कतार विश्वकप : उज्यालो मैदान बनाएका श्रमिकहरूका अँध्यारा कथा
कतार जाँदा लागेको ऋण पनि तिर्न पाएनन् नेपालीले
“यस्तो बिजोग हुन्छ भन्ने थाहा पाएको भए त किन आउँथे होला म यहाँ” पाँच वर्ष अगाडि कतार विश्वकपको स्टेडियम निर्माणको काममा कतार उडेका धनगढीका लक्ष्मण भट्ट(२५) सुनाउँछन् ।
विश्वको ठूलो पर्वको रूपमा प्रत्येक ४ वर्षमा हुने विश्वकप फुटबल सम्बन्धी काम सहज होला, आम्दानी राम्रो होला अनि त्यहीँ काम गर्ने श्रमिकले त स्टेडियममै बसेर विश्वकप हेर्ने सुविधासम्म पाइन्छ जस्तो उनलाई लाग्यो ।
आर्थिक अभावका कारण आफ्नो पढाई पुरा गर्न नसकेका उनी थोरै भएपनि आर्थिक उपार्जन हुन्छ भन्ने सोचेर कतार पुगेका थिए ।
“विश्वकपको मैदान बनाउने काममा जान पाउनु मेरा लागि एकदमै ठूलो गर्वको कुरा थियो । टेलिभिजनमा देखिने मैदान आँखा अगाडि नै देख्दा कस्तो होला भन्ने सोच्ने गर्थेँ । अब भने आफैँ मैदान बनाउने काममा जाँदै थिएँ” उनी सुरुवातको उत्साह सम्झँदै सुनाउँछन् ।
कतार पुगेपछि खलिल अन्तराष्ट्रिय कम्पनीले खेल मैदान बनाउने काममा लक्ष्मणलाई खटायो ।
“काम गर्न सुरु गरेको पहिलो दिन नै मेरा दुःखका दिन सुरु भए । तालु तात्ने घाममा काम गर्दा ज्यान थाकेर चलाउन हुन्थेन । पहिलो दिन नै लाग्यो स्वर्ग जस्तो नेपाल छाडेर किन यहाँ आइपुगेँ,” लक्ष्मण सुनाउँछन् ।
उनले सुरुवातको महिनामा भनेअनुसारको तलब सुविधा पाए तर समयसँगै उनले तलब सुविधा पाउने समय लम्बिन थाल्यो । उनले तलब सुविधा पनि २ महिना ३ महिनामा किस्ताबन्दी हिसाबले पाउने गर्थे त्यही पनि पूरा तलब हुन्थेन ।
“ साह्रै दुःख थियो । भनेको समयमा तलब सुविधा पाइदैँन थियो । पैसा ढिलो आउने भएका कारण ऋण तिर्न पनि नसकिने भयो,” लक्ष्मण सम्झन्छन् ।
तलब सुविधा नपाएकै कारण अन्ततः लक्ष्मण नेपाल फर्कनु पर्यो र उनी रोजगारविहीन बने ।
त्यसो त लक्ष्मण जस्ता दर्जनौँ नेपाली श्रमिकहरूले कतार विश्वकप मैदान बनाउनका लागि काम त गरे तर उचित सेवा सुविधा र पारिश्रमिक भने पाएनन् ।
विगतलाई हेर्दा सन् २०१७ मा विश्वकप फुटबलको मैदान तयार गर्न गएका ३४ नेपालीलाई मर्करी मिना नामक रोजगारदाताले बिना तलब नेपाल फर्काएको थियो । बिना तलब फर्किएका ती ३४ श्रमिकहरूले सरकारी नियोगलाई पटक पटक गुनासो पोख्दा पनि तलब सुविधा पाएका थिएनन् । ३ वर्षपछि बल्ल उनीहरूले तलब सुविधा पाएका थिए ।
एकातर्फ विश्वकप फुटबल २०२२ को फुटबल मैदान बनाउँदा काम गरेका श्रमिकहरूले हालसम्म पनि तलब सुविधाको भुक्तानी नपाईरहँदा विश्वकप मैदान बनाउँदा ज्यान गुमाएका सयौँका परिवारले आर्थिक साहयता पनि पाएका छैनन् ।
सन् २०२२ को विश्वकपको तयारीका क्रममा कतारमा मानवअधिकार हनन् भएका लाखौँ विदेशी श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्न फिफाले कम्तीमा ४४ करोड अमेरिकी डलर छुट्याउनुपर्ने एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनमा औँल्याइएको छ । एम्नेस्टी जस्ता संस्थाहरूले पटक पटक विश्वकप मैदान बनाउँदा अन्यायमा परेका नेपाली श्रमिकहरूको कल्याणमा नेपाल सरकार र कतारी दूतावासले पहल गरि आवश्यक क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने भएतापनि मन्त्रालयदेखि सदनसम्म कहि कतै पनि यो विषयले स्थान भने पाएको छैन ।
वैदेशिक रोजगार विभागसँग प्रत्यक्ष समन्वय गरेर श्रमिक कल्याणका लागि सरकारले काम गर्नुपर्ने भएतापनि हालसम्म कतारी श्रमिकको पक्षमा कुनै पनि बहस यी संस्थाहरूले गरेका छैनन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल भन्छन्, “श्रमिक कल्याणको काम त विभागमा पनि पर्छ तर विश्चकप मैदान बनाउँदा घाइते, अङ्गभङ्ग र मृत्यु भएका नेपाली श्रमिक र उनीहरुका परिवारलाई आवश्यक क्षतिपूर्ती दिने सवालमा मन्त्रालय र विभागको कुनै समन्वय भने भएको छैन ।”
शेषनारायणकै कुरालाई हेर्ने हो भने पनि कतार विश्वकप मैदान बनाउँदा नेपाली श्रमिकले भोग्नु परेको पीडा र पाउनुपर्ने क्षतिपूर्तीका लागि पहल गर्न मन्त्रालय भने जिम्मेवार देखिएको छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे भने कतार विश्वकप बनाउने क्रममा फर्किकाइएका श्रमिकहरूको हकहितका लागि सरकारले पहल गरिरहेको बताउँछन् ।
उनी भन्छन्, “हामीले कतार सरकारसँग निरन्तर संवाद गरिरहेका छौँ । सुरक्षा प्रणालीमा नेपाली कामदारलाई समेट्नु भनेर कतार सरकारलाई अनुरोध गर्ने काम भइरहेको छ ।”
डण्डुले कतार विश्वकपमा पीडित बनाइएका नेपाली कामदारहरूको हकहितमा काम गर्न सरकार निरन्तर लागिरहेको बताएता पनि रोजगारदाता मुलुकहरूसँग झुक्नुपर्ने सरकारको बाध्यत्मक परिस्थिति भएको स्वीकार गर्छन् ।
“हामीले श्रमिकको अधिकार स्थापित गराइदिनु भनेर अनुरोध गर्ने हो, त्यो काम भइरहेको छ । तर रोजगारदाता मुलुकले ध्यान नदिँदा कतारी विश्वकपमा काम गर्दा अन्यायमा परेका सबैले न्याय पाएका छैनन्,” डण्डु भन्छन् ।
विश्वकप प्रतियोगिता सुरु हुनु पाँच महिनाअघि सार्वजनिक गरिएको एउटा नयाँ प्रतिवेदनमा एम्नेस्टी इन्टरनेसनलले कतारको रंगशाला निर्माणमा खटिएका विदेशी कामदार बिना तलब स्वदेश फर्किन बाध्य भए पनि उनीहरूलाई रंगशाला निर्माणको ठेक्का पाएका कम्पनीले क्षतिपूर्ति नदिएको उल्लेख गरेको छ ।
“विश्वकप मैदान बनाउँदा कति श्रमिकहरु श्रम शोषण र अन्यायमा परे भन्ने कुराको सरकारसँग कुनै लेखाजोखा छैन । ती श्रमिकहरूको न्यायका लागि पनि सरकारले कुनै पहल गरेको छैन,” वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका विषयमा लामो समयदेखि वकालत गर्दै आएका अधिवक्ता अनुराग देवकोटा भन्छन् ।
“नेपालको वैदेशिक कुटनीति कमजोर हुँदा कतारमा श्रमिकहरूले भोगेका दुःख, पीडाको सम्बोधन हुन सकेन । यस विषयमा सरकार निरिह नै देखियो,” उनी भन्छन्, “रेमिट्यान्स कसरी ल्याउने अनि हुण्डी कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सरकार प्रोएक्टिभ (अति सक्रिय) छ तर श्रमिकको मानवअधिकार, श्रम शोषण, अंगभंग अनि मृत्यु जस्ता संवेदनशील कुरामा सरकार रियाक्टीभ (प्रतिक्रियात्मक) छ । सामान्य प्रतिक्रिया दिएरै सरकार पन्छन खोज्छ ।”
अझ कागजात नपुर्याइ गएका अनडकुमेन्टेड श्रमिकहरूको क्षेत्रमा सरकारको कुनै चासो नहुनु भनेको गैरजिम्मेवारीको हद भएको उनी बताउँछन् ।
“खेल मैदान बनाउन कति श्रमिक कागजात नपुर्याइ गएका छन् । के उनीहरू चाहिँ नेपाली नागरिक होइनन् ? उनीहरूको सुरक्षा र संरक्षणका लागि सरकारले केही कदम चाल्नुपर्ने होइन र ?,” अनुराग प्रश्न गर्छन् ।
कतारमा ४ लाख नेपाली कामदार छन् । यहाँ रंगशाला निर्माणकै क्रममा २ हजार ७ सय ११ जना नेपालीले ज्यान गुमाएको दूतावासको तथ्यांक छ । मृत्यु भएका बाहेक रंगशालामा कार्यरत १० हजारभन्दा धेरै नेपाली कामदारहरू अंगभंग भएर स्वदेश फर्किएको पनि दूतावासले जनाएको छ ।
नेपाली बाहेक पनि अन्य मुलुकहरूका ठूलो सङ्ख्यामा कामदारहरूले विश्वकप फुटबल मैदान बनाउँदा आफ्नो ज्यान गुमाएका छन् ।
द गार्जियन पत्रिकाका अनुसार कतार विश्वकपका लागि स्टेडियम निर्माण गर्दा विश्वभरका करिब ६५ सय जना श्रमिकले आफ्नो ज्यान गुमाएका छन् ।
मृत्युको मुख्य कारण अत्यधिक तापक्रमको आघात, थकान, निरासा र आत्महत्या रहेको छ । उनीहरू आफ्नो परिवारबाट हजारौँ किमी टाढा थिए । उनीहरूको जीवनको अन्तिम क्षण अनिश्चिततापूर्ण थियो । “आधिकारिक अभिलेखको अस्पष्टताले गर्दा अस्पष्टता नै उनीहरूको मृत्युको परिभाषा बन्यो,” गार्जियनले लेखेको छ ।
ललितपुरका इन्द्र बहादुर क्षेत्री पनि विश्वकप मैदान बनाउनकै लागि भनेर श्रमिकको रूपमा २०१६ मा विदेशिए । खलिफा अन्तराष्ट्रिय मैदान बनाउने श्रमिकमा उनी पनि एक पर्छन् । कतार विश्वकप मैदान बनाउन विदेशिएका उनलाई कतार बस्नै मन लागेन । झिलिमिलि रंगशाला बनाउन मेरो पनि हात हुन्छ । विश्वकै पर्वको रूपमा लिइने विश्वकप फुटबलको खेलमैदान बनाउँदा बढी तलब सुविधा पाइन्छ भन्ने उनको पनि सोचाइ थियो । तर उनले सोचे अनुरूप सहज काम र मर्यादित तलब पाउन सकेनन् ।
“१४ सय कतारी रियालमा काम गर्न पुगेका उनले १२ सय रूपैयाँ मात्र पाएँ । मेनपावरलाई १ लाखभन्दा बढी पैसा बुझाएर कतार पुगेका उनलाई विदेशिदा लागेको ऋण नउठाइ फर्कन मन लागेन । दिएको तलबमा नै चित्त बुझाएर घाममा टाउको तताएर इलेक्ट्रिसियनको काम गर्न थालेँ,” इन्द्र सुनाउँछन् ।
इन्द्रले मैदान बनाउन आफू लगायत अरू श्रमिकले गरेको दुःख र संघर्षलाई नजिकबाट देखेका छन् । इन्द्रको आँखै अगाडि स्ल्याब खसेर ७ जना श्रमिकको मृत्यु भएको थियो ।
उनी भन्छन्, “मेरो आँखा आगाडि नै त्यत्रो दुर्घटना घट्यो तर कसैले पत्तो पाएन । स्ल्याबमा किचिएकाको उद्दार गर्न जान हामीले पाएनौँ । घटनालाई लुकाउन मैदान व्यवस्थापकले बोल्न दिएन । ती स्ल्याबमा परेका ७ जनामा केही बंगलादेशि थिएँ । उनीहरुसँगै नेपाली पनि काममा थिए,” उनी सम्झन्छन् ।
“कतारमा फुटबल मैदान बनाउँदा त्यसरी ज्यान गुमाएका मध्ये कतिजनाको शवलाई जानेरै वेपत्ता पारिएको छ,” इन्द्र आशंका गर्छन् ।
“आँखै अगाडि आफ्नो ज्यान गुमाएको देखें मैले तर धेरैको नाम वैदेशिक रोजगार वोर्डले निकाल्ने वेपत्ताको सूचीमा राखेको होला,” इन्द्र भन्छन् ।
कतारी मैदानमा काम गरेर के पाउनुभयो ? जीविकोको प्रश्नमा इन्द्र जवाफ फर्काउँछन् “नथिङ” ।
फिफा विश्वकपको आयोजना कतारमा हुने निर्णय दश वर्षअघि भएको हो। त्यसपछि निर्माणको काम दिन दुईगुना रात चौगुना भनेजसरी तीव्र बनाइयो। सन् २०१८ मा कतारको निर्माण व्यवसायमा काम गरिरहेका श्रमिकहरूको दयनीय अवस्थाको चित्र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाउन थालेपछि कतारी सरकारले अवस्था सुधार्ने प्रतिबद्धता गर्यो। यद्यपि, अझै पनि कामदारहरूले समयमै पैसा नपाएको, कामका लागि महँगो शुल्क तिर्नुपरेको, उनीहरूको दैनिक जीवन कष्टपूर्ण भएको र उच्च तापक्रमका कारण मृत्यु भएको गुनासा आइरहेका छन्।
कतारको विश्वकपमा काम गर्ने अधिकांश नेपालीहरूलाई कतार सरकारले नेपाल फर्काइसकेको छ । केही बाँकी रहेका कामदारलाई पनि नेपाल फर्काउने तयारी कतार सरकारको छ ।
“विश्वकपको घोषणा हुनेबित्तिकै कतार पुगेका नेपालीहरूको मानवअधिकार हनन धेरै नै भएको थियो,” कतारका लागि पूर्व नेपाली राजदूत रमेश कोइराला भन्छन्, “पछिल्लो समय भने अन्तराष्ट्रिय श्रम संगठनले कतारमा नै शाखा खोलेर काम गर्यो । त्यसपछि भने विश्वकप मैदानमा काम गर्ने नेपाली श्रमिकहरूको अवस्था केही हदसम्म सुध्रियो ।”
दिनरात भोकै प्यासै स्टेडियम निर्माणमा खटिएका नेपाली श्रमिकहरुले अब केही महिनापछि आफूले बनाएको मैदानमा विश्वकप भइरहेको टेलिभिजनमा हेर्ने छन् ।
टेलिभिजनमा विश्वकप हेर्ने इन्द्र अनि लक्ष्मण जस्ता हज्जारौं नेपाली श्रमिकले विश्वकपको रमझम मात्र हेर्ने छैनन् । आफूले मैदान बनाउँदा देखेका, भोगेका पीडादायी दिनहरूलाई पनि सम्झने छन् । विश्वकपमा पैसाको बाढी बग्दै गर्दा उनीहरु भने तलब नपाएर नेपाल आउँदा भएको रित्तो खल्ति सम्झने छन् ।