स्थानीय चुनावमा युवाको स्वतन्त्र उम्मेदवारी: लहड, रहर या बाध्यता ?
“म दलीय राजनीतिबाट दिक्क भइसकेँ, पार्टीगत नेतृत्वले हाम्रो समाजलाई परिवर्तन गर्न नसकेको महसुस गरेँ । त्यसैले मैले आफैँ स्वतन्त्र तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिएँ,” सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी माया गुरुङ (४१)ले आफूले स्वतन्त्र उम्मेदवारी दिनुको कारण बताउँदै भनिन् ।
आउँदो वैशाख ३० गते देशव्यापी रूपमा हुन लागेको स्थानीय तहको चुनावमा मायाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । २०६४ सालमा प्रतिनिधि सभा निर्वाचनमा उनले पहिलो पटक भोट हालेकी थिइन् । ०६३ सालमा देशमा गणतन्त्र उदायो, मायालाई पनि लाग्यो अब हाम्रो समाज बन्छ, देशले विकास र समृद्धिको मार्गमा द्रुत कदम चाल्नेछ । तर, उनले भोट हालेको डेढ दशक बितिसक्दा पनि जुन आश र भरोसाले उनले भोट हालेकी थिइन्, त्यसले खासै उपलब्धि ल्याउन नसकेको महसुस गरिन् ।
वि.स. २०७२ सालमा नेपालले नयाँ संविधान पायो । २०७४ सालमा स्थानीय तहको निर्वाचन हुने भयो । १९ वर्षपछि हुनलागेको उक्त निर्वाचनमा पनि उनी आशावादी नै थिइन् ।
“अब आफ्नै ठाउँको प्रतिनिधिले स्थानीय निकायको नेतृत्व गर्छ, गाउँलाई विकासको आँखाले हेर्छ, अधिकार पनि सबै पाएको स्थानीय तहले अब पाँचपोखरी थाङपाल बनाउँछ जस्तो लागेको थियो तर त्यस्तो हुन सकेन,” माया सम्झिन्छिन् ।
मायाले स्थानीय निकायको चुनावमा भोट हालेको ५ वर्ष पुग्यो । तर उनले गरेको न्यूनतम अपेक्षा पनि पुरा हुन नसकेको माया बताउँछिन् । आफूले बालिग मताधिकारको प्रयोग गरेको १५ वर्षसम्म उनी आशावादी नै बनिन् तर उनको आशा निराशामा परिणत भयो । उनीजस्ता युवाले खोजेजस्तो परिवर्तन महसुस गर्न पाएनन् । पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमशीलता जस्ता महत्वपूर्ण विषयलाई आफ्नो स्थानीय निकायले प्राथमिकतामा नराखेको उनको गुनासो छ ।
पटक पटक विश्वासघात भएको महसुस गरेर यसपटक भने मायाले स्वतन्त्र बनेर चुनाव लड्ने ठानिन् । उनी भन्छिन्, “दलगत राजनीतिमा स्वार्थको भण्डार हुनेरहेछ । मजस्तो स्वतन्त्र उम्मेदवारले चुनाव जितेको खण्डमा निस्वार्थ सेवा गर्न पाउँछु भन्ने लाग्यो र उम्मेदवारी दिएँ ।”
मायाले २०६५ सालमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसपछि २०६६ मा उनीसँगै रहेको महिला टोलीले सातै महादेशका सर्वोच्च शिखरको आरोहण गर्यो । यसरी विश्वका सातै महादेशका ठूला शिखर आरोहण गर्ने पहिलो महिला उनी पनि बनिन् ।
देशका हिमाल पाखा पखेरालाई चिनाउन विश्वभर यात्रा गरेकी उनलाई नेपालप्रतिको माया अझ बढेर गयो । त्यसपछि उनले नेपालकै पर्यटन क्षेत्रको उत्थानका लागि केही गर्ने भनेर ट्राभल एजेन्सी खोलिन् र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि वकालत गर्न थालिन् । अहिले उनको मुख्य चुनावी एजेण्डा पनि पर्यटनलाई प्रवर्द्धन गर्दै विकास र समृद्दि हासिल गर्ने हो ।
राजनीतिक पार्टीको नेतृत्वमा भिजन नहुँदा नागरिकको जीवनस्तर माथि उठ्न नसकेको र महिलालाई पछि पारिएको उनको बुझाइ छ । ‘भिजन बिना नेतृत्व लिन सकिँदैन,’ माया भन्छिन्, ‘राजनीति गर्छु भनेर आएका महिलालाई पार्टीले नेतृत्वमा नपुर्याउने स्थिति छ । काम गर्न पार्टी नै चाहिन्छ भन्ने छैन । जनताको जीवनस्तर उकासेर देखाउन चाहन्छु । आफ्नो ठाउँ आफैँ बनाउन सकिने भिजन मसँग छ ।’
त्यसो त विराटनगर महानगरपालिका-०५ का शुभम् निरौलाले आफ्नो स्थानीय तहमा युवा नेतृत्व चाहिन्छ भन्ने सोचेर वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए । युवाहरूले सोच्ने विकास मोडल र पुराना नेतृत्वकर्ताले सोच्ने मोडलमा फरक पर्छ भन्ने लागेर अब युवाले नै स्थानीय तहको विकास गर्नुपर्छ भन्ने ठानेर उम्मेदवारी दिएको उनी बताउँछन् ।
उनी भन्छन्, “महानगरमा बस्ने नागरिक भएपनि आफ्नो क्षेत्रको विकास परम्परागत नै छ । त्यही नेतृत्व आउने अनि त्यही कुरा गर्ने तर तरिका भने पुरानै राख्ने प्रवृत्तिबाट दिक्क भएर मैले उम्मेदवारी दिएको हुँ ।”
काठमाडौंमा सामाजिक कार्य विषयमा स्नातक गरेका २७ वर्षीय शुभम् ७ वर्षको काठमाडौं बसाइपछि विराटनगर पुग्दा पनि उनलाई आफ्नो ठाउँ जस्ताको त्यस्तै लाग्यो । आफूले अध्ययन गर्दा बटुलेको ज्ञान र विवेक प्रयोग गर्दा अहिलेको भन्दा विकसित समाज बनाउन सकिन्छ भन्ने लागेपछि उनले स्वतन्त्र उम्मेदवारी दिए । अहिले उनी चुनावी प्रचारप्रसारमा लागेका छन् ।
शुभमले आफ्नो निर्वाचनको घोषणापत्रमा पाँच खम्बे कार्यनीतिलाई अगाडि सारेका छन् । जसमा सामाजिक विकास, सुशासन, गुणस्तरीय सरकारी शिक्षा र सामाजिक सुरक्षा रहेका छन् । उनले आफ्नो घोषणापत्र अनुरूप आफ्नो क्षेत्रका सरकारी विद्यालयलाई थप परिष्कृत र व्यवस्थित बनाउँदै लैजाने बताएका छन् ।
व्यवस्थित अनि दिगो विकास निर्माणको कामलाई पनि मुख्य एजेण्डा बनाएको शुभम् बताउँछन् । उनी भन्छन्, “प्राकृतिक विपत्ति मेरो क्षेत्रमा सँधै आइरहन्छ । व्यवस्थित कुलो नहर नहुँदा वर्षेनी यहाँका जनताको घर डुबानमा पर्छन् । म वडाध्यक्ष भएको अवस्थामा नहर र कुलोको व्यवस्थापन गरेर कम्तीमा बर्खाको समयमा पनि यहाँका मानिसहरू आनन्दले निदाउन पाउन् भन्ने चाहना छ।”
यसबाहेक उनले आफ्नो क्षेत्रमा रहेका शैक्षिक संस्थाहरूको स्तरन्नोति गर्ने, वृद्धवृद्धालाई मनोरञ्जन पार्क निर्माण गर्ने, प्रशासनिक कामलाई सहज बनाउने जस्ता प्रतिवद्धता जनाएका छन् ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा यसपटक ठूलो सङ्ख्यामा स्वतन्त्र उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन् । गठबन्धनले तालमेल र भागबन्डाका नाममा योग्य उम्मेदवार छनोट गर्न नसक्दा असन्तुष्ट जमातले स्वतन्त्र उम्मेदवारी दिएको लेखक तथा स्तम्भकार खगेन्द्र संग्रौला बताउँछन् ।
उनी भन्छन्, “चुनावको टिकट वितरणमा नेताहरूले आसेपासेलाई प्राथमिकता दिए । विकास सोचिएन, भागबन्डा मात्र सोचियो । त्यसैले ठूलो सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी आएका छन् । यो पार्टीगत नेतृत्वलाई चुनौती दिने कदम हो । यसलाई सकारात्मक मान्नुपर्छ ।”
उम्मेदवारी परेको बहुसङ्ख्यक ठाउँमा स्वतन्त्र उम्मेदवारले चुनाव जित्ने सम्भावना कम भएता पनि स्वतन्त्र उम्मेदवारीको यो कदमले पार्टीगत राजनीतिप्रति जनताको वितृष्णा भने प्रष्ट रूपमै देखिएको उनी तर्क दिन्छन् ।
यसअघि स्थानीय तहको निर्वाचन २०७४ मा ६ ठाउँमा प्रमुख, ५ ठाउँमा उप प्रमुख, ९१ वडा अध्यक्ष सहित १ सय ३१ वडा सदस्यहरू स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। त्यसबेलाको स्थानीय निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र गरी १ लाख ४८ हजार ३६४ जना उम्मेदवार सहभागी रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ। निर्वाचनमा ५७ दल सहभागी भएकामा १८ वटा दलको स्थानीय तहमा प्रतिनिधित्व भएको थियो। यसपटक भने स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या ५ हजार ८९५ छ । जसमा दलका बागी उम्मेदवारहरू पनि रहेका छन् ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार देशैभरीबाट स्थानीय तहको निर्वाचनका लागि (अद्यावधिक गरिएको) एक लाख १ लाख ५३ हजार २ जनाले उम्मेदवारी दर्ता गरेका छन् । शुक्रवार साँझ ५ बजेबाट उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्वाचन आयोगले दिएको समय सकिएको छ। यस दौरानमा पोखरा, विराटनगर लगायतका महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएकाहरूले मनोनयन फिर्ता लिएका छन् ।
“यसपटक देशभरको माहोल हेर्दा जनताले वैकल्पिक बाटो छनोट गर्ने सम्भावना देखिन्छ । यसअगाडिकै स्थानीय तहमा धेरै पदमा स्वतन्त्रले जितेका थिए । यो चुनावमा यो सङ्ख्या अझ बढेर जाने देखिन्छ,” पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन् ।
स्वतन्त्र उम्मेदवारी संस्थागत आडमा नहुने हुँदा चुनाव जितिहाल्ने अवस्था नआए पनि नतिजा उलटफेर गर्न स्वतन्त्रको उम्मेदवारीले ठुलो भूमिका खेल्ने उनको तर्क छ ।
लोकतन्त्रमा जनताप्रति उत्तरदायी हुनुपर्ने हुँदाहुँदै पनि राजनीतिक नेतृत्वले लोकतन्त्रलाई निजिकरण गरेका कारण पनि विशेषगरी युवावर्गमा वितृष्णा छाएर स्वतन्त्र उम्मेदवारी दिने लहड बढेर गएको रामेश्वर बताउँछन् ।
उनी भन्छन्, “ यती ठुलो संख्यामा स्वतन्त्र उम्मेदवारी आउनु भनेको देशमा वैकल्पिक शक्तिको आवश्यकता छ भनेर बुझाउने प्रष्ट उदाहरण हो । यसले दल र सरकारप्रति जनताको वितृष्णालाई प्रस्तुत गर्दछ ।”
लोकतन्त्रलाई बचाइराख्न र असल शासन कायम गर्न स्वतन्त्र युवाले उम्मेदवारी दिँदै चुनावमा सकारात्मक हस्तक्षेप गर्नु भावी राजनीतिका लागि फलदायी हुने उनको तर्क छ । स्वतन्त्र रुपमा चुनाव लड्न खोज्ने यस्ता प्रयासले नेपालमा राजनीति गर्ने मुख्य दललाई उसको अधिकार, कर्तव्य र उत्तरदायित्व बहन गर्न थप जिम्मेवार गराउने रामेश्वर बताउँछन् ।
यतिबेला स्वतन्त्र रुपमा मेयर उम्मेदवारमा उठेका काठमाडौंबाट र्यापर बालेन साह, सुन्दरहरैँचा नगरपालिका मोरङका लागि नीति विश्लेषक तथा अनुसन्धानकर्ता डा. प्रकाश भट्टराई, पोखरा लेखनाथ महानगरपालिकामा लेखक गनेस पौडेल आदिको चर्चा मुख्य प्रतिस्पर्धीका रूपमा हुँदै आएको छ ।