विदेशमा वर्षौं बिताएका ज्योतिले जब ‘उद्यमको ज्योति’ नेपालमै देखे.. (भिडियो)

धर्मराज रिमाल २०७९ साउन १८ गते २०:२२

“विदेश केके नै हो भनेर नेपालमा एउटा लहड छ तर एअरपोर्टमा बिदा हुँदै गर्दा रोएको एउटा युवा त्यहाँ पुगेर हरेक दिन कति रुन्छ भन्ने कसैलाई थाहा हुँदैन । सबैलाई देश छोड्नै हतार छ ..”

टेबलमा चिया राख्दै कुराकानी सुरु गरे कपिलवस्तु चन्द्रौटाका ज्योति पौडेल (३०)ले । भर्खर चार महिना हुँदै छ उनले तीनकुने बागमती करिडोरमा ‘सुपो चिया चौतारी’ सुरु गरेको । नाम जस्तै छ चिया चौतारी पनि; सुपो (नाङ्लो) कै होर्डिङ बोर्ड, सुपोमै मेनु अनि चिया नास्ता सर्भ पनि सुपोमै ।

चिया बनाउँदै सुपो चिया चौतारीका संचालक ज्योति

साँझ पर्दै थियो अनि मन्द गतिमा पानी बर्संदै थियो । सुपो चिया चौतारीमा मान्छे भरिँदै थिए । हामीसँग कुरा गर्न बसेका ज्योति “चिया लिँदै गर्नुस् है” भनेर हतारिएर किचन तिर लागे । चिया पकाउन, समय मिलाउँदै अरु ग्राहकसँग गफिन अनि हिसाब किताब गर्न सबैतिर भ्याइरहेका थिए ज्योतिले । चिया पिउन आउनेहरूसँग उनी खुलेर गफ गरेको देख्दा लाग्दैनथ्यो, सुपो चिया चौतारी खुलेको भर्खर चार महिना हुँदै छ ।

सुपो चिया चौतारी खोलेपछि जोडिएका साथीहरूसँग गफिदै ज्योति

एकैछिनमा फेरी हामी चिया पिउँदै गरेको टेबलमा आइपुगे ज्योति ।

“साँझपख यहाँ चिया पिउन अलिक धेरै साथीहरू आउनुहुन्छ । अनि काम र गफगाफमा व्यस्त भइन्छ,” उनले कुरा सकाउन नपाउँदै प्रतिप्रश्न गरिहालेँ मैले, “तपाईंका साथीहरू पो हुन् सबै ?”

हाँस्दै ज्योतिले उत्तर फर्काए, “हजुर हो । वहाँहरू सुपो चिया चौतारी सुरु गरेपछि मसँग जोडिनुभएका साथीहरू हो । अधिकांश साथीहरू मेरो नियमित ग्राहक हुनुहुन्छ”

रातीको करिव आठ बजिसकेको थियो । चिया पिउन र खाजा खान आउनेहरू बिस्तारै बाहिरिँदै थिए ।

ज्योतिले चलाएको सुपो चिया चौतारी

ज्योतिले दोस्रो लट चिया लिएर हँसिलो अनुहार बनाउँदै हाम्रो टेबलमा आइपुगे । अब भने केही फुर्सदिला देखिएका थिए उनी ।

सुरुमा उनले भनेको ‘सबैलाई देश छोड्नै हतार छ’ भन्ने प्रसङ्ग कोट्याउँदै कुराकानी अगाडि बढाउन खोजे मैले ।

“देश छोड्नै हतार हो र सबैलाई ? बाध्यता र विवशता पनि हुन्छ नि… होइन भने महिनाको तीस हजार कमाउन किन जान्थे होला र खाडीमा नेपाली ? देशमा अवसर नभएपछि वाध्य भएर उड्नु परेन अनि ?” वैदेशिक रोजगारीमा नेपालीहरू जानुको कारण एकै सासमा बताउँदै उनले भनेको कुराको कटाक्ष गरेँ मैले ।

हँसिलो अनुहार बनाएर उनले आफ्नै शैलीमा उत्तर फर्काए, “युवालाई देशभित्रै अवसरै अवसर छ भनेर खुबै सुनाइयो अनि पढाइयो पनि तर देखाइएन कहिल्यै पनि । हेर्नुस्, अवसर केलाई मान्ने भन्ने कुरा नि हाम्रो सोँचमा भर पर्छ । तपाईंलाई थाहा छ, अहिले बिजुली बत्तीका काम गर्ने मान्छे खोज्यो भने समयमै भेटिदैनन् । आइहाले भने एकैछिन् काम गरेको पाँच सय – हजार रुपैयाँ बुझाइहाल्नु पर्छ । बिजुली बत्तीका काम सिकेर खाडीमाभन्दा डबल पैसा यहाँ कमाउन सकिदैँन र ? सीप सिकेर देशमै काम गर्नुभन्दा विदेशै जान हतारिन्छौं हामी । हामीले खोज्न र देख्न नसकेर मात्र हो । तर मान्नुस्, यो देशमा जताततै अवसर छ”

“यो त भन्ने कुरा न हो.. यथार्थमा त बाध्यता हो नि,” ज्योतिका तर्कलाई दबाउन खोज्दै उनका तर्कमाथि हावी हुन खोजिरहेको थिएँ म ।

“प्रमाण तपाईंको अगाडि छ सर । देशमै पैसा कमाउन सकिन्छ भन्ने कुराको प्रमाण म हुँँ … यो सुपो चिया चौतारी हो प्रमाण,” यति भन्दै गर्दा उनको अनुहारमा आत्मविश्वास र प्रसन्नता देखिन्थ्यो ।

ज्योतिले केही वर्ष अगाडिको आफ्नो कथा सुनाउन थाले । होटल म्यानेजमेन्ट पढेका ज्योति अवसर खोज्दै दुबई पुगे । त्यहाँको एउटा फाइभ स्टार होटलमा काम गर्थे उनी । काम गर्दै जाँदा उनको सेवा सुविधा राम्रो हुँदै गयो । सबै ठीक थियो तर मन भने सधैं बेचैन हुन्थ्यो उनको । 

रोजगारीका क्रममा दुबईमा ज्योति

“म पाँच वर्ष बसेँ विदेश तर नेपालमै केही गर्नुपर्छ भन्ने छटपटी जहिले हुन्थ्यो मलाई । कमाइ डेढ लाखभन्दा बढी हुन्थ्यो अनि सेवा सुविधा पनि राम्रै थियो तर म सन्तुष्ट हुन सकिन त्यहाँ,” ज्योति भन्छन्, “जबजब देश छोडेर उड्थें त्यतिबेला मेरो शरीर मात्र उड्थ्यो, मन भने यतै हुन्थ्यो मेरो”

उनले नेपाल फर्किएर यतै केही गर्ने योजना बनाएर उत्साहित हुँदै परिवार र साथीभाइलाई आफ्नो योजना सुनाए । 

परिवारले भन्यो, “भएको राम्रो जागिर छोडेर दुःख पाउन किन आउनु नेपाल ?” 

अनि साथीभाइले भने,” कहाँ नेपाल आउने कुरा गरेको ? बरु त्यहाँबाट प्रोसेस गरेर युरोप अमेरिका पो जानुपर्छ”

“नेपाल फर्किने मेरो योजनामा खुशी हुने कोही भेटिन । दुबइको काम, दाम र सेवा सुविधामा खुशी हुन नसकेको म युरोप र अमेरिकामा कसरी खुशी हुन सक्थेँ होला र ?” ज्योति भन्छन्, “नेपालमै केही गर्ने सोँच बनाइसकेको थिएँ अनि पाँच वर्षको दुबइको बसाइ टुङ्ग्याउँदै नेपाल फर्कने निर्णय गरेँ । म विश्वस्त थिएँ, मैले गरेको निर्णयले प्रतिफल दिन समय लाग्ला तर यो निर्णय गलत छैन भनेर प्रमाणित गरेरै छोड्छु ।”

राजिनामा पत्र होटल प्रशासनलाई बुझाउँदै गर्दा उनको सुपरभाइजरले भनेका थिए, “आर यू सिरियस ? यू मस्ट बी जोकिङ.. “

उनले अन्तर्मनलाई सुने, अरु कसैलाई सुनेनन् अनि फर्किए नेपाल ।

नेपाल फर्किएपछि कहिले अनलाइनबाट पर्स बेच्न थाले त कहिले दैनिक जीवनमा आवश्यक अन्य कुराहरू बेचे । उनको योजना भने अलिक लगानी गरेर भव्य होटल खोल्ने थियो । केही पैसा सेयरमा लगाएका थिए तर त्यसमा उनी चिप्लिए । कोभिडका कारण देशव्यापी लकडाउन भयो अनि उनको ‘नेपालमै गर्छु’ भन्ने जोशले बाटो पहिल्याउन सकेन । कोभिड थामिँदै गएपछि विवाह गरे ज्योतिले । अब फेरी उनलाई विदेश नै जाँदा फाइदा हुन्छ भन्ने सल्लाह आउन थाल्यो साथीभाइबाट । 

एकदिन उनले श्रीमतीसँग सल्लाह गरे, “अब एउटा चिया, खाजा खाने र साथीभाइ भेटेर गफगाफ गर्ने क्याफे खोल्नु पर्‍यो । मलाई साथ देऊ है” 

श्रीमतीले उनको योजनामा सहमति जनाइन् तर व्यवसाय गर्न लाग्ने पैसा भने थिएन । ज्योतिले कमसेकम खर्चमा फरक तरिकाले यो व्यवसाय गर्ने निधो गरेर योजना बनाउन थाले ।

फालिएका टायर र काठलाई रङ्गरोगन गरेर बनाइएको टेबल मेच

उनले हरेक कुरामा पैसा बचाएर सुरु गरे – सुपो चिया चौतारी । सुपोलाई नै होर्डिङ बोर्ड बनाएका छन् उनले । फालिएका टायर र काठलाई रङ्गरोगन गरेर टेबल मेच बनाएका छन् । बिग्रिएका साइकल, गितार, घर बनाउन प्रयोग हुने ब्लक सबैलाई सुपो चिया चौतारीमा आकर्षक प्रयोग गरेका छन् उनले ।

बिग्रिएका साइकल र गितारलाई प्रयोग गरेर सजाइएको सुपो चिया चौतारी

चार महिनामै आफ्नो योजनाले सार्थकता पाउँदै गरेको देखेर उत्साहित छन् ज्योति ।

“खुशी हुनुहुन्छ नि ?” ज्योतिलाई प्रश्न गरेँ मैले । 

“म खुशी छु सर । हामी खुशी देखाउन खोज्छौँ तर खुशी हुन जान्दैनौं । खुशी त मनको कुरा न हो” चहकिलो अनुहार बनाउँदै उनी भन्दै थिए, “चार महिनामै मैले यहाँ नियमित आउने साथीहरू भेटेको छु । यहाँको वातावरण, चिया र खानेकुरालाई मन पराइदिनु भएको छ । व्यवसायले पनि राम्रै गति लिएको छ.. १०-१२ हजार रुपैयाँको दैनिक व्यापार भएकै छ । २ जनालाई रोजगार दिएको छु, उनीहरूलाई पनि चाँडै आफ्नै उद्यम गर्न सक्ने बनाउने छु ।”

सुपो चिया चौतारीका संचालक ज्योति

घडीमा रातको साढे नौ पनि पार भइसकेको थियो । बिदा हुँदै गर्दा ज्योतिलाई भने, “यस्तै खुशी हुनुस् है अनि व्यवसाय अझै फस्टाउँदै जाओस्.. तपाईंका साथीहरू बढ्दै जाउन्”

उस्तै हँसिलो अनुहारमा ज्योतिले भने, “कमाइको अवसर खोज्दै कोही विदेशिने योजनामा छ वा यहाँ नै उद्यम गर्ने सोँच बनाएर विदेशबाट फर्किन खोजेका व्यक्तिलाई तपाईंले भेट्नुभयो भने भन्नुहोस् है सर… अवसर जति पनि छ नेपालमा तर खोज्नु चाँहि पर्‍यो । मैले सक्छु भने अरुले नसक्लान् र ?”

हेर्नुहोस्: वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा चार महिनामै राम्रो व्यवसायिक प्रगति गरेका ज्योतिको कथा

फोटो, भिडियो: पुष्कल श्रेष्ठ/जिविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *