सरकारी बन्देजकै कारण वैदेशिक रोजगारीमा जाने महिला शोषणमा
बाराकी अनिता अधिकारी (नाम परिवर्तन) तीन वर्ष मलेसियामा बसेर नेपाल फर्किइन् । तीन वर्ष वैदेशिक रोजगारीमा बसेर नेपाल फर्कँदा पनि उनको हात खाली थियो । धेरै कमाउला, राम्रो लाउँला, मीठो खाउँला, छोराछोरीको भविष्य पनि राम्रो बनाउँला उनीहरूको लागि ल्यापटप,मोवाइल उपहार पनि लिएर आउँला भन्ने अनिताको सपना तीन वर्ष मलेसियामा बस्दा पनि पूरा हुन सकेन ।
महिना दिनभरी खटिएर काम गर्दा पनि समयमा तलब नदिने, बिरामी भएको बेलामा पनि काम गर्नुपर्ने, बिदा नपाउने, सिवाय गाली गलौज पनि सहनु पर्थ्यो उनले । त्यहाँको भाषा नबुझेर पनि उनले आफूलाई परेको अन्यायको प्रतिकार गर्न सकिनन् । भाषाले गर्दा आफूलाई बिदा चाहिए पनि उनी निवेदन दिन सक्थिनन् । उनी भन्छिन् ” विदेश जानु अघि भाषा सिक्छु भन्दा एजेन्टले पर्दैन भन्यो, भाषा सिक्न दिएन, बस उसलाई पैसा चाहिएको थियो, पैसा लियो अनि मलाई न भाषा सिकायो न त सीप नै ।”
काम गर्ने ठाँउमा रोजगारदाताले भनेको नबुझ्दा हातभरि निलो डाम हुने गरि कुटाइ खान्थिन् उनले । सामान प्याकिङ गर्ने काम हो गाह्रो होइन तर व्यवस्थित तरिकाले गर्न नसकेर मलाई अफ्ट्यारो पर्यो उनी भन्छिन् ।
हामीलाई घरेलु काम बाहेक अरु आँउदैन, हातमा सीप पनि छैन तर कमाउनुपर्ने बाध्यता छ। सरकारले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक लगाएपछि एजेन्टकै मार्फत भएपनि मलेशिया सम्म पुगेँ अनिता बताउँछिन् ” छोरा छोरी, र घर व्यवहार आफैले धान्नु पर्ने भएकोले मलाई वैदेशिक रोजगारीमा जानु बाहेक केही उपाय थिएन त्यसैले म आफ्नो जिम्मेवारी पुरा गर्न मलेसिया गए ।”
त्यसो त विकसित ठानिने जोर्डनमा रोजगारीकै क्रममा पुगेकी मोरङकी जिना तामाङ (नाम परिवर्तन) को समस्या पनि अनिताको भन्दा फरक छैन । फ्रि भिसा फ्रि टिकट भएको जोर्डनमा उनले एजेन्टलाई ४० हजार रुपैयाँ नेपाली तिरेर पुगिन् । उनलाई जोर्डन पुर्याइदिने, राम्रो काममा लगाइदिने र तलब पनि राम्रो हुने भन्ने प्रलोभन देखाएर उनलाई प्रवास पुर्याएका थिए । तर एजेन्टले भने भन्दा जोर्डन फरक थियो । उनले जोर्डनमा घरेलु कामदारको रुपमा काम गर्दा खुबै कष्ट सहनुपर्यो । उनी भन्छिन् “कहिले गाली बेइज्जती त कहिले पिट्ने । मैले दैनिक शोषण खेप्नुपर्यो ।”
उनी बिहान ४ बजे देखि काममा खट्दा पनि कहिल्यै जस पाइनन् न समयमा खाना र खाजा नै पाइन् । उनले तलब पनि कहिल्यै महिना मर्ने बित्तिकै पाइनन् । दैनिक यसरी शोषण भएपछि उनले रोजगारदातालाई आफ्नै देश फर्काइदिन बिन्ती गरिन् तर उनको कुरा रोजगारदाताले सुनेन् र बन्धक बनाएर राखिदिए । एक महिनासम्म कोठमा थुनेर राखेपछि अन्त्यमा घर परिवारले पहल गरेर उनलाई नेपाल झिकाइयो ।
त्यसै गरी सिन्धुपाल्चोककी माया तामाङ ( नाम परिवर्तन ) पनि भिजिट भिसामा नेपाल बाटै कुवेत पुगेकी थिइन्। एजेन्टमार्फत गएकी मायालाई स्वास्थ्य क्षेत्रमा काम लगाइ दिने भनिएको थियो, तर त्यहाँ उनलाई घरको काममा लगाइयो । घरको काम धेरै जसो मेसिन बाट गर्नु पर्ने हुँदा उनलाई काम गर्न असहज भयो । खान बनाउने, लुगा धुने, सरसफाइ गर्ने, भाडा माझ्ने जस्ता सबै काम मेसिन बाटै हुन्थ्यो त्यहाँ कति मेसिनहरू त मायाले देखेकी पनि थिइनन् । उनी भन्छिन् ” मेसिन सम्बन्धी सामान्य जानकारी नहुँदा मैले धेरै चोटि कुटाइ खानु पर्यो।” यसरी कुटाइ खानु भन्दा बरु म नेपालमै फर्कन्छु भन्ने उनलाई लाग्यो, तर उनले सोचे जसो गरी फर्कन कहाँ सजिलो थियो र ? तीन महिनाको मात्र भिसा लगाएर गएको मायाको भिसा समय सक्की सकेको थियो । बाहिर निस्किन प्रहरीले समात्लान् र जेल जानु पर्ला भन्ने डरले चुपचाप अन्याय सहेर उनी काम गर्न थालिन । त्यहाँ उनले जसोतसो दुई वर्ष काम गरिन्। धेरै गाह्रो भएपछि आफू नेपाल फर्किन चाहेको बताइन्। तर साहुले दिएन । तीन महिनाको तलब बाँकी नै थियो । तर दुर्व्यवहार सहनै नसकेपछि माया भागिन् । तर उनको आफूसँग कुनै कागज पत्र नहुँदा उनी लुकेर बस्न वाध्य भईन । यता उता भौँतारिने क्रममा एकजना नेपालीसँग उनको भेट भयो र उनकै सहयोगमा पार्लरमा काम गर्न थालिन् । काम गर्दै थिइन कोरोनाको महामारी सुरु भयो काम पनि रोकियो । उनी पुन बिचल्लीमा परिन । कोरोना पछि त्यहाँको सरकारले गैर कानुनी रुपमा कुवेतमा बसेकाहरूलाई आम माफी दिने निर्णय गर्यो र उनी नेपाल फर्किन पाइन् ।
नेपाली महिलाहरूले वैदेशिक रोजगारमा माया, अनिता र जिना जस्तै शोषणमा पर्नुको मुख्य कारण हो सरकारले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा जान लगाएको प्रतिबन्ध । तर, घरेलु रोजगारीका लागि नेपाली महिला श्रमिकलाई व्यक्तिगत श्रम स्वीकृति र तेस्रो देश भएर दलालले ओसार्ने काम गरिरहेका छन् । वैधानिक रूपमा विदेश जाने बाटो बन्द भएपछि अवैधानिक रूपमा तेस्रो मुलुकको बाटो हुँदै खाडीलगायतका मुलुकमा जाने महिलाको संख्या बढ्दै गएको छ ।
सरकारले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा पुगेका महिला कामदारहरूले शारीरिक तथा मानसिक शोषण पाएको, हिंसाजन्य गतिविधि बढेको भन्दै २०७२ साल चैतदेखि खाडीका ६ देश र मलेसियामा घरेलु काममा जाने कामदारलाई श्रम स्वीकृति जारी गरेको छैन । सरकारले यसरी घरेलु कामदारलाई रोक लगाएपछि घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जाने महिलाहरू एजेन्टको भर पर्न बाध्य छन् । स्वदेशमा रोजगारीको अवसर नभए पछि विदेशी भूमिमा काम खोज्न जानु नेपाली युवाहरूको नियति नै बनेको छ । अनुमानित ५० लाख युवा विदेशमा काम गरिरहेका छन् जसमध्ये वैदेशिक रोजगार विभागको पछिल्लो तत्थ्यांक अनुसार २ लाख १७ हजार ४ सय ४१ जना महिला श्रमका लागि विभिन्न मुलुक पुगेको देखिन्छ जसमा भारतमा पुगेका श्रमिकको भने गणना गरिएको छैन । वैदेशिक रोजगारीमा ठुलो संख्यामा नेपाली महिला कामदार रहेता पनि अधिकांश महिलाहरूले विदेशमा पाउने घरेलु काम मा जना नेपाल सरकार ले प्रतिबन्ध लगाएको छ, जसको कारण एजेन्ट मार्फत गैरकानुनी रुपमा नेपाली महिलाहरू वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ । यसको कारण नेपाली महिलाहरूले रोजगारीमा दोहोरो मारमा रहेका छन् । पहिलो त भने अनुसार तलब तथा अन्य सुविधा नपाउने । दोस्रो चाहिँ शोषणमा परे पनि कानुनी तथा अन्य सहयोग पाउन नसक्नु ।
धेरै जसो घरेलुकामदार रुपमा महिलाहरू वैदेशिक रोजगारीमा जाने हुँदा उनीहरूले मानसिक तथा शारीरिक हिंसा सहनु परेको बिभिन्न अध्ययनहरूले देखाएका छन । अधिकांश महिलाले स्थानीय दलालको प्रलोभनमा परी श्रम स्वीकृति नलिई विदेशी विमानस्थलको प्रयोग गरी वैदेशिक रोजगारमा जाने गर्नाले सही कागजात नहुने र समस्यामा पर्दा उद्वार गर्नमा कठिनाइ हुने गरेको छ । एकोहोरो कामले गर्दा महिलाहरू होम सिकेको सिकार हुनु परेको छ । बलात्कार, कुटपिट सहितका कारणले कतिपय महिला आत्महत्याको बाटो रोज्न पुगेका देखिन्छन ।कतिपय महिलामा बलात्कारको कारणले गर्भ रहनगई बच्चा सहित स्वदेश फर्किदा घर परिवारले स्वीकार नगर्दा थप पीडामा बस्नुपर्ने देखिएको छ । कुटपिट, शारीरिक तथा आर्थिक शोषणले धेरै महिलाहरू काम गरेको घर छोडी भाग्नु पर्ने अवस्था आउने गर्दछ, यस्तो समयमा रोजगारदाताले तलब दिनु त परै जाओस् उल्टो विभिन्न बाहना र दोष लगाई प्रहरी थुनामा पारिदिने गर्दछन् ।
माया, अनिता र जिना त प्रतिनिधि पत्र मात्रै हुन् । उनीहरु भन्दा धेरै दुख खेप्न परेकाहरूले त आफ्नो रोजगारको अनुभव बताउन पनि चाहदैनन् । “महिलाहरूलाई घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जान लगाएको प्रतिबन्धका कारणले महिलाहरूले दुःख पाएका छन्,” भन्छिन् मञ्जु गुरुङ ।
दुई दशक बढी प्रवासी महिला श्रमिकहरूको हक र हितको लागि काम गरेका गुरुङको अनुभवमा सरकारले नेपाली महिला कामदारहरूलाई वैदेशिक रोजगारीको लागि सहजीकरण र सहयोग गर्ने भन्दा पनि नियन्त्रण गर्ने गरेको बताउँछन ।
“सरकारले महिलाको हरेक गतिविधि नियन्त्रण गर्ने गरेको छ, देशमा होस् कि विदेशमा । नेपाली महिलाहरूलाई काम गर्न सहज गर्नु पर्ने सरकारले उनीहरूलाई काम मा जानै बन्देज लगाउँछ । यो त आफ्नो नागरिकप्रतिको कर्तव्यबाट विमुख हुनु हो जसको कारण नेपाली नागरिकहरूले रोजगारदाताहरूबाट हुने अन्याय सहनु पर्ने अवस्था बनेको छ ।” गुरुङ भन्छिन्
राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापा पनि नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीमा जान सरकारले लगाएको प्रतिबन्ध नै प्रमुख कारक रहेको बताउँछिन्। “घरेलु कामदार खुला गर्न सके नेपाली युवायुवती सुरक्षित रूपमा काम गरेर कमाएर फर्किने वातावरण हुन्छ, तर यस कुरामा सरकार उदासहिन देखिन्छ,” उनी भन्छिन् ।
वैदेशिक रोजगार विभागका प्रवक्ता कृष्ण प्रसाद भुसाल भने नेपाली महिलाहरू विदेशमा शोषणमा पर्ने कारण उनीहरु स्वयंम् भएको बताउँछन । साथै यसरी शोषणमा परेकाहरूलाई केही पनि गर्न नसकिने उनी बताउँछन । “घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीको लागि विदेश पुग्ने महिलाहरू शोषणमा परे भन्ने सोचेर सरकारले यसमा बन्देज लगाएको हो । श्रम स्वीकृति नै नलिइ वैदेशिक रोजगारीमा पुग्ने घरेलु महिला श्रमिकहरूको खण्डमा भने कुनै सहयोगको व्यवस्था गरिएको छैन,” उनी भन्छन् ।
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७३ मा सम्बन्धित मुलुकले कामदारसम्बन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा घरेलु कामदार पठाउने काम बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो। समितिको निर्देशनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मलेसिया तथा खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ। गत असोजमा बसेको सांसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले निश्चित सर्त पूरा गरेर मात्र घरेलु कामदार खुला गर्न सरकारलाई निर्देशन दिएको छ।
नेपालबाट घरेलु कामदार लैजान चाहने देशमा घरेलु कामदारको हरेक चार\चार महिनामा सम्बन्धित रोजगारदाताले आफ्ना कामदारलाई नेपालस्थित दुतावासमा सशरीर उपस्थित गराउनुपर्ने शर्त पनि नेपाल सरकारले राखेको छ । घरेलु कामदारलाई अधिकांश मालिकले मोबाइल बोक्न दिँदैनन् । आफूलाई समस्या पर्दा समेत उनीहरूले घरपरिवारसँग सम्पर्क पाएका छैनन् । त्यसैले कम्तिमा हप्ताको एकपटक घरेलु कामदारले आफ्नो परिवारसँग सम्पर्क गर्न पाउनैपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै घरेलु कामदारले आठ घण्टाभन्दा बढी काम नगर्ने ग्यारेन्टी मागेको छ । सरकारले बैंकिङ प्रणालीमा समयमै तोकिएको तलब भुक्तानी गर्नुपर्ने शर्तलाई अघि बढाएको छ ।हप्तामा एक दिन घरेलु कामदारलाई बिदा दिनुपर्ने नेपालको सर्त रहेको छ । त्यस्तै कामदारको आधारभूत अधिकार, सामाजिक सुरक्षा, बीमालगायत व्यवस्था सुनिश्चित हुनुपर्ने समितिको सर्तछ।
त्यस्तै घरेलु कामदारमा जानेले उक्त काम सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्नेछ। गन्तव्य मुलुकको संस्कृति परम्पराबारे सिकाएर सरकारले पठाउनुपर्ने समितिले उल्लेख गरेको छ। वैदेशिक रोजगार ऐन, २०६४ ले महिला र पुरुष कामदारको हकमा कुनै किसिमको बिभेद नगरेको नेपाली महिलाको पनि वैदेशिक रोजगारमा आकर्षण बढ्दै गएको छ । त्यसो त नेपालको संविधानले पनि लिङ्गको आधारमा कसैलाई पनि बिभेद नगरिने सुनिश्चित गरिएको छ । तर घरेलु श्रमिकको रुपमा वैदेशिक रोजगारीमा जान चाहने महिलाहरूको लागि भने सरकारले कुनै पनि किसिमको सुविधाको व्यवस्था गरेको छैन ।
विगतमा नेपाली महिला वैदेशिक रोजगारमा जानेको सङ्ख्या अत्यन्त कम रहेको थियो । सन् १९९८ मा कुवेतमा घरेलु कामदारको रूपमा पुगेकी कानी शेर्पाको मृत्यु भएपश्चात् नेपाल सरकारले महिला कामदारलाई खाडी मुलुकहरूमा जान पूर्णरूले प्रतिबन्ध लगाएको थियो । पछि सन् २००३ मा बाह्रबुँदे नीति तयार पारेर सोही नीतिअन्तर्गत रहेर महिला कामदारलाई संस्थागत रूपमा काम गर्न जान लगाएको प्रतिबन्ध सरकारले फुकुवा गर्यो । जसले गर्दा नीतिगत रूपमै महिलालाई वैदेशिक रोजगारीमा जाने अवसर मिल्यो । अधिकारकर्मी तथा आप्रवासन विज्ञ शरु जोशी सरकारले घरेलु महिला कामदारको हक हितका निम्ति छिटो कदम नचाले वैदेशिक रोजगारीका क्रममा महिलाहरू शोषणमा परिरहने बताउँछिन् ।
उनी भन्छिन् “विशेषगरी घरेलु कामदारको रुपमा जाने महिलाहरू धेरै शोषणमा पर्ने गरेका छन् सरकारले घरेलु कामदारको रुपमा गन्तव्यमूलुक पुग्ने महिलाहरूको अधिकारका लागि रोजगारदाता देशसँग समन्वय गरे मात्र महिलाहरूको लागि वैदेशिक रोजगारी गरिखाने राम्रो अवसर बन्न सक्छ । ”