अछामको होटलमा भाँडा माझ्ने देखी काठमाडौंमा आफ्नै ब्युटी पार्लरसम्मको यात्रा
सीता भुल (२६) झण्डै १० वर्ष पछि अछाम मंगलसेनको त्यही चोकमा पुगिन् जहाँ उनको बाल्यकाल एक होटलमा भाँडा माज्दै बितेको थियो । “समय यत्ति फेरिएछ कि सानो छँदा जुन होटलमा काम गर्थे, त्यही होटलका मालिकले पनि चिन्न सकेनन्” उनी सम्झन्छिन् ।
सीताको जीवनमा आएको परिवर्तन पनि असामान्य नै रहेको छ । होटल श्रमिकदेखि कती दुःख कष्टलाई पार लगाउदै आफ्नै ब्युटिपार्लर खोलेर एउटा सफल व्यवसायी बनेकी छिन् सीता । अछाम, मङ्गलसेन-५ मा जन्मेकी उनले हाल काठमाडौं रातो पुलमा आफ्नै ब्युटिपार्लर “सीताज ब्युटिपार्लर” चलाउँछिन् ।
“विकट जिल्ला अछामबाट काठमाडौंसम्म आएर आफ्नै व्यवसाय सुरु गर्नु पछाडिका कुराहरू सुन्दा अरुलाई सिनेमा हेरे जस्तो लाग्न सक्छ,” मुहारमा मुस्कान ल्याउँदै भन्छिन् उनी ।
विपन्न परिवारमा जन्मेकी सीता ५ सन्तान मध्ये कान्छी छोरी हुन् । २ वर्षको हुँदा नै उनले आमालाई गुमाइन् । बुवा दैनिक जाँड रक्सी खाने अनि घरमा आएर सबैलाई पिट्ने । “घरको यस्तो अवस्थाले गर्दा म भन्दा ठूला दाजु दिदीहरुले गाउँ छाडे । घरमा म र बुवा मात्र बस्थ्यौ” सीता सम्झिन्छिन् ।
घरमा चुल्हो नै नबल्ने अवस्था भएपछि हातमुख जोड्नकै लागि ६ वर्षको उमेरदेखि नै होटलमा भाँडा माझ्ने, अरुको बच्चा हेर्ने, गिट्टी कुट्ने, जस्ता काम गर्न बाध्य भइन् सीता ।
बाल मजदुर सीताले जति काम गरे पनि पैसा खासै हुँदैनथ्यो । आफ्नै उमेरका साथीहरूले खाएको, लगाएको, खेलेको अनि स्कुल गएको देख्दा उनलाई पनि पेटभरि खान, राम्रो लगाउन, खेल्न अनि पढ्न साह्रै मन लाग्थ्यो । यसरी नै सीताको जीवन चलिरहेको थियो अभाव र तनावमा ।
एक दिन उनले काम गर्ने होटलमा खाजा खान आएकी जर्मन नागरिक हाना सिथी (hanna seathi ) सँग सीताको भेट भयो । त्यस्तो विकट ठाउँमा एउटी कलिली बच्चीले जानी नजानी अंग्रेजी बोल्दै गरेको देखेर ति जर्मन नागरिक अचम्मित भइन् । अवसर पाएमा सीताको भविष्य राम्रो हुन्छ भन्ने ठानेर हानाले उनलाई आफूसँगै जर्मन गएर पढ्न प्रस्ताव गरिन् । सधैँको हेपाइबाट मुक्त भएर पढ्न लेख्न, खान लगाउन पाइन्छ भने अनि यो दु:खको समुद्रबाट पार भइन्छ भने किन नजाने भन्ने सोचेर प्रस्ताव स्वीकार गरिन् सीताले ।
२०६० सालको कुरा हो, हानासँगै जर्मन जानको लागि काठमाडौं आएकी सीता जर्मन जान भने पाइनन् । “मेरो बुबाले छोरीलाई बेच्न खोजियो भन्ने आरोप लगाएर हाना विरुद्ध प्रहरीमा उजुरी दिए । आवश्यक सम्पूर्ण कागजात तयार भइसके पनि मलाई जान दिइएन” सिता भन्छिन् ।
आफूले जर्मन लान नसके पनि सीताको भविष्य नबिग्रियोस् र राम्रो वातावरणमा पढ्ने अवसर मिलोस् भनेर काठमाडौंमा रहेको एउटा होस्टलमा हानाले उनलाई राखेर बिदा भइन् । दुर्भाग्यले उनलाई होस्टेलमा पनि छाडेन । पढाई लेखाइ त परै जाओस् राम्ररी खान लगाउनसम्म पनि पाईनन् उनले त्यहाँ । उनका अनुसार होस्टलकै कर्मचारीहरूले त्यहाँ बस्नेहरुलाई दुर्व्यवहार गर्ने, अनि कसैलाई त गैर कानुनी रुपमा सुटुक्कै बिक्रि नै गर्ने गर्थे । “म आफै पनि झन्डै शिकार भएको थिएँ । होस्टलको एक कर्मचारीले बेहोस हुने औषधी खुवाएर बेच्ने कोसिस गरे । त्यति बेला म मात्र १० वर्षको थिए । तर अरु भन्दा म अली चलाख भएको कारण आफूलाई बेच्न खोजिएको कुरा होस्टलभरी फैलाई दिएँ र बेचिन बाट बचेँ” उनी सम्झन्छिन् ।
अछामदेखि जर्मनी गएर धेरै पढ्छु, जीवनमा केही गर्दछु भन्ने सोचले काठमाडौं आएकी सितालाई यस्तो समस्या परे पछि पुन:हानालाई फोन गरेर आफू उक्त होस्टलमा बस्न नसक्ने कुरा बताइन् । कि आफैसँग राख्न, नभए गाउँ फर्काइदिन हानासँग आग्रह गरिन् ।
यस्तो कुरा थाहा पाएपछि हानाले आफ्नो नेपाली साथीहरूको सहयोगमा बाल बातावरण केन्द्र, नेपाल नामक संस्थामा सीतालाई पठाईन् । उक्त संस्थामा आएपछि सिताले राम्रो खान, लगाउन, बस्न मात्र होइन स्कुल पढ्ने अवसर पनि पाइन् । “यसपछि मेरो अर्को जीवन सुरु भयो” उनी भन्छिन् ।
पढाईसँग खेलकुद र साहित्यमा पनि सीताको उत्तिकै रुचि थियो । उनी जुडो खेल्न सिपालु थिईन् भने कविता पनि लेखि रहन्थिन् । नेपालका बिभिन्न प्रतियोगितासँगै भारत अनि भुटानमा पनि गएर जुडो खेल्ने अवसर प्राप्त भयो सीतालाई । मेडल, खादा अनि प्रमाणपत्रले उनका कोठा भरिएका छन् ।
२०७१ सालमा एसएलसी पास गरे पछि सीताले ब्युटिपार्लरको तालिम लिइन् र अरुको पार्लरमा कर्मचारी भएर काम गर्न थालिन् । केही समयमा सीताले सिटिइभिटीको लेभल-१ पास गरि बिभिन्न ठाउँमा गएर ब्युटिपार्लरको तालिम दिन सुरु गरिन् । तर अर्काको काम जत्ति गरे पनि जस नपाइने न त भनेको बेलामा तलब नै भन्ने असन्तुष्टि भयो उनलाई । त्यसैले आफूसँग पार्लर सम्बन्धी सीप, क्षमता र अनुभव भएकाले अब आफैले व्यवसाय गर्ने विचार गरी घर परिवारको सहयोग र आफ्नो बचत गरी करिब ४ लाख लगानीमा पार्लर खोलिन् ।
कोभिड महामारीमा सबैलाई जस्तै उनलाई पनि व्यवसाय सञ्चालन गर्न अप्ठ्यारो भयो । तर त्यो बाहेक अन्य नियमित समयमा सीताले पार्लरबाट मासिक ५० हजार जति आम्दानी गर्ने बताउछिन् । “आफ्नो कामबाट म सन्तुष्ट छु । भविष्यमा नयाँ प्रविधि तथा थप तालिम लिएर व्यवसाय बिस्तार गर्ने योजना छ” सीता भन्छिन् ।
अछामको विकट ठाउँमा विपन्न परिवारमा जन्मिएर आज राजधानीमा एउटा पार्लर व्यवसायीको पहिचान बनाउँदै गरेकी सीताको जीविको कथा कस्तो लाग्यो ? सीताजस्तै अन्य कर्मशीललाई प्रोत्साहन गर्न उनको जीविको कथा सेयर गर्नुहोस् । सीताको लागि केही सन्देश छ भने कमेन्टमा लेख्नुहोस् । यस्तै अन्य कथाहरु पढ्न जीविको डटकम हेर्दै गर्नु होला ।