कतारमा अत्याधिक गर्मी बढेपछि स्वास्थ्यको ख्याल यसरी राख्न डाक्टरको सुझाव (भिडियो)

जीविको २०७९ जेठ १९ गते १८:०८

कतारमा अत्याधिक गर्मी बढेसँगै त्यहाँको श्रम मन्त्रालयले जुन १ देखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेसम्म खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको छ । दिउँसोको समयमा अत्याधिक गर्मीमा काम गर्दा स्वास्थ्यमा असर पर्ने भएकाले मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । कतारलाई नेपालीहरुको प्रमुख श्रम गन्तव्यका रुपमा मानिन्छ । यहाँ काम गर्ने नेपालीहरुको संख्या ४ लाख भन्दा बढी रहेको छ ।

अत्याधिक गर्मी हुँदा पनि कतार सरकारको निर्णय उल्लंघन गर्दै कम्पनीले कामदारलाई काम गर्न बाध्य गराएमा सिधै कतारको श्रम मन्त्रालयमा उजुरी दिन सक्ने मन्त्रालयले बताएको छ । अथवा नेपाली कामदारले नेपाली दूतावासमा पनि आफ्नो समस्या राख्न सक्ने दूतावासले जनाएको छ ।

मे देखि अक्टोबर महिनासम्म कतारमा अत्याधिक गर्मी हुने गर्दछ जसका कारण विशेषगरी बाहिर निर्माणसम्बन्धी काम गर्नेहरूलाई स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखिने गर्दछ । प्रायः नेपालीहरू बिना सीप वैदेशिक रोजगारीमा जाने गरेका कारण जोखिमयुक्त स्थानमा निर्माणसम्बन्धी काम गर्नुपर्ने बाध्यता छ । त्यसैले बाध्यात्मक रुपमा कतारमा बाहिर चर्को घाममा काम गर्ने नेपालीहरूको संख्या उच्च छ । चर्को घाममा काम गर्दा पानी र आरामको सन्तुलन नमिलेर वर्षेनी हजारौँ नेपाली कामदारहरू रोगले थलिने गरेका छन् भने सयौंले अकालमै मर्नु परिरहेको छ । मुटुरोग, उच्च रक्तचाप भएका नेपालीहरू पनि कतार लगायत खाडी मूलकमा अधिक छन् ।

कतारमा रहेर ११ वर्ष स्वास्थ्य क्षेत्रमा काम गरेका फिजिसियन डा. नरेन्द्रकुमार शाक्यले खाडी मुलुकमा धेरै गर्मी र एसीको चिसोमा काम गर्दा स्वास्थ्यमा विभिन्न समस्या आउने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न कामदार आफै गम्भिर हुनुपर्ने बताउँछन् । एक दशकभन्दा बढी कतारमा रहेर त्यहाँ काम गरेका नेपालीहरूलाई स्वास्थ्य उपचार र परामर्श गरेका डा. नरेन्द्रको स्वास्थ्य परामर्श यस्तो छ:

कतार लगायत खाडी मुलुकमा सबैभन्दा गाह्रो बाहिरी वातावरणमा काम गर्दा हुन्छ । बाहिर काम गर्दा धेरै पसिना जाने हुन्छ जसलाई डिहाइड्रेसन भनिन्छ । यसरी बढी पसिना बग्दा शरीरका इलेक्ट्रोलाइट, क्याल्सियम, पोटासियम पनि पसिनासँगै बगेर जाने हुन्छ । पसिना मार्फत शरीरलाई अत्यावश्यक तत्त्वहरू बगेर जाँदा शरीर कमजोर हुने हुन्छ । पसिना बढी बगेर जाँदा किड्नीमा समस्या देखिएर पत्थरी पनि हुन्छ । गर्मीकै कारणले मानिसमा छालाका रोगहरू पनि प्रशस्त देखिने गर्दछ । 

गर्मी अत्याधिक भएपछि काम गर्नेहरू चिसो एसीमा बस्न रुचाउँछन् । गर्मीबाट फर्किएपछि यसरी एकदमै चिसो एसी चलाएर कोठामा बस्दा पिनास तथा घाँटीका समस्याहरू देखिन सक्छन् । यसले ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने समस्याहरू देखिन्छन् ।

गर्मी ठाउँमा काम गर्नेहरूले सबैभन्दा धेरै आफ्नो मुटुको ख्याल राख्नुपर्ने हुन्छ । मुटुको रोगले मानिसलाई चाँडै मृत्युसम्म पुर्‍याउँछ । मुटुको समस्या भएमा मान्छेको तत्काल मृत्यु हुनसक्छ । हृदयघातको धेरै पूर्वसंकेत नहुने हुँदा तत्काल अप्ठ्यारो अवस्था पनि सिर्जना हुन सक्छ । 

हृदयघात भएपछि मानिस बाच्ने सम्भावना ५० प्रतिशत मात्र रहन्छ । तर खानपिनमा ध्यान दिएर स्वस्थ जीवनशैली अवलम्बन गरे हृदयघातलाई रोक्न सकिन्छ । यदि सुरुवात देखिनै मुटुको समस्या छ भने डाक्टरको सल्लाह अनुरूप आवश्यक औषधि नियमित प्रयोग गर्नुपर्ने हुन्छ । 

मुख्यतया नेपाली श्रमिकहरूलाई जति बढी अर्थात ओभरटाइम काम गर्‍यो त्यति धेरै पैसा आर्जन गरिन्छ भन्ने मनस्थिति हुन्छ । यहाँबाट चर्को ब्याजमा ऋण लिएर विदेश गएपछि त्यहाँ अधिक समय खट्नु पर्ने र चाँडै ऋण तिर्नुपर्ने बाध्यता भएकाले नेपालीहरू विदेशमा त्यसरी काम गर्ने गर्दछन् । तर आफ्नो स्वास्थ्यलाई नै ख्याल नगरी काम गर्नु हुँदैन । शरीर नै छैन भने जति कमाए पनि त्यसको केही अर्थ हुँदैन । स्वास्थ्यका दृष्टिकोणले ओभरटाइम गर्दा बढीमा ४ घण्टा मात्र गर्नुपर्छ । त्यसमा पनि शारीरिक बलको काम भएमा दुई घण्टाभन्दा बढी ओभरटाइम गर्नुहुँदैन ।

आफ्नो शरीरको ख्याल राख्नका लागि आराम गर्न पनि उत्तिकै जरूरी हुन्छ । हरेक श्रमिकले कम्तिमा पनि ८ घण्टा दैनिक आराम गर्नुपर्ने हुन्छ । 

बाहिरी गर्मीमा बढी काम गर्ने हुँदा शरीरबाट पानीको मात्रा सकिँदै जाने हुन्छ त्यसको लागि बढी भन्दा बढी पानी पिउनुपर्छ । न्यूनतम ३ देखि ४ लिटर पानी दैनिक पिउनु नै पर्छ । तर बाहिर पसिना धेरै बग्ने काम गर्नेहरूलाई भने ३ देखि ४ लिटर पानी पर्याप्त हुन्न । उनीहरूले दैनिक ६ देखि ७ लिटरसम्म पानी पिउनुपर्ने हुन्छ । जति पानी बग्छ त्यसैको अनुपातमा पानी पिउनु पर्छ । पानी पिउँदा एकैपटक धेरै पिउनु भन्दा पनि समय समयमा नियमितरुपमा पिउनु पर्दछ ।

प्रवासी श्रमिकले खानपानमा पनी उत्तीकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । खानाको टाइम टेवललाई ख्याल गर्नुपर्ने हुन्छ । खाना समयमा नखाने बानीले पेटसम्बन्धी रोगहरू लाग्न सक्छ जसले गर्दा दीर्घकालीन पेटको समस्या देखिन सक्छ । चिल्लो, पिरो र अमिलोको मात्रा बढी भएको खाना हामीलाई खुबै मन पर्छ । तर यस्तो खानाले स्वास्थ्यलाई हानी गर्छ । खानापानमा नुनको मात्रा पनि कम हुनुपर्ने हुन्छ ।

हेर्नुहोस्, डा. नरेन्द्रको स्वास्थ्य परामर्श:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *