोस्, लिनै पर्ने बाध्यात्मक अवस्थामा सस्तो ब्याजमा लिनुहोस् ।
- विदेशमा दुख गरेर कमाएको पैसा खर्च वा लगानी गर्दा त्यसका बारेमा अध्ययन गर्नुहोस्, व्यवहारिक निर्णय लिएर मात्र आफ्नो कमाइलाई खर्च वा लगानी गर्नुपर्दछ ।
हेर्नुहोस्, वैदेशिक रोजगारीमा हुनेले आफ्नो कमाइलाई कसरी जोगाउने र अन्य ठाउँमा लगानी गर्ने भन्ने बारेमा श्रम आप्रवासन अनुसन्धाता डा. अनुज तिवारीसँग गरिएको भिडियो संवाद: