विदेशी फूलले धानेको स्वदेशी चाड
सडकको तल माथि दुबै पट्टी ढकमक्क फुलेका सयपत्री, थुङ्गे, गोदावरी, मखमलीको वास्ना बाटोमा हिँड्दा मगमग चली रहेको थियो । यसरी चलेको फूलको सुगन्धले तिहार आगमनको महसुस गरायो । रङ्गीविरङ्गी फूलको सुन्दरतालाई नजिकैबाट नियाल्दै एक दुई वटा सेल्फी नखिची हामीलाई अगाडि बढ्न मनै लागेन । आफूसँग भएका क्यामरा र मोबाइल झिकेर सडकको माथिपट्टि रहेको फूलबारीमा फोटो लिन हामी बारीको कान्लो चढी हाल्यौं ।
गोदावरी नगरपालिका-९, छम्पीकी शान्ति नगरकोटी (२८) बारीमा फुलेका फूलहरू टिप्न लागेकी रहेछिन्। यतिबेला फूल टिप्ने, टिपेका फूललाई फरकफरक आकारप्रकारका माला बनाएर उन्ने जस्ता कामले उनलाई भ्याइनभ्याइ छ । हामीलाई देख्ने बित्तिकै फूल किन्न आएको ग्राहक सम्झेर सोधिहालिन्, “के खोज्नु भएको ?”
विगत ६ वर्षदेखि व्यवसायिक कृषि पेशामा लागेकी शान्तिले तिहारको लागि भनेर वार्षिक ६० हजारको जग्गा भाडामा लिई फूल खेती गरेकी छिन् । गतवर्ष कोरोनाले गर्दा त्यति राम्रो कमाइ नभएको हुँदा यो पाली भने उनी पोहोरको घाटालाई समेत पुर्ति गर्न कस्सिएकी देखिन्थिन् ।
सिजन अनुसारको तरकारी खेती गर्दै आएकी शान्ति भन्छिन्, “तिहारमा फूलको माग धेरै हुने हुँदा यसबाट फाइदा पनि हुन्छ । झन आफैले माला गाँसेर बेच्ने हो भने त मखमली फूलको मालाको २ सय रुपैयाँसम्म लिन सकिन्छ भने सयपत्रीको ७० रुपैयाँसम्ममा बेच्न केही केही गाह्रो हुँदैन” उनी बताउँछिन् ।
पाँच दिन मनाइने तिहार सुरु भएदेखि हरेक दिन कुनै चरा या जनावरलाई माला पहिराएर पुजा गर्ने गरिन्छ । काग तिहारको दिनदेखि भाइ टिकासम्म वर्षभरिको भन्दा धेरै फुलको कारोबार हुने गर्छ । तिहारमा फूलमाला उत्पादन गर्ने किसानहरूले राम्रो बजार र दर पाउने गरेका छन् ।
शान्ति बिहान ३ नै बजे ललितपुरको पुल्चोकमा फूल माला लिएर पुग्ने गर्दछिन् । “राति नै उठेर नगए त पसल राख्ने ठाउँ पनि पाइदैन, फेरी बेलैमा फूल बिक्री भएन भने ओइलिन्छ अनि फालेर आउनु पर्छ, त्यसैले यो बेला निन्द्रा माया मार्नु नै पर्छ हामीले ” भन्छिन् उनी ।
कक्षा ८ सम्मको शिक्षा हासिल गरेकी शान्तिले कृषि सम्बन्धी कुनै व्यवसायिक तालिम भने लिएकी छैनन् । २०७२ सालमा आएको भुकम्पले शान्तिको पनि घर भत्कायो । भुइँचालोले आफ्नो बास उठाए पनि आफैले केही काम गरेर अगाडि बढ्नु पर्छ भन्ने सोंचको जग शान्तिको मनमा जगायो । जागिर गर्न आफूले धेरै नपढेको हुँदा माटोलाई नै आफ्नो पेशा बनाउने सोंच गरेर कृषि तिर लागेको भन्छिन् उनी ।
एक छोरा, एक छोरी श्रीमान र उनी गरी ४ जनाको परिवार छ शान्तिको । छोरा छोरी सानो भए पनि श्रीमानले आफूलाई सघाउने गरेको उनी बताउँछिन् । खेतीबाट भएको आम्दानीले गर्दा घर व्यवहार चलाउन सजिलो भएको छ र यो तिहारमा पनि फूलबाट मात्र करिव ३० हजार रुपैयाँको आम्दानी हुने अड्कल शान्तिको छ । यही आम्दानीबाट तिहार मनाउने योजनामा उनी छिन् ।
फ्लोरिकल्चर एसोसिएसन महासंघ ( फ्यान ) का महासचिव विश्वमणि पोखरेलका अनुसार यसपालिको तिहारमा १० करोड ९ लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ । नेपालको परनिर्भरता फूलमा पनि उत्तिकै छ । तिहारमा हुने मागको बेला पनि अधिकांश फूल निर्यात नै गर्नुपर्ने हुन्छ ।
तिहारमा करिब १५ लाख ५० हजार सयपत्री, तीन लाख मखमली र १५ हजार गोदावरी फूलका माला प्रयोग हुने उनको भनाइ छ । थोकमा एक मिटरका सयपत्री फूलका मालाको मूल्य ५५–६० रुपैयाँ र मखमली अनि गोदावरी फूलका मालाको मूल्य ३५–४० रुपैयाँसम्म पर्न सक्ने बजारमा उपभोक्ताले भने प्रतिमाला ७०–८० रुपैयाँसम्म तिर्नुपर्ने विश्वमणीको भनाइ छ ।
बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी गरिएको छ । “यस वर्ष ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ भने गोदावरी र मखमली आन्तरिक उत्पादनले नै धान्न सक्छ,” विश्वमणी भन्छन् ।
यस वर्षको तिहारका लागि स्वदेशी उत्पादनले नै फूलको माग धान्ने भएकाले यसपटक भारतबाट फूल आयात नगर्ने फ्लोरिकल्चर एसोसिएसनले बताएको थियो । कोभिड–१९ को प्रभाव अझै रहिरहेको र विगतमा भन्दा नेपालमै फूल खेती बढेकाले गर्दा स्वदेशी फूल र मालाले नै आन्तरिक माग धान्ने एशोसिएसनको दावी छ । तर भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा १ करोड ८४ लाख ५५ हजार रुपैयाँ बराबरको फूल आयात भएको देखिन्छ ।
त्यसो त नेपालमा भारत सहित चीन, अमेरिका, ब्राजिल, अस्ट्रेलिया लगायतका मुलुकबाट फूल आयात हुने गरेको छ । पछिल्लो समय कोरोनाका कारण बर्सेनि फूलको कारोबार घट्दै गएको विश्वमणी बताउँछन् । कोरोना अघिको सामान्य अवस्थामा आव ०७५/०७६ मा २ अर्ब ४२ करोडभन्दा बढीको वार्षिक फूलको कारोबार भएको थियो । तर ०७६/०७७ मा कोभिडका कारण २ अर्ब १५ करोड रुपैयाँको कारोबारमा सीमित भयो। ०७७/७८ मा वर्षभरी निषेधाज्ञाले गर्दा १ अर्ब ६३ करोड रुपैयाँ मात्रको कारोबार भएको उनले जानकारी दिए ।
फ्लोरिकल्चर एसोसिएसन महासंघ ( फ्यान ) को तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको छ । हुन त चाड पर्व बाहेक, दैनिक पूजा पाठको लागि, सजावटको लागि, मेला समारोहको लागि र अतिथि सत्कारको लागि अनि वैदेशिक यात्राको लागि पनि फूलको प्रयोग गरिन्छ ।पछिल्लो समयमा नेताहरूको स्वागतको लागि किलोका किलो फुलको माला लगाई दिने होडबाजीले पनि फूलको राम्रो खपत हुने गरेको छ ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती भएको फ्यानको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यसै सन्दर्भमा फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारको पूर्वसन्ध्यामा १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ आयोजना गर्यो । मेलामा ४४ वटा स्टलहरू रहेका थिए भने ३५ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए । गोदावरी पुष्प प्रदर्शनी २०७८ का संयोजक एवम् फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष सीताराम पन्तका अनुसार करिब ४२ हजारले पुष्प व्यावसायमा रोजगारी पाएका छन् ।
प्रदर्शनीमा सहभागी पुष्प व्यावसायीहरू २ वर्षपछि मेला आयोजना हुँदा उत्साहित देखिन्थे । उनीहरू अबका दिनमा पुष्प व्यावसाय फस्टाउनेमा विश्वस्त देखिन्थे । तर यति धेरै व्यवसायिक फूल खेती गरेता पनि अहिलेसम्म नेपाल फूलमा आत्मनिर्भर हुन सकेको छैन । फूल व्यवसायीले फूलको माग पुरा गर्न सकेका छैनन् । नेपालमा पर्याप्त फूल उत्पादन हुन नसक्दा नेपाली व्यवसायीहरूलाई विदेशी बजारबाट फूल आयात गर्नुपर्ने अवस्था छ । अझ तिहार जस्तो चाड पर्वको समयमा नेपालमा फूलको माग अत्याधिक हुने हुँदा र स्थानीयस्तरमा नै फूल खेती र उत्पादन वृद्धिमा जोड दिन नसक्दा अझ पनि नेपाल विदेशी फूलको आयातमा नै निर्भर हुनुपर्ने बाध्यता छ । चाडबाडका समयमा पुष्पखेतीमा आत्मनिर्भर कसरी हुने भन्ने विषयले चर्चा पाउने भएता पनि अन्य समयमा भने यो विषय ओझेल पर्ने गरेको छ ।