मोटरसाइकलका डाक्टर : श्रीराम सेढाँईको जीविको कथा
उनलाई धेरैले डाक्टर भन्छन्, ‘मोटरसाइकलको डाक्टर’। यसरी ‘मोटरसाइकलको डाक्टर’ भन्नु पछाडि केही कारणहरू भने अवश्य छन् । बिरामीको अवस्था हेरेर कुनै चिकित्सकले रोग पत्ता लगाए जस्तो मोटरसाइकलको आवाज सुनेर श्रीराम(२९)ले त्यसको समस्या सहजै पत्ता लगाउँछन् र समाधान पनि निकाल्छन् । डाक्टर घन्टौँसम्म अस्पतालमा खटे जस्तै उनी पनि दैनिक १३-१४ घण्टासम्म वर्कसपमा खट्छन् । रोग निको भएपछि बिरामी जसरी डाक्टर प्रति कृतज्ञ हुन्छ, त्यसैगरी उनका सेवाग्राहीहरू पनि आफ्नो दुईपाङ्ग्रे बनेपछि उनी प्रति आभार प्रकट गर्छन् ।
आखिर कोही मान्छे आफ्नो व्यवसायमा कसरी यति धेरै सफल हुन सक्छ ? उनी सहजरूपमा उत्तर दिन्छन् “इमान्दारिता, लगनशीलता र धैर्यता छ भने कुनै पनि व्यवसायमा सफल हुन सकिन्छ ।” हुन पनि श्रीरामले हिजोको आज नै यो सफलता पाएका होइनन् । धादिङ जिल्लाको कुमपुरमा सात वटा सन्तान मध्ये कान्छो छोरोका रूपमा सेढाँई परिवारमा जन्मिएका श्रीराम गाउँमा धेरै डुल्यो भनेर माइली भाउजूको करकापमा काठमाडौँ आए । उनको माइलो दाईको सानो वर्कसप थियो । दाई र एकजना सहयोगीले जसोतसो वर्कसप चलाइरहेका थिए । १०-११ वर्षको उमेरदेखि नै उनी वर्कसपमा आएर मोटरसाइकल बनाएको हेरेर बस्थे । शुक्रबार स्कुल छुट्टी भएदेखि शनिबार साँझसम्म उनको बास वर्कसपमै हुन्थ्यो । १३-१४ वर्षको हुँदा त उनले फाट्टफुट्ट काम गरेर अलिअलि पकेट खर्च जुटाउने भइसकेका थिए । झण्डै डेढ दशकदेखि यही काम गर्दै आइरहेका श्रीरामले अन्त कतै औपचारिक तालिम लिन गएनन् । उनका लागि त्यही वर्कसप तालिम केन्द्र थियो र आफ्नै दाइ थिए ट्रेनर ।
एस.एल.सी लगत्तै श्रीरामले पुरै समय वर्कसपमै काम सिकेर बिताउन थाले । उनको लागि त्यो ब्रिजकोर्स नै थियो भन्दा पनि हुन्छ । त्यसपछि उनी प्लसटु भर्ना भए र बिहानको समयमा पढ्न जान थाले अनि दिउँसोदेखि रातिसम्म वर्कसप मै काम गर्थे उनी । अब भने श्रीराम धेरै हदसम्म मोटरसाइकलका समस्यामा जानकार भइसकेका थिए । वर्कसपमा मोटरसाइकल र मेकानिकलको संख्या थपिँदै गएको थियो । बिस्तारै दाईले वर्कसपको सम्पूर्ण जिम्मेवारी भाईलाई दिए । १८ वर्षको उमेरमा नै श्रीरामले वर्कसपको पूर्ण जिम्मेवारी लिए । मर्मतका लागि ल्याइने मोटरसाइकललाई इमान्दार भएर बनाउने गर्थे । उनी भन्छन्, “रिन्च र सिरिन्ज चलाउने मान्छेले चाह्यो भने सजिलै ठग्न सक्छ तर त्यो ठगी केही क्षणको लागि मात्र हुन्छ”। उनले क्षणिक फाइदालाई हेरेनन् । त्यसैले त उनले गरेको काम मन पराएर साँखु,थानकोट,भक्तपुर जस्ता टाढाटाढाका ठाउँबाट पनि मान्छेहरु मोटरसाईकल बनाउन सिनामङ्गलसम्म आइपुग्छन् । सर्वसाधारणदेखि विभिन्न सरकारी निकायका उच्च तहका कर्मचारीहरु, उद्योगी, व्यापारीहरु उनको वर्कसपका नियमित सेवाग्राही हुन् । दैनिक ३० वटा जति मोटरसाइकल केही न केही रुपमा बनाउन आइपुगेका हुन्छन् । मोटरसाइकल कहीँ बनेन भने श्रीरामकोमा बन्छ भन्ने विश्वास छ उनीहरुलाई । ६ जना मेकानिकलाई खाने बस्ने व्यवस्था सहित काममा राखेका छन् उनले । यस दौरानमा वर्कसपसँगै पार्ट्स र रिकन्डिसन शोरुम पनि सञ्चालन गरेका छन् श्रीरामले ।
उनकै वर्कसपमा काम सिकेका २५ जनाभन्दा बढीले अहिले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । कतिपय साथीभाइले उनलाई “अब त अरुलाई काम लगाएर आफू आनन्दले बस” भन्छन् तर उनी अहिले पनि बिहान ९ बजेदेखि राति १० बजेसम्म अन्य मेकानिकसंगै खट्छन् । उनी भन्छन्, “मसँग भएको यो सीपलाई उपयोग गरिएन भने त त्यो फ्रिज भइहाल्छ नि” खर्च, बचत र लगानीमा सन्तुलन मिलाउँछन् उनी । परिश्रमको पैसा फजुल खर्च गर्नु हुँदैन भन्ने उनको मान्यता छ । त्यही वर्कसपबाट उनको संयुक्त परिवारको आवश्यकताहरू पूरा हुँदै आइरहेका छन् । आफ्नो व्यवसायको दायरालाई फराकिलो बनाएका छन् श्रीरामले । महिनाको अन्तिम शनिबार मात्र उनले विश्राम पाउँछन् । धेरै जनाको विश्वासको पात्र हुन पाउँदा गर्व गर्छन् उनी। सीप भयो भने सानै लगानीमा पनि व्यवसाय सञ्चालन गरेर त्यसलाई विस्तार गर्न सकिन्छ भन्छन् उनी ।
“विदेश पलायन कसैको इच्छा त कसैको बाध्यता होला तर २/४ पटक नेपालमै ट्राई अगेन किन नगर्ने ?” उनी प्रश्न गर्छन् ।
‘मोटरसाइकलको डाक्टर’ श्रीराम सेडाईको जीविको कथा तपाईंहरुलाई कस्तो लाग्यो? श्रीराम जस्तै अन्य इमान्दार,लगनशिल र धैर्यवान मेहेनतीलाई प्रोत्साहन गर्न श्रीरामको जीविको कथा सेयर गर्नुहोस् । श्रीरामको लागि केही सन्देश छ भने कमेन्टमा लेख्नुहोस् । श्रीरामको जस्तै अन्य कर्मशीलको कथा पढ्न जीविको डटकम हेर्दै गर्नुहोला ।