एकीकृत कृषि प्रणाली पर्यटन विकासको आधार बन्न सक्छ : डा. धुर्ब भट्टराई, वरिष्ठ कृषि वैज्ञानिक
सरकारी तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्याको ६० प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा निर्भर छन् । देशको ठूलो जनसंख्या कृषिमा आधारित हुँदा पनि नेपाली कृषि अर्थतन्त्र भने निर्वाहमुखी मात्र बनिरहेको छ । यस्तो अवस्थामा परम्परागत रुपमा गरिने एकीकृत कृषि प्रणालीलाई कसरी व्यवसायिक बनाएर आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने विषयमा नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ कृषि वैज्ञानिक धुर्ब भट्टराईसँगको जीविको संवाद :
एकीकृत कृषि भनेको के हो ?
एकीकृत कृषि कुनै नयाँ खेती प्रणाली होइन, हाम्रै पिता पुर्खाले वर्षौँदेखि गर्दै आएको खेती प्रणाली हो । एक बालीको उत्पादनमा अर्को बालीको अन्तरसम्बन्ध हुन्छ । जस्तै गाउँघरमा खेती गर्दा खाद्यान्न तथा तरकारी उत्पादन गर्न मल आवश्यकता पर्ने हुँदा त्यसको लागि पशुपालन गरिरहेका हुन्छौ, जसको कारणले खेती पनि राम्रो हुने र एउटै ठाँउबाट दुई वा दुईभन्दा बढी उत्पादनबाट आम्दानी लिन सकिने हुन्छ । एक तीर दुई निसान भन्ने उखान एकीकृत कृषिमा ठ्याक्कै मिल्छ । एकीकृत कृषि गर्दा एक बस्तुले तपाईंलाई अनेक फाइदा दिन्छ । कुनै कुरा फाल्न पर्दैन सबैमा पैसा । यस किसिमको खेती प्रणालीमा एउटा उत्पादन अर्को उत्पादनसँग निर्भर हुन्छ र एकले अर्को बस्तुको उत्पादनमा सहयोग गरिरहेको हुन्छ । त्यसैले यसरी एकीकृत प्रणालीबाट खेती गर्दा विभिन्न उत्पादनबाट मनग्य आम्दानी गर्न सकिन्छ ।
एकीकृत कृषिलाई कसरी प्रमुख आम्दानीको स्रोत बनाउन सकिन्छ ?
एकीकृत कृषि गर्न चाहने किसानले वातावरण पर्यटन र कृषि पर्यटनलाई सँगसँगै लिएर जानुपर्छ । मुख्यतया ठूलो उत्पादन हासिल गर्ने सोच राख्ने किसानहरूले एकीकृत कृषि गर्ने होइन । एकीकृत कृषिलाई अर्गानिक खेती बनाउन सकेको खण्डमा मात्र यसबाट मनग्य आम्दानी लिन सकिन्छ । जब हामीले गरेको खेती अर्गानिक हुन्छ तब हामीले पर्यटकलाई तान्न सक्छौँ । वातावरण पर्यटन र कृषि पर्यटनलाई प्रवर्द्धन गर्ने सोचले एकीकृत कृषि गर्दा तुलनात्मक फाइदा हुन्छ । खेतीको माध्यमबाट पर्यटकलाई आफ्नो फार्मसम्म तानेर उनीहरूबाट हामीले फाइदा लिन सक्छौँ । एकीकृत कृषिबाट प्रणालीबाट उत्पादित उत्पादनलाई विषादीरहित अर्गानिक बनाउन सके उत्पादनलाई राम्रो मूल्यमा बेच्न सकिन्छ ।
नेपालमा एकीकृत कृषि प्रणालीको सम्भावना कत्तिको छ ?
नेपाल प्राकृतिक विविधताले भरिएको देश भएका कारण पनि नेपालमा यस किसिमको कृषि प्रणालीको सम्भावना प्रशस्त छ । नेपालको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक परम्परालाई हेर्न हजारौँ आन्तरिक तथा वाह्य पर्यटकहरू आउने गर्छन् । उनीहरूलाई एउटै ठाँउमा सबै प्रकारका सुविधाहरू दिन सकियो भने पर्यटकलाई अर्गानिक स्वाद चाख्न धेरै ठाँउ गइराख्न नपर्ने र व्यसायीले पनि ग्राहक खोज्न भौँतारिरहन नपर्ने हुन्छ । यस किसिमको कृषि प्रणालीलाई अधिकांश पर्यटक जाने ठाँउ आसपास गर्दा फाइदामूलक र आम्दानीमूलक बनाउन सकिन्छ । विशेषत नेपालको पहाडी क्षेत्रमा यस किसिमको कृषि प्रणाली फलदायी हुन्छ । पहाडी क्षेत्रका बजार क्षेत्र आसपास एकीकृत कृषि प्रणाली मार्फत फार्म संचालन गर्न सकेको खण्डमा त्यहाँ पर्यटकको पहुँच पनि सहज तरिकाले पुग्छ र उत्पादीत सामाग्री एकीकृत फार्मसम्म पुग्ने पर्यटकलाई नै बेच्न सकिन्छ ।
एकीकृत कृषि प्रणालीका फाइदाहरु के के छन् ?
एकीकृत कृषि प्रणाली गर्दा सीमित ठाँउमा धेरै किसिमका उत्पादन गर्न सकिन्छ । एकीकृत कृषि प्रणाली मार्फत खेती गर्दा एक बालीलाई चाहिने आवश्यक बस्तु अर्को उत्पादनबाट पूरा गर्न सकिने हुँदा उत्पादित स्रोत साधनको सदुपयोग हुन्छ । पशुपालनबाट उत्पादन हुने मलजल बारीमा उत्पादित खाद्य तथा तरकारीमा प्रयोग गर्न सकिन्छ । बोट बिरुवाबाट उत्पादित रसबाट सोही ठाउँमा मौरीपालन पनि सम्भव हुन्छ । यसरी एक बस्तुको उत्पादनबाट अरु पनि अनेक कृषि उपज उत्पादन गर्न सक्ने हुँदा राम्रो आम्दानी लिन सकिन्छ ।
एकीकृत कृषिका वेफाइदाहरु चाहिँ के छन् ?
एकीकृत कृषि प्रणालीमा एउटै बस्तु ठूलो परिमाणमा उत्पादन गर्न सम्भव हुँदैन । यस प्रणालीबाट खेती गर्दा उत्पादन पनि कमी हुन्छ । त्यस्तै एकीकृत कृषि अर्गानिक हुनुपर्ने भएकाले यसको उत्पादन थोरै हुन्छ तर समय भने धेरै लाग्ने हुन्छ । एकीकृत कृषि बजार र पर्यटकीय पहुँच पुग्ने क्षेत्र आसपास मात्र सीमित हुनुपर्ने हुन्छ । त्यस्तै एकीकृत कृषी फार्मबाट उत्पादीत कृषि उपजलाई जहाँ उत्पादन भयो त्यहीँ खपत गर्न सक्नुपर्छ, बाहिरी बजारमा ल्याउँदा विषादी प्रयोग गरेर ठूलो परिमाणमा उत्पादन गरेका बस्तुसँग तुलना हुने भएकाले उचित मूल्य पाउन सकिदैन ।
एकीकृत कृषि प्रणालीबाट खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु के-के छन् ?
एकीकृत कृषि गर्दा विशेषगरी ध्यान दिनुपर्ने कुरा भनेको व्यवसाय गर्ने ठाँउको छनोट हो । स्थान छनोट गर्दा उक्त ठाँउ पर्यटकीय क्षेत्र हो की होइन त्यहाँ आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल कति हुन्छ भन्ने ध्यान दिनुपर्छ । एकीकृत कृषि गर्दा परम्परागत स्वाद र गुणस्तरलाई छाड्न हुँदैन । आफूले उत्पादन गर्न खोजेको बस्तुहरु एकआपसमा तालमेल मिल्ने किसिमको हुनुपर्दछ । जसको कारण एक उत्पादनले अर्को उत्पादनलाई पनि सकरात्मक प्रभाव पार्न सकोस् ।
एकीकृत कृषिलाई प्रवर्द्धन गर्न सरकारको भूमिका के हुनुपर्छ ?
एकीकृत कृषि प्रणालीलाई पर्यटनसँग जोड्नुपर्ने अहिलेको आवश्यकता भएकाले पर्यटकीय क्षेत्रहरूको विकासलाई सरकारले जोड दिनुपर्ने हुन्छ । जसको लागि विशेष कृषि पकेट क्षेत्रको घोषणा गरेर त्यहाँ विकासका पूर्वाधारहरू पुर्याउने जिम्मा सरकारले लिनुपर्छ । त्यस्तै एकीकृत कृषिको सम्भावना बोकेका ठाँउहरूमा स्थानीय तहले विशेष अनुदान दिने, कृषि जोनहरु छुट्याउने जस्ता क्रियाकलाप गर्नुपर्ने देखिन्छ । कृषकले उत्पादन गरेका सामानहरूको बजारीकरण गर्न र ग्रामीण कृषि पर्यटनलाई बजारीकरण गर्न सरकारले विशेष कार्यक्रमहरू ल्याउन सके हामीले कालान्तरबाट गर्दै आएको एकीकृत कृषि प्रणालीलाई आम्दानीको स्रोत बनाउन सकिन्छ ।