रोजमेरी चियामा उद्यमशीलताको सम्भावना खोज्दै जिज्ञासु सौरभ
एक हातमा चियाको कप अनि अर्को हातमा पानी तताउने इलेक्ट्रिक जग बोकेर ‘नेपालमै बनेको, नव उद्यमी हाटबजार’ मा आएका आगन्तुकहरुलाई “चिया चाख्नुस्” भन्दै चियाको कप अघि बढाउँदै पुगीहाल्थे सौरभ शर्मा । गिलासमा दुईचार हरियो पात थियो, जसमा पानी हाल्दा पहेँलो सुनौलो रङ्ग देखिन्थ्यो । त्यो आमरुपमा दैनिक पिउने चियाभन्दा फरक थियो ।
खाँदा टर्रो, अमिलो अनि केही क्षणमा मुख गुलियो बनाउने । यस्तो अनौठो स्वाद भएकोले हामीले उत्सुक हुँदै सोध्दा उनले भने, “यो अर्गानिक रोजमेरीको चिया हो, मैले आफैँले उत्पादन गरेको ।”
रोजमेरी एक सदाबहार जडिबुटीजन्य वनस्पति हो । यसको बासनादार हरियो वा सुकेको पात मसलाको रुपमा खानामा प्रयोग गरिन्छ । प्रशोधन गरी तेल पनि निकालिन्छ । यसको पात हालेर चिया सेवन गर्दा आलस्य, थकान घटेर शरीर फुर्तीलो बनाउने बताउँछन् सौरभ ।
बच्चादेखि नयाँ- नयाँ ठाउँ घुम्न, नयाँ कुरा सिक्न र नयाँ केही देख्ने बित्तिकै सौरभलाई कौतुहलता जागी हाल्थ्यो अनि त्यसबारे खोज गर्न तम्सी हाल्थे उनी । यसरी नयाँ- नयाँ कुरा जान्न चाहने उनको स्वभावले गर्दा नै अन्तत : रोजमेरी चिया विकास नै गरे सौरभले ।
सौरभका मामा घरको हजुरबुवा कृषि वैज्ञानिक थिए । सानैदेखि हजुरबुवासँग बसेका उनलाई हजुरबुवाले आफू जता गयो त्यतै लिएर जान्थे । बोट बिरुवाको खोज अनुसन्धान गर्ने काममा हजुरबुवासँगै हुन्थे र उहाँले गरेका सबै काम नजिकबाट हेरी बस्थे उनी । त्यहीँ समयदेखि उनको प्रकृतिसँगको लगाव बढ्दै गयो ।
उमेरसँगै सौरभलाई अझ प्रकृतिसँग गाढा प्रेम बस्यो । स्कुलमा शिक्षक शिक्षिकाले पढाउने विषयभन्दा उनलाई बालापनदेखि देख्दै आएको प्रकृति, कृषि र अनुसन्धानमा नै चाख लाग्ने गर्थ्यो ।
पढाइ सकेपछि आफ्ना साथीहरू कोही इन्जिनियरिङ पढ्न गए त कति डाक्टर भए । उनी भने सानै बेलादेखि कृषिमा रुचि भएको कारण कुटो कोदालो नै समाउने निर्णय गरे ।
फराकिलो ठाउँ, प्राकृति सौन्दर्य र अधिक उत्पादन क सम्भाव्यता देखेर कृषि गर्नलाई उनले सिन्धुली रोजे । सात रोपनी जग्गा भाडामा लिएर नेपालथोकमा उनले फार्म हाउस नै खोले । तर आफू यो पेशामा परिपक्क नभएका कारण सम्पूर्ण जिम्मा आफूले लिन सकेनन् । अरुको भरमा काम छोड्दा सोचेजस्तो हुन सकेन । उनको व्यवसाय चुर्लुम्म डुब्यो ।
आफ्नो व्यवसाय डुबेर ऋणको खाडलमा परेपछि पुनः पारिवारिक तनाव पनि सहनु पर्यो । यस दौरान छरछिमेकले पनि उनलाई काम नगर्ने अल्छी भनेर उनलाई होच्याउन थाले । बुबाआमा पनि लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको थियो । त्यस समय बुबाआमाको चित्त दुखेको सम्झँदा अहिले पनि भावुक बन्छन् उनी ।
व्यवसायमा सफलता नमिले पनि उनलाई नयाँनयाँ कुराहरूको खोजी अनि कृषिप्रतिको आफ्नो लगावमा भने कत्ति पनि कमी आएको थिएन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा त्यसबाट बच्न संसारभरिका वैज्ञानिकहरू के गर्न सकिन्छ, कसरी यसबाट बच्न सकिन्छ भनेर भाइरस नियन्त्रणको प्रयासमा लागिपरेका थिए । कोरोनाबाट बच्न लकडाउन, स्यानिटाइजरको प्रयोग, मास्कको प्रयोग लगायतका धेरै किसिमका रोकथामका उपायहरूअपनाइँदै थियो । यता सौरभ पनि खोजीमा व्यस्त थिए ।
कुन उपाय अपनाउँदा कोरोनाबाट बच्न सकिन्छ भनेर उनी निरन्तर त्यस दौरानमा सोच्ने गर्दथे । कुनै अर्गानिक खानेकुराको सेवनले कोरोनाबाट बच्न सकिन्छ कि भनेर उनले आफ्नो बगैँचामा रोजमेरी रोपे र सुरुमा त्यसको पातलाई आफैँले चाखे । त्यसलाई सुकाएर चियाको रुपमा प्रयोग गरे । त्यसमध्ये रोजमेरीको सुकाएको पातबाट बनेको चिया राम्रो बन्यो र त्यसले स्वास्थ्यलाई पनि राम्रो गरेको महसुस उनले गरे । आफूलाई रोजमेरीको स्वादले प्रभावित पारेपछि उनले आफ्नो उत्पादन छरछिमेक र साथीभाइहरूलाई पनि चाख्न दिए । साथीहरूले पनि ठ्याक्कै सौरभले अनुभव गरेझैँ प्रतिक्रिया दिए र यसलाई व्यवसाय बनाउन प्रोत्साहन गरे ।
साथीहरूको सल्लाह बमोजिम सौरभले पनि यसलाई व्यवसायको रुपमा अगाडि बढाउने निर्णय गरे तर व्यवसायीक रुपमा नै जाँदा उनलाई यस उत्पादनलाई व्यवस्थित गर्न चुनौतीपूर्ण थियो । उनले यसलाई टि-ब्यागमा राखेर बेच्न थाले । यसरी उनको उत्पादन बजारमा गएपछि धेरैको प्रतिक्रिया राम्रो आयो भने कतिलाई रोजमेरीको स्वाद जमेन ।
उनको उत्पादनलाई मन पराउनेले भने रोजमेरीको चिया खोजीखोजी पिउन थाले । यस दौरान उनको सयौँ नियमित ग्राहकहरु पनि बने ।
विभिन्न अध्ययनहरुका अनुसार रोजमेरी चिया पिउनाले मानिसको सम्झन सक्ने शक्ति बढाउँछ, दिमाग तन्दुरुस्त बनाउँछ, काम गर्ने जाँगर बढाउँछ ,श्वास रोग जस्तै खोकी, फ्लू र दम रोजमेरी पानीको बाफमा सास फेर्दा राम्रो हुन्छ, पाचन क्षमता बढाउ मदत गर्दछ ।
समयसँगै उनले व्यवसायलाई बढाउँदै लगेका छन् । आफ्नो उत्पादन बिक्री गर्न उनले प्रविधिको प्रयोग गरेका छन् । चिया बिक्री गर्नका लागि वेबसाइट नै बनाएका छन् सौरभले । अझ नयाँनयाँ कुराको खोज अनुसन्धान गरेर व्यवसायलाई अझ वृहत बनाउँदै लाने उनको योजना छ ।
अहिले उनको आम्दानी पनि राम्रो हुँदै गएको छ । घरपरिवारमा पनि खुसी छाएको छ । उनी भन्छन्, “नयाँ कामको थालनी गर्न त हुन्छ नै त्योसंगै खर्च पनि हुन्छ र तत्काल नै नाफा पनि पाइहालिन्छ भनेर व्यवसाय गर्नु राम्रो होइन । धैर्यधारण गर्नुपर्छ सफलता अवश्य मिल्ने छ ।”
अधिकांश मानिसको सोंचमा चिया पिउनाले स्वास्थ्यमा खराबी गर्छ भन्ने मान्यता बसेको छ तर सीमित मात्रामा चिया पिउँदा यसले स्वास्थ्यमा हानी होइन लाभ पुर्याउँछ । उच्च गुणस्तरीय चिया उत्पादन गरेर चियाको ब्यापार गर्नसके कमाइ पनि राम्रै हुने सौरभको धारणा छ । उनी भन्छन्, “मैले आफूले उत्पादन गरेको चियाको गुणस्तमा कुनै कन्जुस्याँइ गरेको छैन, यो सबै उमेर समुहले मज्जाले पिउन सक्छन् । यसले कुनै हानी नगर्ने भएकोले नै त आजको हाटबजारमा १२ प्याकेट लिएर आएकोमा १० प्याकेट बेची सके”, कुराकानीलाई बिट मार्दै उनी मुसुक्क मुस्काए ।