आवेदन माग : वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेकालाई सरकारको डेढ लाख रुपैयाँसम्मको पुरस्कार

जीविको २०७८ माघ २२ गते १२:३०

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नका लागि आवेदन खुलाएको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।

आवेदन फाराम मन्त्रालयको वेबसाइट www.moless.gov.np बाट डाउनलोड गर्न सकिने छ । फारम सिधै मन्त्रालयको समन्वय तथा सूचना शाखामा वा स्क्यान गरी मन्त्रालयको इमेल [email protected] मा पठाउन सकिने छ । आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आ.व. २०७७-७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्नेछ । आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ ।

हेर्नुहोस् सूचना

विदेशमा कम्तीमा एक वर्ष काम गरेर फर्किएको र व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको व्यक्तिले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त गरेकाहरू मात्र छनोटका लागि योग्य हुने छन् । प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा छनोट गरिने छ ।

छनोटका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा छ सदस्यीय सिफारिस समितिको गठन गरिएको छ । सातै प्रदेशबाट न्यूनतम एक जना नछुट्ने गरी उद्यमी छनोट गरिनेछ । आवेदकमध्ये एक जनाले एक लाख ५० हजारको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन् ।

सरकारले यसअघि पनि यस किसिमका कार्यक्रमहरू गर्दै आइरहेको छ तर वैदेशिक रोजगारीबाट फर्किएका हजारौँ युवाहरू स्वदेशमा रोजगार नपाएर पुनः वैदेशिक रोजगारीमा नै फर्कने गरेका छन् । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार गतवर्ष कोरोनाका कारण रोजगारी गुमाएर ५ लाख ९० हजार ३ सय ४५ जना नेपाली स्वदेश फर्किएका थिए तर सरकारले उनीहरूको उचित व्यवस्थापनका लागि भने प्रभावकारी काम गर्न सकेन ।

कोभिडकै कारण रोजगारी गुमाएर फर्किए पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने बढ्दो छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्र वैदेशिक रोजगारीमा २ लाख १० हजारभन्दा धेरै नेपालीहरू गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । सन् २०२१ को ११ महिनामा मात्र ६५ हजार ६६३ जना नेपाली भिजिट भिसामा यूएई गएका थिए ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार मन्त्रालयले निकालेको सूचना सबै क्षेत्रमा पुर्‍याउनका लागि सञ्चार माध्यमको सहयोग लिइएको छ । उनी भन्छन्, “हामीले सबैलाई समानरूपमा हेर्ने हो, यसमा कुनै भेदभाव हुने छैन । जसले संस्था दर्ता गरेर व्यवसाय गरिरहेका छन् र तोकिए बमोजिम सम्पूर्ण विवरणहरू पेश गरेका छन् भने उनीहरूले पुरस्कारको लागि दाबी गर्न सक्नेछन् । कार्यक्रमलाई पूर्ण रुपमा निष्पक्ष बनाउन मन्त्रालय प्रतिबद्ध छ। ”

सम्पूर्ण आवेदनलाई गहन रुपमा अध्ययन गरेर समितिले निर्णय लिने प्रवक्ता डण्डुराज बताउँछन् । “यो नमुना कार्यक्रम हो यसले गर्दा वैदेशिक रोजगारीमा काम गरेर फर्किएकालाई हौसला मिलोस् र उत्प्रेरणा जागोस्, भन्ने उद्देश्य छ ।,” उनी भन्छन् “यस किसिमको कार्यक्रमले युवा स्वरोजगारीलाई प्रोत्साहन गर्छ भन्ने हामीले आशा राखेका छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *