बोर्डले अठार विधामा निःशुल्क सीप सिकाउँदा पनि वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशत सीपविहीन
झापा मेचीनगरका विमल लामिछाने (२५) ले पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण ११ कक्षापछिको पढाई पूरा गर्न सकेनन् । बिहान उठ्ने, घाँस दाउरा गर्ने अनि घरका सानातिना काममा उनको दैनिकी बित्थ्यो । “कृषि गर्न जग्गा जमिन थिएन, पढ्नलाई पैसा पनि थिएन । साह्रै गाह्रो थियो,” विमल सम्झन्छन् । २ वर्षसम्म घरकै साना तिना काममा अल्झिएपछि उनले विदेश जाने मनस्थिति बनाए । उनी भन्छन्, “हातमा न सर्टिफिकेट थियो न त सीपनै । म त्यतिकै विदेश गएँ।”
पछि आफ्नै नजिकको मेनपावरमा पासपोर्ट पेस गरि उनी कतार हानिए । कतार त पुगे तर उनले चर्को घाममा काम गर्नुपर्थ्यो । “ठूला ठूला घरको छतमा रड बिछ्याउने, तारले कस्नु पर्ने, सामान उचाल्नुपर्ने काम मैले गरेँ,” उनी सुनाउँछन् ।
कतारको गर्मीले विमललाई साह्रै नै अत्याउँथ्यो । दिनभर घाममा काम गर्दागर्दै एकदिन उनी त्यहीँ बेहोस पनि भए । उनलाई दिन कटाउनै गाह्रो थियो । उनलाई कतारको ९ सय रियाल अर्थात् २७ हजार रुपैयाँ तलब दिइन्थ्यो । “कतार पुगेको १० दिन नबित्तै सीप सिक्नुको महत्व मैले बुझिसकेको थिएँ । घरमा ऋण गरेर गएको हुनाले सीप सिक्न पुनः फर्कन्छु भन्न पनि सकिन,” उनी सुनाउँछन् । ७ महिनासम्म चर्को घाममा काम गरेर घरमा लागेको १ लाख ५ हजार ऋण तिर्ने बित्तिकै नेपाल फर्कने निधो गरेर उनी फर्किए ।
विदेशबाट फर्किए पनि नेपालमा उनलाई अवसर थिएन । विकल्प एउटै थियो पुनः विदेशिने । यसपटक भने उनले विदेशमा सीप नसकी जाँदा आइपर्ने दुःख र पीडालाई मज्जाले बुझेका थिए । त्यसैले प्लम्बरको सीप सिकेर विदेशिने निधो बनाए । करिब ३ महिना वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने कार्यक्रममार्फत सीप सिकेपछि उनी सर्टिफिकेट बोकेर पुनः कतार नै हानिए । हातमा सीप थियो । उनले राम्रो काम पाए । “काम त ९ घण्टा नै गर्नुपर्थ्यो तर पहिलाभन्दा राम्रो तलब थियो । १८ सय रियाल त म मासिक कमाउँथे ” उनी सम्झन्छन् ।
करिब ४ वर्ष कतारमा प्लम्बरको काम गरेपछि उनी केही पैसा लिएर नेपाल आए अनि सोही काम नेपालमा गर्न थाले । “केही समय आफूलाई चिनाउन लाग्यो, अहिले भने यहीँ प्लम्बिङ्ग गरेर मेरो परिवार चल्ने भएको छ,” उनी बताउँछन् ।
सीप तथा विकासको शीर्षकमा सरकारले वर्षेनी करोडौँ रुपैयाँ छुट्याए पनि नेपालबाट विदेश जाने करिब ७५ प्रतिशत कामदार अदक्ष नै हुने गरेको विभिन्न तथ्याङ्कहरूले देखाएका छन् ।
अघिल्ला वर्षहरूमाझैँ चालु आर्थिक वर्षमा पनि सरकारले श्रम बजारमा प्रवेश गर्ने युवा, वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका श्रमिकको सीप विकास गरी क्षमता अभिवृद्धि गर्न हस्तकला, प्लम्बिङ्ग, इलेक्ट्रिसियन, कुक, कालिगढ, सिकर्मी, डकर्मी, सिलाई कटाई, ब्यूटिसियन, कपाल कटाई, सवारी साधन तथा मोबाइल मर्मत लगायतका व्यवसायमा थप एक लाख व्यक्तिलाई सीप विकास तालिम प्रदान गर्न ४० करोड विनियोजन गरेको छ । त्यस्तै स्वदेशी उद्योगको आवश्यकता अनुरूपको सीपयुक्त जनशक्तिको विकास गर्न निजी क्षेत्रको साझेदारीमा उत्पादन तथा सेवामूलक उद्योगमा प्रशिक्षार्थी कामदारलाई तीन महिनाको न्यूनतम पारिश्रमिक बराबरको अनुदान उपलब्ध गराइ कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्न १ अर्ब छुट्याएको छ । यस अन्तर्गत तालीम प्राप्त गर्ने प्रशिक्षार्थी कामदारलाई आधारभूत तालिम दिइ सोही उद्योगमा न्यूनतम २ वर्षको रोजगारी सुनिश्चित गर्ने व्यवस्था मिलाइनेछ । यस कार्यक्रमबाट आगामी वर्ष थप २५ हजार रोजगारी सिर्जना हुने बजेटमा उल्लेख छ ।
सरकारले यसरी बजेट बिनियोजन गरेको रकमबाट वैदेशिक रोजगार बोर्डले १८ विधामा निःशुल्क तालिम दिँदै आएको छ । जसमा हाउस किपिङ, कुक, वेटर, भान्सा सहयोगी, फ्रन्ट अफिस सहायक, सुरक्षा गार्ड, डकर्मी, हाउस पेन्टर, प्लम्बर सहायक, वेल्डर सहायक, जुनियर फर्निचर मेकर, ब्यूटिसियन, जुनियर ब्यूटिसियन, सटरिङ कार्पेन्ट्री, एसिस्टेन्ट स्क्याफोल्डर, इलेक्ट्रिसियन, सिलाइबुनाइ, सैलुन लगायतका सीपमूलक तालिम सञ्चालन हुँदै आएको छ ।
काममा दक्ष नभएका कारण विभिन्न देश पुगेका नेपालीले समस्या झेल्नु परेको छ । अदक्ष भएकै कारण कतिपयको अंगभंग भएको छ भने बिरामी तथा मृत्यु हुनेको संख्या पनि उच्च छ ।
गत आर्थिक वर्षमा बोर्डले १० हजार युवालाई निःशुल्क तालिम दिन १५ करोड बजेट विनियोजन गरेको थियो । तर कोरोनाका कारण तालिम सञ्चालन भएन र बजेट त्यसै फ्रिज भयो ।
बजेट बढ्यो, तालिमका विधा बढे तर बढेनन् दक्ष कामदार
तीन दशकयता नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अदक्ष छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको एक अध्ययनले ७५ प्रतिशत अदक्ष (काममा दक्ष नभएका) कामदार लेबर भिसामा विदेशिएको देखाएको छ ।
औपचारिक तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा विदेशिने करिब साढे ६१ लाख जनशक्तिमध्ये दक्ष २.५ प्रतिशत, अर्धदक्ष २१.५ प्रतिशत र अदक्ष ७५ प्रतिशत रहेको मन्त्रालयको वि.स. ७६/७७ को प्रतिवेदनमा उल्लेख छ ।
सरकारले वैदेशिक रोजगार बोर्ड मार्फत विभिन्न १८ विधामा सीपमूलक तालिम प्रदान गर्दै आएपनि यसलाई बाध्यकारी नबनाएका कारण अदक्ष कामदार विदेशिने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दिनबन्धु सुवेदी बताउँछन् ।
उनी भन्छन्, “तीन दिने अभिभुखिकरण तालिमलाई सरकारले बाध्यकारी बनायो तर अन्य सीप तथा तालिमलाई अनिवार्य गर्न सकेन जसको कारण विदेशिन चाहने युवा सीप सिक्न खासै आउँदैनन् ।” यसरी सीप सिक्नका लागि सरकारले अनिवार्य नगर्दा गाँउगाँउबाट एजेन्टले युवा लिएर विदेश पठाउने गरेको उनी स्वीकार्छन् ।
“बोर्डको कार्यक्रम प्रभावकारी त छ तर प्रचार पुग्न सकेको छैन जसको कारण अझै पनि ठूलो सङ्ख्यामा युवाहरू सीप नसकी विदेशिने गरेका छन्,” उनी भन्छन् ।
“तथ्याङ्कमा ७५% अदक्ष देखिएको छ, यसको मूल जड गाँउगाँउबाट एजेन्टले लोभ लालच देखाएर विदेश पठाउने प्रवृत्ति हो । तर सरकारले भने एजेन्टको बिगबिगीलाई रोक्न कुनै पहल चालेको देखिँदैन,” ट्रेनिङ सेन्टर नेपालका अध्यक्ष अर्नराज सिलवाल बताउँछन् ।
“सरकारले कार्यक्रम ल्याउँदै जाने तर सीमान्त युवासम्म कार्यक्रमको जानकारी नै नपुर्याउने अदूरदर्शी कार्यक्रमहरूका कारणले पनि सीप सिक्ने ठाउँसम्म युवा नपुगेको देखिन्छ,” अर्नराज तर्क दिन्छन् ।
उनी थप्छन्, “सीप सिकेका युवाहरु पनि नेपालमा सीप सिकेर गएका होइनन् । विदेशमा नै सीप सिकेर नेपाल फर्किएपछि पुनः श्रम स्वीकृति लिएर विदेशिँदा सीप सिकेका युवा विदेशिएको भन्ने तथ्याङ्कमा देखिन्छ ।”
अर्थतन्त्रलाई स्थिर बनाउन रेमिट्यान्सको सहयोग अतुलनीय रहेको बताउँदै अर्नराजले सीप सिकाएर आफ्ना नागरिकलाई विदेश पठाउन सकेमा राम्रो तलब र सुविधा पाउने जसले गर्दा रेमिट्यान्स मार्फत आएको पैसा पनि बढ्ने बताउँछन् ।
सीप सिकाएर विदेश पठाउन सरकारलाई चासो नभएको र दीर्घकालीन फाइदा सरकारले देख्न नसकेका कारण अहिले पनि नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विदेशमा दुःख भोग्नुपरेको अर्नराजको ठम्याइ छ ।