कला मार्फत गाउँ जगाउँदै, जीवन धान्दै कर्णालीका हिरा बिजुली (भिडियो)
एउटा कहावत छ, ‘पहाडमा पानी र जवानी टिक्दैन,’ कर्णालीको नियति उस्तै छ । कर्णाली नदि जस्तै, हरेक वर्ष लाखौं युवा दक्षिण भारतको बाटो लाग्छन् । अझ कर्णालीका दलित युवा भारत जानेमा सबैभन्दा धेरै पर्छन् । मुगुका हिरा बिजुली नेपालीले भने नाटक र कलाकारिताको बाटो रोजे । २०६५ सालमा गुरुकुल काठमाडौंमा प्रदर्शित ‘कर्णाली दख्खिन बग्दो छ’ नाटकबाट कला क्षेत्रमा छिरेका हिरालाई त्यसअघि नाटक गरेर पनि जीवन धान्न सकिन्छ भन्ने थाहा थिएन ।
एस एल सी पछि थप अध्ययनका लागि काठमाडौं छिरेका हिराले जीवन धान्न होटलको भाँडा माझ्नेदेखि सरसफाइको कामसम्म के गरेनन् । तर सफल मानिएको नाटक ‘कर्णाली दक्खिन बग्दो छ’ पछि भारत भासिनुको साटो कलाकारितामा होमिए । उनलाई काठमाडौं कता कता बिरानो लाग्यो । उनलाई लाग्यो, “काठमाडौंमा अल्झनु भन्दा गाउँमै काम गर्नु उचित हुन्छ ।”
काठमाडौं भन्दा आफ्नो गाउँ ठाउँमै गएर कला र संस्कृतिमा काम गर्ने निधो गरि कर्णाली थिएटर संस्था लिएर आफ्नै जिल्ला फर्किए । हिराले अहिलेसम्म २०० बढी स्थानीय कलाकारसँग काम गरिसकेका छन् । उनीसँगै काम गरेका कलाकारहरू कलाबाट जीविका धान्न नसकी पलाएन भएपनि हिराले भने अहिलेसम्म हिम्मत हारेका छैनन् । कला मार्फत् समाजमा रहेका विभेदलाई हटाउन मानिसहरूमा चेतना फैलाउन काम गरिरहेका हिरा भर्खरै दलित अभियन्ता सुभास दर्नालको नाममा स्थापित अन्तराष्ट्रिय दर्नाल अवार्डबाट सम्मानित भएका छन् । अब उनको सपना छ – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बहुउद्देश्यीय थिएटर बनाउने, कला मार्फत समाज जगाउने काम जारी राख्ने । भन्छन्, “काठमाडौंमा दजर्नौं थिएटर छन् तर अहिलेसम्म कर्णालीमा एउटै पनि थिएटर छैन । हामी नै नलागे हाम्रा लागि कसले बनाउँछ र ?”
हेर्नुहोस्, कलाकार हिरा बिजुलीको कथा उनकै शब्दमा:
भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको