खरायोको व्यवसायिक पालन
उज्ज्वल चापागाईं, द हिमालयन र्याबिट फर्म, संस्थापक, सञ्चालक
विशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठाँउमा खरायोको व्यवसायिक पालन गरिन्छ । विश्वका विभिन्न देशहरूमा वर्षौदेखी खरायो पालन गर्दै आए पनि नेपालमा भने खरायो पालनको इतिहास त्यति लामो छैन । नेपालमा वि.सं. २०२८ सालमा मात्र लुम्ले कृषि केन्द्रले क्यालिफोर्नियाबाट हाईलान जातको खरायो ल्याएर घरपालुवा खरायो पालन सुरु गरेको तथ्याङ्कले देखाउँछ । त्यसैगरी २०५५ सालमा पाख्रिबास कृषि केन्द्रले ऊन उत्पादनको उद्देश्यले भारतबाट अंगोरा जातको खरायो ल्याई पालन प्रविधि अध्ययन तथा अनुसन्धानको सुरुवात भएको पाइन्छ र बिस्तारै व्यवसायिक खरायो पालनको सुरुवात भयो ।
” यती धेरै पढी लेखेको मान्छे खरायो पाल्ने ? बरु राम्रो जागिर खानु नी ” भनेर बाबु आमाले भन्दा उज्ज्वलले खरायो पालन व्यवसायको फाइदा बारे बुझाई ‘द हिमालयन र्याबिट फर्म’को स्थापना गरी व्यवसाय सुरु गरे । नेपालमै नयाँ व्यवसाय भएकोले सुरुका दिनहरूमा उज्ज्वललाई खरायोको मासुको बारेमा बुझाउन कठिन पर्यो । तर बिस्तारै यसको महत्वबारे प्रचार प्रसार गर्दै हिँडे पछि मासुले बजार लिँदै गएको उनी भन्छन् ।
वातावरणीय विज्ञानमा मास्टर्स गरेका (धादिङ, ३७ वर्ष) उज्ज्वल चापागाँईले ९ वर्षदेखी व्यवसायिक रुपमा खरायो पालन गर्दै आएका छन । लामो समय गैरसरकारी संस्थामा काम गरे पछि दीर्घकालिक रुपमा जाने खालको आफ्नै व्यवसाय गर्नु पर्छ भन्ने उज्ज्वललाई लाग्यो । जसले पनि व्यवसाय गर्दा अरु भन्दा भिन्न खालको उद्यम गर्न खोज्नु स्वभाविक नै हो । यही बिचार गरी उज्ज्वलले मासुको लागि व्यवसायिक खरायो पालन गर्ने योजना बनाए । तर उनको यस्तो फैसलालाई घर परिवारको सहमति भने बिल्कुलै थिएन । ” यती धेरै पढी लेखेको मान्छे खरायो पाल्ने ? बरु राम्रो जागिर खानु नी ” भनेर बाबु आमाले भन्दा उज्ज्वलले खरायो पालन व्यवसायको फाइदा बारे बुझाई ‘द हिमालयन र्याबिट फर्म’को स्थापना गरी व्यवसाय सुरु गरे । नेपालमै नयाँ व्यवसाय भएकोले सुरुका दिनहरूमा उज्ज्वललाई खरायोको मासुको बारेमा बुझाउन कठिन पर्यो । तर बिस्तारै यसको महत्वबारे प्रचार प्रसार गर्दै हिँडे पछि मासुले बजार लिँदै गएको उनी भन्छन् ।
खरायो पालन व्यवसाय कसरी गर्ने ?
खरायो पालन गर्न मौसम क्षेत्र, र भूभागले केही असर पार्दैन । हिमाल, पहाड तराइको जुनसुकै स्थानमा पनि खरायो पालन गर्न सकिन्छ भन्छन् उज्ज्वल । यो व्यवसाय गर्नको लागि धेरै लगानी पनि चाहिदैन र थोरै क्षेत्रफल भएको ठाउँमा पनि गर्न सकिन्छ । साथै स्थानीय श्रोत साधनहरू जस्तै बाँस, काठ प्रयोग गरेर खोर बनाइ खरायो पालन गर्न सकिन्छ । खरायो पालनको लागि ठुलो प्राविधिक ज्ञानको आवश्यक नपर्ने हुँदा सामान्य जानकारी र परामर्श लिएर जो कोहीले पनि सजिलै यो व्यवसाय सञ्चालन तथा व्यवस्थापन गर्न सक्छन् । उज्ज्वलका अनुसार खरायोलाई धेरै स्याहारको पनि जरुरी पर्दैन, यसलाई दिनमा ३ पटक घाँस, दान-पानी हाले पुग्छ । यदि दाना अभाव भएमा आफ्नै वरपर भएका हरियो घाँस खुवाएर मात्र पनि पाल्न सकिन्छ, जसले गर्दा कम लागतमा पनि धेरै फाइदा लिन सकिने उनको भनाइ छ ।
व्यवसायिक रुपमा खरायो पालन गर्दा भाले र पोथीलाई फरक फरक ठाउँमा राखेर योजनामा नै प्रजनन गराइन्छ । सामान्यतया यसको गर्भवस्था जम्मा ३१ दिनको हुन्छ । खरायोमा १२ महिना नै बच्चा उत्पादन गर्ने क्षमता हुन्छ यसलाई कुनै मौसम तथा वातावरणले असार पर्दैन । खरायोले एक पटमा करिव ७ वटासम्म बच्चा जन्माउन सक्छ भने ७ महिना मा नै यो वयस्क हुने गर्दछ ।
खरायोको बजार विस्तारका लागि उज्ज्वलको प्रयास
नेपालमा खरायो पालनको मुख्य चुनौती भनेको बजार व्यवस्थापन हो । अहिले पनि धेरै मानिसलाई खरायो पालन र मासुको बारेमा त्यत्ति राम्ररी थाहा छैन । खरायोको मासु पनि खान हुन्छ र ? भन्ने प्रश्न अझै पनि हाम्रो समाजमा न उठ्ने होइन । हुन त कुनै पनि धर्म, जाती, समुदायमा खरायो को मासु खान हुँदैन भनेर प्रतिबन्ध लगाइएको छैन, भन्छन् उज्ज्वल । उनी थप्छन् विगतमा कतिलाई खरायोको मासु कहाँ पाइन्छ ? कसले खाने ? कसरी खाने ? के के फाइदा छ ? भन्ने बारे त्यत्ति थाहा थिएन । थाहा पाएकाले पनि खासै चासो देखाउने थिएनन् । उनी सम्झन्छन्, विगतमा आफू यसको फाइदा बारे बिभिन्न, पसल, समुदाय, व्यक्ति माझ पुगेर बुझाएको। अनि ठाउँ- ठाउँमा हुने प्रदर्शनीमा गएर खरायो पालन र मासु सम्बन्धी जानकारी दिदै मासुका परीकारहरु चखाउँदै हिँडेको । तर अहिले बिस्तारै सबैले यसको महत्वको बारेमा बुझ्दै आएको हुँदा खरायोले बजार लिँदै छ । उज्ज्वलका अनुसार अहिले पर्यटकीय क्षेत्र लगायत ठूला होटल, रेष्टुरेन्ट तथा डिपार्टमेन्टल स्टोरहरूमा खरायोको मासु माग बढेको छ । प्रति किलो १ हजार रुपैयाँमा खरायोको मासु बिक्री बितरण भैरहेको छ भने खरायो को १५ दिनको बच्चा प्रति गोटा करिव ८ सयको दरमा बेचिन्छ र बजारमा एउटा वयस्क खरायो प्रतिगोटा करिव १५ सय रुपैयाँमा किनबेच हुन्छ । छाला र भुत्लाको पनि बजारमा राम्रै माग भइरहेको हुँदा बिस्तारै गति लिँदै छ । खरायो पालन व्यवसायिक रूपमै गर्नेहरूको संख्या पनि बढेको छ ।
खरायो पालन व्यवसाय – बहुउपयोगी
उज्ज्वल भन्छन् खरायोको मासु मात्र होइन, यसको छाला, रौँ, र पिसाबबाट पनि विभिन्न व्यवसाय गर्न सकिन्छ । खरायोको भुत्लामा उच्च गुणस्तरको रेशा हुने हुनाले भेंडाको ऊन भन्दा १० गुना बढी न्यानो हुन्छ । यसबाट बनेको टोपी, पन्जा, स्विटर आदीले जाडोमा निकै न्यानो दिनुको साथै राम्रो र लामो समय टिकाउ हुने गर्दछ । उनका अनुसार खरायोको छाला तथा भुत्लाबाट बनेका सामग्री महँगोमा बिक्री हुने हुँदा यसबाट राम्रो आम्दानी पनि गर्न सकिन्छ । नेपालमा पनि यसको उत्पादन नभएको होइन तर बिभिन्न ठाउँमा छरिएर रहेकोले यसको प्रबन्ध मिलाउन गाह्रो परेको हुँदा यसलाई एकमुष्ट गराउने योजना बनाइदै गरेको उज्जल बताउँछन् । त्यस्तै खरायोको पिसाब तरकारी, फलफूलको बोट बिरुवामा प्रयोग गर्नाले राम्रो उत्पादन हुने हुँदा यसको पनि बजारमा मज्जाले बिक्री गर्न सकिन्छ । यसरी खरायोको कुनै पनि कुरा खेर नफाली सबै चिजको प्रयोग राम्ररी गर्ने हो भने अरु बिभिन्न व्यवसाय गरेर पनि आम्दानी गर्न सकिने हुँदा खरायो पालन व्यवसाय फाइदाजनक भएको उज्ज्वल बताउँछन् ।
खरायो पालन व्यवसाय गर्नको लागि कर्जा कसरी लिन सकिन्छ ?
अन्य व्यवसायलाई जस्तै मासु वा ऊनको लागि गरिएको खरायो पालन व्यवसायलाई पनि सरकारी, गैरसरकारी, बैंक तथा वित्तिय संस्थाहरूले ऋण तथा अनुदान दिने गरेको छ । जस अनुसार राम्ररी आफ्नो व्यवसायको बारेमा भन्न अनि बुझाउन सकेमा ऋण पाइने उज्ज्वल बताउँछन् ।
व्यवसायिक खरायो पालन तालिम
उज्ज्वलका अनुसार मासुको लागि व्यवसायिक रुपमा खरायो पालन गर्न चाहने नयाँ व्यवसायीलाई द हिमालयन र्याबिट फर्म धादिङले पनि तालिम दिने व्यवस्था गरेको छ । खाने बस्ने सुविधा सहित २ दिने तालिमको ५ हजार रुपैयाँमा फर्म मै बसेर तालिम लिन सकिन्छ भने नेपाल कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारमा गएर पनि तालिम लिन सकिन्छ । साथै स्थानीय पशु कार्यालयमा सम्पर्क गरी जानकारी लिन सकिन्छ ।
स्वस्थको लागि फाईदाजनक खरायोको मासु
विभिन्न अध्ययनहरूले खरायोको मासुमा क्यालोरी र कोलेस्ट्रोलको मात्रा अन्य मासुमा भन्दा कम हुनुको साथै प्रोटिनको मात्रा पनि खसी,कुखुरा,बङ्गुरको मासुमा भन्दा बढि हुन्छ भनी साबित गरेको छ । यसको मासु पौष्टिक हुने भएकाले स्वास्थ्यको हिसाबले खरायोको मासु निकै नै राम्रो हुने उज्ज्वलको भनाइ छ । खरायोको मासु सेतो मासुमा पर्ने भएको कारणले यसमा चिल्लोपना काम हुन्छ र यो मासु मुटुरोगी, मधुमेह, दम, कुपोषण लगायत कोरोनाका बिरामीको लागि पनि स्वास्थवर्धक मानिन्छ भन्छन् उनी । यसको साथै खेलाडी, गर्भवती, सुत्केरी र वृद्धवृद्धाका लागि यो निकै पोषिलो मानिएको उज्ज्वल बताउँछन् ।