कृषि गणनाका लागि ६ हजार बढी कर्मचारी करारमा लिँदै तथ्यांक विभाग
केन्द्रीय तथ्यांक विभागले दुई महिनाको लागि गणक र सुपरीवेक्षक पदमा गरि ६ हजार ३ सय ३ जना कर्मचारीको आवेदन माग गरेको छ । जसमा ५ हजार २३ जना गणक र १ हजार २ सय ८० जना सुपरीवेक्षकको माग गरिएको हो । आगामी चैत्र ७ गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस्, सूचना :
हरेक दस वर्षमा हुने नेपालको राष्ट्रिय गणना अन्तर्गतको कृषि गणना कार्यक्रमको लागि कर्मचारी आवश्यक भएको हुँदा आवेदन माग गरिएको केन्द्रीय तथ्यांक विभागका निर्देशक बद्रीकुमार कार्कीले बताए। “वि.सं. २०१८ देखि हरेक दस वर्षमा हुँदै आएको राष्ट्रिय कृषि गणना २०७८ सालमा सातौँ पटक हो । जनगणना भएको ६ महिनापछि गरिने कृषि गणनामा साढे ३ लाख कृषक परिवारको तथ्यांक संकलन गरिन्छ,” निर्देशक बद्रीकुमारले जानकारी दिए । कृषि गणनामा जग्गाको क्षेत्रफल र उत्पादन, कित्ता संख्या, जग्गाको उपभोग एवं उपयोग, सिँचाइको अवस्था, मलखाद तथा बीउबिजनको प्रयोग, पशुपन्छीको संख्या आदिलाई समेटिने छ । कृषक परिवारले चलन गरेको जग्गाको उपयोग तथा बाली लागेको जग्गाको क्षेत्रफल र उत्पादन, उमेर र जात अनुसार विभिन्न पशुपन्छीहरूको सङ्ख्यालाई पनि अहिलेको तथ्यांकमा समेटीने छ भने कृषि क्रियाकलाप सम्बन्धी विवरण, कृषि औजार तथा कृषिका साधनहरूको प्रयोग, कृषि ऋण, बिमा, खाद्यान्नको पर्याप्तता र कृषि बजार सुविधा, कृषिमा वातावरणीय प्रभाव सम्बन्धी विवरणलाई अहिलेको तथ्यांकले समेट्ने छ । कृषि गणनामा पहिलोपटक महिलाको नाममा जग्गा, कृषिमा प्रयोग भएको विषादीको प्रकार, च्याउ खेती, पुष्पखेती, माछा तथा मौरीपालनको तथ्यांक पनि समावेश गरिने बद्रीकुमारले बताए । उनले भने, “यसरी तथ्याङ्क संकलन गरे वास्तविक रुपमा नेपालको कृषिको सत्य तथ्य विवरण आउने हुँदा कृषि सम्बन्धी योजना तथा कार्यक्रम बनाउन सम्बन्धित निकायलाई सहज हुने छ ।”
प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाले गणक र स्नातक तह वा सो सरह उत्तीर्ण गरेकाले सुपरीवेक्षक पदमा आवेदन दिन सक्ने छन् । केन्द्रीय तत्थ्याङ्क विभागको वेबसाइट www.cbs.gov.np वा agricensus.cbs.gov.np मा गएर आवेदन दिन सकिनेछ । यसका अलावा केन्द्रीय तथ्यांक विभागको कार्यालय वा सम्बन्धित प्रदेश तथा जिल्ला कृषि गणना कार्यलयमा गएर पनि निःशुल्क फारम भरि दरखास्त दिन सकिनेछ ।
अनलाइन मार्फत दरखास्त दिन चाहनेले हालसालै खिचेको पासपोर्ट साईजकाे फाेटाेकाे स्क्यान/ डिजिटल कपी, नेपाली नागरिकताको प्रमाण पत्रका स्क्यान/डिजिटल कपी (दुबै साईड), न्यूनतम शैक्षिक याेग्यताकाे प्रमाणपत्र (Transcript) काे स्क्यान/डिजिटल कपी, तथ्यांक संकलनकाे अनुभव भएको कुरा उल्लेख गर्न चाहेमा साे कुरा पुष्टि हुने कागजातकाे स्क्यान/डिजिटल कपी समेत अपलोड गर्नुपर्नेछ। दरखास्तसाथ अपलोड गर्नुपर्ने कागजातको स्क्यान/डिजिटल कपी बढीमा ५१२ केबी (512 KB) सम्म र १०२४ पिक्सेल (1024px) सम्म हुनुपर्नेछ । नयाँ फाराम सुरु गरेको ७ (सात) दिनसम्म आवश्यक जानकारी फेरबदल गरी अन्तिममा पेश गरी सब्मिसन् नम्बर (Submission Number) प्राप्त गर्न सक्नेछ। यसका लागि फारामकाे तल पट्टी रहेकाे “सेभ गर्नुहाेस्” बटनमा थिच्नुपर्नेछ र सम्पादन गर्नका लागि दिइएको प्रक्रियाको पालना गरी जानकारी सम्पादन गर्न सकिनेछ। तर, उम्मेदवारले एकपटक फाराममा अनिवार्य रहेका विवरण भरी पेश गरी सब्मिसन् नम्बर (Submission Number) लिईसकेकाेमा त्यस्तो फाराम सम्पादन गरी पुनः पेश गर्न नसकिने विभागले बताएको छ ।
प्राप्त भएका दरखास्तहरू अध्ययन गरि अनुभव तथा शैक्षिक योग्यताका आधारमा विभागले छोटो सूची तयार गरेर सम्बन्धित प्रदेश तथा जिल्ला कृषि गणना कार्यलय मार्फत अन्तर्वार्ताको लागि बोलाइनेछ । विभागले कर्मचारी छनोट गर्दा कृषि वा पशुविज्ञान वा तथ्यांक विषय लिइ अध्ययन गरेको राष्ट्रिय स्तरको गणना तथा सर्वेक्षणमा कार्य अनुभव भएको सम्बन्धित स्थानीय निकायमा बसोबास भएको र स्थानीय भाषाको ज्ञान भएकालाई विशेष प्राथमिकता दिइने विभागले बताएको छ । छनोटमा परेका सुपरीवेक्षकले मासिक ३० हजार २ सय र गणकले मासिक २८ हजार ६ सय १० रुपैयाँ तलब सुविधा पाउने छन् । कर्मचारीका लागि सहज हुने स्थानमा बसेर काम गर्न पाउने सुविधा पनि भएको विभागले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।