दैनिक कमाएर खानेले यसरी मनाउँदै छन् दसैँ फोटो : पुष्कल श्रेष्ठ/जीविको

प्रतिक ढकाल / बिना सुनार २०७९ असोज १३ गते १५:३२

दुना टपरी बेच्ने १४ वर्षीय अप्सना सापकोटाको दसैंँ

असनमा टपरी बेच्दै १४ वर्षिय अप्सना, फोटो : पुष्कल श्रेष्ठ/जीविको

दसैँ नजिकिँदै गर्दा पनि सिन्धुपाल्चोककी १४ वर्षीय अप्सना सापकोटा नयाँ लुगा किन्न, साथीभाइसँग घुम्न जान अनि पिङ्ग खेल्न भ्याउँदिनन् । उनी नौरथा लागेदेखि काठमाडौं असनको सडक पेटीमा सालको पातले बुनेको टपरी बेच्न बस्छिन् । अझ घटस्थापनामा त उनलाई भ्याइनभ्याई नै हुन्छ । यो समय उनले कमाउनै पर्ने छ । चाडबाडको समयमा टपरी बढी बिक्ने गर्दछ । हामीले अप्सनालाई घटस्थापनाको दिन भेट्यौं, उनलाई बोल्न पनि फुर्सद थिएन ।  

“आज र भोलि टपरी बेच्ने अनि २ दिन फूलपाती भित्र्याउन चाहिने सामानको जोहो गरेर फेरी यहीँ बेच्न ल्याउने,” उनी सुनाउँथिन् ।      

फूलपतीलाई चाहिने उखु, अदुवाको बोट, फूल अनि पाती जस्ता सरसामान बेचेपछि मात्र उनलाई दसैँ लाग्ने गर्छ । दसैँका लागि  घर खर्च टार्न अप्सना असन चोकमा यो समयमा व्यापार गर्छिन् ।

उनी भन्छिन्, “म वर्षभरी व्यापार गर्दिन तर दसैँ लागेपछि मेरो स्कुल पनि बिदा हुन्छ । आमा बुबा अन्यत्र व्यापार गर्नुहुन्छ म चाहिँ यहाँ बसेर सामान बेच्छु,”

रिक्सा पेलेर जीवन धान्ने तिलक कार्कीको दसैँ 

खाली रिक्सामा रिक्सा चालक तिलक, फोटो : पुष्कल श्रेष्ठ/ जीविको

“आज त १ जना सवार भेटेको छैन, बिहानदेखि खाली रिक्सा लिएर इन्द्रचोकमा बसेको बसै छु,” असन ठमेल क्षेत्रमा रिक्सा चलाउने नुवाकोटका तिलक कार्कीले गुनासो पोखे ।  

दसैँ भित्रँदै गर्दा तिलकका छोराले लुगा किनिदिनु भनेर उनलाई फोन गर्न थालिसके । उनकी श्रीमती पनि घरको रासन पानीका लागि उनलाई गुहार्न थालिसकिन् । तर, दसैँमा सामान किन्ने मानिसहरूले असन बजार पूरै भरिँदा पनि तिलकको रिक्सा भने खाली नै छ  ।   

उनी भन्छन्, “खै, यो साल त के भयो भयो.. दसैँ मनाउनै सकिँदैन कि जस्तै छ । ॠण खोजेर दसैँ मनाउनु पर्ला,” तिलक फूलपातीसम्म नै रिक्सा पेल्ने सोचमा छन् । त्यतिञ्जेलमा केही कमाई गर्न सके घरका सरसामान किनेर उनी नुवाकोट जाने बताउँछन् ।  

फूटपाथमा लुगा सिलाउने ७२ वर्षीय भक्त सेन्चुरीको दसैँ  

वीर अस्पताल अगाडी लुगा सिलाउँदै भक्त, फोटो : पुष्कल श्रेष्ठ/जीविको

वीर अस्पतालको अगाडि रहेको अवैध संरचना भत्काएर राखिएको माटोको थुम्कोको अग्लो भागमा बसेर कालीकोटका ७२ वर्षीय भक्त निरन्तर लुगा सिलाउने कल चलाउँदै थिए । फुर्सदले हामीसँग बोल्ने समय पनि थिएन उनीसँग । दसैँ लागेसँगै उनकोमा पुराना लुगा मर्मत गर्न आउने मान्छेहरू टनाटन छन् ।

दसैँ नै हो भक्तले केही पैसा कमाउने समय । तर, नयाँ लुगा बोकेर उनीकहाँ सिलाउन आउनेहरू भने  त्यति हुँदैनन् । 

“यहाँ सिलाउन आउने हामीजस्तै गरिब नै हुन् । फाटेको टाल्ने, उद्रिएको सिलाउने काम गर्छु । टुक्रे काम गरेर कहाँ पैसा कमिन्छ र हजुर,” भक्तले गुनासो पोखे । 

भक्तसँग नयाँ नयाँ  लुगा सिलाउने पनि खुबै राम्रो सीप छ तर राम्रो चोकमा सटर भाडामा लिएर टेलर चलाउने पैसा भने छैन, त्यसैले उनको सीप ले उतिसारो पैसा कमाउन सकेको छैन ।

“फुटपाथमा लुगा सिलाउन बस्नेकोमा नयाँ लुगा आउँदैन, आए त खुब राम्रो सिलाउने थिएँ,”  उनी सुनाउँछन् । 

उनी दसैँमा घर जाने सोचमा छैनन्, उनकी जहान यतै छिन् । कालीकोटसम्म पुग्दा उनले कमाएको सबै पैसा बस भाडामा नै सकिन्छ । त्यसैले भक्तबहादुरको यसपालिको दसैँ काठमाडौंमै बित्ने छ ।

मकै पोल्ने सानुमाया महर्जनको दसैँ   

थानकोट चेकपोष्ट नजिकै मकै पोल्दै सानुमाया महर्जन, फोटो : पुष्कल श्रेष्ठ् / जीविको

दसैँको लागि घर पोत्ने, लुगा धुने, वरपर सरसफाइ गर्ने जस्ता कामले यतिबेला धेरै गृहिणीहरूलाई भ्याइ नभ्याइ छ । काठमाडौं चन्द्रागिरी चेकपोष्टको सडकमा मकै पोल्न बसेकी सानुमाया महर्जनलाई भने घरधन्दा भन्दा मकै पोलेर बेच्ने चटारो छ । उनले नकमाइ न घरमा चुल्हो बल्छ न त दसैँ नै भित्रिन्छ । त्यसैले बिहानै सडकको पेटीमा कोइला फुक्दै सानुमाया मकै बेच्न थालिहाल्छन् ।

“दसैँको काम त छ, तर पैसा छैन भने दसैँ हुँदैन, जसरी भए पनि पैसा त कमाउनु पर्‍यो नी ।” सानुमाया सुनाउँछिन् ।       

बिहानदेखि बेलुकासम्म मकै पोलेर कमाएको पैसाले छोरा छोरीलाई लुगा किनिदिने अनि मिठो मसिनो जे हुन्छ जोरजाम गरेर यसपालिको दसैँ मनाउने सोचमा छिन् सानुमाया ।

लागेन दसैँ लेबर काम गर्ने कालुराम थारूलाई ! 

मसला मुस्ने काम गर्दै कालुराम, फोटोः पुष्कल श्रेष्ठ/जीविको

कालुराम थारू गत साउन २० गते कामको खोजी गर्दै काठमाडौं आइपुगे । बर्दिया गुलरियामा खेती किसानी गर्ने कालुरामलाई दसैँ मनाउन भन्दा घरका दुःख कसरी टार्ने भन्ने चिन्ता छ । यही समस्याले  उनलाई यसपटकको दसैँमा काठमाडौंमै रोकिनु पर्‍यो । काठमाडौंमै दैनिक ज्याला मजदुरी गरेर उनी यसपटकको दसैँ बिताउने छन् । 

“काम नगरी खान पुग्दैन.. ३ जना छोराछोरी छन्, यहाँ केही कमाएर पठाउँछु उनीहरूले दसैँ मनाउँछन्.. मेरो त त्यस्तै भयो,” कालुरामले आँखाभरी आँशु बनाएर भने ।  

कालुराम आउने मङ्सिरमा धान काट्नलाई बर्दिया पुग्ने छन् । मौसमी रोजगारीका लागि काठमाडौं आएका उनी धान रोपी सकेपछि बेरोजगार बने । ५० वर्षको उमेरमा पनि उनलाई काम नगरी खाने वातावरण बन्न सकेन ।   

यसपटक परिवारसँगै दसैँ मनाउने धोको हुँदाहुँदै पनि उनी बर्दिया पुग्ने छैनन्  । परिवार साथमा नहुँदा उनी काठमाडौंमा एक्लिने छन् भने बर्दियामा कालुरामको घर सुन्ने हुनेछ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *