रामवती चौधरी: जसलाई हेरेरै महिलाहरूले चौघेरा नाघ्न सिके (भिडियो)
आजभन्दा ५ दशक अगाडि जतिबेला महिलाहरू बालबच्चा, घर परिवार, चुलो चौका, घरधन्दा, पानी पँधेरो, खेतबारी लगायतका काममा मात्र सीमित हुन्थ्ये । घरबाट बाहिर निस्केर काम गर्नु, पढ्नको लागी स्कुल जानु त महिलाहरूको लागि सपनामा मात्रै सीमित हुन्थ्यो । न महिलाहरू आफ्नो कुरा बोल्न पाउँथे न त आफूमाथि भएको अन्यायको विरुद्ध लड्न उनीहरुमा साहस थियो । यस्तो अवस्थामा पनि महिलाहरूले आफ्नो हक अधिकारको लागि आफै लड्नपर्छ अनि यसैगरी समाज परिवर्तन गर्नुपर्छ भन्दै सोही समयदेखि हालसम्म निरन्तर लड्दै आइरहेकी एक पात्र हुन्, उदयपुरकी रामवती चौधरी ।
“हामी महिलाहरू पनि समाजमा अगाडि आउनुपर्छ भनेर म घर व्यवहार केही नहेरी, कोसले के भन्ला भन्ने पनि नसोची कम्मर कसेर निस्किए ।” रामवती जोसिदै भन्छिन् ।
उमेरले ७२ वर्ष पार गरेकी रामवतीको साहस अहिले पनि उत्तिकै छ । कपाल फुलेर सेतो भइसकेको छ । बुढेसकालले गर्दा हिँड्न पनि अलिक सकस हुन्छ अहिले तर पनि कहि कतै महिला माथि कुनै हिंसा भयो भन्ने सुन्ने बित्तिकै त्यसको वकालत गर्न रामवती अघि बढिहाल्छिन् ।
“महिलालाई समस्या पर्यो भन्ने सुने पछि कानमा तेल हाले जसरी चुप लागेर बस्न सक्दिन । कहाँ जाउँ अनि कसरी समस्या सुल्झाउने भन्ने बारे आतुर भइहाल्छु ।” रामवती सुनाउँछिन् ।
पञ्चायत कालदेखि निरन्तर महिला समानताको अभियानमा लागेकी रामवतीलाई महिला अधिकारको लागी लड्न अहिलेसम्म उमेरले छेकेको छैन । न त घर परिवारले नै रोक्यो । ४ वर्षको कलिलो उमेरमै विवाह बन्धनमा बाँधिएकी उनलाई श्रीमानको साथ र सहयोग सधैँभरी रहेको छ ।
“मलाई कहिले पनि मेरो श्रीमानले काम गर्न रोकेका छैनन्, उनकै प्रेरणाले यहाँसम्म आएको छु, हामी दुई बिचको सल्लाहले नै काम गर्दै आएका छौं । म पनि खुशी बुढा पनि खुशी,” रामवती हाँस्दै भन्छिन् ।
घुम्टोभित्र आफ्नो जिन्दगी लुकाएर समाजमा सबैभन्दा दबिएर रहेका तराइका महिलालाई अगाडि बढ्नुपर्छ भनेर आवाज उठाउँदा रमवतिलाई सुरुका दिनमा धेरै गाह्रो परेको थियो । ‘ तँ बाठी भाकी, तैँले भनेको हामीले किन मान्ने ?’ भनेर कतिले गाली गलौज अनि डर धम्की दिएको बताउँछिन् उनी । तर यस्ता कुरालाई वास्ता नगरी रामवती आफ्नो उद्देश्यमा निरन्तर अघि बढि रहिन् । महिलाहरूलाई एक भएर लाग्नु पर्छ, सामाजिक, आर्थिक, राजनैतिक सबै क्षेत्रमा महिलाहरूको उत्तिकै सहभागिता हुनुपर्छ भनेर विभिन्न महिला समूह बनाएर काम गर्दै गइन् ।
“त्यति बेला न बाटो थियो न फोन थियो । केही सेवा सुविधा थिएन तै पनि म सबै चुनौतीसँग जुधेर अगाडि अघि बढें । यो विभेद र असमानताको विद्रोह हुनैपर्छ भन्ने मभित्र आत्मविश्वास थियो ” रामवती सुनाउँछिन् ।
स्वास्थ्य स्वयम् सेविका हुँदै समाज सेवामा लागेकी उनी समाजको हितकै लागि उदयपुर देउरी गाविस अध्यक्ष, उदयपुर नगरपालिकाको उपमेयर भएर पनि काम गरिन् । त्यस्तै महिला अधिकार र सामाजिक न्यायको पूर्वशर्तका रूपमा काम गर्दै आएको ओरेक नेपालको अध्यक्ष भएर पनि रामवतीले काम गरिन् ।
करिव ५ दशक अगाडिदेखि लैङ्गिक समानता र सशक्तीकरणका लागि पैरवी गर्दै आएकी रामवती पहिचानसँगै आमाको नाममा पनि नागरिकता हुनुपर्छ तथा महिलाहरूको सम्पत्तिमा अधिकार हुनुपर्दछ भनी ‘आफूले कमाएको सम्पत्ति बाहेक अंशमा समान हक लाग्छ’ भनेर आवाज उठाउँदै आएकी छिन्। महिलाको विषयमा रेडियो कार्यक्रम मार्फत पनि दशकौं अगाडिदेखि जनचेतना फैलाई रहेकी छिन् ।
लामो समयदेखि महिला समानता तथा विभेद विरुद्धको अभियानमा जुटेकी रामवतीलाई उनको कामको प्रशंसा तथा कदर गर्दै २०७८ सालमा नेपाल सरकारले जनसेवा श्री पदकबाट विभुषित गरेको छ । आफ्नो कामको मल्याङ्कन गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले पनि सम्मान गर्दा काम गर्ने आँट र हौसला झनै बढेर गएको उनी बताउँछिन् ।
‘नेपालभरी थारू समुदायबाट म मात्र एक महिला पुरस्कार थाप्न जाँदा कस्तो गर्व महसुस भयो ।’ उनी भन्छिन्, “म कहिले रोकिने छैन, जहिलेसम्म सक्छु महिला अधिकारको लागि अनि सामाजिक न्याय र समानताका लागि अघि बढी रहने छु ।”
हेर्नुहोस्, समाज परिवर्तनका लागि निरन्तर बोलिरहेकी छन्, लडिरहेकी ७२ वर्षे रामवती चौधरीको भिडियो कथा: