युवाहरूमा उद्यमी बन्ने सोंचको विकास भएको छ

निरज खनाल, प्रमुख कार्यकारी अधिकृत, अन्तरप्रेरणा

जीविको २०७८ असोज २५ गते ९:०३

 नेपालमा नवप्रवर्द्धन (स्टार्टअप) व्यवसायीको अवस्था, व्यवसाय सञ्चालनमा ध्यान दिनु पर्ने कुराहरूसँगै उद्यमशीलता विकासको अवस्था, चुनौती र सरकारले ल्याएका उद्यमशीलताको निती नियमका कुराहरूमा आधारित भएर, नेपालको उद्यमशीलताको विकासमा लामो समयदेखि कार्यरत अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालसँग गरिएको कुराकानी :

नेपालमा उद्यमशीलता र उद्यमीको अवस्था कस्तो रहेको छ ?
विगत १० वर्ष यता हेर्ने हो भने उद्यमशीलता, उद्यमीलाई बढि प्राथमिकतामा राखेको पाइन्छ । विगतको राजनीतिक, सामाजिक विकासका कुरालाई बढि चासो दिने गरेको थियो भने अहिले व्यवसाय उद्यमशीलताको कुराहरू अगाडि ल्याउन थालिएको छ । साथै केन्द्रिय तहदेखि स्थानीय निकायहरूमा पनि यो विषयमा धेरै कार्यक्रमहरू आएको देखिन्छ भने लगानीकर्ताहरूले पनि साना उद्योगी, घरेलु उद्योगहरूलाई लगानी गरिदिने, प्राविधिक कुराहरूमा सहयोग गरिदिएकोले उद्यमशीलतामा लाग्न राम्रो वातावरण बनेको छ ।

नेपालको परिवेशमा हेर्दा कुन क्षेत्रमा लगानी गर्दा कम जोखिम तर धेरै फाइदा छ ?
पहिले त उद्योगीले आफ्नो इच्छा के हो ? अनि आफू कुन क्षेत्रमा दक्ष छु कुन सीप आफूमा छ, र आफूसँग भएको श्रोत साधनलाई हेर्नु पर्‍यो यससँगै बजारमा यसको अवसर के छ ? र यसको चुनौती के के छन् भन्ने कुरालाई नियालेर त्यसको समाधानको उपायहरू खोजेर व्यवसाय सञ्चालन गर्ने हो भने नेपालको जुनसुकै क्षेत्रमा व्यवसाय गर्न सकिन्छ । तर व्यवसाय गर्ने व्यक्ति दृढ अठोट र धैर्यता भगे चाहियो । यही व्यवसाय गर्छु भन्ने सोच हुनु जरुरी छ । त्यो सबै कुरामा बिचरा पुर्‍याएर अगाडि बढ्ने हो भने लगानी कर्ताहरू पनि लगानी गर्न आउँछन् । व्यवसाय सञ्चालन गरेको सुरुका १\२ वर्षलाई गार्हो हुन सक्छ, त्यसको लगानी प्रतिफल उठ्न अथवा फाइदा आउन समय लाग्न सक्छ । हाम्रो जस्तो देशमा आज लगानी गर्‍यो भोलिपल्ट नै त्यसको मुनाफा पाइ हाल्न काठिन नै छ । त्यसममा हरेस नखाई धैर्य धारण गरेर न आत्तिकन अगाडि बढ्न सकियो भने अवश्य जुन सुकै क्षेत्रमा पनि व्यवसाय गर्न सकिन्छ ।

उद्यमशीलतामा धेरै परियोजनाहरू आउँछन् तर त्यस्तो परियोजनाहरू विशेषगरी राजधानी र शहर केन्द्रित भएर ग्रामीण क्षेत्रका मानिसहरूसम्म नपुगेको भनिन्छ,यसमा तपाईंको भनाइ के छ ?
यस्ता कुराको सुरुवात केन्द्रबाट नै हुने गर्दछ। केन्द्रमा त्यसको अभ्यास गरे पछि के कस्तो परिणाम आउँछ, समाजलाई त्यसले कस्तो असर पार्छ ? त्यो हेरेर मात्र जिल्ला तथा स्थानीय निकायमा लाने हो । हामी पनि परीक्षणको चरणमा हुँदा काठमाडौंमा केन्द्रित हुनु स्वभाविकै थियो । तर अहिले भने कार्यक्रमहरू प्रदेश, जिल्लासँगै नगरपालिका, गाउँ पालिका हुँदै वडा सम्म पनि पुगेको देखिन्छ । र हामीले पनि धेरै कार्यक्रमहरू जिल्ला जिल्लामा गर्दै आएका छौ अरु संघ संस्थाहरू पनि पुगेका देखिन्छ । अनि उद्यमशीलताको माग पनि बिभिन्न क्षेत्रबाट आइरहेको हुँदा बिस्तारै सबै क्षेत्रमा जाँदै छ ।

विदेशी दातृ निकायबाट ठूलो रकम नेपालमा उद्यमशीलताका लागि भनेर प्राप्त हुन्छ,त्यसको उपयोग कसरी भइरहेको छ ?
हाम्रो समाजमा कस्तो पारिपाटी छ भने कसैले सहयोग गर्दैछ, परियोजना आउँदै छ भन्ने थाहा पाउने बित्तिकै त्यही अनुसारको उद्देश्य राखेर कुनै न कुनै संस्था गएर दर्ता गरीहाल्ने र त्यो पारीयोजना हात पारीहाल्ने सोंच छ । सहयोग गर्ने सरकारी तथा गैर सरकारी संस्थाले पनि गयो २ \४ दिनको तालिम दियो अनि फर्क्यो, यसले गर्दा के भैरहेको छ भने त्यो दिगो नहुने भयो । अर्को कुरा यसले गर्दा जसले पाउनु पर्ने हो त्यो व्यक्तिहरूले भने त्यो सेवा सुविधाहरू नपाई रहेको अवस्था छ । यसले गर्दा पाउनु पर्ने मान्छेले नपाई जो बाठो छ, जसको पहुँच छ त्यस्तो व्यक्तिहरूले मात्र पाए ।

त्यसैले अनुदान लगेर दिने मात्र होइन कि पहिले उद्यमको विकास कसरी गर्ने भन्ने कुरालाई पनि हेर्न जरुरी छ । हुन त हामीलाई अनुदानको आवश्यकता नपर्ने होइन त्यो चाहिन्छ उद्यमशीलता विकासको विभिन्न चरणहरूमा अनुदान पनि एक महत्वपूर्ण चरणमा पर्दछ । कस्तो अवस्थामा चाहिन्छ भने कुनै व्यवसायलाई कसैले पनि लगानी गर्न चाहेको छैन र त्यो समाजको लागि आवश्यक छ भने त्यसको लागि अनुदानको ठूलो भूमिका हुन्छ । तर आफ्नो एउटा छुट्टै व्यवस स्थापना गरीसकेको कम्पनिले भने अनुदान लिदा साना कम्पनिलाई असर पर्ने हुँदा सोच्नु पर्दछ ।

• नीतिगत व्यवस्था कत्तिको सहज अनि युवामैत्री छ ?
हामी जस्तो बिकासोन्मुख देशहरुमा नीतिगत कुरा पहिले आउँछ कि प्रश्नात्मक कुराहरू पहिले आउँछ भन्ने कुरामा दोधार हुन्छ । तर बिकसित देशहरूमा हेर्ने हो भने त्यहाँ सिर्जनात्मक कुराहरूलाई अगाडि ल्याइरहेको देखिन्छ । हाम्रो देशमा उद्यमशीलताको बारेमा निती कानुन नबनेको होइन बनेका छन तर त्यो त्यत्ति प्रभावकारी भने छैन अहिलेको समयमा । किन भन्दा धेरै पहिलेको नियमकानुन जो वर्षौ पहिले बनाइएको थियो अहिले पनि त्यही प्रचलनमा भएको र त्यसलाई परिमार्जित नगरेकोले त्यसले खसै उद्यमशीलतामा काम गरेको छ भन्न अली गार्‍हो नै छ । जति उद्यमशीलता अगाडि बढीरहेको अवस्था छ त्यो गतिमा हाम्रो कानुन भने गएको छैन । यसको लागि नीतिनियम र उद्यम विकास सँगसँगै गयो भने राम्रो हुने हो तर त्यस्तो वातावरण बनीसकेको अवस्था छैन बल्ल सुरु हुने चरणमा छ । आशा गरौँ, चाँडै लागू हुने छ । त्यो लागू भए पछि उद्यमशीलताको विकास द्रुतगतिमा अगाडि बढ्ने छ ।

• धेरै पूर्व तयारी गरेर राम्रै लगानीमा अगाडि बढेका व्यवसायीहरु पनि विसर्जनमा पुगेका छन् त्यस्ता बिजनेस फेल भएका उदाहरणहरू छन्, कारण के होला?
मेरो अनुभवमा जति पनि सफल भएका उद्यमीहरू छन्, उनीहरू म यो नै गर्छु, जस्तोसुकै अवस्था आए पनि म छोड्ने छैन र अवसर भन्दा पनि आफ्नो इच्छा र चाहनालाई आत्मसात गरेर अगाडि बढ्छु भन्ने उद्यमीहरू छन् । उनीहरूले नै ठुलो कम्पनी बनाएर स्थापित भएका छन् । हाम्रोमा के चलन छ भने, अर्को क्षेत्रमा जहाँ पैसा देखिन्छ त्यही गर्न खोज्ने, अनि त्यो सफल भएन भने छोड्ने । भनौँ, देखासिखी गर्ने प्रचलन छ । अनि अर्को क्षेत्रतर्फ लाग्ने र स्थिर भएर बस्न नसक्नु, धैर्य धारण गर्न नसक्नुले गर्दा पनि कति व्यवसायीहरू बिचमै बन्द हुने गरेको छ । अर्को कुरा, सरकारले लिने करमा पनि भर पर्दछ, थोरै कर तिरेर उनीहरूले व्यवसाय गरिरहेका छन्, तर एक्कासि बढाई दिंदा तिर्न नसकेर बन्द गर्नु पर्ने हुन्छ । तिर्न नसकेर बन्द गर्नु पर्ने हुन्छ । त्यसकारण जसले उद्यम गर्ने हो त्यसले उद्यमशीलताको विकास क्रमलाई पनि बुझेर अघि बढ्यो भने पक्कै दिगो रुपमा व्यवसाय अगाडि जान्छ ।

विगतको तुलनामा हाल उद्यमशीलताको अवधारणामा आम नेपालीहरुले कत्तिको बुझेको पाउनु हुन्छ ?
पहिलेको कुरा गर्दा उद्यमी अथवा व्यापारी भन्ने बित्तिकै यो कर छल्ने, महङ्गोमा बेच्ने मान्छे, कालो बजारी गर्ने मान्छे हो भनेर चिनिन्थ्यो । समाजले व्यापारीलाई एउटा ठगी गर्ने व्यक्तिको रुपमा व्याख्या गरिदिएको थियो । अभिभावकहरूले पनि आफ्नो छोरा छोरी पढेर कुनै व्यापार गर्छु भन्दा त्यति अग्रसर नगराउने, चासो नदिने चलन थियो । बरु जागिर खान, लाहुर जानको लागि प्रोत्साहन गर्ने गर्दथे । तर अहिले आएर बिस्तारै उद्यमशीलताको सोच आएको छ । कसरी भन्दा उद्यमी भनेको समस्या समाधान गर्ने मान्छे, समाजमा भएको समस्यालाई कसरी हुन्छ समाधान गर्ने भन्ने सवालमा नयाँ नयाँ तरिकाले आफूलाई लागेको कुराहरूलाई अगाडि ल्याउन थालेको छ । अर्को कुरा युवाहरूमा बढि उद्यमी हुने सोचको विकास पनि भएको छ । उनीहरू आफै समस्याहरू खोज्ने र त्यसको प्राविधिक तरिकाले समाधान खोज्न तर्फ लागेका छन । पहिले फाइदा मात्र हेर्ने गरिन्थ्यो भने अहिले फाइदासँगै प्रस्तावको कुरा पनि सँग सँगै आइरहेको छ । अनि अर्को भनेको नेपालमा आएको भुकम्प पछि र विश्वमा फैलिएको कोरोना महामारीले गर्दा परिवारको आवश्यकता अनि महत्वलाई बुझेको हुँदा सानै भए पनि आफ्नै व्यवसाय गर्छु भनेर आएको पाइन्छ । त्यो सँगै अहिलेको समयमा लगानीको लागि बैंकको मात्र भर पर्नु पर्ने अवस्था पनि छैन । राम्रो योजना लिएर आउने उद्यमीलाई सहयोग गर्ने निकायहरू पनि छन् ।

• तपाईं आँफै स्थानीय तहदेखि लिएर केन्द्रसम्म, उद्योग वाणिज्य महासङ्घदेखि मन्त्रालयसम्म उद्यमशिलता प्रबर्द्धनका लागि विभिन्न भूमिकामा प्रतिनिधित्व गरिसक्नुभएको छ, यी सरोकारवाला निकायहरु कति जिम्मेवार र गम्भीर पाउनुहुन्छ ?
विगत केही वर्षयता सरकारले स्टार्टअपको लागि राष्ट्रिय योजना आयोगले ल्याएको सिड फन्डको कार्यक्रमहरूले गर्दा नव उद्यमीहरूको लागि पहल गर्दै आएको देखिन्छ । बजेटमा पनि युवा स्वरोजगार, प्रधानमन्त्री रोजगार कार्यक्रमहरूले गर्दा सरकार यसमा सकारात्मक भएको देखिन्छ । अब त्यसको नीतिगत कुराहरूमा केही कमी कमजोरी होला तर पनि कार्यक्रमहरू चाँहि आएको छ, नव उद्यमीको लागि । म आफै पनि उद्योग मन्त्रालयको कार्यक्रमहरूमा सामेल भएको हुँदा अहिले बिभिन्न योजनाहरू बनिरहेका छन्, जस्तै : नेपालभर सूचना केन्द्रहरू बनाउने विषयमा साथै अरु कुराहरूमा पनि बहस र छलफलले गर्दा काम गर्ने वातावरण बन्दै भएको छ । ठूला व्यवसायीले साना व्यवसायीलाई लगानी गर्ने मात्र नभएर कसरी उद्योग अगाडि बढाउने भन्ने बारे सिकाउने कामहरु पनि भएको छ । त्यस्तै स्थानीय स्तरमा पनि स्थानीय स्तरको उद्योगको लागि फन्डहरू जुटाउने कार्यहरू भईरहेका छन् । कलेजहरूले पनि नव उद्यमीहरूको योजनाहरूलाई अगाडि ल्याउन मद्दत गरिरहेको छ । यसरी हेर्दा जति गर्नु पर्ने त्यति मात्रामा नभए पनि यो उद्यमशीलता विकासको कुरामा सबै क्षेत्रबाट सकारात्मक सहयोग आईरहेको छ र मिडियाहरूले पनि उद्यमीहरूको कथा अगाडि ल्याइदिएको हुनाले झन् नवउद्यमीलाई प्रोत्साहन मिलेको छ ।

उद्यम क्षेत्रमा प्रवेश गर्न चाहनेहरुमा धेरै नै अन्यौलता छ, कुनै पनि व्यवसाय सुरु गर्नुपूर्व कस्ता कुरामा आफू जानकार हुनु जरुरी हुन्छ ?
अहिलेको नयाँ पिढि उद्यममा धेरै आएको देखिन्छ । तर यसमा लाग्नु पूर्व के कुरामा ध्यान दिने भन्दा पहिलो कुरा इच्छा हो । म यो काम गर्छु भन्ने चाहना हुनु जरुरी छ, त्यस्तै त्यो आफूले गर्न चाहेको काम बारे आफू दक्ष हुन त्यो सम्बन्धी तालिम\ सिप हुनु पर्दछ । धैर्य पनि उत्तिकै हुनु पर्दछ, श्रोत र साधनको पहिचान गर्न सक्नु पर्दछ । साथै त्यसमा आउने चुनौतीको सामना गर्न सक्ने आँट भयो भने सफल उद्यमी हुन सकिन्छ जस्तो मलाई लाग्छ । अर्को कुरा दोधार हुनु भएन र आफ्नो काममा लगनशील भएर लाग्नु पर्‍यो । जुनसुकै काम गर्दा सफल असफल भन्ने हुन्छ तर आफू भने सफल हुन्छु नै भनेर अघि बढ्नु पर्‍यो । यदि असफल भएमा पनि त्यसबाट सिक्नु पर्‍यो र नयाँ गन्तब्य तय गर्नु पर्‍यो ।

• व्यवसाय गरिरहेकाहरुले स्तर उन्नती गर्दै व्यवसाय अघि बढाउनु के गर्नुपर्ला?
यसमा महत्वपूर्ण कुरा के भने हरेक कुरा संस्थागत हुनु पर्‍यो । बजारिकरण मात्र गरेर पनि भएन, यदि आफ्नो उत्पादनको माग बजारमा धेरै बढेको छ भने त्यसमा फुर्किनु भएन । यस्तो सोचले अगाडि बढ्यो भने त्यो सफल भएर नै जान्छ भन्ने हुँदैन । आफ्नो उत्पादन र सेवासँगै ग्राहकलाई कसरी तान्न सकिन्छ भन्ने कुरामा बढि ध्यान दिनु जरुरी छ । आफ्नो उत्पादनले बजार लिएर नाफा कमाउन थाले पछि दक्ष प्राविधिक, कर्मचारीहरू राख्नु पर्दछ । जसले आफ्नो उद्देश्यलाई बुझेर कम्पनीलाई एउटा उचाइमा लान मद्दत गरोस् । प्रचार प्रसार मात्र गरेर हुँदैन, त्यही अनुपातमा आफ्नो उत्पादन पनि राम्रो टिकाउ हुनु पर्दछ । कानुनी रुपमा अघि बढेर जानु पर्दछ । जसले यसरी भोलिको दिनमा केही अप्ठेरो अवस्था आयो भने पनि त्यसको समाधान गर्न सकोस । यसरी सबै कुरा मिलाएर गयो भने स्तर उन्नति गर्न सकिन्छ ।

• नेपाललाई उद्यम मैत्री राष्ट्र बनाउदैं ठुलो संख्यामा भईरहेको युवा पलायन रोक्न कसले के गर्नु पर्ला ? आशावादी हुने ठाउँ छ ?
अहिले सरकारले केही गर्दैन अरु कसैले पनि कसैको लागि केही गर्दैन, आफ्नो लागि आफैले नै गर्नु पर्दछ भन्ने सोचको विकास भएको छ । अनि अरुको नियन्त्रणमा रहेर काम नगर्ने, म आफै गर्न सक्छु भन्ने र अरुमा भर नपर्ने जस्तो विचारले गर्दा आफू स्वयम् काम गर्ने, मेहेनत गर्ने तर्फ लागेकाले गर्दा अरुको भर नपर्ने अवस्था छ । वैदेशिक रोजगारमा गएकाहरू पनि केही संख्यामा आफ्नै देशमा काम किन नगर्ने भनेर स्वदेश फर्कने क्रम पनि बढेको छ जसले गर्दा उनीहरूले पूँजीसँगै त्यहाँ काम गरेको सीप, अनुभव, श्रोत साधन पनि बोकेर आएका छन् । त्यसले गर्दा युवाहरू कामको लागि विदेशिन रोकिन्छ भन्नेमा आशावादी छु । अर्को कुरा कोही व्यवसाय गर्छु भन्दा लगानीको लागि पनि बिभिन्न संघ संस्थाले गर्ने सहयोग, बैंकहरूले दिने कर्जा सुविधाहरू साथै उद्यमी बन्न के के कुरा चाहिन्छ भनेर मार्ग दर्शन दिने निकायहरू खोलिएको छ, त्यस्तै नव उद्यमीहरूको सञ्जाल बनेको छ यसले गर्दा व्यापार व्यवसायको लागि राम्रो वातावरण बनेको छ । निरास बस्नु पर्ने अवस्था चाँहि छैन । अहिले जसरी नव उद्यमीहरू अगाडि आएका छन् त्यो हेर्दा बिस्तारै नेपालमै काम गर्न सकिने र धेरै भन्दा धेरै रोजगारी र अवसर सिर्जना हुने कुरामा म विश्वस्त छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *