नेपाली श्रमिक भन्छन्- कतार विश्वकपमा हाम्रो मुख थुनियो !
मेरो नाम अनिस अधिकारी (२७) हो, घर खोटाङ । खोटाङमा रोजगारीको कुनै अवसर नभएको कारण म काम खोज्दै पर्यटकीय क्षेत्र पोखरा आएको थिएँ । पोखरा आएपछि मैले थाहा पाएँ, कतारको इन्जिनियरिङ कम्पनीमा कामदार माग गरिएको रहेछ । मेरो साथीले मलाई त्यहाँ कामको लागि जान भन्यो । तर मलाई खासमा कतार जान मन थिएन । कतारमा विश्वकपको स्टेडियम बन्दै छ र त्यहाँ निर्माण कार्यका लागि कामदार पनि माग गरिएको छ भन्ने थाह पाएपछि मैले कतार जाने निधो गरेँ । फेरी म आफैँलाई पनि फुटबल मन पर्ने भएकाले त्यहाँ काम गर्न जान मलाई फुटबलको महाउत्सवले नै आकर्षित गर्यो । त्यसैले मैले कतार जाने निर्णय गरेँ । विदेशिने निधो भएपछि म मेनपवारसम्म अन्तर्वार्ता दिन गएँ । मलाई त्यहाँ एकजना भारतीयले अन्तर्वार्ता लिए ।
मसँगै गएका अन्य सबैजना सबै अन्तर्वार्तामा पास भयौँ । त्यस अन्तर्वार्तामा मलाई भनिएको थियो-२०१९ को मार्चमा कतार पुग्ने अनि विद्युतीय काममा सहायकको रुपमा काम (इलेक्ट्रिसियन हेल्पर) गर्ने र मासिक ९०० रियाल कमाउने ।
हाम्रा सम्पूर्ण जाने खर्चहरू कम्पनीले गर्ने भनिएको थियो । अन्तर्वार्ता दिएको २२ दिनमा हाम्रो भिसा आयो र हामी कतार पुग्यौँ । तर कतार पुगेपछि जुन काम भनेर हामीलाई लगिएको थियो त्यो काम भएन । म खासगरि इलेक्ट्रिसियन हेल्परको रुपमा गएको थिएँ । तर त्यहाँ गएपछि एसी सेक्सनमा काम लगाइयो । तलब पनि भनेजति दिइएन । काम पनि धेरै गाह्रो थियो । हामीलाई खाना, बस्न सबै फ्री भनिएको थियो तर त्यहाँ कम्पनीले दिएन, खान बस्न हामी आफैले तिर्नु पर्ने भयो । अनि हामी सबैले यसबारे कम्प्लेन गर्यौं । हामी खाना बस्नको तिर्न सक्दैनौँ, हामीलाई सबै कम्पनीले दिन्छ भनेर ल्याएको अहिले दिएन भन्दा तिमीहरूलाई यहाँ बस्न मन छ की छैन ? छैन भने नेपाल फर्किए हुन्छ भन्ने जवाफ म्यानेजरले दिए । हामीलाई तलब ९ सय भनेता पनि खान १ सय ५० र बस्नको १ सय ५० गरेर हाम्रो हातमा जम्मा ६ सय मात्र पर्थ्यो । हामीलाई यस्तो भयो भनेर कत्ती कुरा गर्यौँ तर उनीहरूले हाम्रो कुरा सुनेनन् । कतारको काम गर्ने क्याम्पमा खान बस्न पनि समस्या थियो, खाना राम्रो थिएन, बस्ने कोठामा एसी थिएन हामीले यस्तो भन्यो भने म्यानेजरले हप्काउँदै पुरानै कुरा भन्थ्यो- तिमीहरूलाई यहाँ बस्न मन छ कि छैन ? किन यसरी कम्प्लेन गरिरहेको ? तिमीहरूलाई यहाँ बस्न मन छैन ? अन्तै पुर्याइदिउँला भन्ने गर्दथे । काम गर्ने ठाउँमा कहिलेकाहीँ फिफा इन्स्पेक्टर पनि आउने गर्थ्यो उनीहरु आएको बेलामा हामीले हाम्रो समस्याहरू सुनाउन चाहन्थ्यौ तर हामीलाई बोल्ने अनुमति थिएन ।
कम्पनीलाई समस्या पर्छ, त्यहाँको सरकारले कम्पनी सिल गरिदिन्छ भनेर हामीलाई बोल्न दिइदैन थियो । त्यही भएर फिफा इन्स्पेक्टरसँग हामीले हाम्रो समस्या कहिल्यै राख्न पाएनौँ । हामी फिफा टिमसँग बोल्छौ भन्ने ठानेर फिफा टिम आएको समयमा हामीलाई क्याम्पमा पठाइन्थ्यो अनि उनीहरू गएपछि मात्र काम गर्न साइटमा लगिन्थ्यो ।
त्यही भएर काम गर्ने दौरानमा हामीले अनेक समस्याहरू झेल्नुपर्यो । काम गर्ने वातावरण राम्रो थिएन, हामीलाई भनिएको काम दिइएको थिएन । ४० देखि ५० डिग्री तातोमा काम गर्नुपर्यो । कामको दौरान आराम गर्ने समय नै थिएन । पिउने पानी राम्रो थिएन । पानीमा ९० प्रतिशत आइस राखेर खानुपर्थ्यो । त्यस्तो पानी खाँदा घाँटीमा धेरै नै समस्याहरू आए । अनि हामीले यस्तो समस्या कम्पनीलाई भन्दा ‘पर्याप्त मात्रामा पानी छैन, कसरी हामीले पानी दिनु, यही पानी खाऊ’ भनेर लगाउँथे । अनि हामी बिरामी परे अस्पताल पनि जान पाउने थिएनौ ।
हामीलाई उजुरी गर्न अनुमति थिएन । एक दुई महिनामा हाम्रो बैठक बस्थ्यो तर हामीले बोल्न पाउने थिएनौ । बैठकमा कम्पनीको राम्रो कामहरूबारे मात्र भन्न लगाइन्थ्यो । घर जान मन छ भने बोल्नु नभए चुप लागेर बस्नु भनिन्थ्यो । यतिभन्दा भन्दै पनि केही साथीहरूले भने समस्याको बारेमा बोले जो बोलेका थिए उनीहरूलाई अन्तै पठाइयो । हामी नर्कजस्तै परिवेशमा काम गर्न बाध्य भयौँ ।
अन्तिम मार्चमा जब तलब पाएँ, मैले कम्पनी परिवर्तन गर्न माग गरेँ कम्पनीले मान्यो । मैले अर्को कम्पनीमा रोजगारीका लागि आवेदन दिएँ । तर, म अर्को कम्पनीमा जान पाइन किनभने कम्पनीले OTP नै दिएन । चार महिना म गैरकानुनी रूपमा बसेँ । त्यसपछि मैले श्रम अदालतमा मुद्दा पनि दायर गरेँ । अनि उनीहरूले मलाई नेपाल पठाइदिए । त्यसमा पनि मेरो तलबबाट १२ सय रियाल काटेर नेपाल पठाइयो । म जस्तै धेरै श्रमिकहरूको एकै किसिमको व्यथा छ ।
जस्तो मैले समस्या भोगेको थिएँ, त्यहाँ बस्ने अधिकांशको अवस्था उस्तै थियो । कसैको तलब कम थियो भने कसैलाई तलब नै दिइएको थिएन । मेरो समस्याको बारेमा सम्बोधन होस् भनेर मैले बोलेँ । यदि कम्पनीले भनेजति तलब दिएर भनेकै काम लगाएको भए हामीले त्यति सकस खेप्नु पर्ने थिएन होला ।
हामीलाई केही समस्या पर्दा बोल्ने मौका दिएको भए धेरै नै सहज हुने थियो । तर कम्पनीले कामदारको कुनै वास्ता गरेन । हामी कामदारहरूलाई मानिसजस्तो व्यवहार नै गरेन कम्पनीले । म चाहिँ ठूलो फुटबलको समर्थक हुँ, म धेरै फुटबल हेर्ने गर्छु । मेरो सबैभन्दा मनपर्ने खेलाडी मेस्सी हुन्, म अर्जेन्टिना मन पराउँछु । त्यही फुटबल मन पर्ने भएको कारणले म कतार गएको हुँ नभए जाने थिइन । मैले जति दुःख गरेपनि, कतारमा काम गर्दा त्यहाँको कम्पनीले जति सास्ती दिएको भएपनि म टेलिभिजनमा विश्वकप भने हेर्ने छु ।
…….
श्रम तथा मानव अधिकार परोपकारी संस्था इक्विडेमले आयोजना गरेको “उजुरी गर्यौं भने हामीलाई बर्खास्त गरिन्छ (If we complain, we are fired)” अनलाइन कार्यक्रममा अनिस अधिकारीले व्यक्त गरेको आफ्नो भोगाइ । कतार विश्वकपमा श्रमिकहरूमाथि भएका ज्यादतीका बारेमा श्रम तथा मानव अधिकार परोपकारी संस्था इक्विडेमले तयार पारेको अध्ययन हेर्नुहोस् : “If we complain, we are fired”