यसकारण घट्दै छ रेमिट्यान्स..
चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोज) सम्म २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । यो रकम गत वर्षको सोहि अवधिमा भित्रिएको रेमिट्यान्स भन्दा १८ अर्ब ६८ करोड कम हो ।
कोरोना महामारीमा विदेश जाने नेपालीको संख्या घटेको अवस्थामा पनि रेमिट्यान्स भने ९ खर्ब ६१ अर्ब भित्रिएको थियो जुन हालसम्मकै सबैभन्दा बढी रेमिट्यान्स हो । यस वर्ष खोप पनि पाएर विस्तारै सबै मुलुकमा आर्थिक गतिविधि बढेकोले वैदेशिक रोजगारीको अवस्था पुरानै लयमा फर्किन थालेको छ । यस्तो अवस्थामा पनि नेपाल भित्रने रेमिट्यान्स भने लगातर घटी रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक स्थिति सम्बन्धी प्रतिवेदनले देखाएको छ ।
लकडाउनको समयमा नेपाल भित्रने रेमिट्यान्स बढेको कारण धेरैले यो वर्ष पनि रेमिट्यान्स अझ बढ्ने अड्कल गरेका थिए तर परिणाम भने बेग्लै आयो । जानकारहरू यसलाई स्वभाविक ठान्छन् ।
अर्थविद डा. शोहम कुमार कर्ण भन्छन्,“सामान्य अवस्थामा धेरै जसोले गैरकानुनी माध्यम (हुन्डी) बाट पैसा पठाउने गर्दथे । लकडाउनको समयमा अन्य सेवाहरू बन्द भएकोले गर्दा हिँडडुल गर्न समस्या परेको हुँदा अधिकांशले कानुनी रुपमा बैंकिङ प्रणालीबाट रकम पठाउनाले नेपाल भित्रने रेमिट्यान्समा वृद्दि भएको थियो ।” उनका अनुसार अवस्था सामान्य भए लगत्तै गैरकानुनी रुपमा पैसा पठाउने गर्दा पनि रेमिट्यान्समा कमी आएको र विदेशिने धेरैमा कोरोना महामारीले गर्दा जति बेला जे पनि हुन सक्ने भयका कारण स्वदेश फर्केर स्वरोजगार हुने सोंचको विकास भएकोले कति विदेश नफर्किएर स्वदेशमै रहेर काम गरेको कारणले गर्दा पनि रेमिट्यान्समा कमी आएको हो । नेपालबाट दिनहुँ वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्यामा कमी नदेखिए पनि किन रेमिट्यान्स भित्रिएन भन्दा उनी भन्छन्, “विदेश जाने बित्तिकै पैसा पठाइ हाल्न कसैले पनि सक्दैनन् । तलब सेवा सुविधा पाए पछि नै पैसा पठाउने हो । त्यसको लागि समय त लागि हाल्छ नि । “
त्यसो त आईएमई (IME) का सञ्चार प्रमुख राजु पौडेल भन्छन्,”कोरोना सामान्य भए पछि धेरैले कानुन माध्यमहरू जस्तै; आईएमई, बैंक, मनिट्रान्सफरबाट पैसा पठाउन झन्झटिलो मानेर गैरकानुनी रुपमा सजिलोको लागि व्यक्तिको हातमा पैसा पठाउनाले अहिलेको समयमा रेमिट्यान्स घटेको हो ।”
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार अघिल्लो आर्थिक वर्षमा कोरोनाको कारण वैदेशिक रोजगारमा रहेका व्यक्तिको अनावश्यक खर्चमा कमी आएको थियो । उनीहरूको अन्य जिन्सी सामानहरूको खरिदमा कमी, कोरोनाले गर्दा रोजगार गुमेकाले आफ्नो भएको बचत तथा पाउने सेवा सुविधाहरू रकम एकमुष्ट पठाउनाले पनि रेमिट्यान्स बढेको थियो । उनी भन्छन्”अहिले सामान्य अवस्थामा उनीहरूको खर्च बढेको हुनाले रेमिट्यान्समा कमी आएको हो ।”
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७५ अर्ब ९५ करोड रेमिट्यान्स भित्रियो भने सोही अवधिमा अघिल्लो वर्ष ९२ अर्ब ७१ करोड भित्रिएको थियो । यसरी पहिलो महिनामा नै १८ प्रतिशतले घटेको रेमिट्यान्सले तेस्रो महिनामा पनि उचाइ लिन सकेन ।
रेमिट्यान्सको मुख्य सिजन मानिने दसैँको महिनामा पनि रेमिट्यान्स आप्रवाहमा कमी आएको राष्ट्र बैंकले बताएको छ । बैंकका अनुसार असोज महिनामा ८३ अर्ब ९५ करोड भित्रियो भने अघिल्लो असोजमा ९३ अर्ब १२ करोड रुपैयाँ भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा करिव ९ अर्ब रुपैयाँ कम अर्थात ७.६ प्रतिशतले रेमिट्यान्स कम भित्रिएको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत, व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ६६ हजार ३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९६.८ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधि ( साउन, भाद्र असोज ) मा उल्लेख्य रूपमा वृद्धि भई ३४ हजार ८२३ पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७८.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत– नयाँ र वैधानिकीकरण लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ६६ हजार ३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९६.८ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ( साउन, भाद्र असोज ) उल्लेख्य रूपमा वृद्धि भई ३४ हजार ८२३ पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७८.६ प्रतिशतले घटेको थियो ।