यसरी बनाउन सकिन्छ विदेशबाटै ई-पासपोर्ट
सिन्धुली रानीबासका छबिया अधिकारीले सन् २०१२ डिसेम्बरमा बनाएको पासपोर्टको म्याद २०२२ डिसेम्बरमा सकिने भएपछि पासपोर्ट नवीकरण लिनुपर्ने भयो ।सरकारले ई-पासपोर्ट जारी नगर्दा सम्म वैदेशिक रोजगारीमा रहेका कति नेपाली पासपोर्ट नवीकरणकै लागि भनेर पनि नेपाल आउने गरेका छन् । सरकारले ई-पासपोर्ट लिन अनिवार्य गरेपछि साउदीमा रहेका छवियालाई पनि पासपोर्ट कसरी लिने ? पासपोर्ट नवीकरण गर्न झन्झटिलो हुने हो कि ? भन्ने जस्ता चिन्ता बढेको थियो, तर सोचेभन्दा सहज तरिकाले पासपोर्ट नवीकरण गर्न पाएको अनुभव उनी सुनाउँछन् ।
“अनलाइन फारम भर्न त दुःख नै नहुने रहेछ, मसँग सबै कागजात थियो फारम भर्न १० मिनेट पनि लागेन,” छबिया सुनाउँछन् ।
पहिले अनलाइन प्रक्रिया थिएन नेपाली कामदारहरूले कामबाट छुट्टी लिएर पटक पटक दुतावास धाउनुपर्थ्यो । कति त त्यसकै कारण पनि नेपाल आउने गर्थे ।. अहिले भने फारम भरेपछि मात्र एकपटक दुतावास गएपछि नयाँ पासपोर्ट पाउने उनी बताउँछन् । “सरकारले वैदेशिक रोजगारीमा रहेका कामदारहरूले भोग्नुपर्ने ठूलो झन्झटको समाधान गरिदियो,” उनी भन्छन् ।
गत पौष १७ गतेबाट वितरण गर्न सुरुवात गरेको ई-पासपोर्ट काठमाडौँसँगै देशका ३५ भन्दा बढी जिल्लाबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेकोमा अहिले सरकारले प्रारम्भिक चरणका लागि विदेशमा रहेका नेपालका दूतावास मार्फत राहदानीको लागि प्रक्रिया गर्न मिल्ने व्यवस्था गरेको हो । बहाल अवधि समाप्त भएका वा ६ महिना भन्दा कम अवधि रहेकाहरूलाई प्रिइनरोलमेन्ट गरी लाइभ इनरोलमेन्टका लागि आउन अनुरोध पनि गरेको छ ।
विदेशस्थित दूतावास वा नियोगको कार्यालयमा तोकिएको समयमा ‘लाइभ इनरोलमेन्टमा स्वयम् उपस्थित भएर विद्युतीय हस्ताक्षर, फोटो तथा औँठाछाप उपलब्ध गराउनु पर्नेछ । अनलाइनबाटै आवेदनको प्रक्रिया सकिएपछि नेपालबाट छपाइ गरी सम्बन्धित मुलुकमै राहदानी पठाइने राहदानी विभागले जनाएको छ । सरकारले अनलाइन रूपमा यो सेवा सञ्चालन गरेपछि विदेशमा रहेका नेपालीहरूले पासपोर्ट नवीकरण गर्न भोग्नुपर्ने झन्झट र समस्या कम भएको छ ।
गत माघ २३ गते कतारको दोहाबाट ई-पासपोर्ट बनाउने प्रकृयाको सुरुवात गरिएकोमा अहिले नेपालीको सङ्ख्या धेरै भएका मुलुकहरू मलेसिया, साउदी अरब, ओमान र कुवेतबाट पनि ई-पासपोर्टको आवेदन दिन सकिने व्यवस्था सरकारले गरेको छ । पहिलो चरणमा सीमित देशहरूमा मात्र यो व्यवस्था रहेकोमा क्रमिकरूपमा नेपालीहरू रहेका सबै देशमा सेवा विस्तार गर्ने योजना रहेको राहदानी विभागले जनाएको छ ।
यसरी विदेशबाट नै ई-पासपोर्टका लागि आवेदन दिनुपरेमा आवेदकले सुरुवातमा प्रि इनरोलमेन्टका लागि https://emrtds.nepalpassport.gov.np मा जानुपर्ने हुन्छ । यसरी लिङ्कमा गइसकेपछि नवीकरणका लागि ‘renewal’ मा जानुपर्ने हुन्छ । यो प्रक्रिया सकेपछि आवेदकले त्यहाँ रहेको ‘Ordinary 34 pages’ भन्ने ठाँउमा थिचेर त्यहाँ आफ्ना विवरणहरू पेस गर्नुपर्छ ।
यसरी ई-पासपोर्ट बनाउँदा आवेदकले हालको राहदानीको प्रथम पृष्ठ, नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइज फोटो र व्यक्तिगत विवरणहरू अपलोड गरि पेज नम्बर ३१ मा गएर त्यहाँ छुट्टा छुट्टै अपलोड गर्नुपर्छ । यसरी अपलोड गरिएका कागजातहरू .jpeg फर्म्याटमा हुनुपर्ने हुन्छ ।
आवेदकले कागजातहरू अपलोड गरिसकेपछि ‘Book Your Appointment’ भन्ने अप्सनमा प्रवेश गरेपछि ‘other’ भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यो काम सकेपछि आवेदकले पासपोर्ट बनाउने मुलुकको दूतावास रहेको शहरको नाम छान्नुपर्ने हुन्छ । त्यसपछि अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध हुने समय बुकिङ गर्नु पर्दछ । यो प्रक्रिया सकेपछि अन्तिममा Submit मा क्लिक गरेपछि आफूलाई प्राप्त हुने बारकोड सहितको फारम डाउनलोड गरी प्रिन्ट गर्नुपर्दछ । राजदूतावासमा आवेदनका लागि जाँदा सो फारम लिएर जानु पर्दछ । आफू राजदूतावासमा जाँदा आफ्नो महानगरपालिका, नगरपालिका वा गाउँपालिकाको नाम र वडा नम्बर तथा बाबु, आमा र विवाहितहरूले श्रीमान् वा श्रीमतीको नाम र र सम्पर्क नम्बर पनि लिएर जानु पर्दछ ।
विदेशबाट ई-पासपोर्ट बनाउने थप सूचनाका लागि राहादानी विभागको https://emrtds.nepalpassport.gov.np मा पाउन सकिने छ ।