अब यसरी गरौँ गहुँ खेती

बरिष्ठ बाली विज्ञ तथा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. टीका बहादुर कार्कीको परामर्श

जीविको २०७८ मंसिर १७ गते ८:११

उत्पादनका हिसाबले गहुँ विश्वमा मकै, धान पछिको तेस्रो महत्वपूर्ण खाद्यान्न बाली हो । विश्वका करिब ९० देशहरूमा यसको खेती गरिन्छ । नेपालमा भने खेती गरिने क्षेत्रफल र उत्पादनका हिसाबले धान, मकै पछिको तेश्रो महत्वपूर्ण खाद्यान्न बाली हो ।  नेपालमा गत वर्ष (२०७६/७७) यसको खेती ७०७५०५ हेक्टरमा गरिएको थियो भने २१८५२८९ मे. टन गहुँ उत्पादन गरिएको थियो । संसारका मध्यम र विपन्न मुलुकहरूमा धान र मकै भन्दा बढ्ता प्रोटिनको श्रोतको रुपमा गहुँलाई उपयोग गरिन्छ । यसबाट रोटी, ढिँडो पशुपन्छीको दाना लगायत अन्य कैयन औद्योगिक परिकारहरू जस्तै: चाउचाउ, बिस्कुट, केक, पास्ता, ससेज आदि बनाइन्छ। गहुँको नल वा छ्‌वाली पशुको आहाराको रुपमा पनि प्रयोग हुन्छ । यसको उत्पादन वृद्धि गर्नका लागि नेपाल सरकार तथा कृषि तथा पशुपक्षी मन्त्रालयले व्यापक जोड दिइरहेको छ । जीविको डटकमले नार्कका बरिष्ठ बाली विज्ञ तथा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका प्रमुख श्री टीका बहादुर कार्कीसँग किसानहरूले गहुँ लगाउँदा ध्यान दिनुपर्ने  कुराहरूको बारेमा छलफल गरेको छ । 

बरिष्ठ बाली विज्ञ तथा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. टीका बहादुर कार्की

गहुँ खेतीको लागि उपयुक्त समय कुन हो ?

पहाडमा गहुँ असोज १५ देखि कात्तिक महिनाभरि लगाउन सकिन्छ भने तराईमा कात्तिक महिनाको अन्तिम सातादेखि मंसिर महिनाभरि लगाउन सकिन्छ। यसरी तोकिएको  समय भन्दा अघि वा पछि लगाए उत्पादनमा कमी हुन्छ ।

कुन जातको गहुँ लगाउने ?

विशेष गरी डाँफे, धौलागिरी, गौरा, मूनाल, स्वर्गद्वारी, पासाङ्लामू, अन्नपूर्ण ४ र  डब्लु. के. १२०४ पहाडी हावापानीका लागि उपयुक्त जातहरू हुन् भने तराईमा बीएल ४३४१, बिजय, तिलोत्तमा, बाणगंगा, गौतम, आदित्य, नेपाल २९७ जातहरू हुन् भने खजुरा ड्युरम १ र खजुरा ड्युरम २ जातहरू लगाउनु उपयुक्त हुन्छ।   

गहुँको  बीउ कहाँबाट प्राप्त गर्न सकिन्छ ?

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका विभिन्न कार्यक्रम तथा केन्द्रहरू, राष्ट्रिय बीउ बिजन कम्पनीका शाखाहरू, स्थानीय स्तरमा रहेका एग्रोभेट, राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटार र नेपाल सरकारका फार्म केन्द्रहरू, बीउ उत्पादक समूह सहकारी र निजी कम्पनीहरूमा पाइन्छ । 

गहुँ बाली लगाउँदा किसानहरुले के के कुरामा ध्यान दिनुपर्छ ?

 १. श्रोत बीउको जोहो गर्ने 

२. गहुँ छर्ने बेलामा चिस्यानको व्यवस्थापन गर्ने

३ .झारपात नाशक विषादीको  व्यवस्थापन

४. मौसम सम्बन्धी जानकारी

 

प्रति रोपनी कति किलो बीउ छर्नु उपयुक्त होला?

गहुँ एक सरा अर्थात एउटा बीउबाट धेरै बिरुवा निकाल्ने बाली भएकोले धेरै बीउ छर्नु पर्दैन। त्यसो त एउटा बीउबाट ६-७ वटा सम्म सरा निस्कन्छन् र राम्रो व्यवस्थापन हुन सकेमा तिनैबाट बालाहरुमा निस्केर दाना पनि लाग्न सक्छन ।अत: प्रति रोपनीमा ६ किलो भन्दा बढी बीउ खसाउनु पर्दैन।

गहुँ छरिसकेपछि के के कुरामा ध्यान दिने ? 

गहुँको बिउ छरेको ५/७ दिनमा उम्रन थाल्छ । गहुँ अरू बाली भन्दा फरक छ, गहुँको अस्थायी जरा हुन्छ। त्यो भनेको २०/२१ दिनमा बिउको तल्लो भागबाट आउँछ र पछि हराएर जान्छ अनि स्थाई जरा आउँछ ।  यो समय एकदमै महत्त्वपूर्ण हुन्छ। यही समयमा सिँचाइ दिने, मलखाद दिने र झारपात  व्यवस्थापन गर्नु पर्ने हुन्छ । 

 मलखाद कति प्रयोग गर्ने ?

पहाडको लागि (के.जी. प्रति रोपनी)

अवस्था डि.ए.पी. यूरिया पोटास गोबर मल
सिञ्चित १.५ ५००
असिञ्चित १.५ ५००

झारपात नियन्त्रण कसरि गर्ने?

गहुँ खेती गर्दा झारपातको पनि उचित व्यवस्थापन गर्नु पर्दछ । झारपातको समस्या नहुने ठाउँहरूमा झारनाशक विषादीहरू छर्नु हुँदैन अलि अलि आएका झारपातहरू नफुल्दै हातैले निकाल्न सकिन्छ।

 गहुँमा सिंचाईको व्यवस्थापन कसरी गर्ने?

गहुँ बालीमा सिँचाइ कति पटक दिने भन्ने कुरा सिँचाइको सुविधा, माटोको किसिम र मौसममा भर पर्छ । पानी निकासको उचित प्रबन्ध भएको बलौटे हलुका माटोमा ३ देखि ५ पटकसम्म सिँचाइ दिन सकिन्छ । पानी दिएपछि छिट्टै सुक्ने खालको माटो र मौसम भएमा सामान्यतया २० देखि ३० दिनको फरकमा सिँचाइ गर्न सकिन्छ । सकेसम्म मुकुट जरा आएको अवस्था गहुँ छरेको २०/२५ दिनमा फूल खेल्ने बेला र दूध भरिने अवस्था गरि ३ पटकसम्म सिँचाइ गर्नुपर्छ । यसरी सिँचाइ गर्दा गहुँमा पानी जम्न गएमा उत्पादनमा असर पर्ने भएकाले पानीको निकासको व्यवस्था समेत गर्नुपर्छ ।

के गहुँमा शून्य खनजोत प्रविधि अपनाउन सकिन्छ ?

धान काटिसकेपछि यदि बीउ उम्रने चिस्यान माटोमा छ भने बिना खनजोत गहुँ बाली लगाउन सम्भव छ । यसका लागि ZERO TILL SEED DRILL मेसिन प्रयोग गर्न सकिन्छ जसमा मल र बीउ दुवै खसाल्ने प्रावधान हुन्छ। यसका लागि उक्त मेसिन र झारपात नाशक विषादीको व्यवस्थापन गर्नु पर्दछ । जग्गा सकभर समथर हुनुपर्दछ भने चराचुरुङ्गीका बीउलाई नउत्रुन्जेल बचाउनु पर्दछ । यसका लागि छुट्टै जात र व्यवस्थापनको जरुरी नपर्ने हुनाले खनजोत गरेर छरेको जस्तै गरि अन्य कृषि कर्महरू गर्न सकिन्छ । यो प्रविधिबाट गहुँ लगाउँदा उत्पादन नघट्ने बरु उत्पादन लागत ३०-४० % सम्म घट्ने हुन्छ । यो मेसिनले ३-४ लिटर डिजेल खर्चेर प्रति घण्टा ८-९ रोपनीमा गहुँ रोप्न सकिन्छ । यसरी श्रम र श्रोतको बचत हुन जान्छ भने धान काट्दा बित्तिकै गहुँ लगाउन सकिन्छ र कम्तिमा जोतेर पनि १०-१५ दिन पहिले गहुँ भित्र्याउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *