वैदेशिक रोजगारीमा जानेलाई अभिमुखीकरण तालिम: कस्तो छ? कस्तो हुनुपर्छ ?
कास्की पोखराका नारायण अधिकारी (४५) ले डेढ दशकभन्दा बढी समय वैदेशिक रोजगारीमै बिताए । तर उनलाई वैदेशिक रोजगारीका क्रममा ठगीमा परे के गर्ने, अलपत्र परे कहाँ जाने अनि उद्धारका लागि कसलाई गुहार्ने भन्ने बारे थाहा छैन ।
यो डेढ दशकमा उनले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका दर्जनौँ मान्छे भेटे तर उनीहरूलाई पनि आफ्नो समस्या ढुक्कसँग राख्न सक्ने निकाय थाहा नभएको नारायण बताउँछन् ।
“३ पटक विदेश काम गर्न पुगेँ, दुईपटक अभिमुखीकरण तालिम लिएर नै गएँ तर चाहिने कुरा चाँहि सिकेको रहेनछु,” हाल कतारमा बस्दै आएका नारायण अधिकारीले गुनासो पोखे, “अभिमुखीकरण तालिममा विदेश गएपछि सरकारले के के सुविधा दिन्छ, गएको ठाउँमा ॠण लिन पाइन्छ पाइदैन, कुन कुन देशमा के गर्न पाइन्छ के गर्न पाइदैँन, त्यहाँको नियम कानुन के कस्तो छ भन्ने बुझाए हुने हो तर सरकारले दिने अभिमुखीकरण तालिममा झारो टार्ने मात्र काम हुन्छ।”
वैदेशिक रोजगारीको लागि माल्दिभ्स, मलेसिया र कतार पुगेका नारायणले यसरी अभिमुखीकरण तालिमको नाममा पैसा असुलेर सरकारले आम जनतालाई ठगिरहेको बताए । अभिमुखीकरण तालिम नलिए पनि सजिलै प्रमाणपत्र प्राप्त गर्न सकिने नारायण बताउँछन् ।
उनी भन्छन्, “यो म्यानपावर कम्पनी र सरकार मिलेर जनतालाई शोषण गर्ने उपाय मात्रै हो । पैसा लिएको हुन्छ तर चाहिने सबै कुरा भने हुँदैन ।” उनी प्रश्न गर्छन्, “अभिमुखीकरण तालिम वास्तवमै उपयोगी भएको भए दैनिक यति धेरै मान्छे ठगिने थिए होला त ?”
हालै ब्लिट्ज मिडियाले ह्युम्यानिटी युनाइटेडसँगको साझेदारीमा सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ लाई हेर्दा नारायणलाई मात्र होइन वैदेशिक रोजगारीमा जाने करिब ८० प्रतिशतले सरकारले दिने अभिमुखीकरण प्रभावकारी नभएको बताउँछन् । उनीहरूले यस कार्यक्रम औपचारिकतामा मात्र सीमित रहेको बताएका छन् । पैसा असुलेर प्रमाण पत्र बोकाउने यस्ता कार्यक्रम आवश्यक नरहेको उनीहरूको बुझाई छ ।
सरकारले २०६० सालदेखि वैदेशिक रोजगारमा जानुअघि अनिवार्य रुपमा पुर्व प्रस्थान अभिभुखिकरण तालिम लिनुपर्ने नियम बनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगारीमा जाने कामदारले जानुपूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने तालिमको उद्देश्य हो । वैदेशिक रोजगारमा जाने अन्तिम चरणमा रहेका व्यक्तिहरूले आफू जाने मुलुकको हावा पानी, भाषा, संस्कृति, रीतिरिवाज, नियम, कानुन, विदेश यात्राको बारेमा सम्पूर्ण जानकारी लिएर सचेत हुनलाई अभिमुखीकरण तालिम लिनु पर्दछ । पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रम २०७६ मा नेपालको वैदेशिक रोजगार सम्बन्धी कानून, काम गर्न जाने मुलुकको श्रम, अध्यागमन र ट्राफिक नियम, गन्तव्य मुलुकको भौगोलिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक, धार्मिक पक्ष, सम्बन्धित कामको बारेमा लिनु पर्ने ज्ञान सीप, आफूसँगै लानु पर्ने र घर परिवारलाई छाड्नु पर्ने कागजातहरू, स्वदेश र विदेशमा विमानस्थलको प्रयोग र प्रकृया, हवाइजहाज प्रवेश र यात्रामा ध्यान दिनुपर्ने कुराहरू, करार पत्रमा समावेश हुने विषयहरू, कामका दौरानमा हुने तनाव र यसको व्यवस्थापन कसरी गर्ने, काम र ओभरटाइमको पारिश्रमिक, एटिएमको प्रयोग, सम्पर्क तथा सूचना प्रविधिको प्रयोगबारे जानकारी, सहयोगी निकाय तथा सहयोग लिने तरिका, एच्. आई .भि एड्स, सरुवा रोग, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी, महिला कामदारको सुरक्षा लगायतका विषयहरू समावेश गरिएको छ ।
अभिमुखीकरण तालिममा कार्यस्थलमा हुने सावधानी र सडक दुर्घटनालाई जोड दिए तापनि वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाए । वैदेशिक रोजगार बोर्डका अनुसार दैनिक तीन जना नेपालीको मृत्यु हुने गरेको छ भने वार्षिक एक हजारभन्दा बढीले वैदेशिक रोजगारीमा ज्यान गुमाउने गरेका छन् । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मृत्यु भएका नेपालीहरूको शव ल्याउन पनि कठिनाइ हुने गरेको एक कार्यक्रममा बताएका थिए ।
स्वास्थ्य परीक्षण गर्दा स्वस्थ्य देखिएका व्यक्तिहरूले नै वैदेशिक रोजगारीमा उड्ने अनुमति पाउने गर्छन् । तर स्वस्थ देखिएर विदेश गएकाहरूको नै उमेर नपुगी मृत्यु हुने गरेको छ । सरकारले सञ्चालन गरिरहेको अभिमुखीकरण कार्यक्रमले सामान्यरुपमा पनि वैदेशिक रोजगारीमा जानेलाई स्वास्थ्यका विषयमा सचेत गराउन नसकेको यो तथ्यांकले पुष्टि गर्दछ ।
“अभिमुखीकरण तालिम केका लागि ? प्रमाण पत्र मात्र लिनका लागि कि वैदेशिक रोजगारीमा हुने समस्या नियन्त्रणका लागि ?” आप्रवासन विद् शरू जोशी श्रेष्ठ भन्छिन्, “सरकारले अभिमुखीकरण तालिमको महत्व बुझाउन नसक्दा वैदेशिक रोजगारीमा जानेहरूले आधारभुत कुराहरू बुझ्दै नबुझी विदेश उड्ने गरेका छन्,”
सरकारले ल्याएको अभिमुखीकरण कार्यक्रम नियतका हिसाबले ठीक देखियता पनि व्यवहारिक हिसाबले झारो टार्ने काम मात्र भएको शरू बताउँछिन् ।
उनी भन्छिन्, “विदेशी नीति नियमको बारेमा प्रष्ट जानकारी नदिँदा यस किसिमको तालिम कार्यक्रमले खासै तुक राख्दैन । श्रमिकको ७ सय रुपैयाँ लिएपछि सरकारले जिम्मेवार भएर तालिम सञ्चालन गरिदिन पर्छ ।”
श्रम सर्वेक्षण २०७४ का अनुसार वैदेशिक रोजगारीमा जाने ४९.१३ प्रतिशत युवाहरूको सङ्ख्या तराई मधेशबाट छ । जबकी सरकारका १ सय ४३ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूमध्ये ९८ प्रतिशत संस्थाहरू काठमाडौंमा मात्र रहेका छन् । यसरी पहुँचभन्दा टाढा काठमाडौंमा अभिमुखीकरण तालिम लिनुपर्ने भएका कारण युवाहरू ठूलो खर्च गरेर काठमाडौं आउने झन्झटबाट मुक्त हुन पनि मेनपावरसँग सेटिङ मिलाएर प्रमाणपत्र प्राप्त गर्ने गरेका छन् ।
सरकारी तथा गैरसरकारी संघ संस्थाले निकालेका विभिन्न प्रतिवेदन हेर्ने हो भने पनि सरकारी अभिमुखीकरण तालिमबाट विदेशिने नेपाली श्रमिकहरू त्यति सन्तुष्ट नभएको पुष्टि हुन्छ ।
आप्रवासन विज्ञ रामेश्वर नेपाल भन्छन्, “बेला बेलामा अभिमुखीकरणको पाठ्यक्रम परिमार्जन गरे पनि मुख्य श्रमिकलाई आफ्नो हक अधिकारका बारे जानकारी दिने किसिमको पाठ्यक्रम हालसम्म विकास हुन सकेको छैन ।”
परिमार्जन पनि समय अनुकुल नभएको बताउँदै रामेश्वरले अभिमुखीकरण तालिम अधिकारमैत्री हुनुपर्ने बताए ।
उनले भने, “तपाईंले काम गरेपछि तोकिएबमोजिम सेवा सुविधा पाउनु पर्छ । आठ घण्टा काम गर्ने समय हुन्छ तर खाडीका देशहरू कुवेत तथा कतारमा ३२ डिग्रीभन्दा बढी तापक्रममा काम लगाउन पाइन्न भन्ने जस्ता अधिकारहरूको जानकारी दिनुपर्ने हो तर सरकारले यस्ता विषयवस्तुलाई प्राथमिकतामा राखेर तालिम सञ्चालन गर्नै सकेन ।”
वैदेशिक रोजगार विभाग अन्तर्गत अभिमुखीकरण तालिम दिनका लागि भनेर काठमाडौं र काठमाडौं बाहिर गरि १ सय ४३ वटा संस्थाहरूलाई मान्यता दिएको छ । ती संघ संस्थाहरूले सही र उचित तरिकाले तालिम दिइरहेको छ वा छैन भन्ने बारेमा वैदेशिक रोजगार विभाग वैदेशिक रोजगार बोर्ड अनुगमन गरिरहेको बताउँछन्, वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल ।
“सरकारले ल्याएको अभिमुखीकरण तालिम फलदायी रहेता पनि श्रमिकहरूको लापरबाहीका कारणले गर्दा अभिमुखीकरण तालिम कहिँ कतै प्रभावकारी नभएको हुनसक्छ । भरसक सरकारी तालिम केन्द्रबाट यस किसिमको तालिम लिन सके अभिमुखीकरण तालिम थप प्रभावकारी हुने थियो,” शेष बताउँछन् ।
विभागले अभिमुखीकरण तालिम फलदायी रहेको बताउँदै आएयता पनि वैदेशिक रोजगारीमा जाने नारायण जस्ता लाखौँलाई यो अभिमुखीकरण तालिम चित्त बुझेको छैन । जति अभिमुखीकरण तालिम लिए पनि वैदेशिक रोजगारीका क्रममा हुने समस्या न्यूनीकरण नहुने हो भने यस तालिमको औचित्य नहुने कतारमा काम गरिरहेका नारायण बताउँछन् ।
“तीन दिनको कार्यक्रम भनिन्छ तर वैदेशिक रोजगारको बारेमा ब्रिफिङ गर्ने भनेको त १ घन्टा मात्र हो । यसबाहेकको समय त हाजिर गर्ने अनि तीन घन्टा टाइम पास गर्ने मात्रै हो । १ घन्टामा सिध्याउन सकिने अभिमुखीकरणलाई ३ दिन किन लगाउने?,” नारायण प्रतिप्रश्न गर्छन् ।