श्रमिकहरू कि श्रमिक सुमित्रा
रोजगारीमा विदेशिएकाहरू रोजगारदाताले जे भन्यो त्यही गर्न बाध्य हुन्छन् । काम गर्ने, खाने, सुत्ने, सबै उनीहरूले तोकेको समयमा गर्नु पर्ने हुन्छ । आफ्नो हिसाबले भन्दा ड्युटीको समय तालिकामा चल्नु पर्ने हुन्छ श्रमिकहरू । कम्पनीको इसारामा दिन रात मेसिन जस्तै पसिना चुहाउँछन् । यती सम्मकी समयमा एक गाँस खान बनाएर खाने फुर्सद पनि हुँदैन श्रमिकहरूलाई । यसरी अरुको काममा २४ घण्टा खटिनेहरूलाई बेलामा तातो खाना बनाएर दिने गर्छिन् झापा दमक -२ कि ४० वर्षीय सुमित्रा ( हाल युनाइटेड अरब एमिरेट्स (यूएई) ।
कामको खोजी गर्दै सन् २०१६ मा भिजिट भिसामा दुबई पुगेकी सुमित्राले त्यहाँ पुगे पछि काम पाइहालिन्छ भन्ने सोचेकी थिइन् । काम भए पछि पैसा पनि कमाइ हालिन्छ भन्ने लागेको थियो । तर दुबई शहर उनले सोचे भन्दा धेरै फरक रहेछ । टेलिभिजनमा देखिने, विश्वको अग्लो बुर्जखलिफा, ठुल्ठुला बिल्डिङ, आखाले नभ्याउने समुन्द्र, सपिङ महल, डेजर्ट सफारी, मिराकल गार्डेन, जस्ता मनमोहक चिजहरू भित्र काम खोज्न कहाँ सजिलो हुने रहेनछ र । “मरुभूमिले तात्तिएको सडकमा काम खोज्दै भौँतारिएको दिन सम्झँदा अहिले पनि पसिना छुट्छ,” सुमित्राले भनिन् ।
विदेशको ठाउँ कहाँ गए के होला भन्ने पनि नजानेर र भाषाको ज्ञान नहुँदा सुमित्रालाई सुरुवाती दिनमा धेरै अप्ठ्यारो भएको थियो । नेपालबाट आफूसँगै लगेको पैसा सकिदै गएपछि गुजारा चलाउन पनि समस्या पर्यो भन्छिन् सुमित्रा । दुबईमा टिक्न गार्हो भएपछि आफूले चिनेका साथीहरूले केही सहयोग गरिदिन्छन् कि भनेर आफ्नो गुनासो उनीहरूलाई पोखिन् । साथीहरूले ‘काम खोज्नुभन्दा तिमीलाई राम्रो खाना बनाउँन आउँछ बरु जो ड्युटीले गर्दा खाना बनाउन नभ्याएर बाहिरको खाना खान्छन् उनीहरूका लागि खाना बनाइदिने काम गर, जसले गर्दा तिमीलाई काम पनि हुन्छ समस्या पनि सुल्झिन्छ’ भन्ने सुझाव दिए ।
आफू सानो हुँदा देखी नै मिठो- मिठो खाने कुरा पकाउन र खाने भएको हुँदा साथीहरूले दिएको सल्लाह सुमित्रलाई मन पर्यो र त्यही काम गर्न थाले भन्छिन् उनी । कहिले बिहान, कहिले दिउसो त कहिले रातभर काम गरेर थाकेको शरीरले कोठामा आएर डाडु पन्यूँ समात्न कोसलाई जाँगर लाग्छ र ? पेटमा भोकले मुसा कुदे पनि भान्सा सम्म जान पाइला सर्दैन । यस्तो अवस्थामा चट्ट पाकेको खाना थालमा हालेर खान मात्र बाँकी भएको पाउदा कोसलाई आनन्द नहोला । “यसरी ताजा खाना काम गरेर आउँदा खान पाउने भए पछि श्रमिकहरू खुशी भए र एक पछि अर्को ग्राहक थपिदै गए” – सुमित्रा भन्छिन् ।
नेपाली मात्र होइन भारतीय, पाकिस्तानी, र अहिले सुमित्राले दिनमा ३-४ घरमा खाना बनाउँछिन् । नेपाली मात्र होइन भारतीय, पाकिस्तानी, र चिनिँयाहरुकोमा पनि गएर खाना बनाउने गर्छिन् उनी । “खाना बनाए वापत घण्टाको ३० देखी ५० दिराम पाउने
हुँदा महिनाको खाना बस्न गरेर नेपाली एक देखी डेढ लाख सम्म रुपैयाँ बचत हुने गरेको छ। परदेशमा काम गरेर राम्रो आयआर्जन गरेपनी उनलाई आफ्नो देशको सँधै झझल्को आइरहन्छ । उनी भन्छिन् “मेरो शरीर मात्र यहाँ छ, मन भने सधैँ नेपालमै । बाध्यताले विदेशिनु पर्यो, नत्र कसैको रहर हुँदैन घर परिवार सँग टाढा रहेर परदेशमा बस्ने “।
हुनतः खाना बनाउने मात्र होइन ब्युटिपार्लर सम्बन्धी काम पनि आफूलाई आउने हुँदा खाना बनाएर बचेको समय उनी ब्युटिसियनको काम गर्छिन् । सुमित्राले नेपालमै हुँदा ब्युटिसियन तालिम लिएको कारणले उनलाई थप आयआर्जनको बाटो बनेको छ । सुरुवाती दिनमा कामको खोजीमा भौँतारिनु परे पनि आफूसँग खाना बनाउने र ब्युटिपार्लर सम्बन्धी सीप भएका कारण अहिले उनलाई रोजगारदाता कम्पनीको भरमा पर्नुपरेको छैन आफैँ स्वरोजगार बनेकी छिन् ।
हुन त वैदेशिक रोजगारमा बिना सीप गएर अलपत्रमा परेकाहरूको समाचार हामी दिनहुँ जसो पढ्न, सुन्न र देख्न सक्छौ । श्रम मन्त्रालयका अनुसार ७० प्रतिशत भन्दा धेरै कामदारहरू बिना कुनै सीप वैदेशिक रोजगारीमा जाने गरेका छन् । सीप नसिकी वैदेशिक रोजगारीमा जानेहरूले न्यूनतम सुविधामा कम तलब लिएर जोखिमयुक्त काम गर्नु पर्ने हुन्छ । तर सीप सिकेर वैदेशिक रोजगारीमा जाँदा स्तरीय कामसँगै राम्रो कमाई हुनुको साथै सुमित्राले जसरी आफ्नै काम गरेर स्वरोजगार हुन सकिन्छ ।
त्यसो त नेपाल सरकारले र अन्य बिभिन्न निकायले हरेक वर्ष निःशुल्क सीपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको पनि छ । नेपालमा नि : शुल्क तालिम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी), लघु,घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, वैदेशिक रोजगार बोर्ड, ट्रेनिङ सेन्टर नेपाल र सुरक्षित आप्रवासन परियोजना (सामी) बाट लिन सकिन्छ । यि संघ संस्थामा इलेक्ट्रिसियन, प्लम्बर, बेल्डिङ, वायरिङ, डकर्मी, रङ रोगन, कार्पेन्टर, स्क्याफोल्डर, फर्निचर बनाउने, टायल मार्बल फिटिङ, यूपीभीसी तथा अल्मुनियम फेब्रिकेट, अटो मेकानिक मोटरसाइकल तथा ४ चक्के गाडी मर्मत कुक, वेटर, हाउस किपिङ, कफी वारिष्टा, बेकरी, जाम जेली सस, चिप्स, दालमोठ, पापड बनाउने, सिलाइ बुनाइ,सैलुन, ब्युटिसियन स्यानिटरी प्याड, टिस्यु पेपर, फेस मास्क, स्यानिटाइजर, फिनेल/हार्पिक, साबुन बनाउने मोबाइल, कम्प्युटर, टिभी, फ्रिज एसी मर्मत, सोलार जडान मर्मत, रबर स्ट्याम्प/साइनबोर्ड बनाउने उद्यमशीलता विकास, खाद्य प्रशोधन, दूध प्रशोधन, सुरक्षा गार्ड सम्बन्धी तालिम दिने गरिन्छ ।
तालिम लिनको लागि स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्रमा सम्पर्क गर्न सकिन्छ भने सातै प्रदेशमा सरकारका सूचना केन्द्रहरू रहेका छन् । त्यहाँ बाट पनि तालिम सम्बन्धी जानकारी लिन सकिन्छ । दुबइमा खाना बनाउने र ब्युटीपार्लर सम्बन्धी काम मात्रा होइन वैदेशिक रोजगारमा गएर त्यहाँ समस्या परेका श्रमिकहरूलाई पनि सकेको सहयोग गर्ने गरेको उनी बताउँछिन् ।
समयको दौरानले मानिसलाई कहाँ बाट कता पुर्याउँछ पत्तो हुँदैन । कहिले साइप्रस बालबालिका हेरचाह गर्ने काम त कहिले इजरायलमा वृद्ध वृद्धा स्याहार सुसार गर्ने कामले सुमित्रालाई कहाँ कहाँ पुर्याएन । हुन त काठमाडौंमा आफ्नै ब्युटिपार्लर पनि खोलेकी थिइन तर २०७२ सालमा आएको भुइँचालो पछि राम्रो व्यापार नभएर र आफ्नो लगानी गरेको पूँजी पनि नउठेको कारण मैले विदेशिनु परेको हो उनी भन्छिन् ” यदि अलि राम्रो भएको भए म मात्र होइन लाखौं नेपाली दाजु भई , दिदी बहिनी कामको लागि यहाँ आउनु पर्ने थिएन”।
यसरी कहिले कहाँ कहिले कहाँ रोजगारीको लागि पुगे पनि अहिले सुमित्रा आफ्नो काम बाट खुशी छिन् । केही समय बसेर नेपालमै आएर केही व्यवसाय गर्ने पनि सोच छ उनको । सके सम्म त आफ्नै देशमा काम गर्नु राम्रो हो तर कोही विदेशमै आउनु चाहनु हुन्छ भने कुनै न कुनै सीप सिकेर आउनु, मैले आफूमा सीप भएको कारणले परदेशमा पनि राम्ररी आफ्नै व्यवसाय गर्न सकेको छु, र आम्दानी पनि । भोकाएका श्रमिकहरूको भोक पनि मेटाइ रहेको छु । खुशी लाग्छ मेरो कारणले कसैको आत बचेँको छ, सुमित्रा खुशी हुँदै भन्छिन् ।
“श्रमिकहरूको भोक पनि मेटाइ रहेको छु । खुशी लाग्छ मेरो कारणले कसैको आत बचेँको छ”, सुमित्रा खुशी हुँदै भन्छिन् ।