चालीस कटेका महिलाहरूको उद्यमशील जोश: रेशमबाटै कपडादेखि साबुन अनि गहनासम्म स्थानीय मेलामा रेशमका उत्पादन बिक्री गर्दै नेवा: मिसा समाजका सदस्य, फोटो: पुष्कल श्रेष्ठ/जीविको

जीविको २०७९ असार २६ गते २१:२३

सीप, उद्यम र साझा लाभ खोज्ने ऊर्जाशील नेवा: महिलाहरूको समूह हो किर्तिपुरको नेवा: मिसा समाज । स्थानीय स्तरमा हुने मेला महोत्सवमा यो समूह पुगिहाल्छ अनि आफ्ना उत्पादनहरूको बारेमा सहभागीलाई प्रष्टसँग बुझाएर सामानहरू बिक्री वितरण गर्ने गर्दछ ।

केही महिना अगाडि किर्तिपुरको उमामहेश्वरी मन्दिरमा किर्तिपुर नगरपालिकाले सञ्चालन गरेको युवा रोजगार सम्मेलन (मेला)मा पनि उस्तै जोशका साथ यो समूहका पाँचसात जना महिलाहरू ठूलो आशा र उत्साहका साथ आफूले ल्याएका सामानहरू बेच्दै थिए ।  

“सुनको गहना चोरिहोला भन्ने डर हुन्छ तर यो हराए पनि कुनै चिन्ता छैन । कपडा अनुसार कलर मिलाएर लगाउन पनि सकिन्छ,” महिलाहरूको आवाज सुनेपछि रङ्गिन देखिने झकिझकाउ सजाएका गहनाहरू हेर्न हामी पुगिहाल्यौँ ।  

नेवा: मिसा समाजले रेशमबाट बनाएको गहना, फोटो: पुष्कल श्रेष्ठ/जीविको

स्टलमा बसेका उमेरले ४० कटेका महिलाहरूमा जोस र उत्साह पनि हेर्न लायक थियो । कोही सामान लिन अनुरोध गर्दै ग्राहक भेट्न पुग्थे भने कोही आएका ग्राहकलाई सामानको बारे बताइरहेका थिए । नेवा: मिसा समाज किर्तिपुरमा आवद्द महिलाहरूले यसरी काठमाडौंका विभिन्न ठाउँमा हुने प्रदर्शनीमा गएर आफ्ना सामान बेच्न थालेको १९ वर्ष नाघ्यो ।  

“२० वर्ष पुग्न लाग्यो सामान बेचेको, हाम्रो जोश चाहिँ उस्तै नै छ । व्यापारीको गुण यही त होलानी है ?,” स्टलमा बसेकी एक महिला हाँस्दै भन्दै थिइन् । 

नेवा: मिसा समाजका ४\५ जना महिलाहरू नेवारी पहिरनमा सजिएर कानमा  लगाउने झुम्का, पछ्यौरा, गलबन्दी, साबुन, तन्ना लागायतका सामानहरू टेबलमा राखेर मेलामा सहभागी भएका थिए ।

यी महिलाहरू मध्ये केहीले रेशम किराको धागोबाट लुगा बनाउँछन्, कोही रेशमकै अण्डाको खोस्टाबाट गहना बनाउँछन् त कोही रेशम किराको अण्डाबाट नै साबुन ।

नेवा: मिसा समाजले गरेको रेशमका उत्पादनहरू, फोटो: पुष्कल श्रेष्ठ/जीविको

२०६० सालदेखि स्थानीय  स्तरमा महिलाहरूलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि अग्रसर रहेको नेवा: मिसा समाजले महिलाहरूलाई कहिले सिलाई बुनाइ, कहिले ब्युटिपार्लर सम्बन्धी त कहिले अचार बनाउने, डल बनाउने, धुप बाट्ने जस्ता थुप्रै हस्तकला सम्बन्धी तालिमहरू दिँदै आएको छ । 

समूहमा २ सयभन्दा बढी महिलाहरू सहभागी छन् । यिमध्ये १५ जनाले सक्रिय रुपमा तालिम लिएर समूहका अरु महिला दिदी बहिनीहरूलाई सिकाउँछन् । उनीहरू आफूपनि यही व्यवसायमा संलग्न छन् । नेवा: मिसा सामाजको सदस्यता लिन मासिक १ सय रुपैयाँ बचत गर्नुपर्छ । त्यही १ सय रुपैयाँमा नै सदस्यता लिनेहरूले विभिन्न तालिम पनि पाउने गर्छन् । तालिम लिएपछि महिला स्वरोजगारीतालाई प्रोत्साहन गर्नका लागि सदस्यहरूले बनाएका सामान लिएर नेवा: मिसा समाज आफैँले  बजार खोज्दै विभिन्न ठाउँसम्म पुग्ने गरेका छन् ।  

नेवा: मिसा समाजले उत्पादन गर्ने धेरैजसो सामानहरू रेशम किराबाट बन्ने गरेको छ । उनीहरूले रेशम किराबाट सामानहरू बनाउने तालिम भने कृषि ज्ञान केन्द्रबाट लिएका हुन् ।

केन्द्रले उनीहरूलाई रेशम किराबाट धागो निकाल्न, कपडा बुन्न, रेशमा किराको अण्डाबाट साबुन लगायतका सामानहरू बनाउन सिकायो । तर अण्डाको खोस्टाबाट कानमा लगाउने इयरिङ्ग, हातमा लगाउने बाला जस्ता गहना भने उनीहरु आफैले बनाउन सिकेको नेवा: मिसा समाजकी उपाध्यक्ष जमुना महर्जन बताउँछिन् ।

“हामीले सामान बनाउँदा रेशम किराको केही पनि खेर जाँदैन थियो तर सामान बनाउँदै जादा अण्डाको खोस्टा खेर जाने भयो । यसलाई कसरी सदुपयोग गर्ने भनेर खोस्टाहरु जोडेर गहना बनाएको एकदम राम्रो बन्यो अनि हामीले त्यसलाई विभिन्न रङ्ग गरेर डिजाइनमा बनाउन थाल्यौ,” उनी भन्छिन्, “अन्य समूहहरूले बचत उठाएर ऋण लगानी मात्र गर्ने गरेपनि हामीले भने रोजगारमूलक सीप सिक्ने र सिकाउने पनि गरेका छौँ ।” 

“आफुले मात्र सिकेर भएन । मैले एक दुई जनालाई सिकाए भने त्यो बाट अरु २\४ जनाले सिक्छन् अनि सबै सक्षम बन्न सक्छन् नि । त्यसैले आफुले सिकेको सीप बाँढ्ने गर्छौं हामी” जमुना सुनाउँछिन् ।

स्थानीय मेलामा रेशमका उत्पादन बिक्री गर्दै नेवा: मिसा समाजका सदस्य, फोटो: पुष्कल श्रेष्ठ/जीविको

रेशम किराबाट बन्ने सामानहरू अलिक महङ्गो हुने गर्दछ । यसको कच्चापदार्थहरू किन्न पनि अरु भन्दा खर्चिलो हुने र रेशमकिरा सुलभ नहुने गरेको जमुना बताउँछिन् । उनका अनुसार रेशम किराको ५ वटा अण्डाको ४ सय रुपैयाँ पर्छ । यसको धागो पनि त्यस्तै महङ्गो हुने हुँदा नेपाली बजारमा  खपत गराउन अलि गाह्रो हुने जमुनाको अनुभव छ । 

रेशम किराबाट विभिन्न सामान बनाए पनि सहजै ग्राहक नभेटाउँदा मिसा समाजका महिलाहरूलाई आम्दानी लिन भने कठिन छ  । उनीहरूले दैनिक खटेर बनाएको सामान बेच्दा प्रतिव्यक्ति ५ देखि ६ सय रुपैयाँसम्म कमाइ हुन्छ । संस्थामा केही पैसा राखेपछि जसले बनाएको सामान बिक्री भएको हो उसलाई मिसा समाजले मुनाफा दिने गर्दछ ।

जमुना भन्छिन्, “रेशमबाट बनेका सामानहरूको बजार प्राय: विदेशी मुलुकमा धेरै छ । हामीले पनि बनाएका सामानहरू विदेश पठाउन सके राम्रो मुनाफा लिन सकिने थियो ।”

नेवा: मिसा समाजले उत्पादन गर्ने सामानहरू मध्ये रेशम किराको अण्डाबाट बनेको साबुन भने नेपालमै पनि बढी बिक्री हुने गर्दछ । साबुन प्रयोग गरेपछि छालामा आउने घाउहरू सन्चो हुने, चाँया पोतो जाने र दिनभर फ्रेस महसुस हुने हुँदा साबुन प्रयोग गर्नेहरू फेरी फर्किएर साबुन किन्न आइपुग्ने गरेको जमुना बताउँछिन् ।

रेेशम किराको धागोबाट सामान बनाएर आयआर्जन गर्नु साथसाथै संस्थाको मुख्य उदेश्य आफूजस्तै अरूलाई पनि सीप सिकाएर स्वरोजगार बनाउन पनि हो । सरकारी पहलबाट सञ्चालन हुनुपर्ने यस्ता सीप सम्बन्धी तालिमहरू नेवा: मिसा समाजका महिलाहरूले आफैँ लागेर सञ्चालन गरिरहँदा पनि नगरपालिकाले समन्वय नगरिदिँदा आफूहरूको मनोबल घट्ने उनीहरू बताउँछन् । 

जमुना भन्छिन्, “हामीले मात्र समन्वय खोजिरहेका छौँ । हामीले बनाउने सरसामान बेच्नलाई नगरपालिकाले मध्यस्थतता गरेपनि हामी धेरैलाई रोजगार बनाउन सक्थ्यौँ ।”

उनीहरूले व्यवसायिक यात्रा सुरुवात गरेको १९ वर्ष पुग्यो तर सरकारी सहयोग नहुँदा अहिलेसम्म पनि यसले ठूलो बजार भने लिन नसकेको उनीहरू गुनासो पोख्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *