बाबुको सपना सरकारी अधिकारी बनाउने, छोराको योजना कुटो कोदालो समाउने (भिडियो)
आफ्ना सन्तानले पढाईमा अब्बल नतिजा ल्याएपछि नेपालमा अधिकांश अभिभावकको स्वभाविक अपेक्षा हुन्छ, “अब विदेशका ठूला युनिभर्सिटीमा आफ्ना सन्तान पुगुन् अनि उतै आफ्नो भविष्य बनाउन् । होइन भने पनि कम्तीमा लोकसेवाको परीक्षा दिएर विभागको प्रमुख बनुन्”
डडेलधुरा अमरगढीका पदमराज अवस्थी (३०)का बुबाको आशा पनि यस्तै थियो । पदमले ६ वर्ष अगाडि पोखरा युनिभर्सिटी टप गरेका थिए । पढाईमा तेज आफ्नो छोरोले अब लोकसेवा गरेर सरकारी कार्यालय हाँकोस् भन्ने सपना बाबु चेतराजको थियो ।
तर पदम भने अब के गर्ने भन्ने दुबिधा मै थिए । यही दुबिधाका बिचमा उनी टिच फर नेपाल भन्ने संस्थाको फेलोसिप कार्यक्रममा सिन्धुपाल्चोक गए । त्यहाँ जाँदा गाउँले परिवेश, हावापानी र ग्रामीण कृषिसँग हेलमेल भएर बसे उनी । २ वर्षे फेलोसिप सक्काएर उनी काठमाडौं फर्किए ।
अब पदमलाई लाग्यो, प्रविधिको उच्च प्रयोग गरेर कृषि गर्ने हो भने पैसा कमाउन समस्या छैन नेपालमा ।
उत्साहित हुँदै पदमले घरमा आफ्नो योजना सुनाए, “अब म कृषि गर्छु । यसैमा रमाउँछु.. यसैबाट कमाउँछु..”
लोकसेवा गरेर छोरो उच्च ओहोदामा पुगोस् भन्ने सपना देखेका बाबुले जब छोरोले कुटो कोदालो समाउँछु भन्यो तब बाबु चेतराजलाई लाग्यो छोरोले भविष्य बिगार्ने भयो । पदमलाई भने आत्मविश्वास थियो, “परम्परागतभन्दा फरक तरिकाले कृषि गरियो भने सर्टिफिकेट बोकेर जागिर खोज्न कतै जानै पर्दैन”
अन्तत: बाबुको असहमतिका बावजुत कृषि कर्म गर्ने उद्देश्य लिएर पदम अगाडि बढे ।
पदमको ‘आइडिया’लाई योजना बनाउन अन्तरप्रेरणाले सहयोग गर्यो । यो संस्थाले पदम जस्ता नवीनतम सोच तथा सम्भावना बोकेका उद्यमशील व्यक्तिहरूलाई नयाँ वा संचालनमा आइसकेको व्यवसाय सफल रुपमा स्थापित गर्न आवश्यकताअनुरुप विभिन्न किसिमले सघाइरहेको छ । अन्तरप्रेरणाबाहेक अन्य विभिन्न व्यक्ति र संस्थाले पनि उनलाई सहयोग गरे ।
कृषि उद्यम गर्न पदमले पनौती १०, काभ्रेमा जग्गा भेटे । २० रोपनी जग्गा भाडामा लिएर २०७७ सालमा पदमले सुरु गरे – ताजा फार्म । विगत तीन वर्षदेखि यहाँ पदमले तरकारी खेती गर्दै आएका छन् । कृषि उद्यमी, हरितगृह मिस्त्री, कृषि प्रशिक्षकजस्ता विषयमा पोख्त पदमले अहिले यही कामलाई आफ्नो पेशा बनाउँदै आएका छन् ।
“हामी पढे लेखेको मान्छेले आधुनिक तरिकाले खेती किसानी गर्ने हो भने पक्कै राम्रो हुन्छ भनेर यो पेशामा लागेँ । पहिले आफ्नो योजनाले सफलता पाउँदै गएकोमा म खुशी छु” पदम सुनाउँछन् ।
अहिले ताजा फार्ममा काँक्रो, गोलभेँडा, क्याप्सिकम, बन्दा, ब्रोकाउली, खोर्सानी, भान्टा लटरम्म फलेका छन् । मौसमी तथा बेमौसमी गरी ४० थरिका तरकारीहरू यहाँ वर्षेनी उत्पादन हुने गरेको छ । ताजा फार्ममा उत्पादन गरिने तरकारीहरूमा कुनै पनि किसिमका विषादीको प्रयोग हुँदैन । पूर्ण अर्गानिक र स्वास्थ्यको लागि राम्रो हुने भएकोले यहाँ टाढा टाढा बाट तरकारी किन्न आउने गर्दछन् ।भक्तपुर दुवाकोटबाट तरकारी किन्न पुगेकी अस्मिता भन्छिन्, “यहाँ त आफ्नै घरमा फलाएको जस्तै ताजा तरकारी पाइन्छ, मिसावट हुँदैन त्यसैले हरेक दिन यहाँ तरकारी किन्न आइपुग्छु ।”
कीटनाशक औषधी, रासायनिक मलको प्रयोग नगरी स्वस्थ र ताजा तरकारी उत्पादन गर्नु ताजा फार्मको विशेषता हो । फार्ममा खेती गर्ने तरिका पनि परम्परागत नभएर आधुनिक प्रविधिको छ । ताजा फार्मको २० रोपनी जग्गामा पुरै आधुनिक किसिमका टनेलहरू छन् । बिरुवामा कीरा नलागोस् भनेर टनेललाई जालीले बेरिएको छ । बिरुवामा झार नलागोस् भनेर प्रत्येक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरिएको छ भने बिरुवालाई पानी हाल्नका लागि थोपा सिँचाइको व्यवस्था गरिएको छ।
“गुणस्तरीय तरकारी फलाउन र लागत खर्च कम गर्न प्रविधिको उच्चतम प्रयोग गरेका छौं” पदमले भने, “आधुनिक प्रविधिले व्यवसायिक तरकारी खेती गर्न सजिलो बनाएको छ, प्रविधि अपनाउँदा रोग किराको समस्याबाट मुक्त गराएको छ नै अर्कोतिर आम्दानीमा पनि वृद्धि भएको छ।”
२०७७ सालमा ताजा फार्म सुरु गरेपछि अहिलेसम्म १ किलो तरकारी पनि बिक्री नभएर वा कुहिएर फ्याँक्नु नपरेको पदम बताउँछन् । “अहिलेसम्म हाम्रो तरकारी नोक्सान नहुने मूख्य कारण भनेको ‘पूर्व तयारी’ हो । पहिले नै कुन तरकारी कसरी लगाउने? यसको माग कति छ? कहाँ बेच्न सकिन्छ भन्ने बारे पर्याप्त अनुसन्धान गरेर खेती गर्ने हुँदा हाम्रो नोक्सान भएको छैन,” पदम सुनाउँछन् ।
अध्ययनमा अब्बल पदमलाई कृषि पेसामा लागेपछि विदेशिने मन लागेन । नेपालमा नै आधुनिक कृषि गरे मासिक २-४ लाख कमाउन गाह्रो नदेखेपछि उनले अबको जीवन कृषि गरेर नेपालमा नै बिताउने सोचेका छन् ।
उनी भन्छन्, “जे गर्छु नेपालमा नै गर्छु, यहीँ पसिना बगाउँछु । आधुनिक हिसाबले कृषि गर्न सके नेपालकै माटोमा सुन फलाउन सकिन्छ ।”
पदमले सुरुवात गरेको ताजा फार्ममा अहिले १० जना कर्मचारी छन् । वार्षिक ३ सयदेखि ४ सय जनाले त मौसमी रोजगारी पाउँछन् । युनिभर्सिटी टपर छोरोको कृषि उद्यम देखेर पदमका बाबु अहिले गर्व गर्छन् ।
आम्दानी चाहिँ कति छ नि ? पदम सुनाउँछन्, “२० रोपनीको तरकारीले वार्षिक ३५ देखि ४० लाखसम्म आम्दानी दिने गरेको छ । तर हामी यतिमा सिमित हुँदैनौ, अझ धेरै आय गर्ने योजना छ ।”
त्यसो त ताजा फार्मले तरकारी उत्पादन गर्ने मात्र काम गर्दैन, यहाँ देशका विभिन्न कुनाबाट कृषि प्रविधि सिक्नका लागि भनेर ओजेटीमा विद्यार्थीहरू आइपुग्छन् । उनीहरूलाई पनि कृषि र प्रविधीका बारेमा सिकाउँछन् पदम । ति बाहेक विभिन्न संघ, संस्था, दूतावासका प्रतिनिधि, कृषि उद्यम गर्ने सोंच भएका व्यक्तिहरू पदमको कृषि कर्म हेर्न पुग्ने गरेका छन् ।
यहाँ पुग्ने विद्यार्थीहरू पनि फार्म देखेर दङ्ग पर्छन् । ताजा फार्ममै कृषि सिक्दै गरेका सिन्धुपाल्चोक भोटेनामलाङका सुरेश लामा भन्छन्, “यहाँ काम गरेर पढेका धेरै कुरालाई व्यवहारमा उतार्न सकेको छु । ओजेटी सकेर म पनि यसरी नै कृषि गर्छु ।”
ताजा फार्म चलाएका पदमको एउटै सपना छ उनी जस्ता युवा कामको लागि विदेश नजाउन् । नेपालका किसानका लागि कृषि निर्वाहमुखी हैन आत्मनिर्भर र समृद्धिको आधार बनोस् ।
हेर्नुहोस्, युनिभर्सिटी टपर पदम राज अवस्थीको ताजा फार्मको यात्रा भिडियोमा :