साउनमा मौका छोप्नेहरू: हात सजाउनेले गर्छन् एकै महिनामा लाखौं कमाइ !
“भनिन्छ जति गाढा मेहन्दी त्यति गाढा प्रेम,” साउन महिनालाई मेहन्दीको महिना भनेर चिनिन्छ, भने कतिपयले यो महिनालाई शृंगारको महिना पनि भन्ने गर्छन् । यतिबेला विशेष गरी महिलाहरूले हरियो, रातो, पहेँलो पहिरन लगाउँछन् । त्यस्तै रङ्गको संयोजन पोते र चुरामा पनि मिलाइन्छ। त्यतिले मात्र कहाँ पुग्छ, हातभरि मेहन्दी लगाउनै पर्छ । साउनमा युवतीको हातमा मेहन्दी देखिएन भने धेरैले सोध्छन् , ‘किन मेहन्दी नलगाएकी ?’
प्रायजसो सबै महिलालाई लाग्ने साउने पर्वमा मेहन्दी लगाउने भनेर काठमाडौं बागबजारको पेटीमा अहिले मेहन्दी लगाउने कलाकारहरू आफ्ना ग्राहक पर्खिएर लाइननै बसेका भेटिन्छन् । पेटीमा केही मुडाहरू र भुईँमा क्याटलकसँगै मेहन्दीका केही सोली राखेर उनीहरू बसिरहेका हुन्छन् । यही मेहन्दी लगाउनेहरूका भीडमा हुन्छन् रौतहट चन्द्र चन्द्रनिगाहपुरका दिनेश शर्मा (४५) ।
उनी पेसाले सिकर्मी हुन् वर्षभरि अरुकोमा फर्निचर बनाउने काम गर्छन् । फर्निचरबाट राम्रो आम्दानी छ तर साउनमा भने फर्निचर भन्दा दुईगुणा दाम बाटोमा मेहन्दी लगाएर बस्दा कमाइन्छ ।
“हातमा मेहन्दी लगाउने सीप छ । मेहन्दी लगाउँदा केही छिनमै कमाइ हुन्छ खर्च पनि खासै हुँदैन मेहनत पनि धेरै लाग्दैन,” दिनेश सुनाउँछन् ।
एक सोली मेहन्दीलाई ३० रुपैयाँ पर्छ त्यहीँ एक सोलीले ३ जनाको हात रङ्ग्याउन पुग्छ । १ जनाको मेहन्दी लगाउँदा उनी १ सय रुपैयाँ लिन्छन्, १५ मिनेटमा नै ३ जनालाई मेहन्दी लगाउन भ्याउँछन् ।
उनी भन्छन्, “ग्राहक आइराख्ने हो भने त घण्टामा नै १ हजार रुपैयाँ भन्दा बढी कमाई हुन्छ ।”
दिनेशले भारत जाँदा मेहन्दी लगाउने काम सिके मेहन्दीको सिजन सँधै नहुने भएपछि उनी काष्ठकलालाई आफ्नो प्रमुख पेसा बनाउँछु भन्दै नेपाल छिरे । सँधै काठमा आफ्नो कला पोख्दै गरेका उनी वर्षभर साउनको प्रतीक्षामा बस्छन् साउनमा मेहन्दी लगाएर मात्र पनि उनी एक महिनामा डेढ लाख भन्दा बढी कमाउँछन् ।
“साउनमा त प्रत्येक दिन कम्तिमा ४ हजार देखि ५ हजार रुपैयाँसम्म कमाइ हुन्छ, हरेक महिना साउन हुनु नि जस्तो लाग्छ,” उनी हाँस्दै सुनाउँछन् ।
दिनेशसँगै उनका छिमेकी र मनोज शर्मा पनि यतिबेला बागबजारमा मेहन्दी लगाउने काम गरिरहेका छन् । मनोजसँग पनि सिकर्मी र मेहन्दी लगाउने दुबै कला छ । साउन महिना छाडेर अन्य महिना उनी पनि फर्निचरमा नै काम गरेर बिताउँछन् ।
“फर्निचरमा १ महिनामा कमाउने पैसा यहाँ ५ देखि ६ दिनमै कमिन्छ यो एक महिना त सबै काम छाडेर मेहन्दी नै लगाएर बस्छु,” मनोज भन्छन् ।
उनलाई पनि मेहन्दी लगाउने कला भने भारतले नै सिकायो । भारतमा ५ वर्ष बसेका उनी मेहन्दी लगाउन माहिर छन् । उनी भने बेला मौका विवाह र पार्टी तीर पनि मेहन्दी लगाउन पुग्छन् तर सँधै मेहन्दी लगाउने काम नपाइने हुँदा रहर मेहन्दीको रङ्गसँगै मिलेर काम गर्ने हुँदा हुँदै पनि बाध्यताले सिकर्मीको काम गर्नुपर्छ ।
“काठको काममा मेहनत धेरै छ दुःख छ पैसा पनि त्यति धेरै छैन सँधै यही मेहन्दीको काम गर्न पाए खुबै राम्रो हुन्थ्यो,” मनोज सुनाउँछन् ।
परम्परा हेर्ने हो भने मेहन्दीको धेरै महत्वहरू छन् । असारे चटारोबाट उम्किएपछि सुकिलो मुकिलो भएर बस्न दिदी बहिनीहरूले हातमा मेहन्दी सजाउने परम्परा छ । खेतीबाली लगाउँदा हात खुट्टामा लागेको चोट हटाउन र त्यसलाई मुलायम बनाउन पनि मेहन्दी लगाउने गरिएको भन्ने गरिन्छ ।
मेहन्दीका धेरै डिजाइनहरू हुन्छन् पछिल्लो समय गोल्डेन अरबिक, लेटेस्ट अरबिक, सुपर्व हिनाको नाम गरेका मेहन्दीका डिजाइनलाई मन पराउने गरिन्छ ।
सदावहार चल्तीमा रहने अरबिक चाँहि प्राय एक लाइनमा सजाइएको हुन्छ । लेटेस्ट अरबिकमा माछा, कलश, गणेश, दुलहा दुलहीको डोली जस्ता आकृति हुन्छ । यो हातको कुहिनादेखि माहिली औँलासम्म लगाइन्छ । हातको एउटा औँलामा मात्र डिजाइनले छुन सक्छ । विवाहका लागि गरिने ब्राइडल डिजाइन पनि साउनमा प्रयोग गरिन्छ ।
बजारमा रेडिमेड मेहन्दी पाउनु अगाडि प्राकृतिक रूपमा नै मेहन्दी तयार गर्ने प्रचलन थियो । तिउरीको पातलाई हातमा राखेर फिटकिरी र फर्सीको फुल र सिमीको पात मिसाएर मझेत्रोले बाँधेर मेहन्दी लगाउने चलन छ ।
अहिले अवस्था फेरियो गाउँघरमा तिउरीको बोट खासै पाइँदैन त्यसैले रेडिमेड मेहन्दी लगाउने चलन रहेको छ । यसरी सोलीमा पाइने मेहन्दी लगाउने मनोज र दिनेश जस्ता धेरै आफ्नो नियमित काम छाडेर काठमाडौंको बागबजार, न्युरोड क्षेत्रमा बस्ने गरेका छन् । यसरी सिजनमा मेहन्दी लगाउन बाटोमा बस्ने मेहन्दीका कलाकारले साउनमा मात्र १ लाख भन्दा माथि आयआर्जन गर्ने गरेका छन् ।