यस्तो छ युवाको राज्यप्रणालीमा प्रतिनिधित्व

प्रतिक ढकाल २०७८ पुष २६ गते १७:५०

२०७४ सालको स्थानीय निर्वाचनमा दाङको गढुवा गाउँपालिका वडा नम्बर ८ का सद्दाम सिद्दिकिले वडाअध्यक्ष उठ्ने सोच बनाए । नेपाल विद्यार्थी सङ्घबाट विद्यार्थी राजनीति गरिरहेका उनमा विद्यार्थी राजनीति गर्ने सोच पलाएको थियो।  कक्षा १२ सम्मको पढाई सकेका सद्दामलाई उनी आवद्द भएको पार्टी नेपाली कांग्रेसले वडाअध्यक्षको टिकट दिएन । २१ वर्ष उमेर पुगेका उनलाई नेपाली कांग्रेसले टिकट नदिएपछी पार्टी परिवर्तन गरि नेकपा माओवादी प्रवेश गरे । 

उनी भन्छन्वडाअध्यक्ष उठ्ने सोच बनाइसकेको थिएँ । पार्टीले टिकट दिएन, अर्कै पार्टीले टिकट दिने भएपछि पार्टी नै परित्याग गरेँ ।२०७४ को निर्वाचन ताका भर्खरै १२ कक्षाको पढाई सकेका उनीमाथि गाउँनै हाँक्ने जिम्मेवारी आयो । वडाध्यक्ष उठ्न टिकट त पाएँ तर २१ वर्षे मलाई गाउँलेले पत्याउने हुन् होइनन् समाज परिवर्तन गर्ने जोशलाई बुझ्ने हुन् होइनन् भन्ने ठूलो प्रश्न आयो । तर गाउँले समाज परिवर्तन गर्ने मेरो दृढ संकल्पलाई बुझ्यो र वडाध्यक्ष जितायो” – सद्दाम बताउँछन् । उनी नेपालकै कान्छा वडाध्यक्ष पनि हुन् ।

उनी भन्छन्समाज फेरिएको रहेछ युवामा विश्वास गर्ने वातावरण बनेको रहेछ२०७४ ताका उनी विद्यार्थी राजनीति गर्दथे राजनीति गर्दै गरेका उनलाई त्यससम्म विदेश जाने सुर चढ्यो र काठमाडौं गए । अस्ट्रेलिया जाने भनेर आइएल्ट्स गर्न काठमाडौं पुगेका उनी निर्वाचन हुने सुनेपछि पुन: दाङ नै फर्किए । 

विदेशको जाने पाइला गाउँको दुःख देखेर रोकियो र गाउँ बनाउँछु भन्दै पुन: दाङ नै गएँ” – सद्दाम बताउँछन् ।

गाउँ जाँदा उनले हातमा स्काभेटर र डोजर चलाउने सीप पनि बोकेरै गएका थिए । बुबाले विदेश पठाउन चाहेका उनले दाङ पुगेर परिवारलाई सम्झाए । आखिर परिवारले पनि सद्दामको राजनीतिक मोहलाई बुझ्यो ।

अन्तत २०७४ सालको स्थानीय निर्वाचनमा १५ मतको अन्तरले सद्दाम वडाध्यक्षका लागि चयन भए । सद्दाम भन्छन्निर्वाचनमा मैले अधिकांश युवा मतदाताको सहयोग पाएँ कडा प्रतिस्पर्धा थियो तर युवा मत मसँग थियोसद्दाम भन्छन् । स्थानीय निर्वाचनमा जितेका युवा वडाध्यक्ष सिद्दिकीले पछिल्ला ५ वर्षमा धेरै काम गर्ने सोच हुँदा हुँदै पनि कतिपय कामहरू गर्न नसकेको स्वीकार गरे । उनले भनेम जनप्रतिनिधि बनेपछि बुझेको एउटा कुरा पैसा बिना राजनीति भने सम्भव छैन ।देश पुन निर्वाचनको मुखमा हुँदा सद्दाम सिद्दिकीले पुन: वडा अध्यक्ष पदमै उठ्ने सोच बनाएका छन् । 

तत्थ्यांक हेर्ने हो भने २०७४ सालको स्थानीय निर्वाचनमा सद्दाम जस्तै ४० वर्ष मुनिका २ हजार ३६ जना युवा वडाध्यक्ष निर्वाचित भएका छन् । नेपालमा जम्मा ६७४२ वटा वडा रहेका छन् । ४० वर्ष मुनिका यी तन्नेरी वडाध्यक्षहरूको प्रतिनिधित्व कुल निर्वाचित वडाध्यक्षको ३०.१९ प्रतिशत हो ।

वडाध्यक्ष जस्तै वडा स्तरका अन्य पदहरूमा पनि युवाको संख्या उल्लेखनीय छ । ३० वर्षको उमेरमा नै गाउँपालिका उपमेयरको जिम्मेवारी पाएकी धादिङ गजुरी गाउँपालिकाकी उपमेयर सीता ढुङ्गानालाई सानै उमेरबाट राजनीतिक चेत थियो । सीता नेकपा एमाले निकट भएर पहिले देखिनै राजनीतिमा सक्रिय राजनीति गर्दै आएकी थिइन् । विद्यार्थी राजनीति हुँदै जिल्ला स्तरीय राजनीतिमा सीताले जिल्ला कमिटी सदस्य सम्मको पदमा बसेर राजनीति गरेकी छिन् ।

विद्यार्थी जीवनमा नै राजनीति सुरुवात गरेकी सीता ३० वर्षको  उमेरमा गाउँपालिका उपमेयरको जिम्मेवारी पाइन् । स्पष्ट वक्ता र नयाँ सोच भएकी उपमेयर सीताले गाउँपालिकामा विभिन्न उदाहरणीय कामको सुरुवात गरिन् । धादिङको गजुरी गाउँपालिकामा दशक अघिसम्म खानेपानीको समस्या व्याप्त थियो अहिले ८५% घरमा निजी धारा छन् । ग्रामीण शिक्षालाई प्रवर्द्धन गर्नुपर्छ भनेर उपाध्यक्ष ढुङ्गानाकै नेतृत्वमा प्रत्येक विद्यालयमा बालविकास केन्द्र सुरुवात गरिएको छ । सीताले बालमैत्री स्थानीय शासन भन्ने अभियान नै चलाइन् । यो धादिङका कुनै पनि स्थानीय तहले एजेण्डा नउठाएको विषय थियो । अहिले यी उपमेयरलाई बालअभियन्ता उपमेयर भनेर पनि चिन्ने गरिन्छ ।

नमुनामा मात्रै सीमित उपमेयर पद 

ठूलो सङ्ख्यामा स्थानीय तहमा युवा जनप्रतिनिधि चयन भएता पनि सबैको अर्थपूर्ण सहभागिता भने हुन नसकेको दाङको गढुवा गाउँपालिका वडा नम्बर ८ बाट कान्छा वडाअध्यक्ष चुनिएका सद्दाम सिद्दिकी बताउँछन् । उनी भन्छन् “जुन पदको लागि निर्वाचित भएको हो त्यही पदमा पुन: टिकट पाउन पनि गार्हो छ माथिल्लो पदमा जानलाई त पाको उमेर नै चाहिन्छ ।” 

धादिङ गजुरी गाउँपालिकाकी उपमेयर सीता ढुंगाना पनि सरकारमा युवाको सहभागिता भएको तर अर्थपूर्ण नभएको स्वीकार गर्छिन् । आफै उपमेयरको पदमा बसेर काम गरिरहँदा यस्तो अनुभव भोग्नुपरेको उनले बताइन् । उनी भन्छिन् “सरकारमा युवा सहभागिता बढ्यो तर माथिल्लो तहमा जाने बाटो भने बढेन ।”

सक्षम हुँदाहुँदै पनि (उप) पदमा सीमित हुनुपरेका महिलाको भने अझ सरकारमा अर्थपूर्ण सहभागिता नभएको सीताको तर्क छ । जीविकोसँग कुरा गर्दै उनले भनिन् “उपमेयरले राम्रो काम गर्ने बुझेपछि मेयरले त्यसमा रोक लगाउने जस्ता धेरै क्रियाकलाप प्राय स्थानीय तहमा छ  जसले परिवर्तनको सोच हुँदा हुँदै पनि परिवर्तनका कामहरूमा पर्याप्त कदम चाल्न सकिएको छैन ।”

स्थानीय तहदेखि संघीय सरकारसम्म युवा प्रतिनिधित्व बढिरहँदा युवाको सहभागिता अर्थपूर्ण छ वा छैन भन्ने प्रश्न भने प्रायजसो उठिरहन्छ । स्थानीय तहमा हेर्ने हो भने पनि अधिकांश युवा महिला जनप्रतिनिधि उप पदमा बढि पाइन्छ । युवालाई अधिकार दिए पनि जिम्मेवारी कम दिँदा सरकारमा युवा सहभागिता भएपनि यस्तो सहभागिता अर्थपूर्ण भने नरहेको प्रष्ट देखिन्छ । अर्को तर्फ स्थानीय तह हुँदै केन्द्र सरकारसम्म पुग्दा युवा सहभागिताको दर पनि निरन्तर घट्दो छ । स्थानीय तहमा ३९.६५ प्रतिशत युवा सहभागिता देखिएकोमा प्रदेश सरकारमा २३.६३ प्रतिशत युवा सहभागिता छ । त्यस्तै प्रतिनिधि सभामा ४० वर्ष मुनिका  युवाहरूको सहभागिता १३.९% मा झरेको छ । त्यस्तै राष्ट्रिय सभामा भने ६.७७ प्रतिशतमात्र युवा सहभागिता छ । तह बढ्दै जाँदा ठूला तहहरूमा युवा सहभागितामा भने कमी आउँदै जानुले पनि सरकारमा युवाहरूको सहभागिता रहेता पनि मुख्य जिम्मेवारी भने पाउन नसकेको पुष्टि हुन्छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *