अवसर: ६० जना महिलालाई नि:शुल्क ट्रेकिङ गाइड तालिम
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले ६० जना महिलालाई नि:शुल्क ट्रेकिङ गाइड तालिम दिँदै छ । कम्तिमा +२ उत्तीर्ण गरेका वा एसएलसी (एसईई) उत्तीर्ण गरी कम्तिमा २ वर्षको ट्रेकिङ कम्पनीमा काम गरेको अनुभव भएकाले आवेदन दिन सक्ने प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानका अनुसार यस तालिम फागुन/चैत्र महिनाको दिवा समूहमा पर्वतीय प्रशिक्षण केन्द्र, (पर्यटन कार्यालय) गार्मा, सोलुखुम्बुमा सञ्चालन हुने छ ।
सोलुखुम्बुमा रहेका महिलालाई केन्द्रित गरेर तालिम आयोजना गरेको भएता पनि देशैभरीका योग्यता पुगेका महिलाले आवेदन दिनसक्ने प्रतिष्ठानले जनाएको छ । सैद्धान्तिक र प्रयोगात्मक विधिबाट दिइने तालिम अवधि १५ दिनको रहेको र सो अवधीमा बस्ने, खाने र यातायातको व्यवस्था प्रशिक्षार्थी आफैँले व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रतिष्ठानका इन्जिनियर भक्त जोशीका अनुसार खान र बस्नका लागि तालिम सञ्चालन हुने स्थान गार्मामा रहेका होटल वा स्थानीयको घरमा पनि बस्न सकिने व्यवस्था रहेको छ । होटलमा खानाको प्रति छाक २२० रुपैयाँ र बस्नका लागि दैनिक ७०० रुपैयाँ रहेको छ भने स्थानीय बासिन्दाको घरमा बस्दा सहुलियत दरमा बस्न सकिने उनले बताए ।
फाल्गुन २० गतेसम्म आवेदन दिन सकिने र छनोट भएका आवेदकलाई २४ गतेबाट नै तालिम दिन सुरु गर्ने प्रतिष्ठानको कार्यतालिका रहेको छ । आवेदन फारम पाउने र बुझाउने स्थान भने पर्वतीय प्रशिक्षण केन्द्र, (पर्यटन कार्यालय) गार्मा, सोलुखुम्बु तोकिएको छ ।
काठमाडौंमा निशुल्क ट्रेकिङ गाइडको तालिम दिँदै आइरहेको प्रतिष्ठानले विगत ३ वर्षयता गार्मा, सोलुखुम्बुमा पनि तालिम दिइरहेको इन्जिनियर भक्तले बताए । भक्त भन्छन्, “काठमाडौंमा मात्र तालिम दिँदा महिला सहभागिता अत्यन्तै न्यून रह्यो त्यसकारण ट्रेकिङको लागि उपयुक्त स्थान सोलुखुम्बुमा नै तालिम चलाउन सुरु गरेका हौं । विशेषगरी यस क्षेत्रमा रहेका महिलालाई ट्रेकिङ गाइडमा संलग्न गराउन सकेमा उनीहरूको आयआर्जनमा महत्वपूर्ण सहयोग हुन्छ भन्ने हाम्रो सोंच हो ।”
नेपालमा ट्रेकिङ गाइडले प्रति दिन ४ हजार रुपैयाँ औसतमा कमाउने र ट्रेकिङ मौसममा सामान्यतया वार्षिक ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । यसका अलवा उनीहरूको कडा परिश्रमलाई सम्मान गर्दै ट्रेकिङमा जानेहरुले अतिरिक्त टिप पनि दिने हुँदा यस पेशामा लाग्नेहरुले नेपालमा स्तरिय कमाइ गर्ने गरेका छन् ।
देशमा १८ हजार हाराहारीमा लाइसेन्स प्राप्त गाइडहरू रहेकोमा करिव ९०० जना महिलाले ट्रेकिङ गाइडको लाइसेन्स प्राप्त गरेका छन् । पछिल्लो समयमा यो पेशामा महिलाको संख्या बढिरहेको प्रतिष्ठानको भनाइ रहेको छ ।