अबको ५ वर्ष संसद्मा युवाले कस्ता काम गर्ने ? कसरी गर्ने ? (भिडियो संवाद)
उसो त ४० भन्दा कम उमेरका ८ जना युवाहरू मात्र संघीय संसद् छिर्दै छन्, यद्यपि केही ‘आशालाग्दा’ युवाहरू निर्वाचित हुँदै गर्दा अब चाँहि संसद्ले युवाका विषयमा प्रभावकारी काम गर्ने छ भनेर लख काट्न थालिएको छ । निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रममा जीविको मिडियाले विभिन्न क्षेत्रमा क्रियाशील युवा अभियन्तादेखि, पत्रकार, कलाकार, उद्यमीसम्मलाई अब बन्ने संसद्ले कस्ता विषयहरूलाई प्राथमिकता दिनुपर्छ भनेर प्रश्न सोधेको थियो । प्रतिक्रिया दिनेहरूको सार थियो – अब बन्ने संसद्ले विशेष प्राथमिकतामा युवाकै मुद्दालाई राख्नुपर्छ ।
प्रत्यक्ष अन्तर्गत १ सय ६५ सदस्य मध्ये ८ जना मात्र युवाहरू निर्वाचित हुनु संख्यात्मक रुपमा न्यून भएता पनि युवाको यो उपस्थितिलाई कम आँक्न भने मिल्दैन । तर यी युवाहरू संसद् प्रवेश गर्दैगर्दा आशासँगै आशंका पनि उत्तिकै उब्जिएका छन् । आशा छ – युवाको आवश्यकता बुझेका युवा नै संसद्मा हुँदा अब परिणाममूलक काम हुने छन् । अनि आशंका छ- सामाजिक सञ्जाल र सडक तताउने युवाहरू संसद्मा पनि उत्तिकै खरो उत्रिन सक्लान् ?
यिनै आशा र आशंकाहरूका प्रश्नका साथ अनुसन्धानकर्ता/नीति विश्लेषक डा. प्रकाश भट्टराईसँग धर्मराज रिमालले संवाद गरेका छन् । नेपालको सामाजिक युवा आन्दोलनमा झण्डै दशक लामो नेतृत्वदायी भूमिकामा सकृय साथै वैदेशिक रोजगारी, युवा विकास, लोकतन्त्र र विधिको शासनका विभिन्न आयामहरूमा अध्ययन अनुसन्धानमा दख्खल राख्ने डा. प्रकाशले युवाहरूले ५ वर्ष संसद्मा हुँदा कस्ता काम गर्ने अनि कसरी गर्ने भनेर धारणा राखेका छन् । संवादमा उनले यो पनि भनेका छन्, “अहिलेसम्मको निर्वाचनमा खराब मध्ये कम खराब उम्मेदवार छान्नु पर्ने अवस्था थियो, अबको निर्वाचनमा भने उत्कृष्ट मध्ये सर्वोत्कृष्ट उम्मेदवार छान्ने अवस्था पक्कै आउने छ”
प्रस्तुत छ, अनुसन्धानकर्ता/नीति विश्लेषक डा. प्रकाश भट्टराईसँग गरिएको जीविको संवाद:
अहिलेको निर्वाचनको परिणामलाई हेर्दा ठूला भनिएका राजनीतिक दलहरूले अहिलेसम्म युवालाई कम आँकलन गरेकै रहेछन् भनेर भन्न मिल्छ ? युवाहरूलाई नजरअन्दाज गरेकै हुन् त ?
युवालाई राजनीतिक दलहरुले नजरअन्दाज गरेको भनेर मान्न सकिन्छ । त्योसँगै, ठूला दलहरूभित्र रहेका युवा पङ्क्तिहरूले आन्तरिक रूपमा विद्रोह गर्न नसकेको, उनीहरूले आफ्नो नेतृत्वलाई प्रश्न गर्न नसकेको, जति गर्नुपर्ने हो त्यति गर्न नसकेको पनि यथार्थ हो । त्यसो त नेतृत्वले सधैँ आफू पछाडिको पुस्तालाई सँधै नजरअन्दाज गर्छ नै तर युवाहरूमा पनि जुन किसिमको आलोचनात्मक चेत हुनुपर्थ्यो, जुन तहमा तप्कामा पुगेर कुराहरू राख्न सक्नुपर्थ्यो त्यो चाहिँ नभएको हो । यो अहिलेको परिवर्तित सन्दर्भमा जसरी स्वतन्त्रको लहड चलेर आयो नयाँ नयाँ पार्टीहरू खुल्न थाले जसका कारणले गर्दा पार्टीहरूमा विभाजन देखिन थाल्यो । त्यसले गर्दा अब चाहिँ हामीले युवाहरूलाई ठाउँ नदिए हाम्रो पार्टी चल्दैन गतिशील हुन सक्दैन भन्ने बुझेपछि केही युवा साथीहरूले पार्टीबाट अवसर पाउन थालेका छन् । र कतिले त जित पनि निकालिसकेका छन् ।
सामाजिक सञ्जाल र सडक तताउने युवाहरू संसद्मा पनि उसैगरी खरो उत्रिन सक्लान् ?
संसदमा पुगेपछि सांसदले केही कुराहरू पूरा गर्नुपर्ने हुन्छ; पहिलो भनेको संसदीय प्रणाली बारे जानकारी हुनैपर्छ । जस्तै टेबल कसरी हुन्छ, आफ्नो बोल्ने समय कसरी माग्ने ? कसरी छोटो समयमा धेरै कुराहरू राख्न सक्ने जस्ता कुराहरू जान्नुपर्ने हुन्छ । त्यसैले, पहिले त सांसद्ले संसदीय प्रणाली बारे नै जानकारी राख्नुपर्छ । दोस्रो काम भनेको संसद्भित्र विभिन्न समितिहरू छन्, विषयगत समितिहरू हुन्छन्, विधायन समितिहरू हुन्छन् यसबारे पनि सांसद् जानकार हुनुपर्छ ।
अर्को एकदमै जानकार हुनुपर्ने कुरा चाहिँ नीति निर्माण प्रक्रिया कसरी अहिलेसम्म चलिरहेको छ, त्यसबारे संसद्मा पुगेका युवाहरूले बुझ्नुपर्ने हुन्छ । अहिलेको कानुन निर्माण प्रक्रियामा कहाँ कहाँ त्रुटि छ र गुणस्तरीय कानुन निर्माण गर्न उनीहरूले योगदान दिने ठाउँ कहाँ कहाँ छ भन्ने कुरामा पनि जानकार हुनुपर्छ ।
तेस्रो चाहिँ जसरी यो कानुन निर्माण प्रक्रिया अगाडि बढेको छ त्यसमा प्रशाशनिक तन्त्र, केही संसदीय समितका सदस्यहरू र केही स्वार्थ समुहहरूको संलग्नतामा कानुन निर्माण हुने गरेको छ । त्यसैले अब चाहिँ त्यस्तो प्रक्रिया टुङ्गियोस् भनेर त्यस्ता स्वार्थ समुहहरूको हस्तक्षेपलाई रोक्दै, समेट्नै पर्ने वर्गका मुद्दाहरूलाई कानुनमा समेट्नुपर्छ भनेर सांसद्ले बुझ्नुपर्छ ।
सांसद्हरुले संसद्मा पुगेर आफ्ना कुराहरू त राख्छन् तर उनीहरूले कुराहरू उठाउँदैमा काम गरे भनेर भन्न चाहिँ मिल्दैन । त्यसकारण सांसद्ले जनतासँगको भेटघाटलाई, छलफललाई जारी राख्नुपर्ने हुन्छ । जति उनीहरूले भेटघाट छलफललाई समय दिए त्यति नै उनीहरू नागरिकको समस्याप्रति जानकार हुन्छन् । संसद्मा के कुराहरू राख्ने, जनताको एजेन्डा के छ भन्ने कुराहरूको जानकारी सोही भेटघाटबाट पाइन्छ । अहिलेको ट्रेन्ड के छ भने जो पदमा पुग्छन् त्यहाँ पुगेपछि ‘म नै विज्ञ’ भन्ने भाव पैदा हुन्छ । त्यसैले अब संसद् जाने युवाहरूले जनताको परामर्श साथसाथै विषयविज्ञको परामर्श आउने किसिमको टिम बनाउनुपर्छ । त्यो टिम मार्फत सूचना लिने त्यसलाई विश्लेषण गर्ने संश्लेषण गर्ने काम गर्यो भने बढी प्रभावकारी हुन्छ ।
अहिले केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू छन् । अहिले निर्वाचित नै युवाहरूमध्ये केही युवा पछि सरकारमा समेत जान्छन् । त्यसबेला सरकार सञ्चालनको प्रक्रियाका बारेमा पनि जानकार हुनु उत्तिकै आवश्यक छ ।
अहिले चुनिएका सांसद्हरूमा हुटहुटी छ तर उनीहरूले सुरूदेखि एउटा ट्रेण्डमा बसेर काम गर्न सकेनन् भने चाहिँ त्यो ट्रयाक विथोलिन सक्छ ।
युवाका क्षेत्रमा तत्काल र दीर्घकालीन रूपमा कस्ता कामहरू गर्नुपर्छ ?
युवाको लागि गर्नै पर्ने पहिलो काम भनेको विश्वविद्यालयदेखि विद्यालयसम्म जुन किसिमको राजनीतिकरण छ र कतिपय अवस्थामा राजनीतिक दलहरूमा आवद्द भएका केही गलत व्यक्तिहरुले प्राज्ञिक संस्थामा हस्तक्षेप गरेका छन् त्यसलाई चिर्नुपर्छ ।
दोस्रो युवा रोजगारी नै प्रमुख चासोको विषय हो । रोजगारीका लागि महत्वपूर्ण कुरा सीप हो । तर सीप झारो टार्ने किसिमको मात्र हुनुभएन वास्तवमै त्यो सीप हासिल गरेपछि स्थानीय तहमा रोजगारी पाउन सक्ने, रोजगारी खोज्न सक्ने र रोजगारी सृजना गर्न सक्ने हुनुपर्दछ । सीप विकासको लागि भएका संस्थाहरूको सबलीकरण गर्न जरूरी छ ।
अहिले ठूलो युवा जमात विदेशमा छ ति युवाहरूलाई अहिले फर्काउन सकिन्छ सकिन्न त्यो बेग्लै पाटो भयो तर उनीहरूको सुरक्षाको लागि, मर्यादित वैदेशिक रोजगारीको लागि र विदेशमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्यका लागि आवाज उठाउनुपर्छ ।
अर्को कुरा चाहिँ देशभित्र पनि जुन अनौपचारिक श्रम बजार छ त्यहाँ ८५\८६ लाख श्रमिक छन् । त्यसको ठूलो हिस्सा युवाले ओगटेका छन् । त्यसरी अनौपचारिक श्रम बजारमा काम गर्ने धेरै युवाहरू योगदानमा आधारित सामाजिक सुरक्षाबाट टाढा छन् । त्यसकारण उनीहरूले विभिन्न किसिमका जोखिम; आर्थिक जोखिम, स्वास्थ्य सम्बन्धि जोखिम, मनोवैज्ञानिक जोखिममा काम गरिरहेका छन् । यो ४\ ५ वटा मुद्दाहरू चाहिँ एकदमै महत्वपूर्ण मुद्दाहरू हुन् यो विषयमा संसद्मा काम गर्न अत्यन्तै जरूरी छ ।
अहिलेको निर्वाचन परिणामबाट के पाठ सिक्ने ? अबको दायित्व के हो ?
अहिले जसरी नयाँ राजनीतिक शक्तिहरूको उदय भएको छ उनीहरूले पनि आफूले पाएको मतलाई पूर्णतः जनताको पक्षमा प्रयोग गर्ने, परिवर्तनकारी नेतृत्व बनाउने, नयाँ पुस्तालाई नेतृत्व हस्तानतरण गर्ने जस्ता विषयमा ध्यान दिनुपर्छ ।
अहिले सामाजिक सञ्जाल प्रभावकारी देखियो । नागरिक समाज तथा सचेत वर्गले संघीय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्नका लागि गुणस्तरीय कानुन, संसद्, सरकार बनाउने कुरामा दबाब दिने काम गरिरहेको छ । अब सरकारलाई निगरानी गर्ने, जवाफदेही बनाउने र त्यस्तो खालको अवस्थामा सामाजिक सञ्जालमार्फत दबाब पैदा गर्ने काम गर्यो भने वास्तवमा यो अहिले देखिरहेको परिवर्तनलाई संस्थागत गरेर लैजान सकिन्छ ।
आशा गरौँ अब आउने सांसद्हरूले राम्रो काम गर्छन् । त्यति धेरै ठूलो सङ्ख्यामा पनि नयाँ उम्मेदवार पुग्दै हुनुहुन्न अहिले पनि परम्परागत पुराना दलहरूकै हालिमुहाली छ । तर के चाहिँ हो भने त्यसलाई निगरानी गर्नका लागि एउटा नयाँ शक्ति संसद्सम्म पुग्ने परिवेश बनेको छ । त्यसैले हामी पहिला आशावादी हुन जरूरी छ दोस्रो कुरा यो फिल्टर हुँदै जाने कुराहरू हो। पछिल्ला राजनीतिक परिवर्तनहरूलाई हेर्ने हो भने पछिल्लो दशकभन्दा अहिले धेरै परिवर्तित समाज बनेको छ, यसपटक पनि संसद्मद्मदमा जनताले नरूचाएका व्यक्तिहरू पालैपालो पराजय भोगिरहेको हामीले देख्यौँ । त्यसैले त नेतृत्व फिल्टर हुने कुरा हो त्यसरी फिल्टर हुँदै गएपछि नै दलहरू सुद्दिकरण हुने, राजनीतिक अवस्था चाहिँ सुद्दिकरण हुने र अन्त्यमा गएर यसले एउटा सकारात्क दिशा पकड्ने काम गर्छ जस्तो लाग्छ ।
हामीसँग छिमेकी देशहरूका पनि उदाहरण छन्, यहि परिवर्तनको ह्विम चल्दै गयो भने अबको केही वर्षमा हाम्रो देश कस्तो अवस्थामा देख्न सक्छौँ ?
यदि पूराना राजनीतिक दलहरूले आफ्नो नीतिमा र नेतृत्वको संरचनामा माथिदेखि परिवर्तन नगर्ने हो भने जसरी २०१५ सालको आम चुनावमा एकदम प्रभावशाली देखिएका दलहरु जस्तै प्रजा परिषद्, गोर्खा परिषद् अहिले ति दलहरू अस्तित्वमा छैनन् । त्यस्तै यी दलहरूपनि यहि किसिमको पार्टीगत नीति र रणनीतिमा चल्दै जाने हो भने अस्तित्वमा नरहन सक्छन् । मलाई चाहिँ अब नयाँ नेतृत्व एकदम खारिदै आउँछ जस्तो लाग्छ । अहिले बिना संगठन ४-५ महिनाको अभियान मार्फत् केही व्यक्तिहरूले अनि केही पार्टीहरूले आफूलाई राजनीतिमा स्थापित गर्नसक्ने क्षमता जसरी विकास गरेका छन्, अर्को पटकको प्रतिनिधिसभा, प्रदेश वा स्थानीय चुनावमा चाहिँ हामीले छानी छानी भोट हाल्न सक्ने, छानी छानी रोज्न सक्ने किसिमका उम्मेदवारहरू आउँछन् जस्तो लाग्छ । आफूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न नसक्नेहरु ५ वर्ष पछाडि नै बिलाउनुहुन्छ । चुनौतीलाई सामना गर्न सक्ने व्यक्तिहरू अबको देशलाई हाँक्ने नेतृत्व बन्छन् जस्तो मलाई लाग्छ । युवाहरूलाई ‘गर्यो भने राजनीतिमा स्थापित हुन सकिने रहेछ’ भन्ने खालको आत्मविश्वास दिएको छ जस्तो मलाई लाग्छ । अबको समयमा चाहिँ राम्राका बीचहरूमा एकदमै राम्रो नेतृत्व छान्ने मौका चाहिँ हामीले पाउँछौँ जस्तो मलाई लाग्छ । २०७९ सालको निर्वाचनले यो एउटा बलियो आधार तयार भने गरिदिएको छ । राजनीतिक दलहरुका खराब मध्ये कम खराब उम्मेदवारहरु छान्नुपर्ने अवस्था अब अन्त्य भएर उत्कृष्टहरु मध्येबाट सर्वोत्कृष्ट प्रतिनिधि छान्ने दिन निकट भविष्यमा हामीले पाउनेछौ ।
भिडियो संवाद