‘फूटपाथमा आश्रित व्यवसायीलाई विस्थापित नगरी महानगर व्यवस्थापन गर्न सकिन्छ’ (भिडियो)
काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने काममा मेयर बालेन्द्र शाह (बालेन) खरो रुपमा उत्रिएका छन् । ठूला ठूला व्यापारिक वर्गदेखि लिएर सरकार कै निकायलाई पनि महानगरले अहिले नियम सबैले मान्नु पर्ने भन्दै कारवाही चलाएको छ । महानगर व्यवस्थापनकै योजना अनुरूप मेयर बालेनले पहिलो चरणमा फूटपाथमा व्यवसाय नगर्न भन्दै आग्रह गरे । लगत्तै फूटपाथमा व्यवसाय गर्न पूर्ण रुपमा निषेध नै लाग्यो । विकल्प नै नदिएर अचानक गरिएको महानगरको यो कदमले रोजिरोटी नै बन्द हुने अवस्था पुगेको फूटपाथ व्यवसायीको दुःखेसो छ भने फुटपाथमा व्यापार गर्न दिने नीति काठमाडौं महानगरपालिकाको नभएको र फूटपाथ अतिक्रमणलाई अन्त्य गरिछाड्ने महानगरले बताउँदै आएको छ । कम्तिमा पनि दसैंसम्म व्यवसाय गर्न दिन फूटपाथ व्यवसायीले माग गरे तर महानगरले आफ्नो ‘एक्शन’ मा ‘ब्रेक’ लगाएन ।
काठमाडौँको फूटपाथ व्यवसाय र सडक अतिक्रमणको समस्या वर्षौंदेखिको समस्या हो । अहिले महानगरले चलाएको यो अभियानमा मुख्यरूपमा दुईवटा धारणा आएका छन् ।
पहिलो; फूटपाथ भनेको पैदल यात्रु हिँड्नका लागि हो, कुनै व्यापार/व्यवसाय सञ्चालन गर्नका लागि होइन । व्यापार गर्नेले आफै ठाउँ खोज्नुपर्छ । तसर्थ, काठमाडौँ महानगरले जे गरेको छ वर्षौं अगाडि नै हुनुपर्ने काम गरेको छ ।
दोस्रो; फूटपाथमा व्यापार गरेर दैनिक कमाएको पैसाले हजारौँको घरमा चुल्हो बलेको छ । शहर व्यवस्थित हुनुपर्छ तर फूटपाथमा निर्भर भएका व्यवसायीको रोजिरोटी खोसिनु हुँदैन । महानगरले विकल्प दिनै पर्छ ।
केही दिन अगाडि मात्र फूटपाथ व्यवसायीले महानगरको यो कदम विरुद्ध प्रदर्शन गरे भने काठमाडौं महानगरलाई पनि घेराउ गरे । सार्वजनिक ठाउँमा व्यवसाय गर्न पाउनु पर्ने उनीहरूको माग छ ।
यो समस्याको हल गर्नका लागि मध्यमार्गी बाटो के हुन सक्छ ? महानगर पनि व्यवस्थित हुने र फूटपाथको व्यापारमा आश्रितहरू पनि विस्थापित नहुने विकल्प कस्तो हुन सक्ला भन्दै नेपाल सरकारका पूर्व सचिव, पूर्वाधारविद् /शहरी विकासविद् किशोर थापासँग अडियो संवाद गरेका छौं । तत्कालीन साझा पार्टीका तर्फबाट २०७४ मा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका आर्किटेक्ट इन्जिनियर किशोरले सम्मानजनक मत १८ हजार ४९६ ल्याएका थिए । यस विषयमा किशोरको स्पष्ट तर्क छ ; शहर व्यवस्थित हुनै पर्छ, फूटपाथ व्यवसायीको रोजिरोटी पनि खोसिनु हुँदैन ।
नेपाल सरकारका पूर्व सचिव किशोर थापा भन्छन्;
———————–
महानगरले फुटपाथ व्यवसायीलाई फुटपाथबाट हटाउने निर्णय त गर्यो । तरपनि हाम्रो जस्तो देशमा फुटपाथ व्यवसायलाई अर्थतन्त्रको अनौपचारिक क्षेत्रका रुपमा लिइन्छ । उनीहरूको उपस्थिति शहरमा हुन्छ नै । उनीहरूको उपस्थिति शहरी अर्थतन्त्रका लागि आवश्यक पनि हुन्छ । रोजगारीका हिसाबले पनि अनौपचारिक रोजगारीको स्रोत हो फुटपाथ व्यवसाय र शहरी जनसङ्ख्याका लागि पनि सस्तोमा सामान किन्न पाउने अवसर हो ।
ग्राहक र व्यापारीलाई सहज हुने किसिमको वातावरण पनि यो व्यवसाय हो । यसैकारणले फुटपाथलाई हटाउने भन्दापनि यसलाई व्यवस्थित गर्नुपर्ने तर्फ लाग्नुपर्छ । यसका लागि मैले चाहिँ के सोचेको थिएँ भने, फुटपाथ व्यवसायलाई व्यवस्थित गर्नका लागि महानगरले निश्चित ठाँउ तोकिदिनुपर्ने हुन्छ । त्यो ठाँउ यहाँ कै कुनै चोकहरू हुन सक्छ वा सडकको किनार नै पनि हुन सक्छ ।
जस्तो उदाहरणका लागि न्यूरोडलाई हप्ताको कुनै दिन निश्चित समय तोकेर फुटपाथ व्यवसायका लागि ठाउँ तोकिदिन सकिन्छ । हाटबजार जस्तो गरि निश्चित ठाँउमा निश्चित समयमा भनेर काम गर्न सकिन्छ । त्यसो गर्दा के हुन्छ भने कुनै दिन फलानो ठाँउमा बजार लाग्छ भनेपछि त्यहाँ क्रेता र विक्रेता पनि पुग्न सक्छन् ।
त्यसको व्यवस्थापनको पक्ष चाहिँ महानगरले हेर्नुपर्छ जसमा घुम्ती शौचालय, फोहरमैलाको व्यवस्थापन आदि पर्न सक्छन् । त्यसकारण हामीसँग भएका यही सडक अनि चोकहरूलाई नै निश्चित समय तोकेर हामीले फुटपाथ व्यवसाय सञ्चालन गर्न सकिन्छ । जस्तै शनिवार ट्राफिक कम हुन्छ, त्यस दिनमा फुटपाथ व्यवसाय गर्न समय छुट्याए अन्य समस्या पनि पर्दैनन् ।
यो काम चाहिँ स्थानीय तह भन्दापनि संघीय तवरबाट गर्नुपर्छ । यसमा सरकारले ट्राफिक प्रहरी र यातायात व्यवसायीलाई परिचालन गर्नुपर्दछ र अन्य निकायहरूसँग समन्वय हुनुपर्छ, संघीय सरकारको उक्त पहलमा महानगरले योजना बनाएर काम गर्नुपर्छ । हामीले यही सडक र चोकको सदुपयोग गरेर फुटपाथ व्यवसाय सञ्चालन गर्न सकिन्छ ।
अन्तराष्ट्रिय हिसाबले हेर्ने हो भने पनि धेरै ठाउँमा यसरी फुटपाथ व्यवसाय सञ्चालन हुने गरेका छन् । नजिकैको भारतको दिल्लिमा पनि कुनै निश्चित समय छुट्याएर फुटपाथ व्यवसायीलाई व्यापार गर्ने अवसर दिइएको छ उक्त समयमा त्यहाँ गाडी कुद्न दिइँदैन । यसरी व्यवस्थित गर्दा गाडी चलाउनेहरूलाई पनि यो समय त्यस क्षेत्रको बाटोमा बजार लाग्छ भनेर थाह हुन्छ र अगाडि नै अर्को विकल्प खोज्छ ।
तर चौबीसै घण्टा फुटपाथलाई कब्जा गरेर व्यवसाय गर्दा चाहिँ यसले बाटो हिड्ने सर्वसाधारणलाई पनि असर पर्ने गर्छ ।
महानगरले अहिले गरेको काम हतासमा गरेको निर्णय जस्तो देखिएको छ। विकल्प त दिनै पर्छ किनकी यी त शहरका लागि आवश्यक पर्ने वर्ग हो । त्यसलाई सहरबाट हटाउनै मिल्दैन । खाली यहाँ समस्या भने एउटाले व्यवसाय गर्दा अर्कोलाई समस्या परेको त हो । तर, व्यवसाय नै गर्नु चाहिँ समस्या भने होइन ।
अन्य त कुनै उपाय नै छैन, फुटपाथ व्यवसायीको पनि रोजीरोटी खोस्नु भएन । सर्वसाधारणलाई पनि अप्ठ्यारो पार्नुभएन । यसअघि पनि असन, इन्द्रचोकमा फुटपाथ व्यवसाय नि चल्थे र गाडी पनि चल्थ्यो अनि सर्वसाधारण पनि हिँड्थे । तथापि, व्यवस्थापन भने राम्रोसँग भएको थिएन । हामी व्यवस्थापन गर्ने पक्षमा अलि कमजोर भएकै कारण यस किसिमका समस्याहरू आएका हुन् व्यवस्थापकीय पक्षमा अलि ध्यान दिएमा यस विषयमा खासै समस्या आउँदैन ।