‘इजरायल गएर काम गर्ने सपना देखेँ, अहिले नेपालमा बेरोजगार छु’
“पटकपटक काठमाडौं आउँदा जाँदा मेरो २ लाख भन्दा बढी सकियो अब त काठमाडौं जान पनि मन लाग्दैन,” इजरायल केयर गिभरमा नाम निकालेका पर्वतका राज जंग कुँवर गुनासो पोख्छन् ।
२०७७ असोज १४ गते नेपाल र इजरायलबीच श्रम सम्झौता भएपछि ५ वर्ष अघिबाट रोकिएको इजरायल रोजगारीको बाटो खुल्यो । पर्वतका राज पनि त्यस समय राम्रो जागिर नभएको कारण के गरौँ, कहाँ जाउँ भन्ने दुबिधामा थिए । सन् २०१२ मा नै आफ्नो स्नातक तह उत्तीर्ण गरेका राजलाई इजरायलमा रोजगारीको अवसर खुलेपछि त्यहाँ जानको लागि हुटहुटी चल्यो ।
‘राम्रोसँग तयारी गरेर इजरायल जान्छु र मासिक २ लाख बढी कमाउँछु’ सरकारले इजरायल रोजगारीको लागि सूचना प्रकाशित गरेको देख्ने बित्तिकै उनले सोचका थिए ।
सरकारले जि टु जी प्रक्रिया मार्फत सुरुवात गरेको इजरायल रोजगारी कोरिया रोजगारी जस्तै आकर्षक मान्ने गरिन्छ । उनलाई पनि इजरायलको आकर्षक तलब र समृद्ध देशले तानेको थियो ।
उनी भन्छन्, “इजरायल रोजगारी त मेरो लागि नै खुलेको जस्तो लाग्यो । म पनि तम्तयार भएर तयारीमा लागेँ ।”
त्यसको ठीक ११ महिना पछि अर्थात् ०७८ भदौमा इजरायल रोजगारीका लागि परीक्षा सञ्चालन गरियो । “भनेजस्तै भयो, मेरो नाम निस्कियो । गोलाप्रथामा पनि छनौट भएपछि भाग्यमानी नै महसुस भयो,” राजलाई लाग्यो ।
इजरायल जान छानिएका १ हजार बढीलाई सरकारले पहल गरेर तत्काल इजरायल लैजाने भयो । उनी ढुक्क भए इजरायल पुगिन्छ भनेर । पटक पटक काठमाडौं आएर आवश्यक कागजात पनि तयार पारे ।
अहिले छनोट भएको ९ महिना बितिसक्दा पनि उनी नेपालमै छन् । उनी सँगै छनोट भएका धेरै अहिले इजरायल पुगेर काम गर्न थालिसकेका छन्, तर जागिर नै छाडेर बेरोजगार बसेका राज भने पर्वतमा नै छन् । पहिले इजरायल जानका लागि छनोट हुँदा मनमा जागेको खुसी अहिले राजको अनुहारमा देखिँदैन ।
निराश हुँदै राज भन्छन्, “इजरायल गएर काम गर्ने सपना देखेँ, अहिले नेपालमा बेरोजगार भएर बस्नु परेको छ ।”
दुई देशबीच २०७७ असोज १४ गते भएको श्रम सम्झौताअनुसार अहिलेसम्म केयरगिभरको काम गर्न २९७ जना नेपाली इजरायल पुगेका छन् । बाँकी कामदार जान नपाउँदै इजरायलले भिसा दिन बन्द गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।
इजरायल रोजगारीको पहिलो चरणको उडानमा ९९ सय जना नेपाली केयरगिभरमा काम गर्न गएका थिए । जसमा ६३ महिला र ३६ जना पुरुषहरू रहेका थिए ।
जि टु जी मार्फत ऐतिहासिक रूपमा इजरायल पुग्न लागेका नेपालीलाई श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ स्वयम्ले बिदाइ गरेका थिए । हालसम्म तीन चरणमा २ सय ९७ जना नेपाली कामदार इजरायल पुगिसकेका छन् ।
विभागले इजरायलस्थित पपुलेसन एन्ड माइग्रेसन अथोरिटी (पिआइबिए) मा भाषा परीक्षा पास गरी अन्तर्वार्तामा सहभागी मध्ये १ हजार ६ सय जनाको नाम सिफारिस गरेको थियो। तीमध्ये चिठ्ठा प्रणालीबाट छनौट गरेर इजरायलले १ हजार जनालाई लैजान चाहेको थियो।
यसरी गोलाप्रथा गर्दा राजजस्तै १ हजार जना भित्र छनौट भएकी फिक्कल- इलामकी सरिता सुनुवार पनि यतिबेला रोजगारीका लागि इजरायल जान पाउने हो या होइन भन्ने दोधारमा छिन् । ३ वर्षे अनमी कोर्सको अध्ययन गरेकी उनले पनि गत ०७८ भदौमा इजरायल जानका लागि छनोट परीक्षा पास गरिन् ।
“नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने हामीजस्ता स्वास्थ्यकर्मीलाई राम्रो तलब सुविधा सहितको रोजगारी नै छैन । आफूले अध्ययन गर्दा लागेको ऋण तिर्न पनि जागिर गरेर सकिने अवस्था छैन । त्यही भएर म इजरायल जानका लागि उत्साहित भएँ,” सरिता भन्छिन् ।
उनलाई इजरायलमा राम्रो तलब सुविधाले तानेको रहेछ । अस्पतालमा रातभर ड्युटी गरेर बस्दा पनि पेट नै पाल्ने तलब नपाउने अवस्था भएपछि उनलाई इजरायलले तान्यो र तयारी थालिन् ।
आफूले काम गर्दै गरेको जागिरलाई बिट मारेर उनले इजरायल जानका लागि तयार थालेकी थिइन् । इजरायलले यसरी केयरगिभर पदका लागि खुलाएको रोजगारीमा पुरुषलाई भन्दा महिला कामदारलाई बढी प्राथमिकता दिएको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने प्रबन्ध रहेको छ ।
इजरायलले रोजगारीका लागि महिला कामदारलाई अझ बढी अवसर दिएको देखेपछि काठमाडौं गुर्जुधाराकी बन्था गौमता (२८) ले पनि जानका लागि भनेर कम्मर कसिन् । राज र सरिताजस्तै उनको पनि नाम निस्कियो । घरमा दुई छोराछोरीको लालनपालन गर्न नै धौँधौँ परेपछि उनले इजरायल रोजगारीका लागि तयारी थालेकी थिइन् । इजरायल तयारी गर्दा उनको २ लाख रुपैयाँ जति सकियो । उनी छनोट भएर पनि रोजगारदाता कम्पनीले करार गरिसकेको छ तर कहिले लैजाने भन्ने दोधार नै छ ।
उनी भन्छिन् “३ वर्ष इजरायललाई भनेर समय लगानी गरियो, अहिले लैजाने नलैजाने दोधार र दुबिधामा बस्नुपरेको छ । यहाँ बेरोजगार बस्दाबस्दै छोराछोरी पढाउन, खानपान गर्न गाह्रो अवस्था भइसक्यो ।”
इजरायल जानका लागि उमेरसमूहमा तोकिएको छ; जसअनुसार २५ देखि ४५ वर्ष उमेरसमूहका नेपाली नागरिक हुनुपर्छ । न्यूनतम शैक्षिक योग्यता प्लस टु उत्तीर्ण भइ १५ महिने अनमीको पढेको हुनुपर्छ । इजरायल जान हिब्रु र अंग्रेजी भाषा जान्ने हुनुपर्छ।
इजरायलमा श्रमिकले पाउने तलब सुविधा पनि आकर्षक छ । मासिक एक हजार ६ सय डलर अर्थात नेपाली एक लाख ९० हजारभन्दा बढी पारिश्रमिक तोकिएको छ । त्यसबाहेक ३ सय २० डलर कामदारको कल्याणकारी कोषमा जम्मा हुन्छ । यसरी जम्मा भएको रकम कामदार फर्किदा पाउने प्रावधान छ।
इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ। यसअघि लामो समय देखि बन्द रहेको इजरायल रोजगारी पुनः सम्झौता भएसँगै खुलेको हो। सन् २०१५ मा सम्झौता भएपनि विभिन्न कारणले गर्दा कामदार इजरायल जान पाएका थिएनन् ।यसअघि नेपाली कामदारलाई इजरायल लैजाने प्रावधान जि टु जी माध्यमबाट भने भएको थिएन, बि टु बी अर्थात् बिजनेश टु बिजनेश मोडलबाट नेपाली कामदार इजरायल जाने गरेका थिए ।
यसपटक सरकारी संयन्त्रमार्फत भर्ना प्रक्रिया गरिने भए पनि लागत खर्च भने कामदारले नै बेहोर्नुपर्ने नियम बनाइएको छ । भिसा शुल्कमात्रै सम्बन्धित रोजगारदाता आफैले बेहोर्ने छ । ‘हवाईभाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम, श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने भनी उल्लेख भएकोमा सोहीबमोजिम र नबेहोर्ने अवस्थामा सम्बन्धित व्यक्तिले बेहोर्नुपर्नेछ,’ निर्देशिकामा उल्लेख छ ।
किन बन्द छ इजरायली भिसा प्रक्रिया ?
इजरायलले नेपाली कामदारलाई भिसा दिन किन रोक्यो भनेर यकिन जानकारी नआएपनि वैदेशिक रोजगार विभागको जानकारी अनुसार भने इजरायलको परराष्ट्र मन्त्रालयमा जारी कर्मचारी ट्रेड युनियनको आन्दोलनका कारण भिसा प्रक्रियामा ढिलाइ भएको हो ।
यसरी कर्मचारी युनियनको आन्दोलनका कारण बन्द भएको इजरायली भिसा प्रक्रिया कहिलेबाट खुल्छ भनेर अहिले नै भन्न सक्ने अवस्था भने नरहेको विभाग जनाउँछ । त्यसो त इजरायली भिसा प्रक्रियालाई अविलम्ब सुरुवात गर्ने भनेर सरकारले यतिबेला इजरायली दुतावाससँग सहकार्य भने गरिरहेको छ । दूतावासका अनुसार नेपाली कामदार लैजाने प्रक्रिया फेरि सुरु गर्न दुई देशबीच निरन्तर छलफल जारी छ ।
बन्द भएको भिसा प्रक्रिया यथाशीघ्र खुलाउनका लागि पहल भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्। यसरी वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पटक पटक प्रयास गरिरहेको भने ता पनि इजरायल सरकार भने अहिलेसम्म सकारात्मक देखिएको छैन ।
उनी भन्छन् “बीचमै सम्झौता रद्द भएको, र भिसा प्रक्रिया सधैँका लागि बन्द भएको चाहिँ होइन तर अकस्मात् श्रमिक आन्दोलनको नाममा यसरी सरकारी तवरबाट भएको सम्झौतालाई वेवास्ता गर्ने काम इजरायली सरकारबाट भएको छ ।”
आफ्नै पहलमा इजरायली दुतावाससँग नेपाली कामदारलाई इजरायल लैजानका लागि पटक पटक बैठक बसेको र इजरायली सरकारलाई ताकेता गर्दै आएको बताउँदै शेषनारायणले छनौट भएका सबैलाई धैर्यता अपनाउन पनि आग्रह गरेका छन् ।
उनी भन्छन्, “छनोट भएकाहरूलाई प्रक्रिया खुलिहाल्छ भनेर भरोसा पनि दिलाउन सक्ने अवस्था छैन । रोजगारदाता देशले अनिश्चित कुरा गर्दा नाम निकालेका कामदार त्यसै बस्नुपरेको छ, यो दुःखको कुरा हो ।”