नेपालमा नर्सहरूको दुःख!
सन् २००८ तीर स्वास्थ्य क्षेत्रमा केही गर्छु, नर्स बनेर जीविको चलाउँछु भन्ने ठानेर बिराटनगरकी दिया भण्डारी(३१) लण्डन उडिन् । स्वास्थ्य क्षेत्रलाई नै आफ्नो करियर बनाउने सोचेर लण्डन उडेकी दियालाई त्यहाँको व्यवस्थित स्वास्थ्य क्षेत्रले खुबै प्रभावित पार्यो ।
आकर्षक तलब, मर्यादित र छोटो काम । मैले नेपाल सम्झिएँ, हाम्रा नर्स दिदी बहिनी १२ घण्टा ड्युटी गरेर पनि ५ देखि ६ हजार थाप्न बाध्य हुनुहुन्छ,” दियाले सुनाइन् ।
केही वर्ष लण्डनमा पढाई गरेपछि उनलाई नेपालमा केही गर्ने सुर चढ्यो । ४ वर्षे लण्डन बसाइ सकेर अन्ततः दिया नेपाल फर्किइन् । लण्डनमा पब्लिक हेल्थ पढेकी उनलाई त्यो पढाईले मात्र नेपालमा नर्सिङ अभ्यास गर्न पर्याप्त भएन त्यसपछि उनले ब्याचलर इन नर्स(बि.एन) पढ्ने सोच बनाइन र नेपालमै पढ्न सुरु गरिन् ।
पढाइको सिलसिलामा नेपाली नर्सहरूले पाउने कष्ट र गर्नुपरेको संघर्ष देखेपछि उनको मन कुँडियो । चुप बसेर केही नहुने ठानी आफू र आफूजस्तै नर्सहरूको अधिकार र उत्थानको लागि उनले संघर्ष गर्ने निधो गरिन् । त्यसपछि आफ्नो आवाज सरोकारवालाहरूसम्म पुर्याउन केही प्याम्प्लेट र आफ्ना नर्स साथीहरू भेला गरेर उनी माइतिघरसम्म पुगिन् ।
त्यस समय माइतिघरमा “बिना तलब काम गर्दैनौँ, नर्स अधिकार सुरक्षित गर!” भन्नेजस्ता नारा गुन्जिरहन्थे । पढाइको शिलशिलामा नेपाली नर्सहरूले पाउने कष्ट र गर्नुपरेको संघर्ष देखेपछि उनको मन कुँडियो । चुप बसेर केही नहुने ठानी आफू र आफुजस्तै नर्सहरूको अधिकार र न्यायका लागि उनले संघर्ष गर्ने निधो गरिन् त्यसपछि आफ्नो आवाज सरोकारवाला हरूसम्म पुर्याउन केही प्याम्प्लेट र आफ्ना नर्स साथीहरू भेला गरेर उनी माइतिघर सम्म पुगिन् । लामो समय उनीहरू माइतिघरलाई केन्द्र बनाएर कराए तर न मन्त्रालयले, न सरकारले न त सरोकारवालाले नै सुने । अस्पताल र मेडिकल कलेजले त सुन्ने कुरै भएन ।
“लामो आन्दोलन गर्यौँ, सरकार भने कानमा तेल हालेरै बसिरह्यो । नर्स अधिकार स्थापित गर्न हाम्रो मात्र आवाजले पुगेन । रातभरको अनिदो ज्यानले धेरै दिन आन्दोलन गर्न सकेनौँ र त्यसै फर्कियौँ,” दिया सम्झन्छिन् ।
लण्डनबाट नेपाल फर्किएकी दियालाई अहिले भने किन नेपाल फर्किएँ भन्ने लाग्छ । “नेपालमा नर्सले पाएको दु:ख देख्दा सबै नर्सलाई विदेश जाउ भन्न मन लाग्छ । दशौँ लाख खर्च गरेको छ पढाईमा तर काम गर्ने बेलामा अपमान सहनु पर्ने । बेलायत लगायतका पश्चिमा मुलुकले नेपाली नर्सको महत्व बुझेर बोलाएका छन्, त्यसैले यहाँ बस्नुको अर्थ देख्दिन म ,” दिया भन्छिन् ।
नेपालमा नर्सलाई न दाम न सम्मान
नेपाल सरकार र बेलायत सरकारबीच केही दिन अगाडि नेपाली नर्सलाई रोजगारी दिने विषयमा श्रम सम्झौतामा हस्ताक्षर हुने निधो भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुबै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको छ ।
“बेलायतले नर्सको लागि भनेर अवसर खुलाएको छ । म सबै नर्सलाई बेलायत जान सुझाव दिन्छु । नेपालमा नर्स हुँदा खुबै दुःख पाइने रहेछ,” विगत एक वर्षदेखि काठमाडौंको एउटा प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी एक नर्सले सुनाइन् । उनले आफ्नो नाम बताउन चाहिनन् । एकातिर नर्सको दयनिय अवस्था छ भने अर्कोतिर बोलेकै आधारमा बल्लबल्ल पाएको जागिर गुम्ने डर छ उनलाई ।
उक्त अस्पतालमा काम गर्ने क्रममा बिरामीकै कुरुवाबाट पनि उनले हिंसा बेहोर्नु पर्यो । बिरामी रुँघ्न आएका एक कुरुवाले गलत नियतले बोलाइराख्ने, लगातार फोन गर्ने, जिस्काउने गरेपछि उनले आफ्नो गुनासो अस्पताल प्रशासनसम्म पुर्याइन् ।
तर प्रशासनले उनको कुरा सुनेन । अस्पतालकै निर्देशकले भने, “साना साना कुराको गुनासो गर्न थाले त हाम्रो व्यवसाय त चौपट हुने भइहाल्यो नि, यो विषय ठुलो बनाउनु हुँदैन ।” उक्त अस्पतालमा काम गर्ने उनको तलब सुविधा पनि अति न्यून मात्र छ । “तलब सुनाउन लाज लाग्छ । व्यर्थै पढिएछ जस्तो भएको छ । ८ लाख खर्चिएर पढेँ तलब १६ हजार रुपैयाँ छ। मेरो पनि विदेशिने नै सोच छ,” ति नर्सले सुनाइन् ।
त्यसो त दियाले पनि ३ वर्षअघि मर्यादित तलब सुविधा र इन्टर्नसिप खारेजीका लागि आन्दोलन गर्दा तलब सुविधा एकदमै न्यून थियो । अहिले पनि अवस्था भने त्यही नै छ ।
दिया भन्छिन्, “नेपालमा नर्स र बिरामीको अनुपात नै मिल्दैन । १ जना नर्सले ३५-४० जना बिरामी हेर्नुपर्छ । माग अत्याधिक हुनुपर्ने हो तर भएका नर्सहरू नै बेरोजगार बस्नुपरेको छ ।”
नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार हालसम्म नेपालमा ६८ हजार ३ सय १६ जना नर्स काउन्सिलमा दर्ता भएका छन् । नेपालमा बिरामी र नर्सको अनुपात मिलाउने हो भने पनि नेपालमा ९० हजार नर्सहरूको आवश्यकता रहेको देखिन्छ ।
यही ६८ हजारको सूचीमा ललितपुर लेले कि सिमा रिसाल पनि पर्छिन् । उनले पूर्ण छात्रवृतिमा सिटिइभिटीबाट पिसिएल नर्सिङ गरिन् । पढाईमा अब्बल सिमालाई लाग्यो, ‘कमाइ राम्रै हुन्छ मन लागेको काम पनि गर्न पाइन्छ ।’
३ वर्षे नर्सिङ सक्काएर उनले जागिर खाने सोच बनाइन् र एउटा प्राइभेट अस्पतालमा अन्तर्वार्ता दिने भनेर पुगिन् । अन्तर्वार्ता राम्रो भयो, मागेजति तलब सुविधा दिने भनेर अस्पतालले भनेपछि उनी पनि खुसी हुँदै जागिर खान पुगिन् ।
महिना दिनसम्म १८ घण्टे ड्युटी गरिन्, तलब थाप्ने दिन पनि आयो तर अस्पताल प्रशासनले अनुभव नभएको भन्दै ४ हजार रुपैयाँ उनलाई थमायो ।
“पढेको हुन्छ, इन्टर्नसिप गरिन्छ तर अनुभव नभएको भन्दै ४ हजार रुपैयाँ अस्पतालले दिँदा मन कुँडियो र मैले त्यसै दिनबाट नेपालमा काम गर्दिन भनेर बसेँ ,” सिमाले सुनाइन् । विगत ३ वर्षदेखि उनी बेरोजगार छिन् । उनलाई नेपालमा नर्स बन्ने पटक्कै रहर छैन र विदेशिने सोच बनाएकी छिन् ।
उनी भन्छिन्, “नेपालमा नर्स पढेर गल्ती त गरिसके अब काम गर्ने बेला गल्ती सुधार्छु, म विदेश जान्छु ।”
सिमा जस्ता पढाईमा अब्बल र दक्ष नर्सहरू नेपालमा कुनै पनि आशा नदेखेर विदेशिने निधो गरिरहँदा नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष नर्सहरू बाँकी नरहने हो कि भन्ने चिन्ता दियालाई खुबै छ ।
उनी भन्छिन्, “विदेशमा आकर्षक तलबमा नर्स माग भएको छ, अब्बल र दक्ष नर्स प्राथमिकतामा पर्छन् । उनीहरू नेपाल बस्दै बस्दैनन् । स्वास्थ्यमा नेपालको भविष्य अन्धकार नै देख्छु।”
“२०६६ सालदेखि निरन्तर हामीले नर्सको अधिकार स्थापित गर्न आन्दोलन गर्यौँ, सडकबाट चिच्यायौँ, अहिले सरकारी अंग भएर काम गरिरहँदा पनि निजी अस्पतालमा काम गर्ने नर्सहरूको अवस्था देखेर दुःख लाग्छ,” नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रोफेसर सरला के.सी भन्छिन् ।
पछिल्लो समय बेलायतमा नेपाली नर्सहरूको माग आइरहेको विषयलाई जोड्दै प्रोफेसर सरला भन्छिन्, “नेपाली नर्सहरूलाई आकर्षक तलबमा बेलायतले बोलाएको छ, यो खुसी र दुःख दुबै हो । नेपालमा अवसर छैन, नर्सहरूलाई नेपालमै बस्नुहोस् भन्न पनि सक्ने अवस्था बनाउन सकिएको छैन ।”
नेपालमा ३० औँ हजार नर्स बेरोजगार बसिरहनुपर्ने परिस्थिति रहेपनि स्वास्थ्य क्षेत्रमा नर्सको सङ्ख्या पर्याप्त भएको भने होइन । निजी अस्पतालमा लगभग १३ हजार मात्र नर्स कार्यरत रहेको नर्सिङ काउन्सिलको तत्थ्याङ्क छ । । त्यसबाहेक मुलुकभर १२० वटा जति सरकारी अस्पतालमा करिब १४ हजार नर्स कार्यरत छन् । २५ हजार हाराहारीमा नर्स विदेशिएको काउन्सिल बताउँछ ।
नेपालमा अनमी र नर्स गरेर ९८ हजारभन्दा माथि नर्स रहेका छन् जसमध्ये ५ हजारभन्दा बढीको मृत्यु भएको नर्सिङ काउन्सिलको तत्थ्याङ्क छ । यसरी हिसाब गर्दा ३५ हजार बढी रजिष्ट्रर नर्समात्रै नेपालभित्रै बेरोजगार छन् ।
नेपाली नर्सहरू उत्पादन बढी तर माग भने कम भएका कारण अवसरबाट बञ्चित पारिएका चाहिँ होइनन् । आवश्यकता नै नभएर भन्दा पनि आवश्यक जनशक्ति स्वास्थ्य संस्थाले नराखेर यो अवस्था सिर्जना भएको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनरल वार्डमा १ नर्सले ४ देखि ६ जना बिरामी हेर्नुपर्ने हुन्छ । सुत्केरी वार्डको एउटा बेडमा २ जना नर्स आवश्यक पर्छन् । आइसीयु, सीपीयू र पोस्ट अपरेटिभ वार्डमा एक बिरामी बराबर एक नर्स हुनुपर्ने मापदण्ड छ । त्यस्तै अपरेसन थिएटरमा एक टेबलमा ३ जना नर्स हुनुपर्छ ।
“नेपालका कुनै अस्पतालले विश्व स्वास्थ्य संगठनको यो नियम मानेका छैनन् । एकै जनालाई श्रम शोषण गरि लामो समय काममा लगाउने र बिरामी र नर्सको अनुपात नमिलाउने कारणले गर्दा नेपालमा उत्पादन भएका नर्सहरू विदेशिन बाध्य बनेका छन्,” प्रोफेसर सरला भन्छिन् ।
नर्स श्रम शोषणमा पर्छन् , उजुरी भने दिँदैनन्
नेपालमा नर्स पेसामा रहेकाहरूले दैनिक श्रम शोषण भोग्नुपरेपनि नर्सहरूले आफूलाई श्रम शोषण भयो भनेर कहाँ उजुरी गर्ने भनेर नै थाहा नहुने गरेको काउन्सिलकी अध्यक्ष प्रोफेसर सरला बताउँछिन् । उनी भन्छिन्, “नर्सिङ काउन्सिलले उजुरी लिने काम गर्दैन, यसको लागि काम गर्ने निकाय भनेको नेपाल नर्सिङ संघ हो । यसमा थप जिम्मेवार निकाय भनेको श्रम मन्त्रालय हो । कसले उनीहरूका लागि काम गर्छ भन्ने बारेमा धेरै नर्सलाई थाहा नै छैन । ”
सीमालाई पनि आफूले महिना १़८ घण्टा काम लगाएर तोकिए अनुरूपको तलब सुविधा नदिएको भनेर उजुरी गर्न मन थियो तर उनलाई आफू मर्कामा परेँ भनेर कसलाई उजुरी दिने भन्नेसम्म थाहा भएन, अन्ततः उनले जागिर नै छाडिन् ।
उनी भन्छिन्, “म शोषणमा परेँ भनेर उजुरी दिने ठाउँ कहाँ हो थाहा पाइन, त्यसैले ४ हजार पैसा लिएर जागिर नै छाड्दिनु पर्यो ।”
यदि कसैलाई कार्यस्थल भित्र श्रम शोषण परेको छ भने मन्त्रालयमा उजुरी दिन सकिने बताउँछन्, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरे ।
उनी भन्छन्, “जुनसुकै क्षेत्रमा काम गर्ने भएपनि श्रम शोषण भोग्नुपरेको छ भने उजुरी दिन सकिन्छ, श्रम मन्त्रालयले शोषणमा परेका कर्मचारीको हक हितमा काम गर्छ ।”
तर उजुरी गर्न नै डराउँछन् नर्सहरु । विभिन्न सरकारी तथा प्राइभेट संघ संस्थामा काम गर्ने महिला कर्मचारीहरूलाई श्रम मन्त्रालयमा उजुरी गर्न मिल्ने भएपनि आफूले भविष्यमा जागिर नपाइने डरले उजुरी भने पर्ने नगरेको प्रोफेसर सरला भन्छिन् ।
“बल्ल तल्ल भेटिएको जागिरलाई त्यसै छाड्न पनि मिल्दैन । नीजि क्षेत्रमा काम गर्ने नर्सहरूले त अति नै कष्ट व्यहोर्नुपर्छ । १२ देखि १४ घण्टा दैनिक काम गर्दा पनि विश्वस्वास्थ संगठनले तोके बमोजिमको तलब सुविधा उनीहरूले पाउँदैनन् । यसरी नीजि क्षेत्रमा शोषण भोगिरहँदा पनि उनीहरू आफूले भोग्नुपरेको श्रम शोषणलाई सुनाउन चाहदैनन् ,” सरला भन्छिन्, “केही दिन अगाडि बेलायतमा नेपाली नर्सहरूलाई रोजगारी दिन बेलायती सरकार सकरात्मक देखिको छ । अब नेपालका हजारौं नर्सहरू मर्यादित तलब सुविधा भएको ठाउँमा जान्छन् । नेपालको स्वास्थ्य स्थीति भने झनै विकराल बन्दै जान्छ ।”