‘म्यादीमा आवेदन दिने युवा ढिलो चाँडो विदेश पलायन हुन्छन्’
मोरङ सुन्दर हरैँचा २ का विवस सञ्जेल (३०) ले गत चैत ८ गते ५ घण्टा लामो लाइन बसेर म्यादी प्रहरीका लागि आवेदन दिए । साउदी अरेबियामा ४ वर्ष काम गरेर फर्किएका उनलाई स्थानीय चुनावका लागि म्यादी प्रहरीको माग गरेको थाहा पाएपछि केही समय म्यादी बन्ने हुटहुटी चल्यो ।
“हातमा काम छैन, कमाइ छैन म्यादीमा भर्ती भए ३०-४० हजार भएपनि आम्दानी हुन्छ जस्तो लाग्यो अनि आवेदन दिए,” उनी सुनाउँछन् । लामो विदेश बसाइपछि फर्किएका उनले सुरुवातमा आफू सुहाउँदो जागिर खोजे, तर भेटेनन् । व्यापार गर्न उनीसँग पैसा थिएन । उनलाई अहिले हातमा काम नभएपछि कहाँ जाँऊ के गरौँ भएको छ । त्यसैले उनले म्यादी प्रहरीमा आवेदन दिए ।
म्यादीको फारम भरेर घर फर्किएपछि भने उनलाई झन् बेचैन महसुस भयो । १ महिने जागिर खाएपछि कहाँ जाने के गर्ने, छटपटी भयो । म्यादीमा आवेदन दिन जाँदा पनि उनी देशमा सम्भावना नदेखेर पुनः विदेशिने सोचमा थिए । मेनपावरको खोजी तिव्र थियो ।
“मेरो सोच त विदेशिने नै हो, केही समय अल्झिन पाइन्छ कि भनेर म्यादी फारम भरेको थिएँ तर विदेशिन ढिला हुने हो कि भनेर छनोट प्रक्रियामा भने गइन,” उनी सुनाउँछन् । अहिले म्यादी छनोट प्रक्रिया धमाधम चलिरहँदा विवस भने विदेश जाने मेनपावरको खोजीमै छन् ।
उनी भन्छन् “राम्रो कम्पनी भेटिए ७ देखि १० दिन भित्रै उड्न पाएपनि उड्छु, म्यादीको जागिर खान थाल्दा एक महिना बित्छ, आवेदन दिनेहरू दोब्बरभन्दा धेरै छन् । छनोट हुने हो वा नहुने हो टुंगो छैन, त्यसैले छनोटका लागि म गइन ।”
विवस झैँ धरान पाख्रिबासका सूर्य कुमार खपाङ्गीले पनि म्यादी प्रहरीका लागि आवेदन दिएका थिए । रोजगारीको खोजीमा क्रोएसिया जाने तयारी गरिरहेका उनलाई केही समय भएपनि रोजगारी पाइन्छ भनेर उनले दरखास्त दिएका हुन् ।
“विदेशको प्रक्रिया पूरा गर्न २ देखि ३ महिना लाग्ने भनेको छ, त्यो समयको सदुपयोग गर्नकै लागि मैले म्यादीमा दरखास्त दिएको हुँ,” सूर्य बताउँछन् । म्यादी प्रहरीका लागि दरखास्त दिएर छनोटका परीक्षा पनि दिइसकेका उनलाई म्यादीमा सोर्स फोर्स लाग्ने कारणले आफू छनोट हुन्न कि जस्तो लाग्छ ।
उनी भन्छन् “तीन गुणा बढी आवेदन परेको छ, त्यसमाथि राजनीति हुन्छ, मलाई म छनोट हुन्छु जस्तो पनि लाग्दैन ।” देशमा रोजगारीका अवसरहरू खोज्दा खोज्दै नपाएपछि उनलाई देशमा बस्न मन लागेन र क्रोएसियाका जानका लागि प्रक्रिया पूरा गर्न थाले ।
“ म्यादीमा दिनगन्ती रोजगारी त पाउन गार्हो छ, देशमा ठूलो आश के पो गर्नु हामीजस्ता धेरै युवाको अन्तिम लक्ष्य विदेश नै हुन्छ,” सूर्य गुनासो पोख्छन् ।
म्यादी प्रहरीका लागि परेका आवेदनको छनोट धमाधम भइरहेको छ । सरकारले ४० दिनका लागि १ लाख जना म्यादी प्रहरी आवेदन माग गरेकोमा २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । जसमध्ये २ लाख २३ हजार ६ सय ३२ पुरुष, ६९ हजार ६ सय ८० महिला र २ जना यौनिक तथा लैंगिक अल्पसङ्ख्यकले म्यादी प्रहरी बन्न आवेदन दिएका हुन् । आवेदकको संख्या मागभन्दा झण्डै तीन गुणाले बढी हो ।
“म्यादीमा तीन गुणा बढी आवेदन पर्नुले देश ठूलो बौद्धिक पलायनको सङ्कटमा होमिन लागेको देखिन्छ,” आप्रवासनविद् गणेश गुरुङ बताउँछन् । कोभिड महामारीका कारणले अथवा कुनै प्रक्रिया पूरा गर्न नसकेर विदेश जान नपाएका ८० प्रतिशत बढी युवा सीमित समयका लागि म्यादीमा भर्ना हुन आएको उनको तर्क छ ।
उनी भन्छन् “ढिलो चाँडो म्यादीमा दरखास्त दिएका मध्ये ८० प्रतिशत युवा विदेश पलायन हुन्छन, यो जनशक्ति देशमा रोक्न नसके ठूलो संकट देखिने पक्का पक्की छ ।”
म्यादीमा आवेदन दिएका ३० वर्ष भन्दा तलका युवाहरू उत्पादनमूलक क्षेत्रमा नलागेको र रोजगारीका लागि भोकाएका जनशक्ति हुन् । यो जमातलाई व्यवस्थापन गर्न नसके देश ठूलो समस्या जान सक्ने उनको आँकलन छ ।
“अवसर नपाएका युवा जमातको आक्रोशलाई पहिले आन्दोलनमा प्रयोग गरियो, अहिले पनि ठूलो सङ्ख्यामा युवा जनशक्तिलाई सरकारले अवसर दिन सकेको छैन, भविष्यमा यही जनशक्ति व्यवस्था विरोधी आन्दोलनमा नउत्रिएला भन्न सकिन्न,” गणेश भन्छन् ।
वैदेशिक रोजगार विभागले दिएको तत्थ्यांक अनुसार फागुन महिनामा नयाँ र पुनः श्रम स्वीकृति गरी ५३ हजार ४३७ जना रोजगारीमा गएको देखिन्छ । जसमध्ये नयाँ श्रम स्वीकृति लिएर २७ हजार ५२० वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै, पुनः श्रम स्वीकृति लिएर जानको संख्या २५ हजार ९३७ जना छन् । यसअघि माघ महिनामा ३२ हजार ३५७ जानले नयाँ श्रम स्वीकृति लिएका थिए भने २२ हजार ११३ जनाले पुन श्रमः स्वीकृति लिएका थिए । सो महिना नयाँ र पुनः श्रम स्वीकृति गरी ५४ हजार ४७० जना विदेशिएको विभागले उल्लेख गरेको छ ।
यसरी श्रम स्वीकृति लिएर विदेशिने युवाहरूको संख्या अझ बढ्ने गणेश तर्क गर्छन् । उनी भन्छन् “कोभिड पछि भर्खरै श्रम बजार खुल्दै छ, यो म्यादीमा युवाको मोह हेर्दा विदेशिने युवाहरू आगामी ६-८ महिना भित्र गुणात्मक हिसाबले बढ्न सक्छन् ।” म्यादी प्रहरीका लागि आवेदन दिनेमा ७४ प्रतिशतभन्दा बढी १८ देखि ३० वर्ष उमेर समूहका छन् । २ लाख १७ हजार आवेदक यो उमेर समुहको रहेको प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौले जनाएको छ ।
“माग भन्दा ३ गुणा बढी आवेदन परेको छ, प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा र अन्तरवार्ता मार्फत छनोट प्रक्रिया अगाडि बढाइने छ,” नेपाल प्रहरीका केन्द्रिय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी भन्छन् ।
छनोट प्रक्रिया सुरुवात भइसकेको र भोलिसम्म अन्तिम नामावली सार्वजनिक गरिने उनले बताए । नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।
यसअघि भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने विज्ञापनमा उल्लेख थियो । म्यादी प्रहरी हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ।यसपटक म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०,
पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।