जो आफ्नो श्रमको मूल्यमा रमाउँछन्
बिहानको ३ बजे नै उठेर पत्रिका लिन कुद्छन् काठमाडौं बाँसबारीका ६५ वर्षीय मदन बस्नेत । आजको ताजा खबर के रहेछ ? देशको राजनीतिक अवस्था कस्तो छ ? बजार भाउ कहाँ पुग्यो ? विश्वमा कहाँ के भइरहेको छ भन्ने समाचार जान्नको लागि झिसमिसेमै पत्रिका लिन हतारिने भने पक्कै होइनन् उनी । बरु अरु कसैले पत्रिका बेचेर आफूले ग्राहक नपाउने हो की भन्ने चिन्ताले उनी यसरी सबेरै उठ्ने गर्दछन् अनि हातभरि पत्रिका लिएर चोकचोकमा बेच्न थाल्छन् । जाडो, गर्मी अनि झरी केही नभनी विगत १ वर्ष देखी उनको दैनिकी यसरी नै बिती रहेको छ ।
२० वर्ष तनहुँको कृषि विकास बैंकमा कार्यालय सहायकको रुपमा काम गरेका मदनलाई तनहुँबाट मनाङ सरुवा गरे पछि जाडो धेरै हुने ठाउँ काम गर्न गाह्रो हुने सोचेर रजिनामा दिएर आएको बताउँछन् उनी ।
हुन त उनका छोराहरूले “अब यसरी पत्रिका बेच्नु पर्दैन घरमै आराम गर्नु” भन्छन् रे उनलाई । “काम गरिरहेको बानी यत्तिकै बस्न चित्तै बुझ्दैन । दिनमा दुई सय कमाइ भए पनि आफ्नो लागि खर्च हुन्छ । छोराहरूसँग हात फैलाउन पर्दैन । मलाई यसैमा खुशी लाग्छ ।” उज्यालो अनुहार बनाउँदै भन्छन् उनी।