नारामा आर्थिक समृद्धि : न त नयाँ उद्योग खुले , न पुराना नै चल्न सके
जनकपुर चुरोट: व्यवस्था परिवर्तन पछि बन्द भएको एउटा अब्बल उद्योग
काठमाडौंबाट पूर्व पश्चिम राजमार्ग जाँदा नौबिसे पुगेपछि बायाँ तर्फ हेर्दा खिया लागेको फलामको ठूलो होर्डिङ बोर्ड टाढैबाट देखिन्छ । होर्डिङ बोर्डमा मेटिन लागेको अक्षरले लेखिएको छ “माई नेम इज ज्याक, चुरोट खान्छु याक” यानिकी याक चुरोटको विज्ञापन ।
प्राचीन देखिने पुरानो बोर्डमा लेखिएका अक्षरहरू अब इतिहास नै बनिसकेको छ । याक (फिल्टर) चुरोट बजारमा नदेखिएको वर्षौँ भैसक्यो । पसलमा केही देशी र अधिकांश विदेशी चुरोट मात्र पाउन सकिन्छ । तर ज्याकले खाने चुरोट अर्थात् होर्डिङमा लेखिएको “उच्चतम् भर्जिनिया सुर्तीबाट बनेको याक” पुरानो पुस्ताको सम्झनामा मात्र बाँकी छ ।
काठमाडौंबाट जनकपुर घर हिँडेका जितेन्द्र मण्डल (६३) ले दौडिरहेको बसबाटै यो याक चुरोटको विज्ञापन देखे । उनका आँखामा आँसु भरिएर आए । जितेन्द्र भावुक बनेको देखेर उनीसँगै यात्रा गर्नेहरूलाई के भइरहेको भनेर केही हेक्का भएन ।
“मैले हराइसकेको बस्तु फेरी पाएझैँ भयो, बोर्डमा राखिएको चित्र सँग मेरो जीवनको ३२ वर्ष जोडिएको छ । अहिले सबै कहानी भयो, अब केही बाँकी रहेन,” उनी भन्छन् ।
याक फिल्टर चुरोट २०६० साल अगाडिसम्म नेपालकै सबैभन्दा चलेको स्तरीय चुरोट थियो । अनि याक चुरोट उत्पादन गर्ने जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) भने नेपालकै सबैभन्दा उत्कृष्ट चुरोट कारखाना ।
मण्डलले जचुकालीमा सुब्बा पदमा काम गरेका रहेछन् । उनले तीन दशक बिताएको कारखानाको उत्पादन भने छैन, मात्र बाटोमा रङ्ग गएका केही होर्डिङ बोर्ड मात्र रहेको छ ।
जब उनी यो होर्डिङ बोर्ड देख्छन् सँधै भावुक हुने गर्छन् । “यो बाटो हिँड्दा विगतमा कारखानामा काम गर्दाको समय याद आउँछ, साथी सङ्गी सबैको याद आउँछ । कारखानाको याद आउँछ ,” उनी भन्छन् ।
जचुकाली तत्कालीन सोभियत संघको सहयोगमा २०२१ मा स्थापना भएको थियो । अधिकृत पुँजी ८ करोड र चुक्ता पुँजी ४ करोड ३७ हजार रहेको कारखाना सुरुवात हुँदा ३ सय ६० कामदारले काम गर्थे ।
तराई भेगमा खास गरि धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी जिल्ला हरूमा सुर्ति खेती राम्रो हुने गर्थ्यो । सुर्तिको ढुवानी अनि निर्यात गर्न समेत सहज भएका कारण पनि जचुकाली सञ्चालन गर्न सजिलो थियो । देशकै पहिलो सुर्तीजन्य कम्पनी भएको कारण प्रतिस्पर्धी कम्पनी पनि थिएनन् । त्यो समय चुरोट आफैँ पनि नयाँ उत्पादन भएको कारण आकर्षणको केन्द्र थियो । पातमा सुर्ती बेरेर खाने प्रचलन भएको नेपालमा सुर्तिका पारखीहरूले ‘फिल्टर’ लगाएको कागजको आकर्षक नयाँ चुरोट खान पाएका थिए । “बोलिचालीमा यस्तो चुरोटलाई फेटा बाँधेको चुरोट भन्ने पनि चलन थियो,” मण्डल सुनाउँछन् ।
जचुकालीले १७ प्रकारका चुरोट उत्पादन गर्थ्यो – गरुड, चुचुरा, सिंह, ज्वाला, जानकी, आशा, सयपत्री, लालीगुराँस, कोसेली, मुनाल, दोभान, कस्तुरी, हिमचुली, याक, देउराली, गैंडा र उपहार । यी हरेक चुरोटका प्रकारहरू उमेर समूहमा आर्थिक हैसियत रूचि र पारखीहरूलाई ध्यान दिएर बनाइएका थिए ।
जस्तो कि कडा चुरोट खानेलाई फिल्टर बिनाको चुरोट हुन्थ्यो । कुनै चुरोट त कागजमा बेरिएको बिँडी जस्तो कडा स्वादको हुन्थ्यो भने याक फिल्टर भने सबैभन्दा उच्च स्तरको चुरोट रहेको थियो । याक यति लोकप्रिय थियो नेपाली बजारमा यो एक बिम्ब नै बनेको थियो । “फिल्टर चुरोट भनेकै याक,” जितेन्द्र सम्झन्छन् ।
जचुकाली ४६ वर्ष नेपालको आर्थिक स्तम्भ बनेर बस्यो । तत्कालीन समयमा जचुकाली नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनी थियो । सुरुवातमा कम्पनीले २ अर्ब खिल्ली चुरोट उत्पादन गर्थ्यो । पछि कम्पनी पूर्ण क्षमतामा चल्न सुरुवात भएपछि यस कारखानाले वार्षिक ३ अर्ब खिल्ली सम्म चुरोट उत्पादन गर्थ्यो । जचुकालीले वार्षिक औसत १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको चुरोट बेच्ने गर्थ्यो ।
२०४७ सालमा यहाँ सबैभन्दा धेरै ४,७०० कर्मचारीहरू एकैसाथ काम गर्थे । “महोत्सव नै हुन्थ्यो, ठूलो भीड सबै आफ्ना आफ्ना काममा व्यस्त उत्पादन र आम्दानी दुबै मनग्य हुन्थ्यो,” जितेन्द्र सम्झन्छन् ।
जचुकालीको एकलौटी बजार २०४३ मा निजी लगानीमा खुलेको सूर्य नेपालले बिस्तारै लिन सुरु गरिसकेको थियो । सूर्यको अत्याधुनिक प्रविधि र क्षमता, प्रभावकारी बजारीकरण, र प्रचारप्रसारको कारण जनकपुर चुरोट कारखानाका उत्पादन बिस्तारै किनार लाग्न थाल्यो । तर लामो समय बजारमा एकल वर्चस्व रहेको जचुकालीलाई प्रतिस्पर्धा गर्ने कुनै आवश्यकता महसुस सम्म भएको देखिन्न । “नयाँ निजी लगानीका उद्योगले फड्को मार्दै जाँदा जनकपुर कारखानाको व्यवस्थापनमा सुधार आउन सकेन,” मण्डल सुनाउँछन् ।
जनकपुर चुरोट कारखानाको बजार २०६६ मा खुम्चिएर १.२० प्रतिशतमा झर्यो । सूर्य नेपाल र गोरखा ल्यारीका उत्पादनले बजार लिन थाल्यो। कारखानाबाट निरन्तर उत्पादन नभएपछि त्यहाँबाट उत्पादित चुरोट बजारमा आपूर्ति हुन छोड्यो। घट्दो उत्पादन शृंखला र अन्त्यमा उत्पादन बन्द, बजार गुम्ने स्थितिमा पुग्नु, फलदायी योगदान पुर्याएका पुराना व्यवस्थापकको अवकाश, मेसिनमा काम गर्ने उत्पादन पक्षका प्राविधिकको अवकाश, कारखानाको बुढ्यौलीपन, कारखानाको हितको लागि आर्थिक स्रोतको प्रयोग गर्न सक्ने खुबी नराख्ने व्यवस्थापन, वित्तीय अनुशासन पालना नगर्ने व्यवस्थापकबाट कारखाना धरापमा पर्यो ।
सरकारले उक्त कारखानाबाट २०६७ फागुन १८ गतेदेखि उत्पादन बन्द गर्यो अनि सञ्चालक समितिलाई २०७० असार २० गते विगठन गरी सबै कर्मचारीलाई अवकाश दियो ।
व्यवस्था परिवर्तनले अवस्था बिगारेको उद्योग
१९५० को दशकमा तराईबाट औलो उन्मूलन भयो, खेतीयोग्य तराईमा उत्पादन ज्यादा थियो तर मानिस थिएनन् । यही कुरा बिचार गर्दै सरकारले पहाडमा बस्ने पहाडियालाई पनि मधेश झर्न प्रोत्साहित गर्न थाल्यो । सरकारले पहाडिया जनशक्तिलाई मधेश झर्न उद्योग स्थापनालाई मुख्य एजेण्डा बनायो, । यसको उदाहरणका रूपमा वीरगञ्ज चिनी मिल कारखाना, जनकपुर चुरोट कारखाना आदि थिए ।
सरकारको यो कदमले पहाडिया जनशक्ति तराई झर्न थाल्यो र कृषिमा हात बढायो । वीरगञ्ज झरेका पहाडियाले त्यहाँका रैथानेले झैँ उखु खेती थाले, जचुकाली खोलिएसँगै सिराहा सप्तरी महोत्तरीका मानिसहरूले सुर्ति उत्पादन थाले । पारिवारिक अवस्था सुध्रियो, सुर्तिले भाउ पायो, उखु कुहिन पाएन ।
२०१७ सालपछि राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरुवात गरे । राणाशासन सकिएको थियो । २००७ देखि फक्राएको प्रजातान्त्रिक नेतृत्व पनि २०१७ पछि फक्राउ सकेन । तर, पञ्चायती व्यवस्था सुरुवात भएपछि २०४७ सालसम्म नेपालको तराई क्षेत्रमा व्यापक औद्योगिकरण भयो ।
२०१९ मा राजा महेन्द्रले नवलपरासीको गैँडाकोटमा गरेको महेन्द्र राजमार्गको शिलान्यासले औद्योगिक फड्को मार्न थप सहज बनायो । तर, २०४६-४७ को बहुदलीय व्यवस्था पछि भने उद्योग फस्टाउनुको साटो दबिन थाल्यो । यसको मुख्य कारण थियो निजी कम्पनीलाई सहज बनाउने किसिमको सरकारी कार्ययोजना । पञ्चायत कालमा सरकारी उद्योगलाई प्रबर्द्धन गर्न अनेक कार्ययोजना थियो । निजी कम्पनीको उत्पादन कोटा प्रक्रियामार्फत बजारमा जान्थ्यो । सरकारी उत्पादनलाई पहिलो प्राथमिकता दिइन्थ्यो । पञ्चायतको अन्तिम वर्ष अर्थात् आर्थिक वर्ष २०४६ र ०४७ मा लेखा परीक्षण भएका संस्थानहरूबाट २४ करोड घाटा भएको तथ्यांक अघि सारेर निजीकरण प्रक्रिया थालिएको थियो। पञ्चायतकालको अन्तिम वर्षमा आइपुग्दा कुल क्षमताको ५२ प्रतिशत मात्र क्षमताका संस्थान चलेका थिए। त्यसबेला राज्यको लगानी संस्थानमा ११ अर्ब ८८ करोड थियो। राज्यको लगानी शिक्षा र स्वास्थ्यमा भन्दा सार्वजनिक संस्थानमा बढी भएको तर्क अगाडि सारेर निजीकरणको बाटो खोलिएको थियो।
पञ्चायतकाल पछि फेरिएका प्रत्येक सरकारले सरकारी र निजी कम्पनीहरूलाई अधिकार बराबरी गरिदियो । निजी कम्पनीमा राजनीति कम थियो, सरकारी उद्योगमा भने व्यवस्थापन र सञ्चालक समितिकै नाममा करोडौँ खर्च हुन्थ्यो । अझ निजीकरण भएका कम्पनीहरू भ्याट छल्ने गर्थे, जसको कारण उनीहरूको उत्पादन सस्तो देखिने गर्थ्यो । ०४७ पछि स्वतन्त्र र स्वचालित रूपमा सञ्चालन गर्न बनेका कानुनले सरकारी उद्योगलाई छाहारी दिएन । व्यवस्था फेरियो अवस्था भने झन् विकराल बन्यो । जचुकाली पनि यहि २०४७ पछाडि फेरिएको व्यवस्थाको सिकार बन्न थाल्यो ।
जनकपुर चुरोट कारखाना खुलेको बेला बयलबासदेखि मिर्चैयासम्म व्यापक रूपमा सुर्ती खेती हुने गरेको थियो । तर, विकासका नाममा निजी कम्पनीलाई सरकारले प्रोत्साहन गर्न थालेपछि बयलबासदेखि मिर्चैयासम्म व्यापक रूपमा हुने गरेको सुर्ती खेतीको दायरा नै घट्न थाल्यो । सरकारी उद्योगले नेपाली उत्पादन किन्ने गरेको थियो तर निजी उद्योग भने भारतबाट सुर्ति खरिद गर्थे । जसका कारण सुर्ति उत्पादक किसानहरूको सुर्तिले बजार पाएन । सस्तो मूल्यमा सुर्ति बेच्नुपर्ने भयो जसका कारण किसानहरूको सङ्ख्यामा नै गिरावट आयो । अर्कोतर्फ दलीय व्यवस्था आएपछि पार्टीगत नेतृत्वले जिम्मेवारी धेरै पायो । फलस्वरूप पार्टीगत नियुक्तिबाट जचुकालीमा निर्देशक खटाइन थाल्यो । पार्टीलाई चन्दा, नेतृत्वलाई घुस, कर्मचारीको हड्ताल सबैको चोट जचुकालीले खप्नुपर्यो ।
२०४७ सम्म देशलाई सबैभन्दा बढी कर तिर्ने जचुकाली भ्रष्टाचार, हड्ताल र कच्चा पदार्थ अभावको घाउ बोकेर बोकेर निरन्तर ओरालो झर्न थाल्यो बहुदल पछाडिको केही वर्ष जेनतेन जचुकालीले उत्पादित लक्ष्यको ७० देखि ८० प्रतिशतसम्म उत्पादन गर्दै थियो । त्यसपछि २०६८ सम्म आइपुग्दा नमज्जाले थलियो र बन्द गर्नुपर्ने अवस्थासम्म पुग्यो ।
“जचुकाली बहुदलले निमोठेको उद्योग हो, पञ्चायतमा प्रगति गरेको उद्योग त्यसपछि अस्ताउन थाल्यो,” अर्थशास्त्री सोहन कुमार कर्ण बताउँछन् । निजी कम्पनीलाई पोसेर सरकारी कारखानालाई डुबाउने सरकारी अभ्यासले नै जचुकाली सुकाएको उनको तर्क छ।
उनी भन्छन् “सरकारले निजी कम्पनीलाई बढी अवसर दियो । निजी उद्योग प्रोत्साहन त गर्यो सरकारी उद्योगको स्तरोन्नतिका लागि पहल भने चालेन। नयाँ उपकरण खरिद, कच्चा पदार्थ उत्पादनमा प्रोत्साहन गर्नुपर्ने सरकार आफ्नो जिम्मेवारीबाट पन्छदै गयो । फलस्वरूप जचुकाली सुकाइयो, पछि पुनः सञ्चालन गर्न सरकारले बजेट पनि पटक पटक छुट्यायो, तर कर्मचारीको तलबमा नै पैसा सकिँदा कारखाना भने जिउँ का तिउँ नै छ ।”
कारखाना भित्रका सामान दिन दिनै काम नदिने भइरहँदा कुनै निजी संस्थालाई कम्पनी हस्तान्तरण गरे हुने भन्ने लागे पनि पहिले निजिकरण गरिएका सरकारी कारखानाले कुनै उल्लेख्य प्रगति नगरेको देख्दा निजिकरण हुँदा ठूलो उपलब्धि हुन्छ जस्तो सोहनलाई लाग्दैन ।
“२०४८ मा निजीकरणको नीति लिएपछि हालसम्म ३० भन्दा बढी उद्योग तथा व्यवसायिक संस्थानलाई निजीकरण गरिसकेको छ। यसमध्ये ११ वटा संस्थान मात्रै सञ्चालनमा छन्। बाँकी १९ मध्ये ३ वटा संस्थान अस्तित्वमा नै छैनन् भने अरु सबै बन्द अवस्थामा छन्। सञ्चालनमा रहेका ११ मध्ये ५ संस्थान मात्रै नाफामा रहेको अर्थमन्त्रालयको तथ्यांक रहेको छ । बाँकी ६ वटा संस्थान भने नोक्सानमा चलिरहेका छन्। यो अवस्थामा निजिकरणको औचित्य के नै हुन्छ र ?” सोहन प्रतिप्रश्न गर्छन् ।
त्यसो त, जनकपुर चुरोट कारखाना भित्र अरबौँको संरचना त्यसै खिया लागेर बसेपनि सरकारले भने यसको पुनः सञ्चालनमा कुनै पनि पहल गरेको छैन । “जचुकाली पुनः सञ्चालनका लागि कुनै पनि पहल भएको छैन, कुनै कार्ययोजना बनाउने तयारी पनि छैन,” जनकपुर चुरोट कारखानाका निर्देशक गोविन्द कार्की बताउँछन् ।
सरकारले जनकपुर चुरोट कारखानाका लागि भनेर हाल पनि तलब तथा सेवा सुविधा तोकेरै कर्मचारी राखेको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेल आफैँ जचुकालीकी अध्यक्ष छिन् । तर, उनलाई जचुकाली सञ्चालन बारे पहल हुँदै छ वा छैन भन्ने सम्म थाहा छैन ।
उनी भन्छिन्, “जचुकालीमा म निर्देशक रहुन्जेल सञ्चालनको कुनै पहल भएको थिएन अहिले म अध्यक्ष छु, निर्देशक बेग्लै तोकिएको छ अहिले चलिरहेको प्रक्रियाबारे मलाई जानकारी छैन ।”
केही महिना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी लिएका प्रधानमन्त्रीले अहिले दिलेन्द्र प्रसाद बढुलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् । पटकपटक जजसले मन्त्रालयको नेतृत्व सम्हालेपनि बन्द उद्योगहरू सञ्चालनका लागि केही पहल गरिएको छैन । जसका कारण जचुकाली पनि कालान्तरमा एकादेशको कथा मात्र बन्ने संकेत स्पष्ट देखिन्छ ।