सुई र धागोले धानेको ५० वर्षीय मिनाको जीविको

बिना सुनार २०७८ मंसिर ७ गते १०:०१

काठमाडौंको वीर अस्पताल बाहिरको सडक पेटिमा हेर्दा पुरानो देखिने र कलर गएर टाटेपाटे भएको लुगा सिलाउने हाते कल, थोरै टाँकहरू, फस्नरहरू, कपडा काट्ने कैँची र केही रङ्गिबिरङ्गी धागोका रिलहरूलाई प्लाष्टिकका बोरा ओच्छ्याएर राखिएको सानो पसल छ । अनुहारमा उमेरको रेखा बस्न थालेको एक महिला सियोमा धागो हाल्न धेरै संघर्ष गर्दै छिन् । “आँखा धमिला छन्, राम्ररी ठम्याउन सक्दिनँ ।” भुन्भुनाउँदै धागो सियोमा छिराउने प्रयास गर्छिन् ।

देउराली काभ्रेकी मिना परियार (५०) को दुबै आँखाको अप्रेसन भएको छ । गाएको वर्ष देब्रे अनि ३ महिना अघि मात्र दाया आँखाको अप्रेसन भएको थियो उनको । “अझै आँखा तिर्मिराउने, हेर्दा आशु बर्रर झर्छ अनि बादल आए जसरी ढपक्क छेक्छ” उनी भन्छिन् । तर पनि सियोमा धागो हाल्न कोसिस गर्दै छिन् । धागो भने सियोको नाथ्रीमा नपसी यता उता नाचिरहेको छ ।

मिनाको आँखा त कमजोर छँदैछ, केही दिन अघि लडेर दाया खुट्टा पनि मर्किएको छ । भुक्लुक्क परेर सुन्निएको खुट्टा अझै करकरी दुख्छ भन्छिन् उनी । शरीर बिसन्चो भए पनि काम नगरी आराम गरेर बस्न पाउदिनन् उनले । “लकडाउनमा काम नहुँदा खान बस्नलाई गरेको ऋण चुक्ता गर्न सकिएको छैन । दिन दिनै साहुले पैसा चाहियो भनेर कचकच गरी रहन्छ । दुई चार पैसा होला की भन्ने आसले बस्नुनै पर्‍यो ।” उनी भन्छिन् ।

तस्विर: प्रतिक ढकाल/जीविको

यसरी सडकमा आफ्नो बाध्यताले लुगा सिलाएर बस्न पनि मिनालाई सजिलो भने छैन । बेला बेलामा प्रहरीले आएर खेद्‌ने, बाटोमा हिँड्ने मानिसहरूले ठेल्ने जस्ता समस्या सधैँ जसो झेल्नु पर्छ उनलाई तर यस्तै अप्ठेराको बिचमा संघर्ष गरी रहेकी छिन् ।

हरेक दिन बिहानको ७ बजे मेसिन काखी च्यापेर काठमाडौं असनबाट हिँड्दै आउछिन् उनी । कोहीले फाटेका सिलाउन ल्याउँछन् त कोहीले उद्रिएका भने कोही सानो ठुलो भएका कपडाहरू मिलाउन ल्याउँछन् । कति त टाँक हाल्ने, फस्नर हाल्ने जस्ता काम लिएर पनि उनका पसलमा आउने गर्दछन् । यसरी दिनभरी सडकमा आवत जावत गर्ने मानिसहरूले ल्याएका कपडालाई मर्मत गरेर साँझ ६ बजे उनी कोठा तिर लाग्छिन् । विगत १५ वर्ष देखी यस्तै छ मिनाको दैनिकी ।

ढेड दशकदेखि सडक पेटिमा कल घुमाए पनि उनको दैनिकी ज्युँका त्युँ नै छ । इलेक्ट्रिक लुगा सिलाउने मेसिन त सुनेकी मात्र छिन् मिनाले । सजिलो मेसिनसम्म जोड्न नसकेर साहुले गरी खानु भनेर दिएको पुरानो मेसिनले नै जेनतेन धानेको छ उनको जीविको ।

सडक पेटी खुल्ला आकाश मुनी बसेर काम गर्दा कहिले पानी परेर निथ्रुक्क भिज्नु पर्छ त कहिले चर्को घाममा तातिनु पर्दछ । पुष माघको चिसोमा पनि लुगलुग कामेर बस्नुको विकल्प छैन मिनाको । “यसरी काम नगरी काठमाडौंमा बाँच्न सकिन्न, कोठा भाडा मात्र महिनाको ६ हजार बुझाउनु पर्छ । खान लाउन काम नगरी त्यसै पाइदैन । के गर्नु यसरी धुलो धुँवा खाएर बस्न कसलाई रहर हुन्छ र ? तर दुई गाँस त खानु नै पर्‍यो । मेरो पिर मसँग तपाईंको पिर तपाईंसँग” भन्दै मुसुक्क मुस्काइन् उनी ।

हुन त उनका श्रीमान उद्धव परियार (५५) ले १५ वर्ष पहिले नै वीर अस्पताल बाहिरको सडक पेटिलाई आफ्नो कर्मथलो बनाएका थिए । खेतीपाती थोरै थियो त्यसैले परिवार धान्न गार्हो भएको हुँदा उनी काठमाडौं पसेका हुन् । “त्यही पसलको साहारामा २ छोरा २ छोरी पढायौं । अहिलेसम्म सबै घर व्यवहार यही बाटो ढुकेर कमाएको पैसाबाट चलेको छ” भन्छिन् मिना । अहिले आँखाले ठम्याउन नसक्ने र कान पनि राम्ररी नसुन्ने भएकोले उद्धव भने गाउँमा नै बस्छन् । सिलाई कटाइ सम्बन्धी मिनाले केही व्यवसायिक तालिम भने लिएकी छैनन् । आफ्नै पुर्खौली पेसा अँगालेकी उनले नयाँ कपडा सिलाउन नआए पनि पुराना काम गरेर दिनको ६ सय आम्दानी गर्छिन् । बिभिन्न डिजाइनका लुगा सिलाउने सीप नभए पनि उनले बाटोमा हिँड्दाहिँड्दै कसैको लुगा च्यातिएर, उद्रिएर वा फाटिएर समस्या परेकाहरूलाई ठुलो राहत दिने गरेकी छिन् ।

मिनाको जेठो छोरा शारीरिक रुपमा अशक्त छन् । धेरै पढे लेखेको नभए पनि छोरीहरूले काम गरेर आफ्नो खर्च आफै जुटाएका छन् भने कान्छो छोराले आमा बाबुको पेशालाई नै अँगालेका छन् । तर सुख दुःख जे भए पनि आफ्ना छोराछोरी कोही विदेश काम गर्न भने नजाऊन् भन्ने सोंच मिनाको छ । उनी भन्छिन्, “जहाँ गए पनि काम नगरी पैसा कमाइँदैन्, बरु त्यही मेहनत यहाँ गरे दुई छाक खान दुःख गर्नु पर्दैन । मैले बाटोमा बसेर त गुजारा गरिरहेकोछु भने अरु काम गरे के पो नहोला ?” यसरी सडकमा बस्दा बेलाबेलामा नगरपालिकाका कर्मचारी आएर उठाउने गरेकोले आफुहरुलाई गरीखान नदिएको गुनासो छ मिनाको । उनले भनिन्,“यस्तो अवस्थामा हामीले के गर्न सक्छौँ र ? गरिबका लागि बोलि दिने कोही नहुँदा उनीहरूले जे भने त्यही गर्नु पर्ने वाध्यता छ हाम्रो । कि हामीलाई पनि सरकारले बस्ने छुट्टै व्यवस्था गर्नुपर्‍यो नभए बिचल्लीमा पार्नु भएन नि होइन?” मिना प्रश्न गर्छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *