बोर्डका काम सुचारु छन्, भौतिक उपस्थितिमा मात्र रोक हो : वैदेशिक रोजगार बोर्ड
कोभिडको संक्रमण बढ्दै गइरहेको र बोर्ड सचिवालयमा कार्यरत कर्मचारीहरुमा पनि संक्रमण देखिएको कारण देखाउदै वैदेशिक रोजगार बोर्ड सचिवालयले माघ ९ गतेबाट मृतक कामदारको शव ढुवानी बाहेक बोर्डबाट प्रदान गरिदै आइरहेको अन्य सेवाहरु अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगन गरेको सूचना जारी गरेको छ ।
बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले भने वैदेशिक रोजगार बोर्डले सेवाग्राहीको भौतिक उपस्थितिमा मात्र रोक लगाएको तर बोर्डबाट प्रदान गरिँदै आएको सेवाहरु सुचारू अवस्थामै रहेको बताएका छन् ।
आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन हेर्दा विभिन्न शीर्षकमा ५ हजार जना भन्दा बढीले वैदेशिक रोजगार बोर्डबाट सहयोग प्राप्त गरेको देखिन्छ । प्रतिवेदनमा सहयोग लिनेहरुमा सबैभन्दा धेरै १ हजार २ सय ४३ जनाले मृतक कामदारका परिवारलाई आर्थिक सहायता भनेर ७३ करोड ७७ लाख १५ हजार रुपैया सहयोग गरेको भनेर उल्लेख गरिएको छ । त्यस्तै मृतकको शव घर ठेगानासम्म पुर्याएको संख्या ७ सय ७० र ४ सय १३ जना अलपत्र कामदारको उद्धार गर्न २ करोड ६६ लाख ७२ हजार ८ सय खर्च भएको देखिन्छ ।
श्रम कल सेन्टरका अनुसार औसतमा दैनिक १५० जनाले सहयोगका लागि फोन गर्ने गर्दछन् । धेरैजसो सेवाहरु लिनका लागि पालिकास्तरबाट नै प्रकृया अगाडि बढाउन सकिने भएकाले यो निर्णयले सेवाग्राहीलाई असर नपर्ने निर्देशक राजनको तर्क रहेको छ । पालिकाबाट सहयोग लिन असमर्थ भएको अवस्थामा कल सेन्टरबाट सहजीकरण गरिरहेको उनले बताए ।
उनका अनुसार अलपत्र कामदारको उद्दार लगायत मृतक कामदारका परिवारलाई आर्थिक सहायता, अंगभंग/गम्भिर बिरामी कामदारलाई आर्थिक सहायता, कामदारका परिवारलाई औषधी उपचारमा सहयोग जस्ता संवेदनशील कामहरु बोर्डले गरिरहेको छ ।
राजन भन्छन्, “बढ्दै गइरहेको कोभिडको संक्रमण र सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षालाई नै मध्यनजर गरेर भौतिक उपस्थितिलाई मात्र रोकेका हौं । बोर्डका कर्मचारीहरुमा पनि संक्रमण देखिएको छ त्यसैले शव ढुवानीका लागि सहयोग लिन कार्यालयमा आउनुहुने सेवाग्राहीहरुको हकमा स्वास्थ्य मापदण्ड पालना गरेर र मोबाइलमा फोटो भएपनि खोप कार्ड लिएर आउन हामीले आग्रह गरेका हौं ।”
बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता लगायतका सेवाहरुका लागि आफ्नो स्थानीय तह मार्फत अनलाइन निवेदन दिन पनि बोर्डले आग्रह गरेको छ । सेवाग्राहीलाई निवेदन दिन समस्या परेमा वा सेवा लिने प्रक्रिया र आवश्यक कागजातको बारेमा बुझ्न परेमा वैदेशिक रोजगार बोर्डको कल सेन्टरको शुल्क नलाग्ने नम्बर (नेपाल टेलिकमबाट गर्दा) ११४१ वा १६६००१५०००५ मा फोन गरेर बुझ्न सकिने बोर्डले जनाएको छ ।
वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायता लिन काठमाडौंमा नै आउनुपर्ने वाध्यकारी अवस्थालाई हटाएर आफ्नो पालिका मार्फत निवेदन बुझाउन सकिने व्यवस्थालाई यस अगाडि नै बोर्डले कार्यान्वयन गरेको छ ।
अलपत्र कामदारको उद्धार, मृतकको शव नेपाल झिकाउने, निःशुल्क शव ढुवानी गर्ने, मृतक कामदारको नजिकको हकवालालाई आर्थिक सहायता दिने, कामदारका छोराछोरीलाई छात्रवृति दिने, कानूनी प्रतिरक्षा उपलब्ध गराउने लगायतका काम वैदेशिक रोजगार बोर्ड सचिवालयबाट हुँदै आएका छन् । बोर्डले महिला कामदारको हकमा पूर्व प्रस्थान अभिमुखीकरण तालिमको रकम पनि प्रदान गर्ने गरेको छ ।